मार्च 20, 2026 | 2:35 बेलुका

आन्दोलनले डामेका लेखक

सपना र गर्भपतन

जब जब दार्जिलिङमा छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन हुन्छ, म बाबा सम्झिन्छु। उन्मुक्तिको सपना कसले पो देख्दैनन् र? तर 1980 देखि 2021 सम्म नै त्यो सपना सपनामात्र बन्यो। मेरो बाबाको पनि सपना थियो, छुट्टै राज्य भयो भने कमसेकम सरकारले मान्यता दिइसकेको नेपाली भाषामा लेखिने साहित्य केन्द्रमा त पुग्छ।

राजनीतिले देख्ने सपना साहित्यले पनि देख्छ। राजनीतिले देखेको सपना बैध, साहित्यले देखेको सपना अबैध हुन्छ र? अगमसिंह गिरीहरूले खनेको जातियताबोधी साहित्य लेखनको घडेरीमा उभिएर नै त राजनीतिले पनि हिँड्ने मेसो पाएको हो। यसअर्थमा त साहित्यले राजनीतिलाई दोहोऱ्याएको हो दार्जिलिङमा। तर त्यही दार्जिलिङमा राजनीतिले लेखकहरूमा जुन त्रास, भयको वातावरण तयार गऱ्यो, त्यसको पछिल्तिर कुन अभीष्ट थियो?

अहिलेसम्म त्यसको उत्खनन नै भएको छैन।

पछिल्लो समय छुदेन काविमोको फातसुङ, लेखनाथ छेत्रीको फुलाङ्गेले अस्सीको दशकलाई वर्तमानसम्म तानेर राजनीतिको भौंप्वाल देखाउने काम गरेको छ। प्रश्न उठ्छ, त्यसबेलाका लेखकहरूले किन त्यसबेलाको समयलाई लेखेनन् त?

यसको उत्तर खोज्न अस्सीको दशकमा राजनीतिले उत्पन्न गरेको भयको बाक्लो हुस्सेभित्र छिर्नैपर्छ। साहित्यको मुख बन्द गर्ने त्यो राजनैतिक दादागिरीसहितको आन्दोलनको उपलब्धी के त?

यतिखेर बाबा जिउँदो हुँदाहुन्, उनले यही प्रश्न गर्थे होलान्। र त्यो कहिल्यै नसुक्ने राजनैतिक प्रताडनाको घाउको पाप्रा कोट्याउनुहुन्थ्यो होला।

000

म सानो छँदा बाबाले दोहोऱ्याइरहने कविताका पङ्क्तिहरू आज पनि मलाई कण्ठस्थ रहेको छ।

कुनै समयमा

कुनै देशमा

एउटा राजा थियो

राजा अत्याचारी थियो

देश सानो

तर सुन्दर थियो

देशमा थियो

मूर्खहरूको मनमानी

राजा पनि थियो मूर्ख र घमण्डी

तसर्थ आफू

नहुनाले अग्लो उँचाइको

देशबाट निकालिदिन्थ्यो

राजाभन्दा सुन्दर भए

देशनिकालाको सट्टा

गुमाउनुपर्थ्यो प्रजाले

आफ्नो प्राण प्यारो…।

भारतले स्वतन्त्रता पाएको कैयौँ वर्ष बितेपछि पनि दार्जीलिङको मानचित्रमा विशेष उन्नति देखा परेको छैन। भारतमा गोर्खालाई जुन चिन्हारी सङ्कट थियो, त्यो यथावत छ। नेतृत्वसित दुरगामी रणनीति नहुँदा, अल्पसंख्यक र बहुसंख्यकबीचको सङ्घर्षको भेउ नहुँदा, सत्ताशक्तिले रच्ने प्रपञ्चबारे अध्ययन नहुँदा सारा गोर्खाले योगदान गरेको आन्दोलन अनाहकमा तुहिन पऱ्यो। गणतान्त्रिक माग हुँदाहुँदै पनि बारम्बार सत्ताको प्रपञ्चमा दबियो दार्जीलिङ। दार्जीलिङका प्रत्येक धरोहर अनि साहित्य।

बाबाले कविताबाट हामीलाई त्यही कुरा भनेर छोडिराखेका होलान्। मलाई लाग्छ, बाबाको कवि मनको आरनमा पिटिएर पिटिएर निस्किएको कविता थियो त्यो।  किन भने उनी आन्दोलनले किनारमा ठेलेका कवि थिए। आन्दोलनले डामेका मानिस थिए। यसो त आन्दोलित समाजले सधैँजसो कुरूप भग्नावशेषमात्रै बोकेको हुन्छ। त्यही भग्नावशेषमाथि उभिएर सायद बाबाको लेखनी माथि उक्लियो कि? त्यसैले सायद सपनाको गर्भपतनलाई उनले अक्षरमा खिलिराखे, कवितामा।

क्रान्ति र अवसाद

क्रान्तिले जीवनलाई विशृङ्खल अवधितर्फ लैजान्छ। क्रान्तिका आयामहरू गन्न सकिन्न। यसले दिने पीड़ा अनि भोगाइचाहिँ व्यक्तिको कल्पनाभन्दा पनि गौण रहेको हुन्छ। ‘रामचरितमानस’-मा पनि त लोक, नीति, धर्म, ज्ञान, राजनीति अनि कूटनीति आदिले भरिएका कथा प्रसङ्ग, उत्तरकाण्ड अनि बालकाण्डको प्रारम्भतिर देख्न सक्छौँ।

साहित्यमा पनि अस्तित्ववादको जन्म प्रथम महायुद्धको गर्भबाटै भएको थियो। अस्तित्ववादको माध्यमबाट मानवीय स्वतन्त्रमाथि लगाइएको अङ्कुश विरूद्धमा साहित्य सृजना थाल्यो। त्यतिबेला नै सार्त्रले आफ्नो कृतिद्वारा सामाजिक अनि राजनैतिक सङ्गठन या संस्थालाई आत्मबोधको शत्रु करार गरेका थिए।

यूनानका प्राचीन दार्शनिक सुकरातले तर्कशास्त्र नीतिशास्त्र तथा धर्मशास्त्र आदिका विषयमा समाजलाई विचारभावी चिन्तनधारसित जोड़्ने प्रयास गर्दा नै उनको ज्यान गयो। यूनानी रूढ़ राजनैतिक मारमा सुकरातसमेत परे।  सुकरातको स्वतन्त्र विचारलाई उनको शिष्य प्लेटोले ‘एपोलोजी’, ‘क्रोटो’, ‘थुथीक्रोन’ अनि ‘लाइसिस’ जस्ता रचनाहरूमा बल्झाए। प्लेटोको पूर्वज पहिल्यैबाट राजनीतिमा सक्रिय थिए। त्यसैले पनि होला प्लेटोलाई पनि राजनीति मन पर्थ्यो। सुकरातको राजनैतिक हत्यापछि प्लेटोले ‘थियोटिस’, ‘गर्गीयस’ अनि ‘कायडो’-जस्ता उत्कृष्ट कृति सृजना गरे।

राजनैतिक उथलपुथल कै कारण गोर्कीले पनि सात वर्षका लागि रूस परित्याग गरे। तर, देशको माया मानव चिन्तन परेको कुरा हो। जसको वशीभूत, प्रथम विश्वयुद्धको बेला, गोर्की रूस फर्किए। गोर्की सेन्ट पिटर्सवगमा छँदा, पूर्णतह मार्क्सवादलाई स्विकारेका थिए। तर, आपसी मदभेदमा उनको पार्टी कियासोशल डेमोक्रेटिक विभाजित भयो। गोर्कीले एकातिरबाट लेनिनको सिद्धान्त र अर्कोतिरबाट बोल्शेविक सिद्धान्तलाई भेट्टाए। त्यसबेला, गोर्कीलाई लेनिनवादभन्दा बोल्शेविक दृष्टिलाई ग्रहण गर्नु स्वतन्त्र विचार लाग्यो।

गोर्कीले आफ्नो समाचारपत्र ‘नेवाया जिजन’-मा लेनिनको तानाशाहमाथि छोटो क्रान्तिकारी कविता ‘पेस्न्या ओ न्यूरवेस्टनिके’ छापे। बढो विशृङ्खल र हस्तक्षेपी हुन्छ राजनीति। लेनिनको हुकुममा गोर्की जेलसम्म पुग्न गए। राजनीतिले साहित्यमा व्यापक उत्खननको क्रिया गर्दै आएको छ। त्यस्तै संयुक्त राज्य अमेरिकाको राजनैतिक उत्खननबारेमा गोर्कीले कैयौँ कथाहरू कृति ‘गोरोद ज्योल्टोगो डायबोला’-मा लेखेका पनि छन्।

मार्क्सवादी सौन्दर्यशास्त्रको जन्म पनि यस्तै सत्ताधारी थिचोमिचोबाटै भएको हो। कार्ल मार्क्सको संसारलाई हेर्ने स्वतन्त्र दृष्टि थियो। मार्क्सले आर्थिक, राजनैतिक अनि धार्मिक क्षेत्रमा ल्याएको क्रान्तिको प्रभाव नै थियो जसको फलस्वरूप साहित्यमा बदलाव आएको थियो।

त्यस्तै गरी, स्वच्छन्दतावादी आन्दोलनले यूरोपबाट प्राचीन रूढ़ीवादी अन्धविश्वासलाई हटाए अनि नयाँ सिद्धान्तमा हुर्किंदै गरेको समाजलाई नौलो साहित्य लेख्न उस्काए।

पश्चिमी साहित्य होस् वा पूर्वेली साहित्य प्रत्येक आन्दोलनले समाज, धर्म, दर्शन, कला, राजनीति अर्थशास्त्र अनि साहित्यमा परिवर्तन ल्याउने कार्य गरेको नै छ।

सार्त्र भन्छन्- ‘युद्धले विनाश, विनाशले मृत्यु र मृत्युले परिवर्तन ल्याउँछ।’ तर, मृत्यु जन्मको समान अर्को तथ्यमात्र हो। मृत्यु कहिले पनि मानव स्वतन्त्रताको माध्ययम बन्न सक्तैन।

मानव अस्तित्व, विचार अनि भावना जस्तै अप्ठ्यारो परिस्थितिमा पनि स्वतन्त्र रहेको हुन्छ।

स्वतन्त्रता हाम्रो अधिकार हो। तर मानिसको अस्तित्व बारम्बार किन कैयौँ सत्ताधारी चक्रव्यूहमा अल्झेर बाउन्ने बन्न पुग्छ?

त्यस्तै सत्ताधारी व्यूहमाझ उभिएको भेटिन्छ रुसी साहित्य। रूसी साहित्यमा निराशावादलाई बढ़ी स्पेस दिएको पाइन्न। रूसले नेपोलियन युद्ध, द्वितीय विनाशकारी विश्व युद्ध, बोल्शेविक क्रान्ति, अधिनायकवादी शासनको भयावहता र सोवियत सङ्घ अवतरणलाई पीढ़ी दर पीढ़ी झेल्दै आएको हो। रूसमा चल्दै आएको राजनैतिक आन्तरिक उथलपुथलले नै उब्जाएको हो, समाजवादी साहित्य।

त्यसबेला, रूसी साहित्यकारले आफ्नो भावनात्मक पीड़ालाई बयान गर्ने माध्यम साहित्यलाई ठाने। आफ्नो स्वभोगाइको कथालाई सस्तो साहित्यमा प्रस्तुत नगरेर ज्ञानको बलियो आधार समाजमा उभ्याए। समाजले रूसका पीड़ालाई बुझेको थियो। आन्द्रेई प्लैटोनोवलाई साहित्यमा साम्यवादलाई समर्थन गर्दै सोवियत व्यवस्थाको खिल्ली उड़ाएको भेटिन्छ। मिरवाइल उपन्यासमा बौद्धिक छटपटाहटको अनुभव छ। पाठकलाई पीड़ाको ब्ल्याक आउट अन्धकारमा फसेजस्तो लाग्छ।  त्यही ज्ञानको पुच्छर समातेर पाठक चैतन्य आनन्दसम्म पुगेको हुन्छ।

त्यसैले  क्रान्ति जड़ हुन्छ, त्यसले उब्जाएको साहित्य ‘चेतना’ हो। तर, पर-स्वतन्त्रतालाई कहिलेसम्म दबाएर राख्न सकिन्छ? एक दिन त त्यसले विद्रोहको स्वर लिएर उग्र रूपमा समाजमा झाँगिनैपर्छ।

000

दुर्भाग्य के भयो भने दार्जिलिङमा भएको 1986-को आन्दोलन सत्ताको निम्ति जनतालाई आत्मदाह गराउने योजित राजनीतिमात्र बन्यो। सत्ताको निम्ति क्रुरताले आम जीवनमाथि चलाएको तानाशाह युद्धमात्र बन्यो। तानाशाहको भग्नावशेषमन्तिर कैयौँ साहित्यिक आवाज त्यसै दबेर हराए। ती आवाज मध्ये एउटा मेरो बाबाको पनि थियो।

हरेक आन्दोलनले साहित्यलाई चेतना दिन्छ, तर दार्जिलिङमा त्यही चेतना माऱ्यो। अस्सीको दशक साहित्यको निम्ति डार्कएज बन्यो। आन्दोलनको अन्तरविरोध, त्यसका असर, त्यसको नाफा साहित्यमा कहीँकतै पनि आएन। तानासाहको डरले गुजुल्टियो अस्सीको दशकको साहित्य।

बाबाकालको छाया मेरो पुस्तासम्मै जिउँदो छ। एमएम कलबुर्गी, नरेन्द्र दाभोलकर, गौरी लङ्केश, शिवानी भटनागर, इरफान हुसैन, हेमन्त यादव, शान्तनु भौमिक, नवीन निश्चल, इजरायल मूसा, राकेश सिंह अनि कैयौँ ‘चेतना’-लाई मौन गराइएको छ। 

क्रान्ति हाम्रो अत्याधुनिक युगको अनुहार हो। तर, यो अनुहार बिमार अनुहार हो। अनि यही बिमार अनुहार नै आजको नायक पनि हो। तर, जब सत्ताधारी पुरुषलाई सत्ता गुमाउने डरले सताउँछ, त्यसबेला समाजमा क्रान्तिले आतङ्कको अनुहार बोक्छ। अनि यसको निरन्तर प्रपञ्चमा घायल बन्न पुग्छन् कैयौँ जिन्दगी।

दार्जीलिङको आन्दोलन पनि यस्तै सत्ताधारी पुरुषको सत्ता पाउने मृगतृष्णामात्रै थियो। यसमा सामाजिक तत्त्व ओझल बन्यो। यो क्रान्ति नकारात्मक प्रतिफलको ब्लाकहोल बन्दै प्रत्येक नेपाली मनमा अहिले पनि पिरोलिरहने अतीत बनेको छ।

आन्दोलन र बाबा

भीड़मा आवेग हुन्छ, तर सोच्ने बुद्धिचाहिँ हुँदैन। यस्तै भीड़ले बारम्बार आरोपहरूको कठघरामा जबरजस्ती बाबालाई उभ्यादियो। त्यस दिन, घरको बरण्डाभरि भीड़ हातमा धारिलो हतियार नचाउँदै आक्रोश प्रदर्शन गरिरहेका थिए। सुनेको थिएँ, क्रोधित भीड़लाई कठपुतलीको तारले नियन्त्रित गर्छ। हुनसक्छ, यस्तै तारहरूमा अल्झिएको थियो बाबाको भाग्यरेखा। जो भानु पुरस्कारको गरिमामा जोड़सित अन्तरतहलाई नै घचघचाउने गरी चर्किएको थियो। त्यस दिन, बाबाको अस्तित्व भीड़को खतरनाक हातमा सीमित बनेको थियो। तत्कालै ढुङ्गा प्रहार गर्दै भीड़ले घरको दैलोसमेत भत्कायो अनि घरभित्रै तीव्र तमासामा आतङ्क मच्चाउनु शुरू भयो।

आन्दोलन चलिरहेको बेला बङ्गाल सरकारले भानु पुरस्कारको घोषणा गऱ्यो। यसपल्ट त्यो पुरस्कारको हकदार थिए-शरद छेत्री। आन्दोलनको दुश्मन त्यही भानु पुरस्कार बन्यो। हिजोसम्म नेपाली साहित्यलाई उचाईँमा पुऱ्याउने शरद छेत्रीलाई रातारात जातिको दुश्मन बनाइयो। मानौं, पुरस्कार थाप्नु महान कलङ्क हो।

‘राज्य सरकारले दिएको पुरस्कार थाप्ने जाति विरोधी हुन्,’ भीडले भन्यो। हिजोसम्म छेउमा रहेको लेखक साथीले पनि भन्यो। राजनीतिले त भन्यो भन्यो, समाजले पनि भन्यो।

तर जसले यसो भन्यो, उसैले राज्य सरकारसित छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनको मोलतोल गऱ्यो र थाप्यो दार्जिलिङ गोर्खा हिल काउन्सिल। शरद छेत्रीलाई जसले जाति विरोधी भन्यो, उसैले आन्दोलन बेच्यो, जनताको सपना बेच्यो र थाप्यो दार्जिलिङको सत्ता।

‘राज्य सरकारले दिएको चौकी थाप्ने जाति विरोधी,’ आन्दोलन नाइके सुबास घिसिङलाई यसै भन्नुपर्थ्यो होइन र?

त्यतिखेर हाम्रो घरको दैलो फुटाउने भीड मौन थियो। घरका छानामाथि ढुङ्गामुडा गर्ने भीड मौन थियो। बाबाके छेउका लेखक साथी मौन थिए। मौन थियो समाज, राजनीति मौन थियो।

आमा, लेखक लोग्ने र आन्दोलन

आमा भन्नुहुन्छ, ‘जीवनको सबैभन्दा कालो दिन कुनै थियो भने, त्यही दिन थियो।’ भनिन्छ नि डरबिना साहस पलाउँदैन। आमालाई यस्तै साहस अचानक आयो रे। ‘सबै बाबातिर झम्टिरहेका थिएँ, म बीचमा उभिएँ,’ आमा सम्झनुहुन्छ, ‘मैले शरदलाई प्रेम गरेकी थिएँ। मैले भीडबाट एउटै पनि चोट शरदलाई लाग्न दिइनँ।’

आमालाई लाग्छ, मेरो बाबा इतिहासकै सोझा पात्र हुन्। उनी जुझ्न सक्दैनन्। लड्न सक्दैनन्। उनको हतियार जे थियो, साहित्य नै थियो।  चारैतिरबाट आक्रोशपूर्ण आवाज थियो। ‘‘पुरस्कार फर्काइहाल्! पुरस्कार झट्टै फर्काइहाल्!!… फर्काइहाल्!!!’’

बाबा असाध्य डराएका थिए। ‘तिम्रो बाबा त्यतिखेर बाबा महाभारतका अभागी पात्र ‘कर्ण’ समान देखिन्थे,’ भन्नुहुन्छ आमा, ‘बाबाको किताब छ नि ‘चक्रव्यूह’-, हो त्यसमा उनीहरूले आगो झोसे। निमेषभरमै ‘चक्रव्यूह’ जलेर खरानी बन्यो।’

बाबाको किताब जल्यो। वरिपरि गालीगलौज उस्तै छ। अचानक भीडले बाबालाई धकेल्दै, तान्दै समाजघरतिर लग्यो। महाभारतका कमजोर पात्र अभिमन्यु चक्रव्यूहको व्यूहरचनामा अलमल्ल परेको स्थिति र बाबाको त्यसबेलाको स्थिति एउटै बन्यो। आमा रुँदैरुँदै भीडको पछिपछि कुदिन्। आमालाई लोग्नेको माया त सँधै लागिरहन्थ्यो रे, तर त्यो दिन लेखक लोग्नेको माया असाध्य लाग्यो रे।  

‘मलाई लाग्यो, भीडभित्रबाट बाबालाई म चराले अण्डा जोगाएजस्तो जोगाएर ल्याउँछु,’ भन्नुहुन्छ आमा, ‘अनि मैले ल्याएँ पनि।’

000

विवेक दादा आठ वर्षका अबोध बालक थिए। भीड़को पछाड़ि दौड़िने अनुमति उनको कलिलो उमेरलाई थिएन। त्यसैले, कसै हितैषीले दादालाई घरको सुरक्षित कमरामा बन्द गरिदिए। दादाको कलिलो मस्तिष्कले युद्ध, घातप्रतिघात, मृत्युलाई अहिलेसम्म बुझेका थिएनन्। त्यो दिन, दादाका निम्ति इतिहासको धक्का पाएर सक्दो होचो परेको कालो दिन थियो । बाहिर युद्धभूमिमा संहारपछाड़ि छाएको सन्नाटा तरङ्गित थियो। र एकलै कोठामा सम्भावित घटनाहरूको भयावह कल्पनासित डरमा बस्नुबाहेक दादासित अर्को विकल्प नै थिएन। दादालाई अहिलेसम्म थाहा लागिसकेको हुनुपर्छ मृत्यु शब्दको अर्थ।

वारेन जेवोन भन्छन्- ‘‘म त्यसबेला सुतेको हुन्छु, जब म मृत्युको अँगालोमा हुन्छु।’’ थाह छ, अर्थहीन जीवन जिउनुभन्दा सार्थक मृत्यु राम्रो हो। तर, यहाँ त मृत्युदण्ड करार गर्ने समुदाय नै अर्थहीन बुझिन्थ्यो। मृत्यु भनेको कहिल्यै नफर्किने सत्यता हो। र शायद त्यस दिन दादाको कलिलो सोचाइले पनि बाबालाई यस्तै मृत्युको कुवामा फसेको कल्पना आयो र खुब रोए।

‘कतिखेर हो निक्कैपछि मानिसहरू गुनगुन गरेको सुनें,’ को चेपबाट चिहाएँ। बाबा जिउँदै हुनुहुन्थ्यो। तर खुनले लथपथ। बाबाको लेख्ने हात नै काटिएको थियो।’

हत्केलामा जाती नहुने घाउ

बाबाले भानु पुरस्कार फिर्ता दिए। समय कसैनिमित्त रोकिँदैन रहेछ। समयान्तरमा पहाड़को आन्दोलन पनि शान्त बन्यो। जीवनले सङ्घर्षको काँचुली फेरेर शान्तिको पखेटामा बल्लतल्ल उड़्नु सिक्न थाल्यो। 1986 सालमा ‘चक्रव्यूह’-ले पनि साहित्य अकादेमी पुरस्कार प्राप्त गऱ्यो। हुन त जीवन ग्राफ-पृष्ठमा अङ्कित उतारचढ़ावको रेखाजस्तो जटिल कुरो हो। जीवन सङ्घर्ष हो। तर, त्यस सङ्घर्षमा बाबा सम्मिलित साहित्यिक संस्थान ‘युगपरिबोध’-ले उनको साथ छोड़्यो। कैयौँ लेखक मित्रहरूका निम्ति लेखक शरद् छेत्रीको उपस्थिति अस्वीकारणीय कुरा थियो। त्यसैले युगपरिबोधबाट राजिनामा दिने लेखकहरूको दिनदिनै ताँती बढ़्दै गयो। र अन्तमा युगपरिबोधले बाबालाई चिट्ठीमार्फत संस्थानलाई छोड़्ने आग्रहसमेत गऱ्यो। यस्तो अवस्थामा लेखकको कलमको मृत्यु हुनु स्वाभाविक कुरा थियो। बाबाले पनि साहित्यका दुई वर्षको बिदा लिए।

बाबा भन्नुहुन्थ्यो- ‘‘मेरो हातमा कहिल्यै जाती नहुने चोट लागेको छ।’’

तर काँचुली फेरेको पुतलीको पखेटालाई, काँचुलीको भग्नावशेषले कहिलेसम्म उड़्नबाट वञ्चित राख्न सक्छ। पुतली निरन्तर प्रकृतिको रङ्गबिरङ्गी ग्राफिक डिजाइनको प्रदर्शनी गर्दै उड़्छ नै। बाबालाई पनि कलम समाउनु कर नै लाग्यो।  त्यसपछि उनको लेखन्ते कलमले, उनको मृत्युपछि मात्र विराम पायो। साहित्य र सङ्घर्ष दुई मिल्दो मितेरी मित्रको नाउँ रहेछ। जहाँ सङ्घर्ष छ, त्यहाँ चोट छ, जहाँ चोट छ, त्यसको कुनाकुनाबाट उम्दा साहित्य जन्मेको हुँदोरहेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ