मार्च 19, 2026 | 4:24 बिहान

दास सर

हामीलाई थाहा छैन उनी कसरी आए। कहाँबाट आए।

सायद दिउँसो दुई बजीको कदम्बरी बसमा चढेर आए। सडककै छेउमा रहेको स्कुल कार्यालयअघि ओर्लँदा उनको काँधमा केही थान कपडा अनि जीवन धान्नका लागि चाहिने अत्यन्त जरुरी कुराहरू रहेका एउटा झोला थियो होला। एक दुइटा बङ्गला उपन्यास थियो होला।

बाटो मास्तिर ठिक्क नेपाल-भारत सिमानामा रहेको स्कुल अनि स्कुलको छात्रवासमा पस्रिएको अपराह्नको सन्नाटाले न उनलाई खुसी बनायो होला न दुखी।

उनी सरासर प्रिन्सिपल अफिसमा पसे होलान्। आफ्नो स्थानान्तरणको पत्र प्रिन्सिपललाई देखाए होलान्।

प्रिन्सिपलले उनलाई भोक पनि सोधेन होलान्। तिर्खा पनि सोधेन होलान्। उनका लागि छुट्याइएको कोठाका बारेमा केही भनेन होलान्।

‘तपाईँ अहिल्यै गएर क्लास लिन सुरु गरिहाल्नुहोस’, बस यति भने होलान्।  

यी मेरा त्यतिबेलाका कल्पना हुन्।

सत्य कुरा के भने, उनी आउनअघि उनी आउँदैछन् भन्ने कुनै खबर आएन। उनको आगमन बिल्कुलै अप्रत्याशित थियो।

म उनको आगमनलाई आफ्नो भएभरको कविताशक्तिले बढाइचढाइ गर्न चहान्नँ। म उनलाई मरुभूमिको बालुवामा अचानक खसेका पानीका मसिना दाना भन्न चाहन्नँ। त्यतिबेला हामीलाई न तिर्खाको अर्थ थाहा थियो न पानीको।

उनी एकजना सामान्य मान्छेजस्तो भएर आए। 

आएकै दिन अपराह्न हाम्रो कक्षाभित्र पसे। उनले टेबलबाट एउटा चक उठाए अनि ब्ल्याकबोर्डतर्फ दुइतिन कदम चाले। चकलाई ब्ल्याकबोर्डको एउटा कुनामा बल गरेर दबाए। त्यसको टुप्पा ट्वाक्क गरेर भाँचियो अनि भुइँमा खस्यो। त्यसपछि हातमा बचेको चकले ब्यल्याकबोर्डमा शिर्षक हाले, अरिथमेटिक प्रोग्रेसन्स।

त्यसपछि मात्र थाहा भयो, उनी हाम्रा नयाँ गणितका शिक्षक रहेछन्।

सायद हामीले उनको सम्पूर्ण नाम जान्न खोजेनौँ। दास सर भन्थ्यौँ। पहिलोपल्ट उनलाई यसो भन्दै गरेको कसबाट सुन्यौँ, थाहा छैन। दास सर उनको चल्ती नाम थियो। तर उनको पहिचान नाममा थिएन।

कति कुरा सिकाउन खोजे होलान् उनले। सायद हामीले उनीबाट सबैभन्दा पहिले सिकेको कुरा धैर्य थियो।

कक्षामा गणित जान्नेहरू भन्दा नजान्नेहरू धेर थिए। उनी जान्नेहरूसँग खुसी भए, तर नजान्नेहरूसँग कहिल्यै दुखी भएनन्। नजान्नेहरू पनि एकदिन जान्ने हुन्छन्, उनलाई विश्वास थियो।

नजान्नेहरूलाई एकै रातमा जान्ने बनाउने उनीसँग कुनै तिलस्मी हात थिएन। केवल धैर्य थियो।

नजान्नेहरूको खाता हेरेपछि उनी कहिल्यै रिसले आगो भएनन्। उनी मुस्काउँथे। तर त्यो मुस्कानमा तिरस्कार होइन, करुणा हुन्थ्यो। एउटा शितलता हुन्थ्यो।

उनी एकजना मान्छे थिए। एउटा मान्छेसँग हुने सबै किसिमका रङ उनीसँग थिए होलान्। आफूसँग भएका सबै कुरा मान्छे स्वयंले आफ्नो जीवनभरि बोध गर्न सक्तैन। हामीले त दास सरका कतिवटा रङ देख्यौँ होला र?

तर मलाई एकदिन उनी रिसले रातो भएको राम्ररी थाहा छ। 

दसौँ कक्षाको बोर्ड परीक्षा नजिक थियो। स्कुलका प्रिन्सिपलले सम्पूर्ण विद्यार्थीहरूलाई भेला गरे। सम्बन्धित विषयका शिक्षकहरूको पनि उपस्थिति थियो।

आवासीय विद्यालय भएको कारण, आफू कमजोर रहेको विषयहरूमा साँझको बेला सम्बन्धित शिक्षकले अतिरिक्त क्लास दिनुपर्ने योजना तयार भयो।

कुन विद्यार्थीलाई कुन विषय गाह्रो लाग्छ त्यो जान्ने बेला थियो।

‘अङ्ग्रेजी विषयको अतिरिक्त क्लास कस-कसलाई चाहिन्छ?’, प्रिन्सिपलले सोधे।

एकैजनाको पनि हात उठेन। यसभन्दा अगाडिका परीक्षाहरूमा एकैजना विद्यार्थी पनि अङ्ग्रेजी विषयमा कहिल्यै फेल भएको रेकर्ड थिएन। हात नउठ्नु मुनासिब कुरा थियो।

तर दास सर रिसले आगो भए अनि एक्कासी आफ्नो चौकीबाट उठे।

‘को कमजोर छैन दसौँ कक्षामा अङ्ग्रेजी विषयमा? प्रत्येक नानी अङ्ग्रेजीमा कमजोर छ। त्यसै कारण त उनीहरू गणितमा कमजोर छन्।’

अङ्ग्रेजीमा कमजोर भएकै कारण गणितमा कमजोर? यो के भनेका हुन् दास सरले? यो कुरा कसैले बुझ्न सकेनन्।

तर उनले अन्त्यमा बुझाइछाडे।

गणितमा भएका प्राय प्रश्नहरू बयानमा आधारित प्रश्नहरू हुन्थे। त्यही बयानमा ती प्रश्नहरूलाई सुल्झाउने चाबी हुन्थे।

उनका अनुसार विद्यार्थीहरूले अङ्ग्रेजीमा लेखिएका ती बयानलाई पढेर त्यसलाई गणितका भाषामा इक्वेसन बनाएर लेख्नुपर्छ। यदि विद्यार्थीहरूले अङ्ग्रेजीमा लेखिएका ती बयानहरूलाई ठिकसँग बुझ्न सकेनन् भने त्यसलाई विद्यार्थीहरूले गणितको भाषामा उल्था गर्न सक्तैनन् अनि त्यही फेल खान्छन्।

त्यसदिनको सभामा निस्किएको एउटा निकर्ष यस्तो थियो –

विद्यार्थीहरू गणितमा कमजोर छन्, तर अङ्ग्रेजीमा पनि कमजोर छन्। अङ्ग्रेजीको कमजोरी सामान्य कमजोरी होइन। किनकि उनीहरू गणितमा कमजोर हुनका पछाडि यसको ठुलो हात छ।

त्यसपछि सबै विद्यार्थीहरूका लागि अङ्ग्रेजीको अध्याय अनिवार्य गराइयो।

त्यसो त साँझको प्रार्थनासभामा गाइने प्रार्थना हप्ताको हरेक दिन बद्लिरहने नियम थियो। तर बुधबारको दिन गाइने ‘इतनी शक्ति हमें देना दाता, मनका विस्वास कमजोर हो ना!’ बोलको एउटा प्रार्थनासँग दास सरको सम्झना गहिरोसँग टाँसिएको छ।

एसेम्बलीको बेला प्रायजसो दास सर विद्यार्थीहरूको सबैभन्दा पछाडि उभिएका हुन्थे। त्यसकारण अगाडि हेरेर प्रार्थना गाइरहेका विद्यार्थीहरूले कमै मात्र उनको उपस्थितिलाई महसुस गर्थे।

तर त्यस दिन प्रार्थनाको माझमा रहेको एउटा पङ्क्तिले दास सर खल्बलिए।

‘तेरे चरणों के धुल हे हम, तु हमें ज्ञानकी रोसनी दे….’ हामीले यति मात्र गाउन भ्यायौँ।

‘ए…. बन्द कर!! बन्द कर ये! बन्द कर! क्या गीत हे ये?’ दास सर अचानक हातले सबै विद्यार्थीहरूलाई रोकिन इसारा गर्दै अगाडि देखा परे। अन्य शिक्षकहरू पनि हक्कबक्क हेरिरहे।

‘के तिमीहरू आफैलाई यति नीच सम्झन्छौ? के तिमीहरूको मूल्य धुलोको बराबर मात्र हो?’ दास सरले त्यस दिन रिसले राँकिएर यति भनेको थाहा छ। कमसेकम दास सरको उपस्थितिमा बुधबारको दिन फेरि त्यस प्रार्थनालाई दोहोऱ्याइएन। यो कुरा पनि थाहा छ। 

हामीले त्यसलाई सायद एउटा घटनाका रूपमा मात्र लियौँ। तर दास सरले हामीलाई त्यस दिन अर्को महत्त्वपूर्ण पाठ पढाए।

जीवनमा आफूलाई कसैका अगाडि तुच्छ महसुस नगराऊ। प्रत्येक मान्छे आफैमा विशेष हो। आफूलाई कुन कुराले विशेष बनाउँछ, त्यसको अनुसन्धानमा लाग।

‘आफ्नो कमजोरी कसैलाई देखाउनु हुँदैन। यसले मान्छेलाई थप कमजोर बनाउँछ’, दास सर यसो पनि भन्थे।

उनी भन्थे, गणितका सवालहरूमा पनि यो लागु हुन्छ। गणितको जटिल सवाल देखेर कोही डराउँछ भने त्यही डरले उसलाई खान्छ। कुनै पनि सवाललाई आफुले आर्जन गरेको ज्ञानको आधारमा सामना गर्ने हो। समाधान आफै निस्किहाल्छ।

सायद दास सरको यस पाठलाई हामीले त्यतिबेला गणितसम्म मात्र सीमित गऱ्यौँ होला। तर अहिले आएर सोच्दा लाग्छ, यो निश्चय नै यतिमात्र थिएन।

जहाँ अन्य शिक्षकहरू परीक्षा सकिएपछि विद्यार्थीहरूले ल्याएका अङ्कहरू परीक्षाफल तयार नभएसम्म रहस्य बनाएर राख्थे, दास सर पेपर काट्नअघि प्रत्येक विद्यार्थीलाई आफ्नो साम्मुन्ने राख्थे। विद्यार्थीकै अगाडि बढो मेहनतसँग पेपर काट्थे। विद्यार्थीले लेखेको कुरा बुझ्न नसक्दा, उसैलाई सोद्थे।

अन्टसन्ट लेखेर पन्ना भर्ने विद्यार्थी लाजले रात्तै हुन्थे।

‘यस्तो गणित मैले जीवनमा कहिल्यै देखेको थिइनँ। तैँले त नयाँ गणित आविष्कार गरिस्’, उनी ठट्टा गरेर माहोल हल्का गर्न जान्दथे।

तर पेपर काट्दा उनको हात साह्रै कन्जुस थियो। आना आना तौलिएर अङ्क दिन्थे।

एक दिन कम अङ्क ल्याउँदा मेरो अनुहार अँध्यारो भएको थियो।

‘तैँले मेहनत गरेर अर्जेको अङ्क हो। पहिले आफुले दुख गरेर अर्जेको थोकको सम्मान गर्न सिक्। आफ्नो मेहनतलाई सम्मान गर्न नजान्ने मान्छेले जीवनमा कहिल्यै अरुको मेहनतको कदर गर्न सक्तैन’, उनले भनेका थिए।

यो कुराको माने त्यतिबेलै नबुझे पनि, मनमा खिलिराखेको थिएँ। बेलाबेला त्यसलाई पल्टाएर हेर्छु, दास सरको यो अर्को पाठ केही बुझेजस्तो लाग्छ, केही नबुझेजस्तो लाग्छ। ठिक्क युक्लिडिन ज्योमेट्रीजस्तो।

दसौँ कक्षाको परीक्षा समाप्त गरेर होस्टलबाट घर फर्कँदाको त्यो दिन, सायद दास सरका लागि अन्य कुनै दिनजस्तो थियो। सायद उनी भावुक बनेनन्। गुँड छोडेर स्वतन्त्र उड्न लागेका चराहरूजस्ता आफ्ना विद्यार्थीहरूलाई बिदाइका कुनै शब्द भनेनन्। त्यो क्षण मेरो स्मृतिबाट पुरापुरी गायब छ।

विज्ञान पढ्न दुर्गापुर गएका हामी साथीहरूलाई भेट्न एकदिन दास सर अचानक हाम्रो स्कुलमा आइपुगेका थिए।

‘कि रे लेखनाथ! क्या हालचाल?’ म उनीतिर निहुँरिन जाँदा उनले काँधमा धाप मारेर यसो भनेका थिए।

मैले यसको जवाब न ठिक छु भनेर दिन सकेँ, न ठिक छुइनँ भनेर।

तर गोलो अनुहारमा गहिरो खोपिल्टा परेर गाडिएको उनका पहेँला पहेंला आँखामा सहानुभूति थियो।

त्यस दिनदेखि यता उनीबारे कुनै खबर मलाई थाहा छैन। जहाँ छन्, सायद उनको धैर्य अझ टुटेको छैन।

कलेजमा गणित मेरो विषय थिएन। तर कलेज सकेर मैले पढाउन लागेको स्कुलमा गणितका शिक्षकले दुईतिरको विद्यालयमा पढाउने हुँदा मैले पढाउने स्कुलमा धेर समय दिन सक्थेनन्।

‘म कक्षा दसलाई गणित पढाउन चाहन्छु’, मैले प्रथम दिन उनलाई भने।

उनले खुसीखुसी मलाई अल्जेब्रा, ट्रिगनोमेट्री अनि मेन्सुरेसन दिए।

जीवनमा प्रथमपल्ट औपचारिक कक्षामा गणित पढाउन लागेको थिएँ। एक किसिमको व्यग्रता थियो। चिटचिट पसिना आइरहेको थियो। मुख सुकेजस्तो भएको थियो।

विद्यार्थीहरूसँग सामान्य कुराकानी गर्दै टेबलबाट सेतो चक टिपेर ब्‌ल्याकबोर्डमा हेडिङ हाल्नअघि एकपल्ट मज्जाले झस्किएँ। आफैले थाहा नपाई ब्ल्याकबोर्डको कुनामा ट्वाक्क पारेर चकको टुप्पा त अघिबाटै फालिसकेको रहेछु। 

मनले खिचेको दास सरको तस्विर प्रत्येक वर्ष धमिलो बन्दै गइरहे तापनि, उनले भनेको एउटा वाक्य छ, जो आफु जति बुढो हुँदै गइन्छ, जीवनमा सिर्जना भएका नयाँ नयाँ परिस्थितिले त्यसलाई प्रत्येक दिन, प्रत्येक हप्ता, प्रत्येक साल ताजा बनाइदिन्छ।

“जीवनले एक दिन तँमाथि यो आरडी शर्माको ट्रिगनोमेट्रीको सवालभन्दा जटिल सवाल तँमाथि फ्याँक्छ। त्यसबाट किन्चित डराइस् भने, याद राखेस्, त्यसले तेरो घाँटी अँठ्याउँछ अनि सास थुनिदिन्छ। सवालहरूको सामना गर्ने आदत यहीँबाट बनाउन सुरु गर्।”

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ