करिब दुई शताब्दीअघि आर्थुर सोफेनहावर ले विकास गरेको दर्शन लामो समयसम्म छायामा रह्यो। उनी आफ्ना विचारहरू निर्माण गरिरहेका बेला G.W.F Hegel युरोपेली बौद्धिक जगतका केन्द्रमा थिए। विश्वविद्यालयहरूमा हेगेलको प्रभाव यति गहिरो थियो कि अन्य वैकल्पिक सोचहरूलाई स्थान नै मिल्दैनथ्यो। सोफेनहावरले पनि त्यही समयमा आफ्ना लेक्चर राखे, तर कक्षाहरू खाली नै रहन्थे। यो केवल व्यक्तिगत असफलता थिएन, समयले तत्काल उनलाई बुझ्न नसकेको यथार्थ थियो। तर इतिहास सधैँ स्थिर हुँदैन। करिब २०० वर्षपछि, Bernardo Kastrup जस्ता आधुनिक चिन्तकहरूले सोफेनहावरको दर्शनलाई पुनः उजागर गरेका छन्। उनले सोफेनहावरका विचारहरूलाई आजको भाषा, विज्ञान र चेतनासम्बन्धी बहससँग जोडेर नयाँ ढङ्गले व्याख्या गरेका छन्।सोपेनहावरको मेटाफिजिक्स सबैभन्दा बढी गलत रूपमा व्याख्या गरिएको र नबुझिएको तत्वमीमांसा हो भन्ने मूल तर्कका साथ, आधुनिक दार्शनिक तथा AI विशेषज्ञ Kastrup अघि आएका छन । उनको व्याख्या र आर्थुर सोफेनहावर का चार वटा कृतिहरू अध्ययन गरेपछि बनेको मेरो बुझाइलाई मैले यस लेखमा प्रस्तुत गरेको छु । यसले नेपाली भाषा-साहित्यमा दर्शनलाई अझ बढी आलोचनात्मक र आधुनिक दृष्टिकोणबाट हेर्ने प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ ।
सोफेनहावरका अनुसार यस संसारको आधारभूत सत्य – जसलाई पूर्वीय दर्शनमा ब्रह्म (Brahman), परमात्मा वा ताओ (Tao) भनिन्छ – त्यो न त तर्कसंगत छ, न त स्व-चिन्तनशील (Metacognitive or self-reflective) नै। दार्शनिक हेगेलले ब्रह्मलाई एउटा वैचारिक (Rational) र सचेत (Conscious) रूपमा विकसित भइरहेको सत्ता मान्थे। तर उनका कट्टर विरोधी सोफेनहावर ब्रह्मलाई एउटा आदिम प्राकृतिक इच्छाशक्ति (Will) मान्छन्। यो ब्रह्म वा इच्छा (Will) ले आफूलाई भोक, प्यास, हिंसा र निरन्तरको तृष्णाका रूपमा व्यक्त गर्दछ। प्रकृतिमा – एउटा बाघले मृगलाई लखेटिरहेको छ, ठुलो माछाले सानो माछालाई निलिरहेको छ, वा गिद्धहरू एउटा लास लुछ्न तँछाडमछाड गरिरहेका छन्। बाँच्ने तीव्र जिजीविषा र भोग गर्ने अन्धो इच्छाले नै सबै जीवहरूलाई सञ्चालन गरिरहेका छन्। यी तथ्यहरूले के पुष्टि गर्छन् भने, यो जगतको आधार ‘विचार’ होइन, बल्कि एउटा जङ्गली र अनैतिक अन्धो इच्छा (Blind Will) हो। सोफेनहावर भन्छन् – हामीले त्यो परम सत्यलाई बाहिर कतै खोज्नु पर्दैन, बरु आफ्नै भित्री अनुभवबाट सिधै जान्न सक्छौँ। हाम्रो अस्तित्वमा एउटा यस्तो सत्य छ जसले आफू ‘हुनु’ को अनुभूति लिन सक्छ, त्यो नै ‘विल’ हो।
सोफेनहावरको दर्शन कान्टको अपूर्ण दर्शनको काँधमा उभिएको छ। कान्टले दर्शनको दुनियाँमा एउटा यस्तो कोपर्निकन क्रान्ति (Copernican Revolution) ल्याइदिए, जसले पुरानो मान्यतालाई ध्वस्त पारिदियो। पहिले मानिन्थ्यो – संसार जस्तो छ, मनले त्यसलाई क्यामेराले जस्तै निष्क्रिय रूपमा रेकर्ड गर्छ। तर कान्टले देखाए कि मन त सक्रिय रूपमै दृश्य निर्माणमा संलग्न हुन्छ। हाम्रो मन र इन्द्रियहरूले परम सत्यलाई आफ्नै एउटा साँचो (Template) अनुरूप ढालिदिन्छन्। यो साँचो तीनवटा तत्वले बनेको हुन्छ:१. समय (Time) २. स्थान (Space) ३. कार्यकारण सम्बन्ध (causality) यी तत्वहरू अनुभवलाई सम्भव बनाउने जग हुन्। कुनै पनि बालक जन्मिँदै उसमा समय, स्थान र कार्यकारणको बोध स्वतः हुन्छ। यदि हाम्रो मस्तिष्कमा समय र स्थानको यो फ्रेमवर्क नहुँदो हो त हामीलाई यो संसार एउटा अराजक र भद्रगोल स्थिति जस्तो लाग्ने थियो। कान्टका अनुसार समय र स्थानको जगमा बनेको यो संसार – जसलाई पूर्वीय दर्शनमा माया (Maya) भनिन्छ – नै हाम्रो बुद्धिको अन्तिम सीमा हो। हामीले अनुभव गर्ने प्रत्येक ज्ञान वास्तवमा [मन + संसार] को मिश्रण मात्र हो। मनको पूर्वनिर्धारित समय र स्थानको साँचोमा इन्द्रियहरूले ल्याएका छापहरु (Data) लाई कार्यकारण (Causality) को कसीमा व्यवस्थित गरी तयार पारिएको आभासलाई नै प्रतिबिम्ब (Representation) भनिएको हो। यो प्रतिबिम्ब वा दृश्य–जगत निर्माण हुने प्रक्रियालाई सोफेनहावरले पर्याप्त कारणको सिद्धान्त (Principle of Sufficient Reason/Causation) भनेका छन्। सोफेनहावरले कान्टलाई समर्थन गर्दै ‘नुमिना’ वा ब्रह्मलाई इच्छा (Will) को नाम दिए जो चेतनाको पर्दामा (Screen) प्रतिविम्ब (Representation) बनेर प्रतिबिम्बित हुने गर्दछ; माने Will ‘विल’ नामक परमार्थिक एच्छिक सत्ता वास्तविकताको आदिम र प्राथमिक रूप हो भने चेतनाको पर्दामा प्रतिविम्बित यसको दृश्य-जगत स्वरूप व्यावहारिक तहमा व्यक्त भएको विभेदीकरण (Differentiation) हो। विलले आफूलाई द्रष्टा (Subject) र दृश्य (Object) मा विभाजन गरेपछि द्रष्टाको चेतनामा प्रतिविम्बित हुने स्वरूप नै यसको अब्जेक्टिफिकेसन (Objectification) हो । स्वामी विवेकानन्दको तर्कलाई सापट लिने हो भने, जगत केवल जड अस्तित्व मात्र होइन, यो त चैतन्यले पदार्थसँग बनाएको सम्बन्धको प्रकटीकरण हो। अर्थात्: जगत = मन (समय/स्थान/कार्यकारण) + ब्रह्म (इच्छा) हो।
यस संसारमा यदि केही निश्चित र प्रत्यक्ष छ भने, त्यो केवल चेतना (Consciousness) हो। हाम्रो अगाडि उभिएको यो विशाल भौतिक जगत त त्यही चेतनाको ऐनामा देखिएको एउटा छाया वा प्रतिविम्ब (Representation) हो। आजको आधुनिक विज्ञान र तत्वमीमांसा (Metaphysics) ले पदार्थलाई चेतनाभन्दा माथि राखेका कारण नै चेतनाको जटिल रहस्य (Hard Problem of Consciousness) छ। एआई (AI) विज्ञ र दार्शनिक – दुवै विधामा विधावारिधि गरेका आधिकारिक विद्वान् – बर्नाडो क्यास्ट्रुपले यस पुस्तकमा धेरै कुरा स्पष्ट पारेका छन्। आधुनिक भौतिकशास्त्रमा पदार्थ पनि तरङ्ग-कण द्वैतता (Wave-particle Duality) हुँदै क्वान्टम फिल्डमा आउने तरङ्गका रूपमा विस्थापित भएको छ। अर्थात्, पदार्थ आफैँमा पदार्थरहित ‘फिल्ड’ को एक सुपरइम्पोज्ड (Superimposed) स्थिति मात्र हो भन्ने तथ्य खुल्दै गएको छ। अर्कोतर्फ, चेतनाको परिभाषामा समेत एकरूपता नभएको र स्नायु प्रणालीले नै चेतना निर्माण गर्छ भन्ने भौतिकवादी भाष्य अपरिपक्व रहेको प्रशस्त प्रमाणहरू क्यास्ट्रुपले आफ्ना विभिन्न कृतिहरूमा प्रस्तुत गरेका छन्। मेरो आजको छलफलको ध्येय ती वैज्ञानिक विषयवस्तुमा मात्र केन्द्रित नभई, यी आधुनिक तथ्यहरूलाई सोफेनहावरले २०० वर्षअघि नै आफ्नो दर्शनमार्फत कसरी सम्बोधन गरेका थिए भन्ने हो। ‘विल’ (Will) अर्थात् एच्छिक वा अनुभूतिजन्य (Experiential) सत्तालाई वास्तविकताको प्राथमिक तह मानेका कारण सोफेनहावरले पदार्थ र चेतना दुवैलाई आफ्नो दर्शनबाट सटिक व्याख्या गरिदिएका छन्। भौतिकशास्त्रले प्रतिविम्ब (Representation) को अध्ययन गर्छ भने दर्शनको तत्वमीमांसा (Metaphysics) ले ‘विल’ को। दर्शनशास्त्रले ‘विल’ (Will) को प्राथमिकतालाई उत्खनन गर्छ भने भौतिकशास्त्रले यसको व्यवहारलाई मापन (Measurement) परिमाणीकरण (Quantification) गर्दछ । हामीले आफूलाई (inner world) दर्शनशास्त्रमार्फत बुझ्छौँ भने हाम्रा व्यवहार, अवयव र भौतिक पक्ष (Outer world)-लाई भौतिकशास्त्रले बुझाउँछ।
बर्नाडो क्यास्ट्रुप (Bernardo Kastrup) ले सोफेनहावरको लेखनमा ‘चेतना’ शब्द दुई भिन्न अर्थमा प्रयोग भएको औंल्याएका छन्। सोफेनहावरको समयमा दर्शनको क्षेत्रमा विश्लेषणात्मक प्रणाली (Analytical System) को जन्म भइसकेको थिएन, जसका कारण तत्कालीन दार्शनिकहरू भाषाको प्रयोगमा आजका जस्ता सचेत थिएनन् र एउटै शब्दलाई सन्दर्भ अनुसार फरक अर्थमा प्रयोग गर्ने गर्दथे। पछि भाषाविद्हरूले दर्शनलाई परिष्कृत गर्ने क्रममा यस शैलीलाई आधुनिक विधाका रूपमा व्याख्या गरे । यदि यी दुई अर्थलाई खुट्याउन सकिएन भने उनको तत्वमीमांसा (Metaphysics) बुझ्न कठिन हुन्छ।
अब प्रश्न उठ्छ – यदि ‘विल’ (Will) अद्वैत अर्थात् एउटै छ भने यो जगत किन हामीलाई बहुआयामिक र अनेक रूपमा अनुभव हुन्छ? यसलाई बुझ्न सोफेनहावरको तत्वमीमांसाको एउटा सूक्ष्म तर्क बुझ्न जरुरी छ। सोफेनहावरका अनुसार यो जगत भनेको ‘मन र ब्रह्म’ को समायोजित स्थिति हो, अथवा ब्रह्मले चेतनाको पर्दामा बनाएको एउटा प्रतिनिधित्व (Representation) हो। यसर्थ, पहिलो कुरा त के हो भने, ‘विल’ आफैँमा धेरै भएको होइन, बरु त्यसको ‘प्रतिनिधित्व’ वा छाया मात्र बहुल रूपमा देखिएको हो। हामीले जे देख्छौँ, त्यो त वस्तुपरक बनाइएको (Objectified) एउटा दृश्य मात्र हो। वास्तवमा ‘विल’ आफैँमा न त द्रष्टा (Subject) हो, न त दृश्य (Object) नै; बरु यी दुईमा विभाजित हुनुभन्दा अघिको एउटा आदिम र अखण्ड इच्छा हो। जब यो ‘विल’ भित्र आफूलाई बुझ्ने इच्छा जागृत हुन्छ, तब यसले आफूलाई द्रष्टा र दृश्यमा खण्डित गर्दै लैजान्छ। यसलाई विभेदीकरण (Individuation) भनिन्छ। जब यसले आफूलाई कुनै एउटा व्यक्तिगत चेतनाको सापेक्षतामा हेर्छ, तब मात्र यसले आफूलाई धेरै रूपमा देख्छ। ‘विल’ को आफ्नै दृष्टिमा त ‘धेरै’ भन्ने कुनै शब्द नै हुँदैन; ऊ त एउटा मात्र अकाट्य तथ्य हो। तर ‘विल’ बाटै खण्डित भएर बनेको हाम्रो व्यक्तिगत चेतनाका लागि भने यो अनन्त रूपमा प्रकट भएको देखिन्छ। यसलाई एउटा उदाहरणबाट कल्पना गरौँ। मानौँ एउटा विशाल वृत्त छ र त्यसभित्र हजारौँ साना वृत्तहरू छन्। त्यो विशाल वृत्तको दृष्टिमा त सत्य एउटै छ, किनकि ती सबै साना वृत्तहरूलाई उसकै आयतनले ओगटेको छ र ती उसकै खण्डित स्वरूप मात्र हुन्। तर ती साना वृत्तहरूको नजरमा भने उनीहरू जस्तै धेरै वृत्तहरू नै ‘तथ्य’ हुन्। यही कुरालाई पूर्वीय दर्शनको शैलीमा यसरी बुझ्न सकिन्छ – जीवको नजरमा ब्रह्म बहुल रूपमा प्रस्फुटित भएको देखिए पनि शिवको नजरमा ऊ एक्लो र अद्वैत छ।
सोफेनहावरका अनुसार ढुङ्गा वा माटो जस्ता निर्जीव वस्तुमा हाम्रो जस्तो चेतना हुँदैन; यिनीहरू इच्छाशक्ति अर्थात् विल (Will) को एकदमै आदिम र अविभाजित (Undifferentiated) रूप हुन्। तर वनस्पति जस्ता बहुकोशीय जीवमा पुगेपछि ‘विल’ ले बिस्तारै आफूलाई आन्तरिक र बाह्य जगतमा विभाजन गर्न थाल्छ, जसलाई विभेदीकरण (Individuation) भनिन्छ। पशुहरूको तहमा पुग्दा यो विभाजन झन् प्रस्ट हुन्छ र उनीहरूमा भोक, प्यास वा यौन-आग्रह जस्ता चेतनशील (Conscious) प्रवृत्तिहरू देखिन्छन्। तर मानवको रूपमा विकसित भइसकेपछि यो द्रष्टा र दृश्य बीचको विभेद पूर्णतः स्पष्ट हुन्छ र मानिसमा चेतना मात्र नभई अति-चेतना (Meta-consciousness) को विकास हुन्छ। पशुहरू चेतनशील भए पनि मानवमा ‘चेतनाको पनि चेतना’ (Awareness of Awareness) हुने भएकाले उसले केवल अनुभव मात्र लिँदैन, बरु “म त्यो अनुभव लिइरहेको छु” भन्ने स्व-चेतना (Self-consciousness) समेत राख्दछ। क्यास्ट्रुपका अनुसार यही मेटा-कग्निटिभ (Meta-cognitive) क्षमताले गर्दा मानिसले जगतलाई धारणा वा कन्सेप्ट (Concept) का रूपमा बुझ्न, आफ्नै विचारका बारेमा चिन्तन गर्न र चेतनाको स्क्रिनमा देखिने दृश्यहरूको पुनः प्रतिनिधित्व (Re-representation) गर्न सक्छ। यसरी एउटा अन्धो र आदिम इच्छाशक्ति (Will) मानिसको मस्तिष्कसम्म आइपुग्दा आफैँलाई चिन्न सक्ने र आफ्नै अस्तित्वको बोध गर्न सक्ने सचेत शक्तिमा रूपान्तरण हुन्छ।
सोफेनहावरको दृष्टिमा व्यक्तिगत चेतना वा अति-चेतना (Meta-consciousness) तब मात्र जन्मन्छ, जब ‘विल’ आफूलाई द्रष्टा (Observer) र दृश्य (Observed) मा विभाजित गर्छ। पशुहरूमा यो विभाजन अझै प्राथमिक अवस्थामा हुने भएकाले उनीहरूको अस्तित्व चेतना (Consciousness) मै सीमित हुन्छ भने वनस्पतिहरूमा यो केवल रासायनिक प्रतिक्रियाको रूपमा मात्र रहन्छ। यस अर्थमा, एक व्यक्तिको व्यक्तिगत चेतना भनेको ‘कन्डिसन्ड’ (Conditioned) वा एउटा निश्चित घेरामा बाँधिएको ‘विल’ हो। जसरी नदीको बहावमा भुमरी (Whirlpool) बन्छ वा तीव्र वायुमा चक्रवात पैदा हुन्छ, त्यसरी नै ‘विल’ को विभेदीकरण (Individuation) बाट जीवको जन्म हुन्छ। यसको अर्थ यो हो कि व्यक्तिगत वा जैविक चेतना एउटा ‘व्यवहारिक सत्य’ (Empirical Reality) मात्र हो भने ‘विल’ नै अन्तिम वा ‘परमार्थिक सत्य’ (Ultimate Reality) हो।
त्यसो भए त्यो अद्वैत ‘विल’ (Will) किन यसरी बहु-रूपमा प्रस्फुटित हुन चाहन्छ? ढुङ्गा, वनस्पति, पशु र मान्छे हुँदै एउटा निश्चित क्रम (Gradient) मा यो विभेदीकरण किन हुन्छ? यसको उत्तर खोज्न हामीले कुनै जटिल तार्किक अभ्यास गरिरहनु पर्दैन, किनकि यसको उत्तर ‘विल’ शब्दमै लुकेको छ। ‘विल’ को अर्थ नै तृष्णा वा इच्छा हो। आफूलाई अभिव्यक्त गर्नु नै यसको स्वभाविक प्रकृति हो। रोचक कुरा के छ भने, यो इच्छाप्रति ‘विल’ आफैँमा सचेत वा अति-चेतन (Meta-conscious) छैन। यसको आदिम स्वरूपमै आफूलाई बुझ्ने एउटा जन्मजात उद्देश्य लुकेको छ। त्यसैले ‘विल’ को स्वभाव नै आफूलाई द्रष्टा (Subject) र दृश्य (Object) मा विभाजित गरेर बुझ्नु हो। आफ्नो आन्तरिक र बाह्य जगतलाई खण्डित गर्दै बाँच्ने जिजीविषा, भोक, प्यास र यौन-इच्छा जस्ता आदिम तृष्णाका रूपमा व्यक्त हुनु नै यसको गुण हो। सरल भाषामा भन्नुपर्दा— ‘विल’ को काम नै ‘इच्छा गर्नु’ (Willing) हो। यस प्रक्रियालाई अझ प्रस्ट पार्न सोफेनहावरले प्लेटोको अत्यन्तै चर्चित दार्शनिक रूपक ‘थ्योरी अफ फर्म्स’ (Theory of Forms) को प्रयोग गर्छन्। प्लेटोका अनुसार यस संसारमा देखिएका सबै वस्तुहरू एउटा परम सत्यको ‘भौतिक प्रतिलिपि’ मात्र हुन्। अर्थात्, यस संसारका वस्तुहरू त केवल छाया वा ‘सस्तो कपी’ हुन् भने तिनको ‘असली स्वरूप’ (आइडिया) त अर्कै अभौतिक जगतमा अवस्थित छ। तिनै असली नमुना वा साँचो (Template) नै यो संसारका वस्तुहरू निर्माण हुने आधार र प्रेरणा हुन्। सोफेनहावरका अनुसार यिनै ‘आइडिया’ (Idea) हरू नै ‘विल’ को विभेदीकरण (Individuation) का लागि जिम्मेवार छन्। ‘विल’ को इच्छाकै परिणामस्वरुप ती ‘आइडिया’ हरू बन्छन्, जो कालान्तरमा जड वस्तु र चेतन प्राणीका रूपमा विभाजित हुन्छन्।
यसलाई बर्नाडो क्यास्ट्रुपले एउटा सुन्दर उदाहरणबाट बुझाएका छन्। मानौँ, तपाईंसँग एउटा गिटार छ। यदि तपाईंले त्यसको एउटा तारलाई विशेष किसिमले झन्काउनुभयो भने एउटा निश्चित ‘नोट’ बज्छ। फेरि अर्कै तरिकाले झन्काउनुभयो भने अर्कै ‘नोट’ निस्कन्छ। तार एउटै हो, तर बजाउने तरिका फरक हुँदा ध्वनि पनि फरक निस्कन्छ। त्यसैगरी, एउटै ‘विल’ ले आफूलाई फरक-फरक प्रकृतिमा ढाल्न सक्छ, जसलाई हामी ‘आइडिया’ भन्न सक्छौँ। यिनै विविध ‘आइडिया’ हरूको प्रतिनिधित्व नै हाम्रो अस्तित्वमा अनन्त र बहुल रूपमा प्रकट हुने गर्दछ।
सोफेनहावरका अनुसार वास्तविकताको मूल स्वरूप भौतिक होइन, बरु यो त अनुभूतिगम्य (Experiential) छ। किनकि ‘विल’ (Will) को जुन प्रकृति छ, त्यो कुनै जड पदार्थ नभएर एउटा मानसिक अवस्थिति हो। तृष्णा वा इच्छा आफैँमा एउटा अनुभूतिजन्य ऊर्जा हो र प्लेटोले भनेका ‘आइडिया’ (Idea) हरू पनि आफैँमा मानसिक नै हुन्छन्। तर यहाँ एउटा पेचिलो प्रश्न उठ्छ – यदि ‘विल’ एउटा अभौतिक र अद्वैत सत्य हो भने, यसले कुन संयन्त्रमार्फत आफूलाई यति धेरै स्वरूपमा व्यक्त गर्दछ? यसको आंशिक उत्तर हामीले अघिल्लो प्रसङ्गमा गिटारको तार र त्यसबाट निस्कने विभिन्न ध्वनिको आवृत्ति (Frequency) बाट बुझिसकेका छौँ। अब यसलाई मनोविज्ञानको कोणबाट अझ गहिराइमा बुझ्ने प्रयास गरौँ। के एउटै मानिसको मन धेरै मनहरूमा विभाजित हुन सक्छ? अवश्य सक्छ। चिकित्सा विज्ञानको भाषामा यसलाई मल्टिपल पर्सनालिटी डिस्अर्डर (Multiple Personality Disorder) भनिन्छ। कल्पना गर्नुहोस्, राम नामको एउटा व्यक्तिलाई यो समस्या भयो भने ऊभित्र राम, श्याम र हरि जस्ता फरक-फरक व्यक्तित्वहरू एकैसाथ रहन सक्छन्। गजबको कुरा त के हुन्छ भने, रामले श्यामलाई चिनेको हुन सक्छ तर हरिलाई नचिनेको हुन सक्छ। अझ, रामको सपनामा राम र श्याम दुवैले एउटै साझा सपना देखिरहेका पनि हुन सक्छन्। जसरी एउटै व्यक्तिको मनभित्र धेरै अल्टर इगो (Alter Ego) हरू एकअर्कामा समाहित नभई स्वतन्त्र अस्तित्वमा रहन सक्छन्, त्यसैगरी ‘विल’ को यो अनुभूतिगम्य संसारमा हामी मानिस, पशु र अन्य जीवहरू ‘अल्टर’ का रूपमा अस्तित्वमा छौँ।
यसलाई अझ दार्शनिक ढङ्गले भन्नुपर्दा – एउटै शिवको महा-सपनाभित्र हामी धेरै जीवहरूले आ-आफ्नो संसारको सपना देखिरहेका छौँ। फरक यति मात्र हो कि यो स्वप्निल यात्रामा शिव र ढुङ्गा बीचको भेद अझै मेटिएको छैन (अर्थात् ढुङ्गामा विल पूर्णतः सुशुप्त छ)। वनस्पतिमा पुग्दा थोरै विभेद सुरु हुन्छ र उसले आफ्नो आन्तरिक अस्तित्व महसुस गर्न थाल्छ। जन्तु वा पशुले त आफ्नो आन्तरिक अस्तित्व महसुस गर्ने मात्र होइन, आफूलाई बाह्य जगतभन्दा भिन्न मानेर हिँड्ने, खाने र आक्रमण गर्ने सम्मको चेतना राख्छ। तर मान्छेले भने यी सबैका साथै सिङ्गो जगतलाई नै आफ्नो मनभित्र प्रतिनिधित्व (Representation) गर्ने क्षमता राख्छ। किनकि मानिसमा पुगेपछि ‘विल’ स्पष्ट रूपमा द्रष्टा (Subject) र दृश्य (Object) मा टुक्रिन्छ र अति-चेतना (Meta-consciousness) को जन्म हुन्छ।
मानव बुद्धिलाई सोफेनहावरले ‘इच्छाको विशाल समुद्रमा ठडिएको एउटा सानो प्रकाशघर’ (Lighthouse in the ocean of Will) सँग तुलना गरेका छन्। यद्यपि आजका धेरै विद्वानहरू बुद्धिलाई नै सर्वोपरि मान्छन्, तर हाम्रो प्रत्यक्ष अनुभवले भन्छ – बुद्धिको क्षमता अत्यन्तै सीमित छ। उदाहरणका लागि, केवल तर्क वा विचार गरेर मात्र कोही पनि मानिस डिप्रेसनको भुमरीबाट बाहिर निस्कन सक्दैन, न त प्रेममा धोका पाएको व्यक्तिले आफ्नो भावनालाई तुरुन्तै नियन्त्रण गर्न नै सक्छ। यसले के पुष्टि गर्छ भने हाम्रो बुद्धि त ‘विल’ नामक अगाध समुद्रको एउटा सानो टापु मात्र हो। हामीभित्र ‘विल’ भावना, प्यास र यौन-आकांक्षा जस्ता आदिम इच्छाहरूका रूपमा व्यक्त हुन्छ, जसलाई बुद्धिको फिल्टर वा प्रतिनिधित्व (Representation) को आवश्यकता पर्दैन। यो त पशुहरूमा पनि देखिने एउटा अनुभवजन्य (Empirical) तथ्य हो। आन्तरिक आवेग र तृष्णाहरू बुद्धिको मन्जुरी बिना नै सिधै प्रकट हुने ‘विल’ का आदिम स्वरूप हुन्।
सोफेनहावरको दर्शनमा हामीले आफूलाई ‘विल’ (Will) को रूपमा महसुस गर्न सक्छौँ, तर यही अनुभूति नै फेरि हाम्रो दुःखको मूल कारण पनि हो। हामीभित्रको अनन्त तृष्णा नै वास्तवमा छटपटी, अपूर्णता र असन्तुष्टिको जड हो। पशुहरूले पनि यी आन्तरिक भावना र पीडा महसुस गर्छन् किनकि उनीहरूमा चेतना हुन्छ। तर मानिसमा भने अति-चेतना (Meta-consciousness) विकास भएको कारणले हामी आफ्नो अपूर्णतालाई महसुस मात्र गर्दैनौँ, बरु “म अपूर्ण छु” भन्ने तथ्यको बोध गरेर थप पीडित हुन्छौँ।
हाम्रो बुद्धिले अस्तित्वलाई चेतनाको पर्दामा प्रतिनिधित्व गर्ने क्षमता राख्छ। यसैले हामी आफूलाई अरूसँग तुलना गर्छौँ र झन् धेरै अस्तित्वगत पीडा अनुभव गर्छौँ। हामी पीडाका बारेमा सोचेरै ‘डिप्रेस’ हुन सक्छौँ। अर्थात्, जुन अति-चेतना मानव हुनुको मुख्य चिनारी हो, त्यही नै हाम्रो मेटा-सफरिङ (Meta-suffering) अर्थात् ‘पीडामाथिको पीडा’ को कारण पनि हो। यसलाई यसरी बुझौँ: अति-चेतना प्राप्त गर्नका लागि ‘विल’ ले अति-दुःखको मूल्य चुकाउनुपर्छ।
राम्रो समाचार यो हो कि हामीसँग भएको अति-चेतनाले गर्दा हामीले ‘विल’ लाई अनन्त रूपमा बुझ्न र चित्रण गर्न सक्छौँ। तर खराब समाचार चाहिँ, यही क्षमताका कारण हामीले आफ्नो दुःख र अपूर्णतालाई त्यसरी नै ठुलो बनाइदिन सक्छौँ, जसरी एउटा ‘माइक’ ले सानो आवाजलाई अत्यधिक ठुलो (Magnify) बनाइदिन्छ। यसैकारण कतिपय विद्वान्हरू सोफेनहावरलाई दुःखवादी दार्शनिक पनि भन्दछन्।
व्यक्तिको अस्तित्व समय, स्थान र कार्यकारणको सीमाभित्र हुन्छ, तर ‘विल’ यी सबै सीमाभन्दा पर समय र स्थानविहीन अवस्थामा रहन्छ। अफसोसको कुरा, हामी ‘विल’ लाई त्यसको वास्तविक ब्रह्म-स्वरूपमा पूर्णतः अनुभव गर्न सक्दैनौँ, किनकि त्यसका लागि हामी स्वयं त्यो अविभाजित ‘विल’ बन्नुपर्ने हुन्छ। हामी त पहिले नै द्रष्टा र दृश्यमा विभाजित भइसकेका छौँ। त्यसैले हामीले ‘विल’ लाई कि त आफ्ना तृष्णाहरूका माध्यमबाट महसुस गर्न सक्छौँ, कि त सूक्ष्म अवलोकनबाट कसरी ब्रह्म ‘माया’ मा परिणत हुन्छ भन्ने प्रक्रियालाई बुझ्न सक्छौँ। सोफेनहावरका लागि वास्तविकता केवल विश्लेषण गर्ने विषय मात्र होइन, यो त संगीत र कलाका माध्यमबाट महसुस गरिने सत्य हो। यसरी उनको दर्शनले मानिसलाई केवल बुद्धिको कारागारबाट मुक्त मात्र गर्दैन, बरु जीवनलाई कलात्मक आयामबाट हेर्ने दृष्टि पनि प्रदान गर्दछ। सायद यही कारणले गर्दा, सोफेनहावरको जीवनको अन्तिम कालखण्डमा कलाप्रेमीहरूले उनलाई बढी बुझ्न र सम्मान दिन थालेको ऐतिहासिक तथ्य पाइन्छ।
उनको दर्शनमा कसरी पूर्वीय र पश्चिमी दार्शनिक साहित्यहरूले हात मिलाउँछन् । वास्तवमा सोफेनहावरको यो चिन्तन पूर्वीय दर्शनसँग निकै नजिक छ, जहाँ जीवको व्यवहारिक स्थितिलाई दुःखदायी नै मानिएको छ। गीतामा संसारलाई ‘दुःखालयम्’ भनिएको छ भने बुद्ध दर्शनको पहिलो सूत्र नै ‘दुःख छ’ भन्ने सत्य हो। तर यी दर्शनहरू टाउको झोक्राएर बस्ने कुरामा सहमत छैनन्। तृष्णाले हामीलाई दुःख दिइरहेको तथ्यसँग जानकार हुनु, त्यसको भौतिक प्रस्फुटनलाई बोध गर्नु र तृष्णाले दिएको अपूर्णतालाई ‘कला’ को माध्यमबाट छल्नु नै बुद्धिमानी हो। सोफेनहावरका अनुसार तृष्णाको सचेत नकार अर्थात् तपश्चर्या (Asceticism) को पालन गरेर यसको दुःखदायी परिणामबाट मुक्त हुनु नै जीवको मुख्य उद्देश्य हो।
निष्कर्षमा भन्नुपर्दा सोफेनहावरको दर्शनले हामीलाई वस्तुपरक भौतिक संसारको सीमाभन्दा पर रहेको एउटा आदिम र अखण्ड इच्छाशक्ति अर्थात् विलको बोध गराउँछ। उनले प्रतिपादन गरेको यो तत्वमीमांसाले एकातिर आधुनिक विज्ञान र चेतनाका जटिल प्रश्नहरूलाई सम्बोधन गर्छ भने अर्कोतिर पूर्वीय अध्यात्मका गहिरा सत्यहरूलाई पश्चिमी तार्किक धरातलमा उभ्याउँछ। मानव हुनुको गौरव र सास्ती दुवै हाम्रो अतिचेतनामा लुकेको छ जसले हामीलाई आफ्नै दुःखको द्रष्टा बनाउँछ। तर यो दुःख केवल निराशाको पर्याय होइन। तृष्णाको अन्धो वेगलाई बुझ्नु, कलाका माध्यमबाट सौन्दर्यको रस्वादन गर्नु र सचेत वैराग्यमार्फत इच्छाको सीमालाई नाघ्नु नै सोफेनहावरले सुझाएको मुक्तिको मार्ग हो।