जुलाई 17, 2026 | 9:30 बेलुका

‘ड़’ -नेपाली भाषामा शीबोलेथको नयाँ प्रतीक

2023’  को फेब्रुअरी महिनामा म दक्षिण जाँदै थिएँ । त्यस समय फेसबुक स्टेट्समा यस्तो लेखेको थिएँ:

“ समुद्र माथि माथि हवाईजहाजमा  उड़ेर जाँदै गर्दा, सबैभन्दा दुःखलाग्दो कुरा चाहिँ के हो भने तपाईले कथा कल्पना गर्ने क्षमता बिस्तारै गुमाउँदै जानु हुन्छ । विशेष गरेर तपाईं यदि समुद्रको मान्छे होइन भने । तपाईँको निम्ती समुद्रले के कस्तो कथाहरू लुकाएर राखेको हुन्छ, तपाईले कल्पना गर्नै सक्नुहुन्न । उसको विस्तृत नीलो फैलावटले तपाईंको कल्पना- शक्तिलाई अलल्लाई दिन्छ । समय बित्दै जाँदा घरिघरि तल हेर्दै फेरि आफ्नो मोबाइलमा हेरिरहनु बाहेक तपाईंसँग अर्को विकल्प नै हुँदैन । समुद्रको त्यो विरक्त लाग्दो  ‘एक्स्प्रेसन लेस्’ फैलावटले तपाईंलाई नै माथि हेरिरहेको हुन्छ।

बेलाबखत उड़ी आउने ऊन रूपी बादलका थोप्लाहरूले तपाईंको दिवासपनाहरूलाई अझ शुष्क बनाइदिन्छ, अनि  उड़िरहनुभएको हवाईजहाजको ‘टर्बुलेन्सको’ गड़गड़ाहटले तपाईँको हड्डी र रगत समेत सुकाइदिन्छ ।

म त परे पहाड़को मान्छे, डाँड़ाकाँड़ाले मलाई सधैँ जोशिलो बनाएको छ‌ । समुद्र काटेपछि हवाईजहाजबाट तल देखिएको डाँड़ा-पहाड़हरूको कथाहरू धेरै छन् मलाई सुनाउन- जस्तो लाग्छ । ती जमिन, प्राचीन पहाड़, त्यस समयका डाकू, लुटेराका सरदार, राजा अनि सम्राटहरूले आफ्नो जमिन, क्षेत्र जोगाउन कसरी अनि कति भयानक युद्धहरू लड़े होलान्, त्यस  कल्पनामा डुबेर म रोमान्चित हुन सक्छु ।  जोसमा आउन सक्छु । तर समुद्रमाथि उड़ेर जाँदा त्यस्तो हुँदैन । समुद्रको  उराठलाग्दो फैलावटले मेरो सोच्ने र कल्पना शक्तिलाई नै बौने बनाइदिन्छ । शायद समुद्रको मान्छेले पहाड़ देख्दा  उ पनि त्यस्तै हुँदो हाे की !

भनिन्छ, मान्छेले आफ्नो जीवनमा कहिल्यै नदेखेको मान्छेकाे अनुहार सपनामा पनि उसले कहिले देखिदैन । मैले समुद्रलाई मन भिज्ने गरी छुएको छुइन । समुद्रको स्पर्श-स्मृति म अनुमान मात्र गर्न सक्छु । समग्र समुद्रको स्वाद कस्तो हुन्छ, मलाई थाहा छैन । उसको नुनिलो गन्ध म कल्पना मात्र गर्न सक्छु । उसका प्राचीन कथाहरू र रहस्यहरू मेरो सानो मस्तिष्कले मापन गर्न सक्दैन । म भित्रबाट रिक्त हुँदैछु । म निरष बन्दैछु । ओ हेमि़गं वे, मलाई अनुग्रहित गर, ताकि म आफ्नै एउटा “ओल्ड म्यान एण्ड सी” लेख्न सकूँ । ”

प्रत्येक मान्छे नै गौंँथली हो । जलवायुको अवहावामा अलिकति तातो चिसो चड्योकी उसलाई उत्तर+दक्षिण स्मरण भइहाल्छ । पहाड़मा चिसो चढ्योकी मेरो पनि दक्षिण उड़ी हाल्ने मन बनिन्छ ।

यसपालि पनि त्यही ‘ हवाईजहाज । त्यही ‘ हवाई जहाजको ‘रुट’ ।  समुन्द्रमाथि उड़दै उड़दै दक्षिण गएको थिएँ । तर यसपालि तल फैलिएको उराठ लाग्दो समुद्री फैलावटले म विचलित भएको थिइन ।  तर म भनेँ मनमा ‘डाँड़ा’, ‘पहाड़’ कै विचारले नै खिचिन्दै जाँदै थिएँ । ‘डाँड़ा’ ‘काँड़ा’, ‘पहाड़’ले मलाई भन्न चाहेको कथाहरूले होइन । तर डाँड़ा पहाड़को शब्दहरूले । अझ स्पष्ट रूपमा भन्ने हो भने डाँड़ा पहाड़ शब्दहरूमा प्रयोग भएको अन्तिम अक्षर् “ड़” ले ।

अमेरिकन कवि चार्ल्स बाउकोस्कीको एउटा प्रसिद्ध कविता छ, “निलो चरा” । कवितामा उनी लेख्छन् –

“..……म भित्र एउटा निलो चरा छ।

जो सधैँ बाहिर फुत्कन चाहन्छ

तर म त्यसको लागि धेरै सशक्त छु

म भन्छु

तँ तलै बस । के ‘तँ’ मलाई बिगार्न चाहन्छस्

मेरो पुस्तकको बिक्री युरोपमा बिगार्न चाहन्छस्

….

तर म धेरै चलाक छु।

म त्यसलाई केवल

सबैजना निदाएको बेला मात्र कहिलेकाहीँ रातमा

बाहिर जान दिन्छु

म भन्छु, म जान्दछु तँ त्यही छस्

त्यसैले दुखि नहुनु ।’’……

………..

( नेपालीमा उल्था मेरो हो )

The Last Night of the Earth Poems, Charles Bukowski Publisher: Ecco (17 March 2009)

सबैले सधैँ आफूभित्रको “निलो चरा”लाई थुनेर राख्न सक्दैन । बुकोस्कीले जस्तो कसैले नदेख्ने गरेर रातको अँध्यारोमा मात्र ‘निलो चरा’ लाई मनको पिञ्जड़ा‌ देखि उम्कन दिन सक्दैन । दार्जिलिङमा नेपाली भाषाको वर्णविन्यासमा ‘ड़’ , ‘ढ़’  राखौँबादी र ‘ड़‌’ , ‘ढ़’ हटाऔंँवादीहरू बीच फेसबुकमा अन्तरकलह चलिरहेको बेलामा मैले पनि ‘म’ भित्रको  “निलो चरा” लाई  थुन्दा थुन्दै अन्यासै मनैबाट फुत्काइ पठाएँ र फेसबुकमा स्टाटस लेखी पठाएँ । अनि   ‘ड़‌’, ‘ढ़’  हटाऔंँवादीहरूबाट निकै टोकस पनि खाएँ ।

“ दार्जिलिङे जीवनको विकाससँगै दार्जिलिङले पाएका तीनवटा सांस्कृतिक चिनहरू छन्, जो दार्जिलिङको पहिचान र अस्तित्वको पर्याय नै बनिसकेको छ ।

‘रेल’

‘चिया’

‘ड़’

एक समयमा दार्जिलिङबाट “हिमालयन रेल” उखालेर फ्याँक्नेको जमात पनि कम थिएन । अहिले दार्जिलिङबाट चियाको बोट उखालेर फ्याँक्ने जमातको नयाँ भाष्य दार्जिलिङे समाजमा निर्माण हुँदैछ‌ नै । दार्जिलिङ नेपाली भाषाको वर्ण विन्यासबाट   ‘ड़’ , ‘ढ़’ वर्णहरू उखालेर फ्याँक्नेको बौद्धिक हुद्दा पनि बलियो बनिसक्यो ।”

“दार्जिलिङको रेलको कुरा त बुझ्यौ। चियाको कुरा पनि बुझ्दैछौँ। तर यो “ड़” चाहिँ के हो। ?  “ड”  के हो ? भनेर प्रतिक्रिया माग्नेहरू मध्ये नेपालका बुकहिल प्रकाशनका डाइरेक्टर भूपेन्द्र खड्काज्यु पनि मेरो फेसबुकपोष्टको कमेण्ट सेक्सनमा आए अनि प्रतिउत्तरमा मैले उहाँलाई लेखेँ ।

“ नेपालले /ड/ लाई नेपाली वर्णमालामा वर्ण/स्वनिम ( phoneme ) मान्छ । ‘ड़’लाई  आफ्नै अस्तित्व नभएको /ड/ कै समध्वनी/संवर्ण ( allophone ) मात्र मान्छ । नेपालको नेपाली भाषा सम्बन्धित व्याकरणहरूमा बनाइएको वर्ण-विन्यास ( orthography) ले शब्दमा ‘ड़’ वर्ण नलेखेर /ड/  लेख्दा नै परिवेश अनुसार

[ड़] को उच्चारण हुन्छ, भन्छ ।  भनिरहेको छ। उदाहरणको निम्ति ‘डाँडा’ लेख्दा स्वत ‘डाँड़ा’को उच्चारण हुन्छ भन्ने मान्यता राख्छ । दार्जलिङ्ले भने /ड़/ र /ड/ लाई फरक वर्ण मान्दै आएको छ । नेपालको ‘डाँडा’लाई हामी दार्जिलिङमा ‘डाँड़ा’ नै लेख्नुपर्ने पक्षमा छौँ ।  दार्जिलिङमा देखापरेका केही नयाँ व्याकरणहरुले भने’ ‘ड़’ लाई वर्ण/स्वनिम नमानेर /ड/ कै संवर्ण/संध्वनी( allophone )मानेर “डाँड़ा” नलेखेर “डाँडा”नै लेख्नुपर्ने पक्षलाई समर्थन गरेका छन् । हामी (म) यो विचारलाई नेपालबाट आयातित विचारको रुपमा हेर्छौं ।

यस भनाइका आधारमा /ड़/ हटाउने पक्षधरहहरू यो विचारलाई भाषाविज्ञान सम्मत मान्दैनन् ।  नयाँ व्याकरणका प्रयोगकर्ताहरू दार्जिलिङको वर्णविन्यास ( orthography) बाट /ड़/ हटाउनु हुँदैन भन्ने अड़ानलाई परम्परावादी सोँच मान्छन् । अनि भारतीय साहित्य अकादमीको पुच्छरे मान्दछन् । हामी भन्छौँ ‘ड़’( उत्छिपत् ध्वनि/retroflex flap/IPA symbol ( ɽ ) नेपाली भाषाको मौलिक ध्वनि हो । ‘ड़’  हटाउनु नेपाली भाषाको ध्वनि विज्ञान (phonology) अनुसार उचित छैन । यो भाषा विज्ञानसम्मत छैन । यो केवल नेपालबाट दार्जिलिङमा आयातित विचार हो भन्ने पक्षमा छौँ । यसले दार्जिलिङको पहिचानलाई हरण गरिरहेको मान्छौँ । ‘ड़’वर्ण लाई /ड/ कै समध्वनी/संवर्ण [ ɽ ]  मानेर नेपाली ध्वनिबाट हटाउने जुन प्रक्रिया दार्जिलिङमा पनि चलिरहेको छ त्यो नेपालमा चलेको विशेष गुटको भाषिक चलखेल र सत्ता निर्माणको राजनीति हो । यस आयातित विचारले दार्जिलिङको भाषिक पहिचानलाई मार्दैछ भन्ने पक्षमा छौँ। यस विषयमा भाषाविज्ञानकै तर्क राखेर एउटा लेख लेख्ने तयारीमा छु। ”

यसपटक फेसबुकमा अलिक कड़ा नै लेखेछु क्या हो जस्तो लाग्यो- अहिले सम्झिँदैछु । एकदिन साहित्यिक जमघटमा एकजना साहित्यिक भाइले क्रिप्टिक वाक्यमा भन्नुभयो  “दा’ कविता राम्रै लेख्नुहुन्छ त हौ । नेपाली साहित्यलाई राम्रै योगदान दिनुहुँदैछ । भाषाको यस्तो किचलोमा नपर्नु । यस्तो कुराले सृजना मर्छ । भाषा सम्बन्धित यस्तो टेक्निकल कुराहरू भाषाविदहरूको  हो । हाम्रो होइन । फेरि पछि इमेज पनि बिग्रिला ”  । भाइको कुरा सुनेर मनमनै सोचेँ , कविता त लेख्दै जाउँला । तर आमाको गर्भबाटै लिएर आएको व्याकरण “( चम्स्कीको भाषामा भन्नु हो भने जेनेरेटिभ ग्रामर/ इन्नर ग्रामर) “ लाई नै गलत हो भनेर स्थापित भाषामा कसैले केही थोप्दैछ भने त्यस समय कविताभन्दा भाषाको कुरा मुख्य भएर जान्छ, भन्ने लाग्यो । स्थापित र मान्य व्याकरण अनुसार भाषाको हिज्जे गलत भयो भनेर  सिकाउनु र सुधार्न लाउनु  एउटा कुरा हो तर कुनै चलती वर्ण नेपाली ध्वनि परम्परामा नै छैन भनेर आफू खुसी हटाउनु  दुई भिन्न कुराहरु हुन् । कुनै पनि भाषाको वर्णविन्यासमा नयाँ वर्ण जोड्दा वा हटाउँदा भाषिक किचलो त भएकै छ । नेपालीमा भाषामा आएको यो अन्तरकलह कुनै नौलो कुरा होइन ।

यसभन्दा अघि पनि फेसबुकमा एउटा स्टाटस सेयर गरेको थिएँ ।

“ जनकको मुजुर र ड़ र ढ़  मुनिको थोप्ला !  ”

“ आज रमिता छ” उपन्यासका नायक जनक जब मुगलान छिरे,  उसलाई पछ्याउँदै आएको मुजुरलाई सीमा पारी नै खेदी पठाए । उपन्यासको उक्त घटनालाई एक ‘महाशय’ ज्यूले उपन्यासकार इन्द्रबहादुर राईको अवचेतनमा रहेको नेपाल मोह हो भनेर एकदिन फेसबुकमा स्टाटस लेखेका थिए । उनले अझ थपेका थिए इन्द्रबहादुर राई जस्ता नामी लेखहरूको यस्ता गैर जिम्मेवारपूर्ण लेखनले हाम्रो राजनीतिक अस्तित्व धमिलिएको छ । आज सोही महाशयज्यूले ड़  र ढ़  मुनिको थोप्ला लाउनु हुँदैन । यो थोप्ला हिन्दी भाषाको प्रभावमा आएर लेखिएको हो भनी, भाषाविज्ञानको नाममा थोप्ला  नचलाउने वकालत गर्दैछन् । अब भारतीय नेपाली भाषामा  थोप्ला नचलाउनु भनेर भारतीय नेपाली भाषाबाट हिन्दीको प्रभाव परिमार्जन गर्ने जुन अभियान चलाउँदैछन् त्यसको अवचेतनमा पनि ‘नेपाल मोह’ छैन भन्न मिल्दैन । हाम्रो बौद्धिक जमातले चलाएको यस्ता मुहिमलाई हाम्रो ‘केन्द्र‌’ ले कसरी हेरिरहेको छ कसैले निर्क्यौल गर्दैछ त ? हाम्रो भविष्य अझै अन्योलपूर्ण त हुने होइन ? किनभने ( उक्त ‘महाशय’ को मुजुरको उपमालाई टिपेर )  जनकले मुजुरलाई सीमामा पारी धपाउनु र ‘ड़‌’ र ‘ढ़’ बाट थोप्ला हटाउनुको मनोवैज्ञानिक आधार एउटै हो । नेपाल मोह नै हो । अहिले भाषा विज्ञानको रट जसले पनि लाउँदैछन् , उनीहरू विज्ञानको निष्कर्ष कतिको राजनीतिक पूर्वाग्रह (politically biased) ले निर्मित हुन्छ भन्ने कुरामा स्पष्ट छन् कि ? ”

अब फेसबुकमा यति लेखेर पाेष्ट गरे पछि यसको प्रतिउत्तर नआउने कुरै उठेन । हुन त मैले त्यस फेसबुक स्टाटसमा एक महाशय भनेर कसैलाई इङ्गित नगरी पाेष्ट हालेको थिएँ । तर सिक्किम युनिभर्सिटीका प्राध्यापक डाक्टर देवचन्द्र सुब्बाज्यू (जो नेपाली भाषाका असल ज्ञाता ( भाषाविद? ) हुन् जसले नेपाली भाषा जिज्ञासुहरूलाई  फेसबुक मार्फत  शुद्ध हिज्जे र नयाँ वर्ण विन्यास सिकाइरहेका छन्)  उहाँ आफैले क्लेम गर्नुभयो । “ यो कुरा मैले भनेकै हो।। इबरा, गिरी, कटुवालमा रहेको नेपालमोह को कुरा मैले गरेको  हुँ । छन्, देखिन्छ उनीहरूको लेखनमा “ तर अहिले पनि प्रज्ञाको शब्दकोश पल्टाउनेहरूले थोप्ला नभएको चाहिँ नेपालमुखी भन्नु कस्तो कुरा हो ”?  मलाई उसको “ इत्रु बुझाइ र ज्ञान देखेर लाज पो लाग्यो । “ मैले केही भनिन……..” किनभने उसको विचारले बौद्धिक दरिद्रता देखाएको छ।”…

फेसबुकमा यतिको खरो प्रतिक्रिया त मैले आशा गरेकै हुँ । तर यसको प्रतिक्रिया प्रा डा देवचन्द्र सुब्बाज्यूबाट आउँछ भनेर मैले आशा गरेको थिइन । “ उसको “ इत्रु बुझाइ र ज्ञान देखेर लाज पो लाग्यो । “ मैले केही भनिन……..” किनभने उसको विचारले बौद्धिक दरिद्रता देखाएको छ।”.. भन्ने म माथिको कटाक्षले विचलित भइन । तर एकदिन सलबारीमा अग्रज साहित्यिक दाइ ज्ञानेन्द्र खतिवड़ाज्युले “जनकको मजुर”  र  भारतीय नेपाली वर्णमालाको  ‘ड़’ र ‘ढ़’ मुनिको थोप्लासँग जोड़ीदिएर, जुन ‘उपमा’  फेसबुक स्ट्याटसमा लेखेको थिएँ, त्यसलाई दाइले नेपाली भाषा विवादमा ल्याएको “बेतुकको उपमा” भनेर मलाई थर्कमान पारे । डा इन्द्र वाहादुर राईको  नेपाल मोहको कथन मेरो त थिएन । जे होस् त्यस दिनको ‘ड़’, ‘ढ़’ विवादलाई त्यही टुङ्ग्याउन र दाइलाई थुमथुम्याउन भनेँ – शायद नेपाल मोह भनेर अलिक बेसी नै भनियो होला(  त्यसलाई नेपाल मुखी लेख्दा सठीक होला) , यदि भविष्यमा कुनै समय भाषाविवादमा पूर्णलेख लेखेँ भने सुधारौँला । आज सोहि दाइलाई दिएको वचनको सम्मान राख्दै ‘नेपाल मोह’ शब्द उत्तरदायित्व साथ फिर्तालिँद छु अनि सहर्षसाथ ‘नेपाल मुखी’ लेख्दछु ।

तर पनि भाषाका जानकारहरूका यस्ता प्रक्रियाले भन्दा नेपाली भाषाको साधारण प्रयोक्ताहरूका जिज्ञासा वा प्रतिक्रियाले म अझ ड़ ढ़ बारे सोँच्न बाध्य भएको थिएँ ।

मेरो फेसबुक स्ट्याटस पढेपछि केही साथीहरुले फोन गरेर सोधेका थिए । – “ड़” लाई के भयाे हरे ? शिखाले शिलाङबाट फोन गरेकी थिइ । मैले भनेको थिएँ अब दार्जिलिङमा “ड़” नचलाउने हरे हौ । उसले अन्यासै भनेकी थिइन् – उसो भए ‘डाँड़ा’ कसरी लेख्नु । “ड़” लेखेन भने “डाँड़ा” त “डाँडा” हुन्छ त । उसलाई चिड़ाउन अझ भनेको  थिएँ,  “श” पनि त नेपाली वर्ण होइन भन्दैछ । अब तिम्रो नाम “ शिखा” लेख्दा “श”  को सट्टा “स”  लेख्नुपर्ने हुन्छ । मेरो कथन उ झन् हैरान भएकी थिइ । अनि भनिन् “ ‘सिखा’ ले त मेरो व्यक्तित्वनै संकुचित भएको अनुभव भयाे ।” उसको चिन्ता उसको स्वरको कम्पनमा आएको परिवर्तनले मैले चाल पाएँ ।

/ड़/ नलेख्दा डाँड़ा त डाँडा हुन्छ भन्नेहरू अन्य पनि थिए । तर यस्तो प्रतिक्रिया साधारण भाषा प्रयोक्ताहरूको तत्क्षणिक प्रतिक्रिया‌ मात्र हो । वास्तवमा यस्तो प्रतिक्रिया ध्वनिविज्ञान ( phonology)  सम्मत हुँदैन । उनीहरू अहिले पलायन भएर दार्जिलिङ पहाड़ बाहिर छन् । सबैको चिन्ता एउटै छ – ‘डाँड़ा’ चाहिँ कसरी लेख्ने ।

हुन त /ड़/  र  /ढ़/ प्रयोग भएका शब्दहरू हजार छन्- लड्नु, पढ्नु, गाड़ी, साड़ी,  काँड़ा, आदि । तर सबैको ‘अवसेसन’ चाहिँ ‘डाँडा’ शब्द नै किन ? समतलमै जन्मी हुर्की बढ़ेका नेपाली भाषीहरूको ‘डाँड़ा’ बारे पहिलो प्रतिक्रिया कस्तो हुन्छ, जान्न पाएको छुइन । सायद यसको उत्तर केवल सतही हिच्चे वा वर्णको प्रश्नले मात्र सम्बोधन हुँदैन । शब्दहरू केवल ध्वनि वा भावना बिहिन अक्षर पुञ्ज मात्र होइनन्, तर कुनै समुदायको भूगोल, संस्कृति, स्मृति र पहिचान बोकेका प्रतीकहरू पनि हुन्।  हिजआज साहित्यिक समालोचनामा पहाड़ी सौन्दर्यशास्त्र ( mountain aesthetics) शब्द निकै प्रयोगमा चलाएको देखिन्छ । साहित्यमा पहाड़ी सौन्दर्य भन्नाले के बुझाउँछ भने लेखकहरुले पहाड़, डाँड़ा – काँड़ाहरूको दृश्यात्मक र प्रतीकात्मक विशेषताहरूलाई प्रयोग गरी विषयवस्तुहरू विचार भावना आफ्नो पाठमा कसरी उजागर गरेका छन् भन्ने बुझाउँछ। यदि साहित्यमा ‘डाँड़ा’ केवल भौतिक दृश्य नभई कसैको सांस्कृतिक र भावनात्मक प्रतीक बन्न सक्छ भने, त्यही ‘डाँड़ा’ बुझाउन निर्माण भएको शब्दहरू अनि ति शब्दहरू भित्रका वर्णहरूले साधारण भाषा प्रयोक्ताको मनोविज्ञानमा विशेष स्थान ओगट्नु अस्वाभाभिक होइन।

भौगोलिक अवस्थाले साधारण व्यक्तिको बोल्ने भाषामा ठूलो प्रभाव पार्छ । भौगोलिक छेक- बारहरू जस्तै पहाड़ , नदी, समुद्र- ले समुदायहरूलाई अलग बनाउँछन् ,जसले गर्दा बोली उच्चारण तथा शब्दावलीमा विविधता विकास हुन्छ । संक्षेपमा भन्ने हो भने ‘तपाईं कसरी बोल्नुहुन्छ तपाईं कहाँ बस्नुहुन्छ’  त्यसले निर्धारण गर्छ ।

 यसर्थ भारतीय नेपाली वर्णमालाबाट /ड़/ हटाउँदै छ भन्ने कुरा सुन्नासाथ नेपाली भाषाका साधारण प्रयोक्ताहरुको- “अब ‘डाँड़ा’ कसरी लेख्नुपर्नेको” चिन्ता उनीहरूको प्रतिक्रियामा स्वतः आउँनु कुनै संयोग होइन‌ । भारतीय नेपाली भाषा जानकारहरूको “ड़” वर्ण माथिको आक्रमण उनीहरूले आफ्नो पहाड़े अस्तित्व माथिको आक्रमण ठानेका हुन् कि ? इतिहासको छेड़खानी‌ मानेका  हुन् कि? दार्जिलिङले विरासतमा पाएको सांस्कृतिक सम्पति माथिको अतिक्रमण सम्झिँदा हुन् कि ? वा उनीहरूको ‘इनर ग्रामर’ मा बाह्य हस्तक्षेप ? पहिचान, इतिहास, सांस्कृतिक सम्पति र आन्तरिक भाषिक संरचना – यी सबै तहमा यसको सम्बन्ध हुने सम्भावनालाई सहजै अस्वीकार् गर्न सकिन्न । कुरा सुन्दा अलिक पाखे लाग्ला । अवैज्ञानिक लाग्ला । भावात्मक लाग्ला । परम्परावादी लाग्ला । कल्पनाको ‘ओभर स्ट्रेच’ लाग्ला । तर जबसम्म भाषा सम्बन्धित सामाजिक भाषाविज्ञान ( socio linguistic), भाषाको सामाजिक अध्ययन (sociology of language) मनोभाषाविज्ञान ( psycho linguistic) संज्ञात्मक विज्ञान अनि भाषा (cognitive science and language) भाषा अनि राजनीति ( language and politics)  भाषा विज्ञानका अन्य हाँगाहरूको पूर्ण अध्ययन अनि विश्लेषण बिना भाषासम्बन्धी कुनै पनि कुरालाई अवैज्ञानिक, भावनात्मक, परम्परावादी सोचिहाल्नु भाषा स्वरूपकाे अध्ययन पूर्ण नहोला !

/ड़/ र  /ढ़/ वर्ण विषय लिएर साधारण  नेपाली भाषी प्रयोक्ताहरू  माझ मात्र तर्कतर्की भएको देखिन्न । नेपाली साहित्य जगतका शीर्षस्थ हस्तीहरू माझ पनि /ड़‌/ र /ढ़/ वर्ण लिएर विचार विमर्श लिखित रूपमै आदानप्रदान भएको पनि देखिन्छ । केही वर्ष अघि नेपालबाट प्रकाशित साहित्यपोस्टले “ ईश्वर बराल कृति व कृतित्व”: २७ बाट साभार गर्दै ‘डा ईश्वर बराल’ अनि ‘डा इन्द्र बहादुर राई’ माझ भएको चिठी आदान प्रदानको एक अंश छापेका थिए ।

डा ईश्वर बराल लेख्छन्‌- “पश्चातालु भएतापनि ड़‌ र ढ़ को तल थोप्ली दिइन्न ।”

“ आदौ ड र ढ को उच्चारण ड़ र ढ़ कदापि हुन्न नेपाली शब्दमा । अन्यत्र ई दुई अक्षरको उच्चारण स्वतः पश्चातालुबाट भइहाल्छ । काडनु , काँडा,  गाड्नु , गाँड , डाँडो  आदिमा नेपालीलाई कसको कस्तो उच्चारण हुन्छ सो सम्भवतः आइहाल्छ अर्थात् सिकाइरहनु पर्दैन ।” 

प्रतिउत्तरमा डा इन्द्रबहादुर राई लेख्छन्- “ /ड़/ र  /ढ़‌/ नलेख्ने भएकाहरूले कथेको नियम मात्र हो त्यो । भारतीय नेपाली हामी सहजतासित र स्वाभाविक तवरले ‘ड़’,  ‘ढ़’  उच्चारण गर्दैछौँ  अनि कसरी नलेख्ने । यहाँ यी दुई साहित्यिक महारथीहरूको तर्क हेर्दा डा बरालको तर्क भाषा विज्ञानसम्मत देखिन्छ भने डा इन्द्रबहादुर राईको तर्क अवैज्ञानिक नै देखिन्छ वा भाषा प्रयोक्ताको साधारण तर्क नै देखिन्छ ।  तर दियालो पत्रिकामा प्रकाशित हड देखि ड़ ढ़ सम्म ( नेपाली साहित्य सम्मेलन दार्जिलिङ नेपाली भाषाको संवैधानिक मान्यता दिवस ( २००९) मा दिएको भाषणको विस्तारित कथनीय) डा इन्द्रबहादुर राईले स्पष्ट रूपमा ‘ड़’,‘ढ़’को पक्षमा आफ्नो अड़ान राखेका छन् । यस लेखमा डाक्टर राई ‘ड़’ र ‘ढ़’लाई वर्णविज्ञानको आधारमा नजोखी र ध्वनि विज्ञानलाई नछोई सिधै सामाजिक भाषाविज्ञानको ( socio-linguistic) आधारमा ‘ड़’ र ‘ढ़’ को वैशिष्ट्य भारतीय नेपाली लेखन परम्परामा राख्नुपर्ने र माध्यममार्ग अपनाउनुपर्ने तर्क तर्फ अघि बढ़ेका छन् । यसैले ‘ड़’ र ‘ढ़‌’ हटाऔँवादीहरुले डा‌ राईको ‘ड़’ र ‘ढ़’ को पक्षको तर्कलाई छड्के आँखासम्मले हेरेका छैनन् ।

डा राईलेले कुरा कसरी अगाड़ि बढ़ाएका छन् पहिला हेरौँ।

“ भारतीय नेपालीहरूमा ‘ड़’ , ‘ढ़‌’ राखौंवादीहरू छन् । ‘ड़’, ‘ढ़’ हटाऔंवादीहरू पनि भएका छन् । यसलाई विवादको रूपमा बढ़ाइरहे समाधान पाइने छैन । दुई डाँड़ामा चढ़ेर दुई दलले आफ्नोआफ्नो बन्द विचार चिच्याई नरही सातभन्ज्याङमा भेटौँ र त्यहाँसँगै बसी कुराकानी गरौंँ । खुला विचारको संवादमा दुई मत बीचको वैरोद्य (कन्ट्राडिक्सन)  धेरै घट्छ। ……. विशुद्ध भाषा अब छैन,  हुँदैन । भारतीय नेपाली भाषाको अभिवृद्धिलाई हामीले बिना राजनैतिक सांस्कृतिक वारण‌ जहींबाट पनि चाहिँदो र मिल्दो सब लिनपर्छ ।…..ड़ ढ़ हटाऔँवादीहरूका के तर्कहरू छन् ? लिखित रुपमा पढ्न पाएका छैनौँ आज ( छ सितम्बर २००९) सम्म। उहाँहरूका तर्कहरू अड्काल्नु अप्ठ्यारो र जोखिमी काम हो। त्यता नजाऔं।” ( उनको लेखलाई अन्य समय विस्तारमा हेरौँला)

डा इन्द्रबहादुर राई  /ड़/  र /ढ़/  पक्षमा खुलेरै लेख्ने ‌ केही साहित्यकारहरू मध्ये एक हुन् । त्यसपछि हुन् डा गोकुल सिन्हा । डा राई अनि डा सिन्हा प्रशिक्षित भाषाविदहरू ( linguists ) होइनन् । यसैले उहाँहरूको /ड़/,  /ढ़/ को पक्षमा लेखिएको लेखहरूमा वर्ण विज्ञान र ध्वनि विज्ञानको वैज्ञानिकता नआउनु स्वाभाविक हो । दुवै स्रष्टाहरूले शास्त्रीय अनि सामाजिक भाषा विज्ञानकै आधारमा दुई वर्ण /ड़/, /ढ़/ लाई नेपाली वर्णमालामा वर्णको स्थान दिनुपर्ने कुरालाई जोड़ दिएका छन् । त्यसपछि हामी पाउँछौँ, “ भारतीय नेपाली भाषा मानकीकरण” नेपाली साहित्य सम्मेलन 2022 । अहिले सम्म पुरानो वर्ण-विन्यासको पक्षमा यताबाट लेखिएको लेखहरूमा  समाज भाषाविज्ञान वा भाषाको समाजशास्त्रको दृष्टिकोण नै हावी भएको देखिन्छ।

हुन त अहिले सम्मै पनि ‘ड़’,‘ढ़’ हटाऔँवादीहरूबाट ‘ड़’ र ‘ढ़’ को विपक्षमा कुनै पनि पूर्ण लेख यताबाट आएको छैन । भनौ भने ‘ड़’ र ‘ढ़’ उनीहरूको नयाँ वर्ण-विन्यास अनुसार मुद्दाको विषय नै होइन । उनीहरूले आफ्नो अड़ान एक लाइनमा सकिदिएका छन् । ‘ड़’ बाट शब्द बनाउन सक्छौ ? ‘ड़’  बाट शब्द बनाएर देखाउ अनि हामी पनि मान्छौं ।” मझिएको भाषामा भन्नु हो भने , ‘ड़,’ ‘ढ़’ ,  /ड/, /ढ/ कै संवर्ण/ समध्वनि [ड़] ,‌[ढ़] मात्र हो । किनभने ‘ड़’  व्यतिरीकी ( contrastive/ phonemic) हुँदैन । अर्थात् ‘ड़’  अक्षर शब्दशुरूमा लेखेर अर्थपूर्ण शब्द निर्माण गर्न सकिन्न । यसैले ‘ड़’ लाई वर्णको सम्मान दिन सकिन्न र नेपाली वर्णमालामा राख्ने आवश्यकता छैन । ‘ड़‌’ लाई शब्दशुरूमा राखेर शब्द जोड़ा ( minimal pair) बनाउने  नियम कत्तिको अवैज्ञानिक र निर्मित छ अझ बुझ्न हेर्न होला – ( ड़ ढ़ विरुद्ध फैलाएका केही तर्क असँगत तथ्यहरू, प्रणय शंकर शतवार्षिकी विशेषाङ्क दियालो 2025 ) । अब ‘ड़’  र ‘ढ़’ हटाऔँवादीहरूबाट आएको स्टेटमेन्ट मोटामोटी यति हो ।

अब कुनै पक्षबाट पनि लिखित रूपमा कुरोको चुरो नआए पछि ‘ड़’ र ‘ढ़’ अहिले भारतीय नेपाली साहित्य जगतमा शक्ति संघर्ष (power struggle) को बिम्ब बनेको छ ।

कुनै पनि ध्वनि ( phone) वा वर्ण ( phoneme ) पहिचानको रूपक कसरी बन्न सक्छ ? एक ब्यक्ति वा जातिलाई ‘हामी र उनीहरू’ ( Us vs Others) को विभेदकारी भाष्यमा कसरी हालिन्छ ? इतिहासको गर्भमा लुकेको केही सन्दर्भहरूलाई कोट्याएर हेरौँ ।

द साइन्स हिस्ट्री इन्स्टिच्युटले अमेरिकाको न्यूयोर्क टाइम्सका लोकप्रिय लेखक साम किन ( Sam Kean) सँग मिलेर

पोडकाष्ट सञ्चालन गरिरहेको छ । त्यस पोडकाष्टको एक  श्रृंखलाको एक ट्रान्सक्रिप्सनलाई हेरौँ –

साम किन भन्छन् “ बाइबलको पुरानो नियममा जनजातीय समुदायहरू बीचमा भएको युद्धको अन्तहिन कथाहरू छन् , …. तीहरूमध्ये ११०० ख्रीष्टपूर्व अघिको कथा मलाई खास लाग्छ…….. गिलादीहरू एप्रेमीहरूसँग युद्ध गरिरहेका थिए, एप्रेमीहरू युद्धमा हारे र छरपष्ट भए । अन्तमा एप्रेमी

हरूले आत्मसमर्पण गरेर घर फर्कन चाहन्थेँ। तर बाँचेका अन्तिम एक एप्रेमीलाई पनि मार्न गिलादीहरू ढुकेर बसि रहे ।

तर त्यहाँ एउटा समस्या थियो ।  त्यस ठाउँका मानिसहरू एउटै देखिन्थे, एकै किसिमको लाउँथे ।  कूनै एप्रेमीलाई  पक्रिहाले पनि उ कुनै अन्य जनजातीय समुदायको मान्छे हाे कि होइन भनेर कसरी चिन्ने ?

गिलादीहरूले एउटा युक्ति निकाले । उनीहरू जर्दन नदीको किनारमा ढुकेर बसे, कोही पनि नचिनेको मान्छे नदी पार गर्न आइहाले, गिलादीहरूले उसलाई नदीको पानी देखाएर सोध्ने गर्थ्यो “ यो के हो ?”

गिलादी भाषामा  ‘ शिबोलेथ ’ ( Shibboleth)  शब्दले नदीलाई बुझाउँछ । एप्रेमीहरूको ध्वनीमा ‘श’ ( तलव्य स )  थिएन , ‘स’( दन्त्य स) मात्र थियो । जब जब गिलादीहरूले “ शिबोलेथ” लाई देखाएर सोध्ने गर्थे ‘यो के हाे’  ?  – एप्रेमीले भन्थेँ  ‘ सिबोलेथ ‘ (Sibboleth) । यसको नतिजा सारै असल हुनेवाला थिएन । बाइबलको न्यायकर्ताको किताबले भन्छ “ ज-जसले ‘सिबोलेथ’ भनेर उच्चारण बिगारे ’ उनीहरूलाई जर्दन नदीको बाटोमा अलग गरियो र मारियो । भनिन्छ गिलादीहरूले त्यससमय ४२ हजार ए प्रेमीहरूलाई लाई मारे । तब देखी, कुनै पनि एउटा समूहलाई अर्को समूहबाट शब्द या वर्णको नाममा अलग भएको अर्थमा बुझिन्छ, त्यसलाई “शिबोलेथ” भनिन्छ। अनि यो अहिले सम्म चली रहेको छ।”

( हेर्नु होला: The Naked Shibboleth,

Naked mole-rats are blind, yet they can still recognize-and kill-outsiders. How? And what does it have to do with the Old Testament?

OCTOBER 26, 2022 | ARTS & CULTURE

Science History Institute Museum and Library)

एप्रमीहरूले  आफ्नो धव्नी ‘स’ उच्चारण गरेकै खण्डमा यर्दनको किनारमा मारिनु पऱ्यो । गिलादीले

  आफ्नो धव्नी ’श’ नसुनेकै भरमा एप्रमीहरूलाई अन्यकरण (othering) गरे। तर

“ शिबोलेथ”  पहिचान मुद्दाको लड़ाईमा भाषाको इतिहासमा कुनै नौलो कुरा होइन । भाषाको इतिहास हेर्दा “ ऋग्वेदमा आर्यहरूले  गैर-आर्यहरूलाई ‘Mura-deva’ ( नक्कली देवताहरू)  ‘Shishna-Deva ‘ ‘लिङ्ग-पूजक’, ‘Adeva’  (‘देवहीन) ‘, आदि भएकोमा घृणा गर्थे, र विशेष गरी उनीहरूलाई  Mrdhra-vacah ‘obstructed speech) भएका भनेर आरोप लाउँथे ।” राजशेखरको काव्यमीमांसा अनुसार  मगधका राजा शिशुनाग ( 412 BC) ले आफ्ना ‘हरेम’ मा मूर्धन्य ध्वनिहरूलाई निषेध गरेका थिए । विशेष उनले यी ( ट, ठ, ड, ढ , श, ष, ह , क्ष , आठ ध्वनिहरूलाई उच्चारण गर्न निषेध गरेका थिए । “Rājaśekhara informs us in his Kāvyamimāṁsā (Gaekwad’s Oriental Series edition, Baroda, 1916, p. 50) that the king of Magadha, Śiśunāga banned retroflex sounds in his harem. Specifically he banned the following eight sounds: t. th. d. dh. s. s. h. and ks. It has been suggested that śiśunāga was a non-Indo-Aryan person. Deb (1922 and 1925) argues that he was an Elamite, while A. Banerji Shastri (1936-37) contends that he was a Nāga prince. Whatever the origin of the Sisunāgas, it is extremely significant that there were poignant disputes over retroflexion in Magadha even up to the fifth century B.C.”  ( हेर्नु होला: GENESIS OF RGVEDIC RETROFLEXION A HISTORICAL AND SOCIOLINGUISTIC INVESTIGATION, Madhav M. Deshpande The University of Michigan Page No 254 )

मगधका राजा शिशुनागका हरेम( harem) का उपस्त्री ( concubines) हरूले श ( तलव्य स ) र ष ( मूर्धन्य स ) उच्चारण गरेको खण्डमा के कस्तो व्यवहार सहनु पर्यो भाषाको इतिहासमा यसको कुनै उल्लेख पाउँदैनौ ।  तर उपस्त्री ( concubines) हरूले श ( तलव्य स ) र ष ( मूर्धन्य स ) उच्चारण गरेको इनाम स्वरूप नौमती बाजा बजाएर स-सम्मान घरतर्फ विदाई अवश्यै पाएनन् होलान् । यस्ता घटनाक्रम हामी कल्पना मात्र गर्न सक्छौँ।  तर एउटा अचम्मको प्रश्न हामी गर्न सक्छौँ । के शिशुनागका साम्राज्यको भाषा पनि अती ह्रस्व थियो ? हाम्रो यता “कालेबुङ प्रस्तावना”ले भने झैँ शिशुनागको भाषामा दन्त्य न अनि दन्त्य स ध्वनि मात्र थियो ? यता अहिले “कालेबुङ प्रस्तावना”ले  मूर्धन्य ध्वनिलाई बहिष्कार गरेको छ, । ( हेर्नु होला कालेबुङ प्रस्तावना र यसका आधारहरू उपमा प्रकाशन, संस्करण: प्रथम २०१७, अप्रैल पृष्ट संख्या २२ ।)

साेही अनुरुप त्यससमयको भाषामा पनि  अग्रबर्तस्य धव्नीहरूमात्र थियो कि ? कुरा रमाइलो छ ।

ध्वनि विज्ञानको अध्ययन चलिरहने ( ongoing) प्रक्रिया हाे । नेपालमा नेपालीभाषामा मूर्धन्य ध्वनि विशेष गरी ट, ठ, ड, ढ ध्वनिहरूको अध्ययन अहिलेसम्म पनि अपूर्ण छ । त्यही अपूर्ण अध्ययनलाई आधार बनाएर नेपाल प्रज्ञा, त्रिभुवन विश्वविद्यालय, समाचार पत्र पत्रिका, नामी प्रकाशन गृहहरूले काठमाण्डौ केन्द्रित नेपाली भाषाको प्रतिष्ठित भाषिका को बैचारिकता ( language ideology) विकास गरेका छन्। यही वैचारिकतालाई नेपालका केही भाषाविदहरूले विश्व व्यापी बनाउँन चाहन्छन् । यता भारतमा अब “  ‘माध्यमिक नेपाली व्याकरण र रचना’ ( प्रा डा घनश्याम नेपाल अनि प्रा डा पुष्कर पराजुली )  ‘उच्च माध्यमिक नेपाली व्याकरण र रचना’ ( प्रा डा घनश्याम नेपाल अनि प्रा डा कविता लामा) / ‘कालेबुङ प्रस्तावना ,’( प्रा डा घनश्याम नेपाल अनि अन्य ) का  मुर्धन्य ध्वनीको बुझाइको समकालीन समयमा भएको मूर्धन्य ध्वनिमाथिको रिसर्चको आधारमा मूल्याङ्कन गरिने समय पनि आएको छ । किनभने यी ‘पुस्तक’हरूले प्रा डा बल्लभ मणि दाहाल अनि प्रा डा माधवप्रसाद पोखरेल कै मूर्धन्य ध्वनिको अवधारणालाई नै दार्जिलिङमा भित्राएका देखिन्छन्  ।

“ अग्र वर्त्स्य– जिब्रोको अघिल्लो भाग वा टुप्पोले वर्त्सलाई हुँदा उच्चरित हुने व्यञ्जन अग्र वर्त्स्य हुन् । ट, ठ, ड, ढ, र, ल, न नेपालीका अग्र वर्त्स्य व्यञ्जन हुन्। संस्कृत व्याकरण र आदेशात्मक नेपाली व्याकरणले पहिलो पाँचलाई मूर्धन्य, अन्तिम दुईलाई दन्त्य वर्ण मानेको देखिन्छ। ” मूर्धन्य ध्वनिमाथिको विवाद आधुनिक नेपाली भाषामा मात्र होइन, प्राचीन दक्षिण एसियाली भाषिक इतिहासमै गहिरो रहेको देखाउँछ। कालेबुङ प्रस्तावना ” को प्रस्तावकहरूको मूर्धन्य ध्वनिहरूको अपूर्ण अध्ययन साथै ” भाषा अध्ययनको निम्ति नेपाल अनुसरण’ कै कारण यहाँ /ड़‌/ र‌ /ढ़/ को अस्तित्व माथि संकट आएको देखिन्छ । ”  ( ड़ ढ़ विरुद्ध फैलाएका केही तर्क असँगत तथ्यहरू, प्रणय शंकर शतवार्षिकी विशेषाङ्क दियालो 2025 ) । तर यति कुरा लेख्दैमा पनि ड़ ढ़ वर्ण बनी हाल्दैन । ड़, ढ़ व्यतिरेकी बनिनै पर्छ । त्यो पछि हेर्ने छौंँ ।

अब कुरा फेरि शिबोलेथ मै लैजाउँ।

‘शिबोलेथ’ ले भाषा-पहचानको रूपकको रूपमा ख्रीष्टपूर्व अघि पनि  संसारलाई सताएकै थियो, ख्रीष्टाब्दपछिको समयमा पनि हामीलाई सताई रहेकै छ । नेपालमा एक्काइसौँ शताब्दीमा  पनि स (‘पातलो स)  र श ( मोटो )  को बौद्धिक खिचातानी ( tug of war) चलिरहेको छ  । नेपालको ‘पातलो स’ र ‘मोटो श’ बिचको लड़ाई एकदमै अमूर्त छ । भारतीय आर्य भाषाहरूको  उष्मध्वनिहरू ( fricatives) जस्तै स, श, अनि ष मा नेपालीको मूल ध्वनि (जसलाई वर्णको रूप दिन सकिन्छ), स मात्र हाे । तर नेपाली जीब्रोमा श, र ष छैन भन्न मिल्दैन किनभने श र ष नेपाली जिब्रोमा सम्ध्वनिको रूपमा छ । ( हेर्नु होला Madhav Prasad Pokhreal Experimental Analysis of Nepali Sound System,  A doctoral thesis, Deccan College, Pune December 1989)

नेपालको ‘मोटो स’  र ‘पातलो स’ को बहसलाई एक निर्दिष्ट दृष्टिकोणमा केन्द्रित गर्नका निम्ति मूलव्युत्पत्तिगत (etymological) अर्थको आधारमा ‘शिबोलेथ’ नामकरण दिन्छु । किनभने यस निश्चित दृष्टिकोणले भाषामा चासो राख्नेहरुलाई  ध्वनि-उच्चारण अनि वर्ण-लेखनमा निहित विभेदकारी अन्यकरण ( othering) को सुसुप्त हिंसा बुझ्न सजिलो हुन्छ ।

हेरौँ नेपालको ‘शिबोलेथ’ बनाम सिबोलेथ’ ।

 नेपालका नामुद चिन्तक/लेखक खगेन्द्र संग्रौला  “ मेरो शहीद, हजुरको ‘सहिद’ शीर्षकमा लेख्छन् –

“ म सानो छँदा मेरा ‘दशैं’, ‘आकाश’, ‘शहीद’ आदिमा मोटो श को प्रचलन थियो । …….मोटो श को ‘दशैं’ ले मेरो मनमा उत्सवी उमङ्गका तरङ्गहरू जगाउँथ्यो । कल्पनाको आकाशमा त्यसले आँगनमा खसी काटेको, निधारमा टीका लगाएको, मामा माइजूका हातबाट दच्छिना थापेको, सेरोफेरोमा खुशियाली नाचेको आदिका दृश्य र क्रियाहरूको जीवन्त लहर उठाउँथ्यो । जब भाषा फाँटका शास्त्रीहरूले ‘दशैं’ को मोटो श लाई अपहरण गरी पातलो स सट्टा भर्ना गरे, ‘दशैं’ शब्दले ल्याउने मेरो उमङ्ग तिनका हातबाट अपहरित भयो ।  मोटो श को ‘आकाश’ ले मलाई विराट् शून्यता, सुन्दर नीलिमा र आकाशका अन्य अनेकन् दृश्य, क्रिया र गतिहरूको झल्को दिन्थ्यो ।…… जब म यो ‘ आकास’ देख्छु, मलाई त्यो ‘आकाश’काे उखरमाउलो न्यास्रो लागेर आउँछ।……पहिलो पटक म ‘शहीद’ शब्दसित मायामोह सहित परिचित भएको गुरुप्रसाद मैनालीको ‘शहीद’ कथाबाट हो ।……… दीर्घ अभ्यासको प्रक्रियामा मोटो श भएको यो ‘शहीद’ शब्द मेरा आँखामा भिज्यो, मेरो मनमा रिभ्‌यो र मेरो संस्कारमा पच्यो । अनि ‘शहीद’ शब्द देख्यो कि मेरो मानसमा अद्भुत संकल्प र दृढ इच्छाशक्ति प्रदर्शन गर्दै अकथनीय यातना खपेर मानव मुक्तिको निम्ति आफ्नो जीवन आहुति दिने अत्युत्तम मानवको झल्को आउने भयो । गङ्गालाल श्रेष्ठ, दुर्गानन्द झा, कृष्णसेन ‘इच्छुक’ आदिजस्ताहरूको प्रेरणादायी झल्को । तर कथित सरलताका नाममा र नेपालीमा मोटो ‘श’ को उच्चारण गरिंदैन भन्ने बहानामा ‘ शहीद’ शब्दलाई विरूप र कुरूप बनाउँदै ‘सहिद’ लेख्न थालियो । यो ‘सहिद’ मेरा आँखामा बिजाउँछ । यसले मेरो भावलोकमा कुनै तरङ्ग जगाउँदैन ।……..मेरा हजुरबाले पातलो ‘स’ माथि शिरबिन्दु राखेर आफ्नो नामको पछाडि ‘संग्रौला’ लेखे । मेरा बाले आफ्ना बाको सिको गर्दै मेरा हजुरबाको उही ‘संग्रौला’ लेखे । र, मैले हजुरबा र बाका पदचिह्न पछ्याउँदै उही ‘संग्रौला’ लेखें । शिरबिन्दुधारी यो ‘संग्रौला’ मेरो पहिचानको पर्याय बन्यो । यसलाई देख्ता मेरो मनमा म त्यो हुँ र त्यो म हो भन्ने भावना जागृत हुन्छ । तर कति न भाषा जान्ने हौं भन्नेहरूले मेरो ‘संग्रौला’ को शिरबिन्दुलाई मासेर हलन्ते ‘ङ्’ लेख्ने उर्दी जारी गरे । म ‘संग्रौला’ लेखेर पठाउँछु, खास गरेर साहित्यिक प्रकृतिका पत्रिकाका जागिरे सम्पादक वा प्रूफरीडरहरू ‘संग्रौला’ लाई बदर गर्दै ख्याँस्स ‘सङ्ग्रौला’ बनाइदिन्छन् । यो अतिचार देख्छु र म घरीघरी मर्माहत हुन्छु । मेरा लागि ‘स’ माथिको शिरबिन्दु केवल निर्जीव थोप्लो होइन, यो त मेरो पहिचानको द्योतक पो हो ।”  ( हेर्नु होला:  मेरो ‘शहीद’, हजूरको ‘सहिद’ खगेन्द्र संग्रौला ‘कान्तिपुर’, १८ चैत २०६८ ४०/ रचना भदौ-असोज २०८१  पूर्णाङ्क – १९०।) 

यहाँ संग्रौला ज्यूको ‘मोटो श’ प्रतिको एकालापे मोह-माया मात्र छ । तर चिन्तक खगेन्द्र संग्रौला सम्पादक, प्रूफरीडर, अनि भाषाविद्हरूको एकतर्फी  हकैमबादले आफ्ना वर्णमा लेख्न नपाएको अनि पढ्न नपाएकोमा आफ्नो स्वतन्त्र अस्तित्व माथि ‘सिबोलेथ’हरूबाट ‘शिबोलेथ’ भएको अनुभव गर्छन् । के हामी यसलाई नकार्न सक्छौँ?

भाषाविद् तारानाथ शर्मा अनि बालकृष्ण पोखरेल आफैबाट कसरी ‘शिबोलेथ’ भए त्यो पनि हेरौँ ।

भाषाविद् तारानाथ शर्मा आफैलाई व्यंग्यगर्दै भन्छन् ‘नेपाली जिभ्रोले तालव्य श उच्चारण गर्दैन भनेर मैले आफ्‌नो थर सर्मा लेख्न थालेको, त्यसको अर्थ त कुकुर्नी पो हुँदो रहेछ । त्यो थाहा पाएपछि त मैले फेरि शर्मा लेख्न थालिहालें नि’ भनेर तारानाथ शर्माले आफैंमाथि व्यंग्य गर्दै शुद्ध हिज्जेको महत्व स्पष्ट्याउँदा सभामा ठूलो हाँसो फैलिएको थियो।” ( हेर्नु होला : नेकशुले-२०६९ : बालकृष्ण गुरुको अमूल्य उपहार शरच्चन्द्र वस्ती’ प्राज्ञ बालकृष्ण पोखरेल स्मृतिग्रन्थ’ (२०७८)

(सम्पादक : विवश पोखरेल, प्रकाशक : विराटनगर महानगरपालिका / पूर्णाङ्क – १९० भदौ-असोज २०८ रचना / पृष्ठ संख्या ८५

अब अर्को सन्दर्भ हेरौँ-

मुकुन्दशरण उपाध्यय लेख्छन ” ( बालकृष्ण)  पोखरेलजीको ‘झर्रो सब्द्यौली’ नामक सानो शब्दकोश मेरो सम्झनामा आयो । मैले त्यही कोशबाट कुरा सुरु गरें- “सरको ‘झर्रो सब्द्यौली’ मा शीर्षकै झर्रो छ, दन्त्य सकारको ‘सब्द’ भएको । यदि विद्यार्थीलाई यो ‘सब्द्यौली’ लाई प्रकृति र प्रत्यय छुट्याउन भनियो भने विद्यार्थीले के गर्ने सर ? विद्यार्थीलाई सरल होस् भनिएको छ, तर ‘सब्द्यौली’ को सन्धि-विग्रह गर्दा संस्कृत ‘शब्द’ लाई ‘सब्द’ भनेर लेख्न पनि यहाँहरूको नियमले दिंदैन । ‘शब्द’ मा ‘यौली’ थप्दा ‘सब्धौली’ हुन्छ भन्दा पनि विद्यार्थी अलमलिन पुग्छ। यस्तोमा के गर्ने होला ?” मेरो भनाइपछि उहाँले ‘तपाईंको प्रश्न राम्रो छ’ मात्रै भन्नुभयो …..तर एक्कासि तीन-चार महीना पछि शरच्चन्द्र वस्तीजी उक्त कोशको नयाँ संस्करण लिएर आफैं मेरो निवासमा आइपुग्नुभयो । नयाँ संस्करण हेर्ने बित्तिकै पोखरेलजीले मेरो पूर्व प्रश्नलाई महत्व दिनुभएको थाहा भयो । वस्तीजी त्यसको नाम फेरेर ‘झर्रो शब्द्यौली’ बनाइएको प्रति अत्यन्त खुशी हुनुभएको रहेछ ।” ( हेर्नु होला: यसरी भयो हिज्जेमा हस्तक्षेप / मुकुन्दशरण उपाध्याय(लक्ष्मण श्रेष्ठसँगको कुराकानीमा आधारित) ‘अन्नपूर्ण पोस्ट’, २५ मंसीर २०७३ २३४ / रचना भदौ-असोज २०८१पूर्णाङ्क – १९०

नेपालमा संविधानको भाषा, कानून, ब्युरोक्रेसी, अनि स्वतन्त्र साहित्यकार आदिको भाषामा  ‘मोटो श’ छ भने विश्वविद्यालय, प्रज्ञा, मिडिया, प्रकाशनगृह-निर्मित साहित्यकार साथै नेपालको बृहत् शब्दकोष आदिको भाषामा  ‘पातलो स’ छ । यहाँ चाख मानेर हेर्नुपर्ने कुरा के छ भने – नयाँ वर्णविन्यासले आ-आफ्ना विचारधारा र पृष्ठभूमि (जस्तै : संविधानवादी, परम्परावादी, राजावादी, सम्प्रदायवादी, संस्कृतवादी, मौलिकवादी, झर्रोवादी, साम्यवादी, उदारवादी, नवउदारवादी, क्षेत्रीयतावादी,  कानुनविद्, शिक्षक, प्राध्यापक, साधारण भाषा प्रयोक्ता, साथै आफैभित्र वैचारिक मतभेद राख्ने गोष्ठीहरूलाई समेतलाई एउटै लर्कोमा ल्याएर पातलो ‘स’को विरोधमा उभ्याइदिएको छ । सबैभन्दा हास्यास्पद कुरा त के छ भने, युवा अवस्थामा तलव्य ‘श’ को विरोध गर्ने भाषाविद् बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, तारानाथ शर्मा बुढे़सकालमा आएर तलव्य ‘श’ को समर्थन गर्दै नेक्सुलेमा हस्ताक्षर गरेका छन् । यहाँ याद राख्नु पर्ने कुरा के छ भने, यी भाषाविद्हरूको दन्त्य स देखिको तालव्य श तर्फको हृदय परिवर्तन भाषिक अध्ययनमा आएको नयाँ निष्कर्षले होइन, बरु भाषिक सत्तामा आएको परिवर्तनले हो ।

नेपालको सर्बोच्च न्यायलयले भाषा सम्बन्धी वर्ण अनि वर्णविन्यास परिवर्तन गर्ने अख्तियार प्रज्ञा, विश्वविद्यालय अनि नेपालको शिक्षामन्त्रालयलाई नेपाली संविधानले दिएको छैन भनेर निर्णय दिइ सकेको छ । नेपालमा हालै आएको राजनैतिक- सत्ता परिवर्तनले नेपाली भाषाको वर्ण-विन्यास मनकीकरणको प्रयासमा के कस्तो संरचनागत परिवर्तन लेउला हेर्न पर्ने हुन्छ  ।

अब फेरि के  ‘मोटो श’ ले  ‘पातलो स’ लाई ‘शिबोलेथ’ गर्ला ? नेपालमा भाषा सम्बन्धी राजनैतिक परिवेश चाखलाग्दो बनिन्दैछ  ।

यस भयलाई भाषाविद् माधव प्रसाद पोखरेलज्यू यसरी पोख्न हुन्छ “ वर्णका आधारमा नभएर सहमतिका आधारमा स्थापित हिज्जे  राजनीतिक बलले कसिएको हुन्छ । राजनीतिक बल घटे पछि अथवा राजनीति फेरिए पछि स्थापित हिज्जेको पनि विरोध हुन्छ । ‘नेपाली बृहत् शब्दकोश’ कोट हिज्जेको अचेलका विरोधको मूल रहस्य यही हो । यो कोशको हिज्जे भन्दा ‘नेकशुले’ को हिज्जे बढ्ता वैज्ञानिक र निर्दोष भएर राणा शासनमा त्यो सर्वग्राह्य र विवादरहित भएको होइन ! त्यसमा जुद्ध शमसेरको भर र डर लुकेको थियो । पञ्चायती व्यवस्थामा कहिल्यै विरोधको सामना गर्नु नपरेको ‘नेपाली बृहत् शब्दकोश’ को हिज्जे पछाडि त्यसै व्यवस्थाको भर र डर पनि थियो । जब सम्म कडा शासनको भर र डर हुँदैन, तब सम्म नेपाली हिज्जेको समाज भाषावैज्ञानिक र प्राज्ञिक समाधान असम्भव छ।”( पृष्ठ संख्या १५४) ।

यही पीड़ालाई “कालेबुङ प्रस्तावना”ले  यसरी पोखेको छ।“ राजकीय हटेका नेपाल प्रज्ञा प्रतिष्ठान सत्तापक्षकाहरूले सम्हाल्ने सरकारी निकाय हो। यसैले सत्तासँगसँगै प्राज्ञ परिवर्तन निश्चित छ र निकट भविष्यमा नेपाली भाषाको वैज्ञानिक अध्ययनपूर्व बनेको र बसेको नेपाली वर्ण-विन्यासको परम्परा भत्काउन मिल्दैन भन्नेहरूको सरकार बन्दैन र तिनीहरू प्राज्ञ बन्दैनन् भन्न सकिँदैन। यदि यसो भए चार चार वर्षमा परिवर्द्धन हुने ‘बृहत् नेपाली शब्दकोश’ मा परिवर्तन आउँदैन र शहीदलाई सहिद बनायो भन्नेहरूले सहिदलाई शहीद बनाउँदैनन् भन्न पनि सकिँदैन। यसरी भाषा र व्याकरणजस्तो कुरामा राजनीति प्रभावी बन्यो भने प्रत्येक नयाँ सरकारसँगै व्याकरणका नियम परिवर्तन हुन बेर लाग्दैन। “लिपिको उद्देश्य राजनीतिको झमेलामा फँस्नु नभएर ध्वनिको विशुद्ध प्रतिनिधित्व हो।”१० तर वर्तमान परिप्रेक्ष्यमा यो झमेला व्याकरणिकभन्दा बढी राजनैतिक नै बुझिंदैछ। यदि हाम्रो बुझाइ सही हो भने नेपालबाहिरका हामीले के गर्ने? गम्भीर प्रश्न छ हाम्रो अघि ।

समयमै हामी हाम्रो समस्या समाधान गर्नपट्टि लाग्नु पर्छ । हाम्रा लागि मानक व्याकरण र कोश अब हामीले नै तयार पार्नु पर्छ। त्यही दिशातिरको यो सानो प्रयास हो – ‘कालेबुङ प्रस्तावना’।” (कालेबुङ प्रस्तावना र यसका आधारहरू, पृष्ठ संख्या १५)

भनिन्छ भाषा पानी हो, खोलाको पानी झैँ भाषालाई सङ्लो बग्न दिन पर्छ । पानीलाई बग्न नदिए कुवा बन्छ । खोला जीवनको रूपक हो भने, कुवा मृत्युको । यसैले “ जीवित राख्न भाषालाई बग्न दिनु पर्छ, बाँधेर राख्नु हुँदैन”  – भन्नेहरू धेरै छन् । तर भाषाको सजीवता अनि परिवर्तनशील्ता साधारणतया ध्वनि-तत्व तहमा देखिन्छ भने वर्ण विन्यासले लेख्य भाषालाई तुलनात्मक रूपमा ठोस् बनाइ दिइन्छ । जसरी देशको सिमाना कुनैपनि देशबासीको स्मृतिमा अखण्डित अनि पवित्र हुन्छ भएर बस्छ , त्यसरीनै लेख्य भाषाको वर्णविन्यास मानिसहरूको स्मृतिमा परम्पराको रूपमा जमेर  भएर बसेको हुन्छ । लेखन तहमा भाषा मानवीय सहमति र परम्पराले निर्मित सामाजिक प्रथा हो । नेपालमा आदि कवि भानभक्तले /ड़‌/ प्रयोग गरेनन्,  महाकवि लक्ष्मीप्रसाद देवकोटाले /ड़/ प्रयोग गरेनन् ।  दार्जिलिङमा डा इन्द्रबहादुर राईले /ड़/‌ प्रयोग गरे, समालोचक गुमानसिंह चाम्लिङले /ड़/ गरे, उपन्यासकार प्रकाश कोविदले /ड़/ गरे, कवि विकास गोतामेले /ड़/ गरे । समालोचक रामकृष्ण शर्माले पनि अवश्य गरे होलान् ( उनका किताबहरू म सँग नेपालबाट प्रकाशित संस्करण भएकोले ड़ को प्रयोग देख्न सकिनँ )  । हामीले यहाँ के बुझ्न पर्छ भने, यी साहित्यिक महारथीहरूका लेखन हेर्दा उनीहरूले आफ्नो लेखनमा /ड़/ को प्रयोग भाषाको वैज्ञानिकत्व हेरेर होइन तर त्यस निश्चित समयमा भाषाको वर्ण-विन्यासमा उपलब्ध सामाजिक प्रथा र लेखन परम्पराको रूपमा प्रयोग गरेका देखिन्छन् । उनीहरूले नेपाल र दार्जिलिङको वर्ण विन्यासमा नभएको/भएको /ड़/ आफ्नो साहित्यमा पहिचान जोगाउन/देखाउनका निम्ति गरेका होइनन् । 

अब /ड़/‌ भारतीय नेपाली साहित्यमा पहिचानको द्योतकको रूपमा कहिले स्थापना भयो त ?

 यसलाई बुझ्न भारतमा ‘अकादमी बनाम एकेडेमिक्स’ले निम्त्याएको वर्ण-विन्यास आधारित राजनीतिलाई मिहिन पाराले हेर्नु पर्ने हुन्छ । अघि माथि नै भनियो, ध्वनि खोलाको पानी हाे भने, वर्ण विन्यास कुवाको पानी । भाषाको मूलव्युत्पत्तिगत अर्थ अनुसार ‘शिबोलेथ’ले बगिरहेको खोलाको पानी बुझाउँथ्यो भने, अहिले ‘शीबोलेथ’ले आधुनिक समयमा ‘कुवाको पानी जमेको’ जस्तो अर्थ ग्रहण गरिसकेको छ ।

सामयिककालमा Collins online dictionary ले ‘शिबोलेथ’ शब्दलाई दुईवटा परिभाषामा अर्थाएको छ ।

1.  a belief, principle, or practice which is commonly adhered to but which is thought by some people to be inappropriate or out of date

(यस्तो विश्वास, सिद्धान्त वा परम्परा साधारणत धेरैले माने पनि केहि मानिसहरूले अनुचित वा सामयिक नभएको ठान्ने )

2.  a custom, phrase, or use of language that acts as a test of belonging to, or as a stumbling block to becoming a member of, a particular social class, profession, etc

(यस्तो प्रथा, वाक्य वा भाषाको प्रयोग जसले मानिसहरू कुनै विशेष वर्ग वा पेशागत गुटको सदस्य भएको वा हुन नदिएको रूपकको रूपमा कार्य गर्छ )

भारतमा विशेष गरेर दार्जिलिङमा ‘स’ र ‘श’ लगायत अन्य वर्णहरूको विवाद रहे पनि यहाँ मूल मुद्दा  ‘ड़’ ‘ढ़’ वर्णहरूकै वरिपरि नै  केन्द्रित छ । अब ‘स’ र ‘श’ देखी पर सरेर दार्जीलिङको ‘ड़’ र ‘ढ़’ को मुद्दालाई ‘शिबोलेथ’को व्युत्पत्तिमूलक अर्थ ( हिँसा )  अनि शब्दकोषको आधुनिक अर्थ अन्यकरण ( othering ) को भाष्यसँग जोड़ेर एकपल्ट हेरौँ ।

यहाँ अहिले ‘ड़’ ‘ढ़’ मुनि थोप्ला लेख्नेलाई परम्परावादी, अवैज्ञानिक,  हिंदीको प्रभाव, अथवा साहित्य अकादमी पुरस्कारको लोभमा  पैरवि गर्ने गुटको रूपमा चित्रित गरेर अन्यकरण (othering) को भाष्य निर्माण गरिएको देखिन्छ । थोप्ला नलेख्नेलाई  ‘नेपालमुखी’, ‘बिश्वविद्यालयको झोले’ भनेर ‘शिबोलेथ’ ( बहिष्करण) गर्ने समानान्तर भाष्य पनि गढ़िएको छ।

भारतीय नेपाली साहित्यिक समाज अघोषित रुपमा दुईगुटमा विभाजन भएको देखिन्छ । ‘अकादमी बनाम एकेडेमिक्स’ । अकादमी गुट भारतीय नेपाली साहित्य अकादमीको निकट मानिन्छ भने एकेडेमिक्स गुट स्कुल, कलेज अनि भारतीय विश्वविद्यालयमा भएका नेपाली भाषा विभागसँग जोड़िएको छ । हुन त नेपाली वर्ण-विन्यासबाट ‘ड़ र ‘ढ़’ हटाऔंँ अभियान भारतमा विश्वविद्यालयका नेपाली विभागका प्राचार्य अनि डाक्टरहरू ( भाषाविद) हरूले नै शुरू गरेका हुन्, यसमा दुई मत देखिँदैन । भारतमा “ ‘माध्यमिक नेपाली व्याकरण र रचना 2007 ’ ( प्रा डा घनश्याम नेपाल अनि प्रा डा पुष्कर पराजुली ) लाई  ‘ड़ ‘ र ‘ढ़’ हटाऔंँ अभियानको निम्ति आधिकारिक पुस्तकको रूपमा मान्न सकिन्छ । संसारभरि छरिएर बसेका नेपालीभाषीहरू माझ नेपाली वर्ण- विन्यासको एकरूपता र एकीकरण अनि विद्यार्थीहरूलाई भाषा सिकाउन नेपाली हिच्चेको सरलीकरण, यी दुई कारणहरू मुख्य रूपमा नयाँ वर्णविन्यासका प्रस्तोताहरूले अगाड़ि बढ़ाएको देखिन्छ । ( हेर्नु होला हिच्चेमा सुधार किन ? हेमाङ्ग राज अधिकारी (कान्तिपुर २०७३ भदौ १८/  पूर्णाङ्क – १९० भदौ-असोज २०८१  रचना / १८१ काठमाण्डौ।) यतिका वर्षभित्रमा नयाँ वर्ण-विन्यासले विद्यार्थीहरूलाई भाषा लेख्न अनि नेपाली संसारमा भाषाको एकरूपता ल्याउनमा के कस्तो योगदान दियो, त्यसको लेखाजोखा हुन बाँकी नै छ । बौद्धिक स्तरमा अनि नेपाली विद्यार्थीहरूलाई नयाँ वर्ण-विन्यासले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा दिने खालको के कस्ता एतिहासिक तथा युगान्तकारी शोधपरक कार्यपत्रहरू लेख्न  क्षमतावान बनायो, त्यो पनि हेर्न बाँकी नै छ । यी कुराहरू बिस्तारै स्पष्ट हुँदै जालान् । त्यो भविष्यको कुरा हो ।

तर अहिले नयाँ वर्ण-विन्यासका पक्षधरहरू भाषिक सत्ता निर्माण र विस्तारमा नै तल्लिन देखिन्छन् भन्ने कथनलाई नै अघि बढ़ाऔँ ।

 विश्वविद्यालयबाट शुरू गरिएको यो अभियान अहिले विश्वविद्यालय हुँदै कलेज, कक्षा १२ , कक्षा १० का  दार्जिलिङमा नेपाली पाठ्यपुस्तकहरूमा आइपुगेको देखिन्छ । आजसम्म पश्चिम बङ्गालको बोर्डद्वारा अनुमोदित जि टी ए क्षेत्र भित्र पढ़ाइने कक्षा १० को नेपाली भाषाको पाठ्यपुस्तकबाट पनि हटाइसकेको देखिन्छ ।  आउने दिनमा निम्नकक्षका पाठ्यपुस्तकहरूबाट हटाएर नयाँ वर्ण- विन्यास बुनियादी स्तरमै पुर्‍याएर आफ्नो भाषिक सत्ता निर्माण पार्ने ‘रोड म्याप’  तयार पारिने प्रवृत्ति देखिन्छ ।

अर्कोतर्फ साहित्यकदमीसँग संलग्न केही गुटको हालको कार्यविधि र किताब छनोट प्रक्रियाले भारतीय नेपाली साहित्य जगत् खुम्चिन्दै गएको भान हुन्छ ।

माथि भनिएको- “ अहिले भारतीय  नेपाली साहित्य समाज/ परिवेश दुईगुटमा विभाजित छ”- कथन

लाई आधिकारिक रूपमा पुष्टि गर्न गरिएको तर्क -वितरक अनि विचार- विमर्श कुनै पत्रपत्रिका र दैनिक समाचारको सम्पादकीयमा पढ्न नपाए पनि “नयाँ सरोकार”  (कवि सुधीर छेत्रीद्वारा सम्पादित फरवरी २००१ अङ्क १ )  ले ‘ड़’, ‘ढ़’ राखौँबादी ‘ड़’, ‘ढ़’  हटाऔँवादी दुवै गुटलाई एकै मञ्चमा ल्याई उनीहरूका विचार साहित्य समाज अनि भाषाको चासो राख्ने पाठक समक्ष राखिदिएको पहललाई भारतमा विशेष कार्य मान्न सकिन्छ ।

अब “नयाँ सरोकार”को सम्पादकको नेपालीभाषा सम्बन्धित मन्तव्य हेरौँ ।

 “हामीसित यता आधिकारिक सर्वमान्य र मानक शब्दकोष र व्याकरण बजारमा पाइने व्याकरणहरू पनि एकै छैनन् । स्कुले पाठ्यपुस्तकहरूको गुण निर्धारण विषय चयन गर्ने कुनै नियमक निकाय छैन । आफ्नै प्रकारका हिज्जे छन् पाठ्यपुस्तकहरू छन् । समाचारपत्र अनि पत्रिकाहरूले सम्पादकै पछि भिन्नाभिन्नै वर्तनी चलाउँछन् । साहित्यिक संस्थाहरु, विश्वविद्यालयहरू, अकादमीका पदाधिकारीहरू साहित्यकारहरू माझ शीत युद्ध

 चलिरहन्छ । विद्यार्थीहरूका लागि अन्योलको परिवेश छ कतिसम्म भने शिक्षककैहरूमा पनि कुन वर्ण विन्यास ठिक हो र कुन चलाउनु भन्ने स्पष्ट धारणा देखिँदैन यी विवादहरुलाई एक ठाउँमा ल्याई भाषाका जानकारहरुले कुनै निष्कर्षमा पुर्याउनुपर्ने आजको आवश्यकता हो । तर त्यसो भएको देखिँदैन । भाषासम्बन्धी यस्ता विवादलाई मेटाउन अनि कुरालाई विमर्शद्वारा बढाउने हाम्रो उद्देश्य हो । यसका लागि हामी नयाँ सरोकारको टोलीले भाषामा रुचि राख्ने अध्यता अनि विद्वानहरुलाई प्रश्नहरु राखेका छौं र कुरा स्पष्ट गर्ने कोसिस गरेका छौं । यसरी संवादका माध्यमबाट भाषासम्बन्धी विवादका अस्पष्टता केही घटीजाला कि भन्ने हाम्रो अभिप्राय हो” ।

उल्लेखनीय कुरा हो  भने ड़’ र ‘ढ़’  “नयाँ सरोकार”मा प्रयोग गरिएको छैन । यस आधारमा  “नयाँ सरोकार”को टोली पनि ‘ड़’, ‘ढ़’हटाऔँवादी समूहको निकट देखिन्छ । अब ‘ड़’ , ‘ढ़’ नचलाएपछि भारतीय नेपाली साहित्यमा हिच्चे सम्बन्धी विवाद वा  भाड़भैलो कल्से ल्याएको हो र  “नयाँ सरोकार”ले कुन गुटलाई इङ्गित गर्दैछ त्यो बुझ्न हामीलाई  गाह्रो पर्दैन ।

“नयाँ सरोकार”ले भाषाका जानकार,भाषाविद, व्याकरणविद्, अनि साहित्यिक हस्तीहरूलाई ‘ड़’, ‘ढ़’  को सम्बन्धमा लिएका अन्तर्वार्ताका  केही अंशहरू हेरौँ ।

१) “अकादमीले थोप्ला राख्नैपर्छ भन्छ:- प्रेम प्रधान

प्रश्न:- तपाईँ नेपाली भाषा परामर्श समिति, साहित्य अकादमी नयाँ दिल्लीका संयोजक रही सक्नुभएको छ । थोप्ला बिनाको पुस्तकलाई अकादमी अवार्ड दिँदैन हरे के यो कुरा साँचो हो ?

उत्तर:- भारतीय संविधानले देशका २४ वटा भाषालाई भारतका आधुनिक भाषाको रुपमा मान्यता दिएको छ । यसका केही शर्तहरू छन् जसको आधारमा नेपाली भाषाले मान्यता पाएको हो । तीमध्ये एक पञ्चमवर्ण हुनैपर्छ भन्ने पनि हो । जस्तो ‘ड़’ , ‘ढ़’ हुनैपर्छ भनेपनि । खासमा हिन्दी भाषालाई मजबुत बनाउनका निम्ति पनि यसलाई मान्यता दिएको हो । हाम्रो “हिस्ट्री अफ नेपाली लिटरेचर” नेपालको भन्दा अलग हुनुपर्छ । त्यसैले साहित्य लेख्दा थोप्ला हुनैपर्छ भन्ने हो । अकादमीले थोप्ला राख्नै पर्छ भन्छ । ‘ड़’  ‘ढ़’ नहुने प्रायलाई अकादमीले स्वीकृति दिँदैन ।”

२) अकादमी भाषाको आधिकारिक संस्था होइन: ज्ञानेन्द्र खतिवडा

प्रश्न:- “विचारमा कुन ठिक हो ?  थोप्ला लगाउनेहरू कि नलगाउनेहरू ?

थोप्ला वा नथोप्लाले साहित्यको स्तर जाँच्दा साहित्यको स्तर बढ्ने वा घट्ने होइन। बढेको वा बढेको पनि छैन। “

प्रश्न:- “अकदमीका एक पूर्व संयोजकको आरोप छ, थोप्ला लगाउनेहरूलाई विश्वविद्यालयले भिक्टिमाइज गर्छ । यसो हो भने थोप्ला नलाउनेलाई अकादमीले महत्व दिँदैन । थोप्ला लगाउनेलाई विश्वविद्यालय मान्यता दिँदैन । यो त साँढको जुजाइमा बाछाको  मिचाई भएन र ?

उत्तरः- तपाईँले प्रश्न सोधेझैँ विश्वविद्यालयले त्यस्तो कार्य गर्छ भनेर मलाई चाहिँ पत्याउन गाह्रो भयो।”

३) “सबैको मतएक हुनुपर्छ अनि यसमा भाषज्ञहरू नै तम्सनुपर्छ- हिरा छेत्री”

प्रश्न:- “नयाँ वर्ण विन्यासलाई साहित्य अकदमीले मान्दैन भन्छ । विश्वविद्यालयले पुरानो वर्ण विन्यासलाई मान्यता दिँदैन । यसले नयाँ पीढीका लेखक पाठक विद्यार्थीहरू अलमल्लमा छन् । कसरी समाधान गर्न सकिन्छ यसलाई ?

उत्तर:-साहित्य अकादमीले मान्दैन भनेर कता अनि कसले भन्यो । लिखितमा छ र ? अनि साहित्य अकादमी को हो नमान्ने ? सायद तपाईँले साहित्य एकादमीको नेपाली परामर्श समितिको कुरा गर्नुभएको होला । त्यहाँ उनीहरू सबै भाषाका जानकार छैनन् । कम व्यक्ति त्यहाँ नवीन र वैज्ञानिक सोच लिनेहरू छन् । विश्वविद्यालयले पनि त्यसो भनेको छैन । अन्योल छ, भ्रम छ अनि यसका लागि तपाईं हामी जस्ता सचेतहरु अघि आएर जानकारहरु पनि मौन नबसेर काम गर्नुपर्छ ।”

४)” अकादमी जस्तो प्रतिष्ठित संस्थानलाई थोप्लामा ल्याएर नटुङ्ग्याइदिउँन: डा घनश्याम नेपाल “

प्रश्न:-”तपाईँहरू थोप्ला हटाउने पक्षमा हुनुहुन्छ । अकादमीले त थोप्ला लगाउनैपर्छ भन्दा रहेछन्। यो त समस्याको कुरो भो नि?”

उत्तर:- “यो अकादमीको मान्यता हो जस्तो चाहिँ मलाई लागेन । अकादमीको नाउँमा धन्दा गर्ने औं हरूको तर्क हो यो । घुमाई घुमाई के कुरा गरेर एउटा सानो गुट बनायो अनि त्यही गुटभित्र कुरा राखेर हामी चाहिँ मठादिश हौ भन्ने एउटा कठमुल्ला बुद्धि राखेर हिँड्नेहरू जो छन् उनीहरुको कुरा हुन् यी । ठूलो संस्था हो । अनि यस्तै कुराहरूले गर्दा अकादमीमाथि मानिसको आस्था घटेर गएको छ । अहिले त एकथरिका लेखकहरु यस्ता छन् जसले अकदमी पुरस्कार दिइन्छ कि भनेर डरपो मान्छन् अपमानित भएजस्तो अनुभव गर्छन् ।”

प्रश्न:- “होइन, थोप्लाको आफ्नै महत्व छ’ रे । हिन्दी भाषालाई बलियो बनाउनका निम्ति नेपालीलाई मान्यता दिएको रे’नी ।

उत्तर:-हिन्दीलाई बलियो बनाउन नेपालीलाई मान्यता दिएको हो ? यस्तो ज्ञान चै कहाँबाट पाउनुभयो उहाँहरुले । अद्भुत कुरा होइन यो ? भारतमा कति भाषाहरू छन् ती जम्मै भाषाको उद्देश्य चाहिँ हिन्दीलाई बनाउनु हो त ? कि प्रत्येक भाषा लाई बलियो बनाउनु हो । भाषा भनेको प्रत्येक जातिको अस्तित्व र चिनारीको आधार हो । यो कुरा बंगलाभाषीलाई भन्नुस् त कस्तो प्रतिक्रिया हुन्छ ? यस्तो कुरा एक जिम्मेवार व्यक्तिले गर्ने हो त ?”

प्रश्न:- “होइन नेपालको नेपाली भाषा र भारतको नेपाली भाषा अलग त हुनुपर्यो होला नि ? ‘ड़’  ‘ढ़’  त्यसैले यताको भाषामा राख्नुपर्छ भन्ने व्यक्तिहरू पनि छन् नि।”

उत्तर:- “नेपाली भाषाका समग्र चिज चाहिँ दुईवटा थोप्लामा अटाउँछ भन्नु यो त महान विचार हो नि । यति महान विचारलाई हामीले के उपाधि दिनु । जसको भाषाको विषयको बुझाइ नै थोप्लामा गएर सीमित छ भने यस विषयमा के चर्चा गर्नु ? यस विषयमा त कुरा गर्नु व्यर्थ हो । किनभने अत्यन्त अबुझ मान्छेले गरेको कुरा मात्रै यस्तो हुन सक्छ । भाषा के हो वा भाषाको प्रकृति कस्तो हुन्छ भन्ने कुराको सामान्य ज्ञान मात्रै भएको मान्छेले पनि यस्तो कुरा गर्दैन ।

प्रश्न:-थोप्ला लगाउने शोद्धार्थीहरूलाई तपाईँहरू साइडलाइन गर्नुहुन्छ रे’नि ?”

उत्तर:- “हामीले कसलाई साइडलाइन गरेका छौं? मेरोमा ल्याइदिनुस्। त्यो कुन विद्यार्थी हो जसलाई हामीले साइडलाइन गरेका छौं? मेरो अगाडि आएर त्यस विद्यार्थीले भनोस् ।”

५) “भाषाले आफ्नो पहिचान दिनपर्छ:-योगवीर शाक्य

प्रश्न:- नेपाली भाषामा अहिले नयाँ वर्णविन्यास थालिएको छ? यो कतिको वैज्ञानिक छ?”

उत्तर:- “वैज्ञानिक छैन भन्न सकिन्न तर हामी भारतीय नागरिक हौ भन्ने कुरा भुल्नु हुँदैन भाषाले पहिचान दिनुपर्छ भन्ने मेरो विचार छ । “

६) “कसैले पनि भाषालाई बाबुको वीरता सम्झिनुभएन‌:- “मिलन बान्तवा”

प्रश्न:-” ड़ , ढ़ को मुनि थोप्ला लगाउनु कि नलगाउनु उचित? लगाउनु हो भने तर्क दिन मिल्ला? “

उत्तर:- “ड़ र ढ़‌ लेखिनै पर्छ भन्ने लाग्छ । किनभने ड र ढ अनि ड़ र ढ़ मा स्पष्ट उच्चारण भेद छन् । उच्चारणमा प्रयुक्त ध्वनिलाई नै प्रतिनिधित्व गर्नलाई नै वर्ण । ड़ र‌‌ ढ़ बाट सुरु भएर बनेका कुनै पनि शब्दहरू छैनन् भन्ने तर्क दिएर अलग र स्पष्ट ध्वनि भएका वर्णलाई हटाउनु उचित होइन ।”

प्रश्न:-” नयाँ वर्ण विन्यासलाई साहित्य एकादमीले मान्दैन भन्छ। विश्वविद्यालयले पुरानो वर्ण विन्यासलाई मान्यता दिँदैन रे। यसले नयाँ पिढीका लेखक,  पाठक,  विद्यार्थीहरू अलमल्लमा छन्। कसरी समाधान गर्न सकिन्छ यसलाई ? “

उत्तर:- “साहित्य अकादमी सित सम्बन्धित महाशयहरूको भनाई अनुसार हामीले पहिलेदेखि प्रयोग गरिरहेको वर्णविन्यासकै आधारमा नेपाली भाषाले साहित्य अकादमीमा स्थान पाएको हो । भाषाले मान्यता पनि त्यसकै आधारमा पाएको हो । मान्यताका निम्ति दस्तावेजहरू बुझाउँदा पुरानै वर्ण विन्यासलाई अघि ल्याइएको थियो । यसमा भारतीय नेपाली भाषाको महक थियो । यसैले साहित्यकदमी र भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भयो । यसलाई भारतीय भाषा मानियो । तर अहिले सुरु गरिएको वर्णविन्यासले हुबहु नेपालकै भाषालाई अनुकरण गरेको छ । यसले भविष्यमा समस्या उत्पन्न हुन सक्ने सम्भावना रहेको साहित्य अकदमीसित सम्बन्धित व्यक्तिहरूको भनाई छ । विश्वविद्यालयले किन पारम्परिक भनिने नेपाली वर्ण विन्यासलाई मान्यता दिँदैन भन्ने कुरा थाहा भएन। किनभने कहीँ कतै यस कुराको उल्लेख भएको मैले पाएको छुइन। अनौपचारिक ढङ्गमा पारम्परिक लेखन शैली अपनाउने विद्यार्थीहरूमाथि मानसिक दबाब दिइने काम भइरहेको छ भने त्यो अलग कुरा हो। यसबारे मलाई केही भन्नु छैन ।”

यी अन्तर्वार्ताका केही अंशहरूबाट यस्तो देखिन्छ कि ‘ड़ र ‘ढ़’  दुई समूह नयाँ साहित्यिक शक्ति संघर्षको प्रतीक बनेको देखिन्छ । भारतीय विश्वविद्यालयले थोप्ला लगाएर लेख्ने शोधार्थीहरूलाई “भिक्टिमाइज” गरेको कुरा अस्वीकार गरेता पनि विश्वविद्यालयको कक्षामा शोद्धार्थीहरू भित्र निर्माण गरिएको थोप्ला नचलाउने  मानसिक र मनोवैज्ञानिक चाप मापन गर्ने कुनै यन्त्र नभएकोले  विश्वविद्यालय माथिको आरोपलाई अस्वीकरण गर्दै  भारतीय नेपाली “साहित्य अकाडेमीले ‘ड़’र ‘‌ढ़’ नलागेको किताबलाई “साइडलाइन लाउने”  अड़ान लिएको जुन आरोप छ त्यसको प्रत्यक्ष असर भारतीय नेपाली साहित्यकारहरूमा कसरी पर्दैछ त्यता पनि केही विचार गरौँ ।

अहिले ‘ड़’, ‘ढ़’ भारतीय नेपाली साहित्य अकादमी पुरस्कार छनोट प्रक्रियामा एउटा महत्वपूर्ण  मानक बनिएको भन्ने आरोप लगाइँदै आएको छ । त्यसकै कारण भारतीय नेपाली भाषामा लेखिएका उत्कृष्ट कृतिहरू साहित्य अकादमीका छनोट प्रक्रियामा टिक्न नसकेको आरोप लगाउँदै “झुर् किताब” हरूले (कवि मनोज बोगटीको भाषामा) साहित्य अकादमी पुरस्कारहरू पाइरहेको गुनासो पनि सुनिन्छ । हालसालमा अकादमीको पदाधिकारीहरूको कार्यकलाप देखि  वाक्क भएर कवि ‘टीका भाइ’ले अकादमीलाई खसालेर  फेसबुकमा “फकादमी” नामकरण समेत गरेका थिए ।

 2022 मा  साहित्य अकादमी पुरस्कार वितरणमा भएको अपारदर्शिता, भाइ-भतिजाबाद, व्यक्तिकेन्द्रित तथा भौगोलिक तुष्टिकरणको आरोप लगाउँदै, असल कृतिहरू ओझेलमा परेका र “झुर किताब” हरू चयनमा परेका भन्दै,  “ड़ र ढ़ हटाऔँवादी” पक्षले भारत वर्षभरिका नेपालीभाषी साहित्यकारहरूको ‘सिग्नेचर क्याम्पेन’ गरी

साहित्य अकाडेमीलाई ‌बुझाएको थियो। त्यस  विरोध र प्रतिकारले के कस्तो असर असर पर्यो त्यो अहिले सम्म अस्पष्ट छ । 

यद्यपि साहित्य अकादमीको यस्तो कार्यप्रणालीले थोप्ला बिहिन वर्ण- विन्यासमा निस्किएको उत्कृष्ट साहित्यिक कृतिहरू ओझेलमा पर्दै गइरहेको धारणा देखिन्छ । यसको प्रत्यक्ष असर समसामयिक लेखकहरूमा पर्दै गएको स्पष्ट देखिन्छ । कुनै समय  ‘ड़’, ‘ढ़’ सहित पुरानै वर्ण विन्यासमा आफ्ना कृति प्रकाशित गर्ने कतिपय सर्जकहरु अहिले भटाभट ‘ड़’, ‘ढ़’ बिना नै नयाँ वर्ण-विन्यासमै आफ्ना नयाँ कृतिहरू प्रकाशन गरिरहेका रहेका छन् । यस प्रवृत्तिलाई  ड़’ र, ‘ढ़’ बिना पुरस्कार नदिने” साहित्य अकादमीको कथित अघोषित फरमान प्रति भारतिय नेपाली साहित्यकारहरूको प्रतिकात्मक प्रतिरोधका रूपमा  पढ्न सकिन्छ ।

( यद्यपि हालै सिक्किम उच्च अदालतको फैसला पछि ड़ र ढ़ हटाऔँबादी‌ मानिएका केही लेखकहरू, फेरि ड़, ढ़ प्रयोग तर्फ फर्किएका देखिन्छन्।  सिक्किमका केही लेखकहरूका पछिल्लो लेखनमा ( विशेष सिक्किमका सर्जक प्रवीण राई जुमेलीका वर्ण- विन्यासमा आएको परिवर्तन पछिल्लो फेसबुक पोष्टहरूमा )  स्पष्ट देखिन्छ।) 

भारतीय नेपाली साहित्य समाज दुईगुटमा विभाजन भएको कुरा अब केही हदसम्म स्पष्ट छ । अब प्रश्न उठ्छ- वर्ण-विन्यास विषय  लिएर विकसित भएको यो गुटबन्दी,  कस्तो प्रवृत्तिको गुटबन्दी हो  ? यसको पछि कस्तो वैचारिकी कार्यरत छ ? धेरैले साहित्यमा चलेको गुटबन्दीलाई नकारात्मक दृष्टिले हेर्छन्। तर साहित्य र समाजलाई उर्वर र अग्रगामी बनाउने भनेको नै गुटबन्दीको तर्क- वितर्क वा बहसको प्रवृत्तिले हो । यदि त्यो वैचारिक गुटबन्दी ( ideological groupism)  हो भने साहित्यिक समाजलाई उर्वर बनाउँछ ।

साहित्यिक गुटबन्दी वा झुण्ड विषयमा मेरो विचार ,मेरो आफ्नै कविता संग्रह “काँसभाड़ा” निस्कनु अघि हिमालय दर्पणमा भाइ अजित विश्व’वियोगी’ले लिएको अन्तर्वर्ताको एक अंश यहाँ राख्छु ।

प्रश्न:- “तपाईँकाे फ़ेसबुकीय साहित्यिक गतिविधि ,कवि गोष्ठी र यताउता हेर्दा तपाईं पनि निर्दिष्ट झुण्डमा नै देखिनुहुन्छ चलिरहेकै शब्दमा भनौँ न गुटमा भेटिनुहुन्छ । गुटकै बुट बजारेर साहित्यको रिङ्ग कोर्ने हो ?”

उत्तरः “रिङ्ग जस्तो शब्द रहेकाे यस प्रश्नले ले किन हो मलाई पशु प्राणी जङ्गलको बिम्ब टिपेर उत्तर दिन मन पर्यो । हरेक पशु प्राणीको आफ्नै इलाका हुन्छ । आफ्नै इलाकामा झुण्ड बाँधेर बस्न मन पराउँछ । झुण्डले सुरक्षा प्रदान गर्दछ । ‘इभोलुसनेरी साइकोलोजी’ले अहिले पनि मान्छेलाई पशु भन्दा माथिको प्राणी गन्दैन । पशुमा हुने “ बेसिक इन्स्तिङ्क्ट” मान्छेकाे सामूहिक मनोदशाबाट अहिले पनि गएको छैन । यसर्थ मान्छे अहिले पनि आफ्नै झुण्ड र इलाकामा बस्न मनपराउँछ । यसैले कुनै पनि कवि आफ्नै गुटमा बस्न सहज मान्छ । त्यो उसको विचारको “सेफ्टी भ्यालब” हो ।……. सिंहको आफ्नै झुण्ड हुन्छ । बाघ पनि आफ्नै झुण्डमा बस्छ । तर म आफ्नै बिचारको इलाकामा बस्छु । चितुवा एक्लै बस्छ…हा..हा… तर गुटमा बस्ने, झुण्डमा बस्ने प्रति मेरो कूनै द्वेष छैन । जति बेसी  बिचारको गुट बनिन्छ , साहित्यमा त्यति विभित्ता आउँछ। साहित्य फस्टाएर जान्छ । अहिले हामीसँग भारतीय नेपाली साहित्यमा हस्तक्षेपी लेखन छ । समावेशी छ । उत्तरलीला, किनारीकृत लेखन, प्रगतिवादी छ । अभिसंगी छ । पहिला लीला-लेखन थियो । तेस्रो आयाम थियो । संक्रमण थियो । विचलन लेखन थियो । अझै धेरै । यसले साहित्य सृजनालाई फस्टाएर लग्यो । एउटा कुरा थप्छु – कुनै समय हामीले घरमा थुप्रै बाख्रा पाल्थ्यौँ। एउटा ‘विकासे’ बोका थियो अनि दुई तीनवटा माउबाख्रा । दुई चार वर्षमा दसबाह्रवटा भयो । बाख्रा खुब सप्रियो । जंगलमा चर्न फुकाउँथ्यौँ । बाख्राले जंगलमै ब्याउँथ्यो । दुई तीन दिनमा पाठापाठीहरू जंगलबाट खोजेर  ल्याउँथ्यौँ। केही बर्ष खुब सप्रियो । सबैले भन्थे हामीलाई बाख्रा खुब फाप्छ । पछि बाख्रा तीस चालीसवटा भयो । जंगलमै व्याउँदै र हुर्किन्दै । तर के भयो भने,  एक दुईवर्षमा पच्चीस तीस केजी हुने खसी,  पछि पछि पाँच-छ केजीको पनि हुन छाड्यो । अब हामीलाई बाख्रा फाप्दैन भनेर सब बेची दियौँ । पछि थाहा भयो झुण्डमा एउटै बोका चलाउनु हुँदैन रहेछ भनेर । सन्तान किटिएर जाँदा रहेछ । यो जेनेटिक्स हो। त्यस्तै साहित्यमा पनि एउटै बोका चलाउँनु हुँदैन । साहित्य किट्टिन्छ ।”

हेगेलियन द्वन्दात्मकता (Hegelian dialecticism) लाई सामान्यतया  थेसिस ( thesis) , एन्टीथेसिस (Antithesis) , र सिन्थेसिस ( synthesis) को प्रक्रियासँग जोड़ेर हेरिन्छ । कुनै पनि विचार , सिद्धान्त वा सामाजिक यथार्थ स्थिर रहँदैन।यसले विरोध (contradiction) र समाधान (resolution) को प्रक्रियाबाट कुनै पनि विचारको विकासको व्याख्या गर्छ । थेसिस कुनै गुटको वा झुण्डको प्रारम्भिक विचार वा प्रस्तावनाको रूपमा अघि आउँछ । त्यसलाई  एन्टिथेसिसले चुनौती दिन्छ, यसको सीमा ( limitation) , सम्भावना ( possibility) , वा यसभित्र रहेको  द्वन्द (conflict) र तनाव (tension) ले नयाँ विचारको स्थापना गर्छ । यसर्थ सिन्थेसिसको माध्यमबाट यी द्वन्दहरूको समाधान हुन्छ । सिन्थेसिसले थेसिस र एन्टिथेसिसका महत्त्वपूर्ण तत्त्वहरूलाई एकीकृत गर्दै नयाँ वैचारिक यथार्थको विकास गर्छ । यो प्रक्रिया साहित्य, दर्शन, इतिहास, राजनीति वा कुनै पनि प्रणालीमा लागू हुन्छ, जहाँ विचारहरू र प्रणालीहरू द्वन्द र एकीकरणको माध्यमबाट प्रगतिशील रूपमा विकसित हुन्छन् । तर अहिले भारतीय नेपाली साहित्य विशेष दार्जिलिङमा पछिल्लो समयमा देखा परेका सबै साहित्यिक अभियान वा लेखन शिथिल अवस्थामा देखिन्छन् ।  हामी यति निर्धक्क साथ भन्न त सक्छौँ भारतीय नेपाली साहित्य समाजमा  अहिले झुण्डहरू वैचारिक शून्य भएको छ । यो भारतीय साहित्यिक समाजको निम्ति शुभ संकेत होइन । जसको रिप्लेसमेन्टमा नेपाली भाषामा पुरानो वर्ण

-विन्यास र नयाँ वर्ण-विन्यास जस्ता‌ विचार-शून्य गुटबन्दीले ठाउँ ओगट्दैछ । “अकादमी बनाम एकाडेमिक्स”  वा साहित्य अकादमी बनाम विश्वविद्यालयको भाषिक सत्ता निर्माण/नियन्त्रण चलखेलमा साहित्य अकादमी ( ‘ड़’,  ‘ढ़’ राखौँवादीहरू) संघर्षरत देखिन्छन् भने विश्वविद्यालय ( ‘ड़’, ‘ढ़’ हटाऔँवादीहरू) यस अघोषित शीतयुद्धको मैदानमा निकै अघि बढ़िसकेको (gaining ground) देखिन्छ । अब साहित्य अकादमी ‘ड़’, ‘ढ़’ ‌ राखौँवादीहरू किन पछि पर्दैछन् त ? विश्वविद्यालय‌ ‘ड़‌’, ‘ढ़’ हटाऔंवादीहरू किन अघि बढ्दैछन् त ?

केही सम्भावित तथ्यहरूलाई हेरौँ ।

समकालीन साहित्यकारहरूको ठूलो जमात साहित्य अकादमीका पदाधिकारीहरूको कार्यप्रणालीप्रति मोह भङ्ग भएको कुरा साहित्यिक गोष्ठीतिर सुन्न पाइन्छ । पुरानै वर्णविन्यासमा एक- दुईवटा किताब प्रकाशित गरिसकेका स्थापित सर्जकहरूले पनि भटाभट ड़ र ढ़ रहित नयाँ वर्ण विन्यासमा किताबहरू छाप्दैछन् । उनीहरूको नजरमा साहित्य अकादमी एउटा बन्द सीमित समूह (exclusive group) बनेको छ जसको काम गर्ने तरिका अत्यन्तै नियन्त्रित र साधारण साहित्यकार तथा जनताको सरोकार भन्दा टाँड़ो भएको आरोप छ । यसको कार्यप्रणाली अपारदर्शी (opaque) र सीमित घेराभित्रमात्र ( ring fenced) संकुचित भएको महसुस हुन्छ । साहित्य अकादमीका पदाधिकारीहरुले यस्तो छवि सुधार्न कुनै नयाँ कार्य गरिरहेको देखिँदैन भने अर्को तर्फ भाषाविद् र विश्वविद्यालयहरूले नेपाली भाषाको मानकीकरणलाई आधुनिक र वैज्ञानिक आधारभूत ढाँचाका रूपमा प्रस्तुत गरिरहेका छन् । जुन तर्क समकालीन भारतीय नेपाली सर्जकहरूले सहजै स्वीकार्दै छन् । उनीहरूको तर्क छ कि नेपाली भाषाको मानकीकरणले विश्व भरि छरिएर बसेका नेपालीहरूमाझ सञ्चार र सम्वाद सहज र सरल बनाउँछ, भाषागत संरचनालाई वैज्ञानिक अध्ययन गरि संरक्षण गर्दा  र भाषाको दस्तावेजीकरण तथा शिक्षणलाई सजिलो बनाउँछ ।  मानकीकृत भाषा एउटा तटस्थ ( neutral) माध्यमको रूपमा काम गर्छ, जसले विभिन्न क्षेत्र र पृष्ठभूमिका मानिसहरूलाई आपसमा सहज संवाद गर्न र  सामाजिक र सांस्कृतिक एकतामा समेट्न गर्न सहयोग  पुर्‍याउँछ । भाषाविद्हरूको तर्क छ कि मानकीकृत व्याकरण र लिपिले भाषाको स्थिर आधार तयार गर्छ, जसले शैक्षिक सामग्री तयार पार्न सहयोग र भावी पुस्ताका लागि एकरूपको भाषिक परम्परा सुनिश्चित गर्छ।  यस वाहेक नेपाली भाषाको मानकीकरणलाई साहित्य अकादमी विपरीत आधुनिकीकरणसँग जोड्न सफल बनेको छ । विश्वविद्यालयहरूले तर्क गर्छन् कि मानकीकरणले भाषालाई प्राविधिक प्रगति, अन्तर्राष्ट्रिय सञ्चार, र शैक्षिक संवादको लागि थप अनुकूल परिवेश दिन्छ । यसले भाषा वैश्विकरणको युगमा जीवित रहनसक्ने बनाउँछ । परिवर्तन भाषाको स्वाभाविक गुण हो, जुन सामाजिक, सांस्कृतिक र प्राविधिक विकासद्वारा निर्देशित हुन्छ । समाज परिवर्तनशील हुन्छ, जसका कारण भाषाको शब्दभण्डार, लिपि, व्याकरण र उच्चारण पनि परिवर्तन हुन्छ । भाषा नयाँ वास्तविकतासँग अनुकूल बन्छ, विदेशी प्रभाव, क्षेत्रीय भिन्नता र नयाँ अवधारणाहरूलाई समेट्दै नयाँ रूपमा प्रस्तुत हुँदछ । यो प्राकृतिक विकास भाषाको जीवन्तता र गतिशीलता झल्काउँछ, जसले यसको सान्दर्भिकता र उपयोगितालाई सुनिश्चित गर्छ । भाषालाई स्थिर र पुरानै अवस्थामा राख्ने प्रयासले यसको जैविक( natural ) गतिमा अवरोध आउँछ । परिवर्तनलाई स्वीकार गर्नु नै भाषालाई जीवन्त, समावेशी, र पुस्तौंसम्म मानव अनुभवका जटिलतालाई व्यक्त गर्न सक्षम बनाउनु हो ।

पुरानो वर्ण विन्यास पढ़ाइने (दार्जिलिङमा विशेष) प्राथमिक पाठशालाहरू दयनीय अवस्थामा छन् वा बन्द हुँदै गएका छन् । यो तथ्य सत्य हो । उच्च माध्यमिक अनि उच्चतर माध्यमिक तहका विद्यालयहरूमा पाठ्यक्रम पठनपाठनको माध्यम अंग्रेजी भइसकेको छ । यसर्थ हिजआज विद्यार्थीहरू विश्वविद्यालय तहसम्म आइपुग्दा नेपाली भाषाको पुरानो वर्ण विन्यास ( orthography ) को  परम्परा ( legacy ) वा भारी ( baggage ) नबोकी आउँदैछन् । साधारण विद्यार्थीवर्गमा पुरानो वा नयाँ वर्णविन्यास सम्बन्धमा कुनै समस्या परेको वा रहेको देखिन्न । एकातिर ‘ड़’र ‘ढ़’  राखौँवादीहरूले आफ्नो पारम्परिक आधार ( traditional base) गुमाउँदैछन् भने अर्कोतर्फ विश्वविद्यालयले प्रत्येक वर्ष सयौँको सङ्ख्यामा नेपाली भाषाको नयाँ वर्णविन्यासमा पठित विद्यार्थीहरू समाजमा पठाउँदै छन् । ती विद्यार्थीहरू  साहित्यिक समाज, अनलाइन मिडिया‌ हाउस, स्कुल, कलेज अनि सामाजिक सरोकारको महत्वपूर्ण स्थानतिर बिस्तारै सम्मिलित (absorbed) हुँदै जाँदैछन् । यसर्थ नयाँ वर्णविन्यास स्कुलका पाठ्यपुस्तकमा  शुरू ( introduce ) हुँदा कुनै ठूलो विरोधको सामना गर्नुपरेको देखिन्न ।

अहिले पश्चिम मङ्गल सरकारद्वारा मुद्रित नेपाली पाठ्यपुस्तक कक्षा १० सम्ममा ‘ड़‌‌’, ‘ढ़’ बिनाको नयाँ वर्ण विन्यास चलाइएको देखिएको छ । यहाँ सम्मकी ‘ड़’, ‘ढ़’ वर्णहरूको पक्षमा लेखेरै राख्न पर्ने अड़ान राख्ने डा इन्द्रबहादुरका  ‘आज रात भरि हुरी चल्यो ‘ कथालाई समेत ‘ड़’, ‘ढ़’ रहित पाठ्य पुस्तकमा समाहित गरिएको छ। ( हेर्नुहोला पश्चिम बंग सरकारले जी टी ए क्षेत्रको नवौँ अनि दसौँ श्रेणीका निम्ति छापेको नेपाली साहित्यको किताब ) ।

वर्षै पछि प्रायोजित र नियोजित ढङ्गमा बढाउँदै ( increasingly) नयाँ वर्णविन्यास बुन्यादी तहसँगै लगिने ( top down) एप्रोच देखिन्छ । सामाजिक सञ्जालले हिजो आज नेपाली भाषामा लेख्न सुविधा दिएर यसको पहिचान र महत्वलाई अझ बढ़ाइरहेको छ । र विश्वभरि छरिएको समुदायहरुलाई जोड़िरहेको छ । यसले भिडियो, मिम्स् र अनलाईन पाठ ( text) जस्ता सामग्रीहरूद्वारा नेपाली भाषा सिकाई, सांस्कृतिक संरक्षण,‌ बिस्तारीकरणमा मद्दत गरिरहेको छ । सामाजिक सञ्जालले नेपाली भाषाको सङ्ग्रह र सामान्यीकरण गर्न सहयोग गरेर नयाँ पुरानो दुई पुस्तामा गौरव बढ़ाएको छ र कलङ्क तोड्न मद्दत गरेको छ । तर मोबाइल किपेटमा ड़ र ढ़ जस्ता वर्णहरूको अभावले पुरानो वर्णविन्यास प्रयोग गर्न चाहने व्यक्तिहरुलाई असुविधामा परिरहेको छ । र नयाँ वर्ण-विन्यासमै लेख्न बाध्य बनाएको छ । हामीले धेरैपटक फेसबुकमा मानिसहरूलाई मोबाइलको किप्याडमा ड़ र ढ़ नभएकोले आफ्नो मौलिक अनि पारम्परिक भाषामा लेख्न नपाएको गुनासो पोखेको देखेका छौँ । यसले एकातिर भारतको नेपाली भाषिक शैलीमा लेख्न निरुत्साहित गर्दैछ भने अर्कोतिर मानिसहरूलाई काठमाण्डौबाट मनकीकरण गरिएको वर्ण विन्यासमा लेख्न बाध्य पारेको  छ । यसले भारतको नेपाली भाषाको मौलिकता र सांस्कृतिक पहिचान मास्ने काम गरेको छ । ‘ड़’ र ‘ढ़’ जस्ता वर्णहरूको अभावले पुरानो वर्ण-विन्यासले बोकेको ऐतिहासिक महत्व र भाषिका‌ ‘दार्जीलिङ डाइलेक्ट्स’ को  विविधतालाई बचाउन कठिन बनाउँदैछ । नयाँ पुस्ताले पुरानो वर्तनी सिक्न र प्रयोग गर्न पाएका छैनन् । जसले भाषा संरक्षणमा चुनौती खड़ा र भारतीय नेपाली भाषाको स्वतन्त्र विकासको गतिलाई छेकबार गरेता पनि सर्जकगणले यस कुरालाई सहज र सामान्य रूपमा लिँदैछन् ।

“ड़’, ‘ढ़’ हटाऔँवादी’हरू भाषा सम्बन्धी आफ्नो बहस वा विचारलाई आधुनिक, समावेशी, परिवर्तनशील र विज्ञान सम्मत रहेको तथ्य सफलतापूर्वक प्रस्तुत गर्न सफल बनेका छन् भने ‘ड़’, ‘ढ़’ “राखौंँवादीहरू”को भाषिक बैचरिकतालाई परम्परिक,  सङ्कुचित, भावनात्मक अवैज्ञानिक,  कठमुल्ला लेड़ेँ ढिप्पी बिचार रहेको देखाउन धेरै हदसम्म सफल बनेको छ ।

तर‌ के “ड़’, ‘ढ़’ हटाऔँवादी’हरूका भाषा सम्बन्धी वैचारिकता के साँच्चै समावेशी छ  ?

ड़ र ढ़ जस्ता वर्णको  बहसले साहित्य अकादमी र विश्वविद्यालयको विपरीत दृष्टिकोणलाई अघि सारेको छ । साहित्य अकादमीले  ‘ड़’,’ढ़’ अनि पञ्चम वर्ण प्रयोग नगरिएको वर्ण-विन्यासमा लिखित कृतिहरूलाई गैर-मानक मानी अस्वीकार गर्ने आफ्नो कठोर अड़ान कायमै राखेको छ, जसले नयाँ वर्णविन्यासमा लिखित साहित्यिक कृतिहरूलाई लाई स्पष्ट रूपमा बहिष्कृत गर्छ । अर्कोतर्फ, विश्वविद्यालयले वैज्ञानिकता र समावेशिताको छवि प्रस्तुत गर्ने प्रयास गरे पनि, ‘ड़’, ‘ढ़’ अनि पुरानो वर्ण- विन्यास प्रयोग गरिएको शोधपत्रहरूलाई “ अघोषित भिक्टिमाइज” गरिएको आरोप त छ । ( यस आरोपलाई विश्वविद्यालयले सोझै नकारे पनि पुरानो वर्ण विन्यासमा लेखिएको नेपाली शोधपत्र मैले एउटै पनि भेटिन । ( हेर्नु होला https://shodhganga.inflibnet.ac.in/ यहाँ भारतभरी गरिएको PHD थेसिस पाइन्छ )  विश्वविद्यालयले भारतीय नेपाली भाषाको नयाँ स्वरूपलाई सम्बोधन गर्नुको साटो, काठमाण्डौ केन्द्रित मानकीकरणमा जोड़ दिएको छ । यो मानकीकरणले नेपाल देशभित्रै पनि क्षेत्रीय भाषाहरूका सांस्कृतिक सार तत्त्व  र विशिष्टतालाई ओझेलमा पार्दै पुस्तौँ सम्म विकसित भएका भाषिक सम्पदाहरूलाई कमजोर बनाएको छ । स्थानीय भाषाहरूले समुदायको इतिहास र पहिचान झल्काउँछन्, तर विश्वविद्यालयले वैज्ञानिक दृष्टिकोणको नाममा बनाएको नीतिहरू केवल भाषिक विचारधारा (language ideology) सीमित छ ।

विश्वविद्यालयले भित्र्याएको भाषिक विचारधारा ( language ideology)  के हो त ?

 ( हेर्नुहोला ‘ड़’, ‘ढ़’  विरुद्ध फैलाइएका केही तर्क असंगत तथ्यहरू भाग १ प्रणय शंकर  दियालो शतवार्षिकी विशेषाङ्क वर्ष 2025 ) । लेख्य रूपमा भाषिक विविधताको सम्मान नहुँदा यी काठमाण्डौंँ केन्द्रित भाषिक विचारधारा ( language ideology) सबैको निम्ति ग्रहणयोगी अनि समावेशी हुन सक्दैनन् । यस प्रकारको एकरूपताले गैर-मानक भाषीहरूलाई बहिष्कृत गर्छ, जसले गैर-मानक भाषीहरूको सांस्कृतिक र भाषिक अभिव्यक्तिलाई अन्यकरण ( othering )  गरेर कमजोर बनाउँदै कुनै पनि देशको समग्र विविधतामा नोक्सान पुर्‍याउँछ ।

जहाँ एउटै भाषा धेरै राष्ट्रमा प्रयोग हुन्छ, त्यहाँ मानकीकरणको प्रभाव झन् जटिल बन्छ । छिमेकी राष्ट्रहरूले साझा भाषा बोल्दा आ-आफ्ना ऐतिहासिक र सांस्कृतिक सन्दर्भअनुसार फरक लिपि र शैली विकास गरेका हुन्छन् । एउटै मानक थोपर्दा ती विविधता कमजोर भएर सांस्कृतिक असन्तुलन र राजनीतिक तनाव निम्त्याउन सक्छ। भारतीय नेपाली भाषाको वर्णविन्यासलाई वैज्ञानिकता अनि मानाकीकरणको आड़मा “काठमाडौँकरण” गर्ने जुन जमर्को  गरिएको छ त्यसले भारतीय नेपाली समुदायलाई आफ्नै भाषाको स्वरूप लिएर भारतीय मूलधारमा सम्मिलित हुन छेकबार लगाएको अनुभव हुँदछ ।

यसकारण, साहित्य अकादमी र विश्वविद्यालयले आफ्ना दृष्टिकोण पुनर्विचार गर्नुपर्छ । साँचो समावेशिता भनेको भाषिक विविधतालाई सम्मान गर्दै ड़ र ढ़ जस्ता ध्वनि र वर्णको सांस्कृतिक महत्त्वलाई स्वीकृति दिनु हो ।

 माथि उल्लेखित मन्तव्यहरू के केवल कल्पनाको उपज हुन् त ? यस विषयलाई अझ राम्रोसँग बुझ्नका लागि  हामी किताब, साहित्यिक पत्रपत्रिका मात्र होइन, भाषा बहसका अन्य स्रोतहरूतिर पनि ध्यान केन्द्रित गर्नु पर्ने हुन्छ । ‘साहित्य अकादमी’ र ‘विश्वविद्यालय’ बीच चलेको शक्ति संघर्षको अघोषित शीतयुद्धले साहित्यिक मञ्च, बहस, र विश्वविद्यालयका कोरिडोरबाट बाहिर निस्केर व्हाट्सएप ग्रुप तथा फेसबुकमा “हट टपिक” बनेको देख्न सकिन्छ । फेसबुक पोष्टहरू र  कमेण्ट सेक्सनमा नयाँ वर्णविन्यासको पक्ष र विपक्षमा साधारण भाषाका प्रयोगकर्ता, साहित्यिक सर्जक, साहित्यिक समालोचक, तथा भाषा अध्येताहरूका विभिन्न प्रतिक्रियाहरू देख्न सकिन्छ । भाषा जस्तो सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण र सम्बर्धनको विषयमा फेसबुक जस्ता सामाजिक सञ्जालमा विभिन्न “फेसबुक आइडी”बाट लेखिएको टिपोट अनि टिप्पणीहरू सामाजिक बहसकै साझा सम्पत्ति मानिएकोले यहाँ केही सन्दर्भहरू उल्लेख गर्न वैधानिक साथै उपयुक्त बन्छ । त्यति मात्र नभई, भारतीय नेपालीभाषीहरूले नेपाली वर्ण -विन्यास बारे समकालीन समयमा कस्तो धारणा राख्छ भन्ने बुझ्नका लागि पनि फेसबुक कमेण्टहरुलाई एक प्रकारको आँखीज्यालका रूपमा पनि लिन सकिन्छ । भन्नै हो भने यतिको गहन र गम्भिर वहस  लिखित रूपमा कुनै पत्रपत्रिकामा चलेकै छैन। तर यहाँ स्पेसको अभावको कारणले हामी ती पोष्टहरूलाई अन्य सन्दर्भमा हेर्ने छौ।

तर भाषा विमर्शमा संकलित यी फेसबुक स्टेट्स अनि “कमेन्टसेक्सन”का  टिप्पणीहरू सामान्यतया भाषाको मर्यादा उल्लंघन नगरी ‘ड़’ , ‘ढ़’को  केन्द्रीय विचारकै वरिपरि केन्द्रित भए पनि, फेसबुकमा चर्को बहसको समयमा “दलाल, टक्सिङ लाउने, थप्पड़ लाउने, दरिद्र विचारको, विद्वान सिद्वान, महामूर्ख, विश्वविद्यालयको झोले, दलाली, साहित्य अकादमीको झण्डा बोक्ने, दलाल, मेण्टल पेसेण्ट, महामूर्ख पट्ट मूर्ख” जस्ता अत्यन्तै अमर्यादित र अशोभनीय शब्दहरू प्रयोग गरी साहित्यिक सर्जक र भाषाविद्हरूले एकअर्कालाई  व्यक्तिगत ‘शिबोलेथ’ नगरेका पनि होईनन् । तर एउटा कुरा बुझ्न पर्छ । वर्ण-विन्यास सम्बन्धीत् बहसले किन मानिसलाई यति साह्रो रिस उठाउँछ ? वर्ण पहिचान, संस्कृति र इतिहाससँग गहिरो रूपमा जोड़िएको हुन्छ, जसले बहसलाई भावनात्मक र प्रतिरक्षात्मक बनाउँछ । कुनैपनि भाषा अनि त्यस भाषाको वर्ण विन्यास माथिको हस्तक्षेप मान्छेले व्यक्तिगत आक्रमण कै आधारमा लिन्छन्, किनभने यो परम्परा र विरासतसँग सम्बन्धित हुन्छ। भाषा अनि वर्ण विन्यास मानकीकरण जस्ता प्राविधिक अवधारणाको ( Technical concept) गलत प्रयोग र   बुझाईले भाषा हराउने वा सांस्कृतिक मौलिकता  हराउने खतरा महसुस गराउँछ र तनाव बढाउँछ । वर्ण विन्यास भाषाले निर्माण गरेको सत्ता र आफूले पालेको विचारको सम्मानसँग सम्बन्धित हुन्छ । यसर्थ  कुनैपनि बोलिचालीलाई “निम्नस्तर” भन्दिँदा मानिसहरू आक्रामक बन्छन् नै  । राष्ट्रवाद र राजनीतिले भाषा विवादलाई झन् चर्को बनाउँछ‌। भाषा मानाकीकरणले निम्ताएको नयाँ बिचार, स्थापित वर्ण विन्यासमा छेड़खानी, शब्द वा उच्चारण परिवर्तन‌ले भाषाको “शुद्धता” जोगाउने चाहना भएपनि वर्ण विन्यास बहसले पहिला  समुदायको भाषा सम्बन्धित पहिचान, अस्तित्व र गर्वका गहिरो मुद्दालाई सम्बोधन गरेको हुनुपर्छ ।

+

प्रणय शंकर ‘काँस भाँड़ा’ कविता संग्रहका कवि हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ