अक्टोबर 16, 2026 | 3:27 बेलुका

घाममा उत्तानो परेर ‘ड़’  ‘ढ़’ सोंच्दा

दसबजे बिहान। बरण्डामा घामको टकमा सुतिरहेको बेला,  मनमा खेलिरहेका कुराहरू टिपौँ कि?

कुरा कस्तो हो भने, मध्य फरवरीको घामको न्यानोपन, नतापेको पनि जमाना भएछ।

घाममा अल्छिलाग्दो भएर सुतिबस्न सक्नु पनि एउटा कला थियो मेरो। खासमा हामीले थुप्रै कला भुल्दै जाँदैछौँ।‌

एक समय बाटोमा सुसेली मार्दै हिँड्ने पनि एउटा कला थियो। कसैले सुसेली मार्दै हिँड़ेको नदेखेको पनि जमाना भइसक्यो। ती समय खास थिए। हामी अलिक जवान भएपछि – डोको एक कुममा झुण्डाएर जङ्गलमा ठुटा चिर्नु जानुको पनि अर्कै मज्जा थियो। स-साना केटा-केटीहरूलाई बटुलेर ठाँटसित सुसेली मार्दै जङ्गलमा कटुसको काँचो ठुटा चिर्नु पनि एक कला नै थियो- त्यस समय ।

खासमा घाममा लमतन्न ढल्किएर,  बेला-बखत यस्तै फाटफुटे विचारहरुलाई आफ्नो मनमा खेल्न दिँदाको मज्जा पनि अर्कै हुन्छ !

 “कसिंगर, पात‌‌ र पतिँगर”- हावाले सानो भु़ँवरी बनाएर उड़ाए जस्तै। कुनै दिशा छैन, कुनै लक्ष्य छैन । कुनै दर्शक छैन । मान्छेको जीवन – एकछिन जोसिएर जीवनको भुँवरीमा उड्छ र झर्छ  अनि बिलाउँछ – बिना पानी बिरानो शहरमा।

व्यक्तिगत जीवन क्षणिक छ, तर मान्छेको  सामाजिक विचार अडिग । मान्छे भातले मात्र होइन, सामाजिक विचारले बाँच्छ । त्यही विचारलाई बनाउन र बचाउँन, मान्छेले मान्छेलाई मात्र होइन आफैंलाई पनि मारिरहेको छ ।

आङमा चर्किँदै गएको एक अञ्जुली तातो घाममा मनमा उड़िरहेको हजार विषयहरू छन् ।

भन्नै पर्दा, उहिले सुसेली मार्दै हिँड्ने मेरो एउटा कला थियो। मैले अहिले बिर्सेंछु । सकिँदैन रहेछ पहिला जस्तो सुसेली मार्नु।

दार्जिलिङमा रेलको ‘स्टिम इञ्जिन’ बाहेक कसैले सुसेली मार्दै हिँड़ेको देख्दिनँ – हिजआज ।

दार्जिलिङको सुसेली सम्झेर ‘केवलय’-मा कवि केवल लेख्छन् –

‘लौ कञ्चनज‌ङ्गाको शिरमा हात राखेर,

लौ महाकालको खुट्टा छोएर

किरिया खाऊ त, कसम खाऊ त

तिम्री सानी रेलको आवाज

तिम्री मनको पँधेरोमा नसुनिँदा

केही नभएजस्तो, केही हराएजस्तो

तिमीलाई लागेको छ या छैन ?

लौ देवरालीमा अछेता चढ़ाएर भन त ।‘

साच्चै भन्ने हो भने, रेलको सुसेली पनि बिस्तारै “डाइङ आर्ट” हुँदै जाँदैछ ।

“ड़” जस्तै।

सानो छोरा कुशकलाई सिकाउँ भनेर ओठँ गोलो बनाउँदै त्यसलाई दे’खाको, ओँठबाट हावा मात्र फ्यास निस्क्यो । रचना मेरो फ्यतुलो सुसेली देखेर लाजले भुतुक्कै भई।

अस्तिमात्र सालबारीहाटबाट रचनाले ल्याएको प्लास्टिकको प्रोफाइल ओछ्याएर, सिन्थेटिक सिरानीमा टाउको राखेर मनमा कुराहरू खेलाइरहेको छु ।  घाममा कोल्टे परेर ।

छ्या कस्तो गनाउँछ हौ यो सिमल बिनाको सिरानी पनि ! 

सिन्थेटिक सिरानीमा टाउको राखेर सोँच्दा, मनमा विषय र विचारहरू पनि सिन्थेटिक नै खेलिरहेका हुँदारहेछन् ।

जुन विचारहरूको कुनै उपदेयता छैन । मानव उत्थानमा दुई पैसाको सहयोग छैन ।

हुनत कविताको पनि कुनै उपदेयता छैन – भन्नेहरूको ताँत होलान् । 

शिक्षकको पनि कुनै उपदेयता रहँदैन भन्छन् – अब ।

हुन त हामी स्कुल पढ्दा पनि एक दुईजना शिक्षकको कुनै उपदेयता थिएन ।

सम्झनाको रूपमा हाम्रो एकजना शिक्षकलाई सम्झिरहेछु । महासयले जीवविज्ञान पढाउनुहुन्थ्यो –

‘वनस्पति भनेको नस्पती, नस्पती भनेको नै वनस्पति’

-भनेर नै क्लासमा दिन गाल्नु हुन्थ्यो । उनले दिन मात्र गालेनन्, उनले आफ्नो शिक्षण पेसा नै गाले । अनि हामी केटाहरूलाई पनि झण्डै गाले।

अहिले महाशय दार्जीलिङ-सिक्किमको एकीकरणको समर्थनको कुरामा उहाँ जोड़तोड़ले बोल्नु हुदैँछ ।

क्लासमा हामीलाई त्यस समय थाहा थियो यो गलत हुँदैछ । तर हामी बोल्नै सकेनौँ । हामी डरले काप्यौँ‌ । तर शिक्षकगण पनि केटाहरूदेखि  काँप्ने माहोल बिस्तारै बनिँदै थियो ।

केटाहरू जवान हुँदै थिए ।

८६ को धङधङी पहाड़बाट हटिसकेको थिएन ।

तरपनि त्यससमय गुरुहरूलाई देख्दा काँप्ने समय नै थियो ।

काँप्ने कुराकै प्रसंगमा गम्दा- कुनै एक मञ्चमा उभिएर बोल्नपर्दा, धेरै‌जस्ता मान्छेहरू किन थर थर का़ँपेका होलान् ?

सोँचिरहेको छु ।

म पनि काँप्छु, काँपेको छु ।‌

कवि मनोज बोगटीलाई काँपेको देखेको छुइनँ, कवि राजालाई पनि देखेको छुइनँ। खुलिएर बोल्छन् मोराहरू, मञ्चमा उभिएर बोल्दा । तर एकटक लाएर उनीहरूको आँखा गहिरिएर हेरेको छु । त्यहाँ धेरै डर देखेको छु । तर त्यो डर, साहित्य- समाजको डरको कम्पन होइन।

काँप्नेहरू हजार होलान् – त्यसरी मञ्चमा बोल्दा । तर यस्तो कँपाई मञ्चमा बोल्नुपर्छ भन्ने ‘डर’को‌ कदापि होइन ।

तर अपेक्षाको भार होला – होला होइन, साच्चै हो ।

‘उनीहरूको आज  वैचारिक उपेक्षा हुँदैन’  भनेर बोल्नेलाई नै दर्शक दिर्घामा बसेका सयौँ आँखा-जोड़ाहरूले अपेक्षा गरेर हेरिरहेका हुन्छ । त्यहाँ वक्ताले बोल्न पाएको बिषयमा विषयान्तर नभई दर्शक दीर्घामा बसेका श्रोतागणको ध्यानलाई केन्द्रमा राखेर माहोललाई मग्नमय साथै स्वादिलो बनाउनुपर्ने हुन्छ । बोल्दै गरेको विषयमा आफै ज्ञानी पनि देखिनु पर्ने स्थिति हुन्छ ।

श्रोतागणलाई ज्ञानी बनाएको जस्तो गरेर वक्ताले आफैलाई नङ्गाई, आफ्नै आत्मा-अहम सेक्नु पर्ने पनि हुन्छ !

अहम् कै कुरा गर्नु पर्दा –

‘धेरै जसो मर्दले गर्ने सम्भोग आफ्नै अहम सेकाइको क्रिया मात्र हो’

 – भनेर कसैले भनी हालेको जस्तो लागेन !

‘स्वास्नीलाई पनि हप्ता भरी ‘सन्तोकी बनाइराख्नु पर्छ’

– भन्ने कुराको हेक्का उसलाई भएको जस्तो लागेन ।

‘स्वास्नीले नाटक गरिदिनुपर्छ हरे, तृप्त ऊ भएकी’

-भनेको चै कता कता सुनेको जस्तो लाग्यो ।

यस्तै तृप्ति भएको अभिनय दर्शक दिर्घाले नगरिदियोस् भनेर, मञ्चबाट वक्ताले हजार तुक्का जोड़ेर, विषय र माहोललाई स्वादिलो र असरदार बनाउँदै जानु पर्ने हुन्छ ।

‌एक कुशल वक्ताले दर्शकलाई आफ्नो ज्ञानले सहजै नङ्ग्याउला । तर दर्शकले आफै असन्तुष्टिको कपड़ा उठाएर र वक्तालाई मञ्चमै छाड़ेर हलबाट उठेर जान पर्ने स्थिति आयो भने ?

बोल्नेको उत्तरदायित्वको भार यहीँ हुन्छ ।

वक्ताको स्वाभिमानलाई यहीँ ठेस लाग्छ ।

तर दर्शक-दीर्घामा बस्ने श्रोतागण पनि मुलायम र नौलो विचारको निम्ति आग्रही छैनन् भने ?

जोरदार भाषण दिनेले पनि, तर आफ्नो एकान्तको रातमा आफ्नै बिछ्यौना न्यानो बनाएरै छाड्छ‌, जस्तो लाग्दैन !

हैट किन यस्तो बिचार मनमा आ’कोको होला ? न्यानो घाममा ढल्केर शरीर तताउँदै सोँच्दा यस्तो कुनै प्रकारको डर र दबाव हुँदैन ।

कसैलाई सन्तुष्ट बनाउनुपर्ने करकाप हुँदैन।

खासमा भन्नै हो भने आज म ‘ड़’, ‘ढ़’ वर्ण विषय माथि केही सोँच्छु भनेर घाममा  सुतिरहेको छु ।

घाममा ढल्किरहेको  छु । घाममा ओछ्याइएको ‘प्रोफाइल’ तातिएर प्लाष्टिकी गन्ध नाकमा आउँदैछ । तर मनमा  विचारहरू भने अहिले अलिक प्राकृतिक खेल्दैछ । चल्ती साहित्यिक  भाषामा भन्नु हो भने अलि अलि ‘अर्गानिक’ ।

कल्पनामा मनलाई उड़ाएर डुलाउँदा – कुनै पनि विषयको मीठो स्वाद आउँछ । नानाथरिको विषयलाई कल्पनामा खेलाएर, मज्जाले  छामेर, आफै सन्तोकी हुन पाइन्छ । मख्ख बनिन सकिन्छ ।

रातमा एकान्तको ‘हस्त मैथुन’ जस्तै।

एकप्रकारको आनन्दप्रद अनुभूति । मैला भएर रातभरि सुत्न पर्ने भयो त के भयो ! आफै ज्ञानी भएर नानाथरीको कुरा सोँचेर मनलाई उड़ाउन पाइन्छ । मनलाई चिप्लो बनाउन पाइन्छ। बिहान मन कस्तो आनन्दित हुन्छ ।

स्वर्गं न गच्छन्ति-स्वर्गम् अनुभवन्ति; स्वयमेव सुखं सृजन्ति।

बौद्धिक रूपमा आफै उत्तेजित र सन्तोकी बन्न पाइन्छ ।

सब भन्दा मीठो कुरा चै के हो भने कसैको उत्तेजनातृप्तको भार आफूले वहन गरी बस्नु पर्दैन !

के यस्तो विषय संस्कृत भाषामा लेख्न पाइन्छ ? मलाई थाहा छैन । मैले वात्सायनको मौलिक ‘कामासूत्र’को भाषा हेरेको छुइन । बौद्धिक हस्तमैथुनबाट आफैँ सन्तुष्ट हुनु स्वतन्त्रता हो । अरूलाई सन्तुष्ट पार्न विचार लेख्नु सामाजिक मञ्चन हो – आफ्नै स्वको संकुचन ।

म सुतेको बरण्डामा  फलामको रेलिङ छ । रेलिङमाथि दुईवटा  गम्ला छन् ।

एउटा माटोको, अर्को प्लाष्टिकको ।

माटोको गमलामा रातो जवाकुसुम फुलेको छ । गमलाको फेदमा एउटा कालो दियो छ अनि केही जलेका धुप-काँटीहरू। रातो जावाकुसुमलाई साक्षी राखेर दिदीले बिहानै सूर्य नमस्कार गर्छिन् ।

कालो प्लाष्टिको गमलामा ‘डेकोरेटिब’ उनिऊको एउटा विरुवा छ ।

त्यो मेरो ठूलो छोरा ‘आरोह’ले रोपेको ।  रोपेको भन्दा पनि त्यसको आमाले रोपिदिएको ।

छोराको स्कूलको ‘ह्याण्ड क्राफ्ट’।

त्यसको ‘ह्याण्ड क्राफ्ट’ रोप्दै गरेको हामीले स्कूलमा अनलाइन भिडियो पठाई दियौँ। हामी स्कूल पढ्दा ‘हस्त शिल्प’ भन्थ्यौँ ।

हामी पनि साकिलो नहुँदा हुन्छ । हामी पनि एकदमै छली र अल्छे थियौँ । अहिले छोराको ‘ह्याण्ड क्राफ्ट’ हामी बनाई दिन्छौँ, अनि उनीहरूको जीवन जेरोक्सड लाग्छ ।

बाजेले घरमा बाटेर राखेको कुचो सम्झिँदा अहिले ‘अर्ग्यानिक’ लाग्छ । हाम्रो समयमा पनि हस्तशिल्पको नाममा घरमा बाजेले बाटेर राखेको कुच्चो नै स्कुल लिएर जान्थ्यौँ ।

तर छोरालाई ‘तैले केही जान्दैनस्’ भनेर डग्नुको मज्जा पनि अर्कै छ ।

तर बुझ्नै नसकिने जीवनको गाँठो कुरा चै के हो भने, प्रत्येक पुस्तालाई आफ्नै पुस्ता नै किन अर्ग्यानिक लागेको होला ?

एक दिनको कुरा हो, म त्यस समय कक्षा १ मा पढ्थेँ । अर्ध-वार्षिक परिक्षाको समय  स्कूलमा हस्तकला बुझाँउने दिन,  जेठको भेल डरलाग्दो उर्लेर आयो ।

स्कुलको मुनिको सानो खोला खहरे बनेको थियो ।

हामी सबै नानीहरू खोलाको डिलमा बसेर उर्लेर आएको भेललाई हेर्दै थियौँ । कसैले पानीमा काठको मसिनो सिन्काहरू बगाउन शुरू गऱ्यो । कसैले रूख बिरुवाका पातहरू चुड़ाउँदै  बगाउन थाले ।

हामीहरू पनि भेँड़ानै हौँ । देखासिकी गरेर संसार जान्यौं।

मैले पनि मसिना सिन्का खोजेर बगाउन थालेँ । चाल नै नपाई हातको नयाँ पेन्सिल घरले‌ किनिदिएको बगाएछु । पेन्सिल टिप्न झण्डै भेलमा हामफालेको थिएँ । अहिले त्यस घटना सम्झिँदा पनि मलाई डर लाग्छ । म त्यस भेलमा बगेको भए?

‘प्रणय’ भन्ने मान्छेको कथा सकिने थियो ।

अहिले त्यो पेन्सिल टिप्नु झण्डै भेलमा कुदेको अर्ग्यानिक कथा ढल्केर यहाँ सम्झिरहेको कहाँ हुने थिएँ र !

यो कहिलेको कुरा हो भने, हाम्रो गाँउ-घर ८६ को आन्दोलनले जलिसकेको थिएन । हामी घर डड़ेर विस्थापित भइसकेका थिएनौँ ।

‘खोर्सानी पीरो, सुबास घिसिङ हिरो,

ज्योति बसु जिरो,

ज्योति बसु जेलैमा,

हाम्रो राजा ‘सुभाष घिसिङ

आउँछ रेलैमा’ –

भन्दै गाउँदै बाँसको फिरफिरे घुमाउँदै स्कुल ग्राउण्ड वरिपरि कुदिबस्थ्यौँ ।

थाकेपछि ग्राउण्डको डिलमा उभिएर-

लिखुररी…… लिखुरररी….  भन्दै, मायालु सुसेली मार्दै तल खोलाको चिसो हावा (लिखुरी) लाई बोलाउँथ्यौँ।

साँझ परेपछि मलाबाँसको खपेटामा सुखा झ्याँस हालेर, कोइला राख्थ्यौँ। एक हातले त्यसलाई उचालेर धुवाँ उड़ाउँदै स्टिम इञ्जिनको रेलको सुसेली मार्थ्यौँ। अनि ग्राउण्डमा नानीहरू एक ताँतमा दगुर्थ्यौँ- ‘कुक….. कुक’

४० दिनको बन्दकालमा आमाहरू दिनमा चामल बटुल्नु गाउँगाउँ घुम्थे, बाउहरू राती भस्मेमा सुत्न जान्थे। हामी जामा लाएर घर रुँगेर बस्थ्यौँ ।

जीवनमा पहिलो प्रेमिकाको माया मुटुमा छ्याप बसे झैँ, माटोको माया हाम्रो कलिलो मनमा यसरी बस्दै थियो ।

एकदिन दिनभरि माथि बीस नम्बरको भस्मेमा लुकेर चारबजेतिर ओह्रालो गाउँ पस्दै गर्दा, अचानक तलबाट कालोमुस्लो धुवाँसँगै उज्यालो राप आयो ।

आमाले लख काटेर भनिन् –

‘त्यो त ‘मैतलाल’को घर हो।’

त्यो ‘सिपिएम’को घर थियो ।

महिना दिनपछि चारबजे साँझमा ‘सन्ते’-को घरबाट धुवाँको मुस्लो निस्कियो। सधैँ भाग्न तयार रहेको कुम्लो बोकेर, हामी उकालो लाग्यौँ । मसँग थिए, भाइबहिनी । मरदहरूले गाउँ छाड़िसकेका थिए । आमाजाति गाउँमै बसे। बुढ़ा पाका, भुरा भुरी हामी उकालो भागेका थियौँ ।

सन्तेलाई माथि ‘तारघरमा’ भेट्यौँ ।

हामीले सन्तेको घर जलेको सन्तेसँगै बसेर हेरिरह्यौँ।

आगो एक घरपछि अर्को घरमा सर्दै गयो। डर र त्रासले  नियास्रो हाम्रो अनुहार, निःशब्द ओरालो हेरिबस्यौँ। 

भाइ बहिनीहरू का’लिन्दै, छि’लिन्दै धुवासँगै आएका खरका टुक्राहरूको पछि पछि –

‘मेरो गुड्डी, मेरो गुड्डी उड्यो’- भन्दै हर्ष र उन्मादमा खेदाखेद गरिबसे ।

हाम्रा अँध्यारो अनुहारहरूले जलिरहेको घरहरू हेरिबसे ।

हाम्रा घर जलाउनेहरू पारीबाट आएका ‘सिपिएम’-का ‘आरबी राई’-हरू थिए । हामीले ‘आरबी राई’-को गाउँलाई त्यस समय बाँदरे गाउँ भन्थ्यौँ ।

जब जब म बाँदरे गाउँलाई सम्झिन्छु, अहिले पनि मलाई त्यो पेन्सिलको सम्झनाले सताउँछ ।

साना नानीहरू र खोला देख्दा त्यो पेन्सिलको सम्झना आउँछ। सोच्छु‌ कुनै ढुङ्गाको चेपमा अहिले पनि सड़िरहेको होला !

म त्यो भेलमा बगिहालेको कुरा सम्झिन सक्दिन । मेरो मनले सम्झिन दिँदैन‌ ।‌ मान्छेको सबैभन्दा शक्तिशाली क्षमता नै कुराहरू भुल्नु हो । बिर्सनु कमजोरी होइन, बाँच्नको लागि प्रकृतिले दिएको सञ्जीवनी हो ।

ज्ञान आएदेखि सुवास घिसिङ मेरो निम्ति नायक नै बन्यो- धेरै पछिसम्म । कमरेड ‘आर बी राई’ भने खलनायक ।

नायक र खलनायक कोही जन्मिँदैनन् ।

यो द्वयधारी दर्शन तत्कालीन समय र सामाजिक परिस्थितिले मेरो काँचो चेतनामा कोरिदिएका काल्पनिक बिम्ब मात्र थियो ।

धेरैपछि अर्को एक अधिनायक ‘मदन तामाङ’-ले मेरो मन-मस्तिष्कमा ठाउँ ओगटे। एक दिन अकस्मात् उनलाई निकै नजिकबाट हेर्ने अवसर जुऱ्यो। डरले मेरो आङ नै फुलियो।

उनको मृत्यु शोकमा मैले ‘फ्रात्रिसाइड’ शीर्षकको कविता लेखेँ ।

बाह्र वर्षको उमेरमा मैले पहिलो पटक नायक घिसिङलाई नजिकबाट देखेको थिएँ । उनको रवाफ हेर्ने लायकको थियो । म डरले बाटोमुनि लुकेर बसेको थिएँ।

किम्बदन्ती बनिसकेका मेरो बाल्यकालको खलनायक कमरेड ‘राई’- सँग जम्काभेट भएकै थिएन ।

म पर्खाइमा थिएँ ।

उनीसँगको पहिलो भेट कस्तो होला भन्ने कल्पनाले कहिलेकाहीँ म रोमाञ्चित हुन्थेँ।

वर्षौंसम्म सताइरहने निरङ्कुश शासकलाई नजिकबाट देख्दा कस्तो हुन्छ ? सहादत दिन देशको सिमानामा उभाइएको भरजवान वीरको अनुभव शत्रुलाई पहिलो पटक देख्दा कस्तो हुन्छ – सोचिरहन्थेँ ।

मृत्युदण्ड पाएका रसियाली उपन्यासकार फ्योडोर दोस्तोव्स्की, आदेश पर्खिरहेका बन्दुक बोकेका फायरिङ स्क्वाड अघि, जीवनका अन्तिम मिनेटहरू गन्दै थिए ।

भनिन्छ, त्यही क्षण उनले प्रत्येक परिवेश, प्रत्येक दृश्य र प्रत्येक स्मृति असाधारण रूपले नयाँ अनुभव गरेका थिए । तर गोली चल्नुभन्दा ठीक अघि रसियाली जारको आदेश आयो- दोस्तोव्स्कीको मृत्युदण्ड माफ गरियो ! पुनःजीवन पाएको दोस्तोव्स्कीको सम्पूर्ण जीवन बद्लियो ।

तर मेरो अवस्था त्यस्तो नाटकीय थिएन ।

मलाई कसैले मृत्यु दण्ड दिएर फायरिङ स्क्वाडको अगाड़ि नउभ्याइए पनि, वर्षौंसम्म मेरो चेतनामा फायरिङ स्क्वाडको रूपमा विराजमान कमरेड ‘राई’ वास्तवमा कस्ता मानिस होलान् ? उनको अनुहारमा मैले कल्पना गरेको क्रूरता होला वा  साधारण मानिसको जस्तै सहजता ?

बाल्यकालदेखि मनमा मैले कुण्ठा पालेर राखेको पात्रसँग सम्मुखिन हुँदा मेरो मनमा कस्तो अनौठो बोझ र उत्तेजनाको भावना सृजना हुँदो हो ?

कमरेड राईलाई देख्दा, गोठमा जिउँदै जलेको गाईको बिम्ब मेरो आँखा अघि न नाच्ला त ?  के त्यस भेटले मेरो जीवन नै परिवर्तन होला ? मनमा कुराहरू खेलिबस्थ्यो ।

एकदिन, दार्जीलिङको अभाआर्ट ग्यालरीको निष्पट कुहिरो लागेको फाटकमा धेरैअघि छुटेको कलेजको सहपाठी ‘प्रकाश’-सँग भलाकुसारी साट्दै थिएँ ।

अल्टो गाड़ी आएर छेवैमा बिस्तारै रोकियो । हामी दुवैले गाड़ी पट्टी फर्किएर हेऱ्यौं।

प्रकाशले हतार साथ ‘नमस्कार सर’ भनेर गाड़ीको फ्रण्टसिटमा बसेका ‘लेनिन हाइटका’ मान्छेसँग हात जोड़े ।

गाड़ी अघि बढ़ी हाल्यो । कमरेड राईले प्रकाशलाई हात हल्लाइराखे ।

यतिका वर्षसम्म मनमा पालेर राखेको मेरो खलनायक ‘कमरेड राई’ मेरै  सामुनेबाट पार हुँदा, धरै वर्ष अघि छाड़ेर गएकी हेपुवा प्रेमिकालाई अचानक भेट्दाको अनुभव जस्तो रह्यो ।

न हर्ष ।

न विस्मात ।

घिसिङसँगको जम्काभेटमा म बाटो मुनि लुकेको थिएँ । मदन तामाङलाई भेट्दा आङ फुलिएको थियो । तर कमरेड राईसँगको मेरो जम्काभेट यति नाटकीय रूपमा किन शान्त र घटना रहित अनुभव बन्यो  ?

पुस्तौँ पुस्तौँको व्यथा मान्छेले आफ्नो स्मृतिमा सम्झेर राख्न पर्ने भएको भए उसको जीवन कति कहाली लाग्दो हुने थियो ।

त्यो आघात स्मृतिमा बोकेर जीवनबरि हिँड्नुपरेको भए? जिउँदो मानव बस्ती कस्तो अशान्त मसानघाट भइसक्थ्यो ।

मैले मेरो मनभित्रको खलनायक कमरेड राईलाई बिदा दिइसकेको थिएँछु । मैले कमरेड राईसँग एकतर्फी शान्ति- समझौता गरिसकेको रहेछु ।

हुन त साँचो शान्ति-सम्झौताको प्रस्ताव एकतर्फी नै हुन्छ, अर्कोले थाहै नपाई ।

जुन चोटलाई सम्झेर बोक्न सकिँदैन, त्यसलाई बिर्सिँदै, बिर्सिँदै वर्तमानसम्म ओसार्नु पर्ने हुन्छ ।

भन्नै पर्दा हामी विगतबाट कहिले मुक्त हुँदैनौँ । हामी त्यसलाई सम्झने तरिका मात्र बदल्छौँ ।

संसारमा सबभन्दा साह्रो कुरा नै मनलाई बाँधेर राख्नु हो ।

किनभने मन कुवा होइन । 

मानव मन कुवा बन्न मान्दैन ।

बगिरहेको चेतनाको प्रवाह नै मन हो ।

अघि-पछि, माथि तल, भूत-भविष्य कहीँ पनि जान पाउने छुट हुन्छ- मनलाई धिक मर्नेगरी कुरा खेलाउँदा ।

बस मन वर्तमानमा बस्न मान्दैन ।  मन कि त भुतमा हुन्छ, कि त भविष्यमा ।

वर्तमान त्यो ठाउँ हो, जहाँ शरीरमात्र उभिन पुग्छ, मन कहिल्यै पुग्दैन।

मन ठोस् जम्दैन।

के बगेको खोला वर्तमान हुन सक्छ ? बाघपुलबाट हामीले हेरिपठाएको टिष्टा वर्तमान हुन सक्छ ? टिष्टा वरिपरिको परिवेश वर्तमान हुनसक्छ ? 

बगिरहेको टिष्टालाई हेरिरहेको मान्छेको शरीर वर्तमान हुनसक्छ, तर उसको मनमा खेलिरहेका कुराहरू वर्तमान हुन सक्दैन ।

कि त उसको सोंच भूत हुन सक्छ‌ वा भविष्य सोँचेर हेरिरहेको हुनसक्छ ।

के बगेको पानीलाई वर्तमान भन्न सक्छौँ ? ग्रीक दार्शनिक हेरक्लितसले उहिल्यै भने – ‘तपाईं एउटै खोलालाई दुईपल्ट टेक्न सक्नु हुन्न।’

बितिरहेको समय बारेमा तपाईँ के सोँच्नुहुन्छ ?

नारीवादी लेखिका भर्जिनिया वुल्फको एउटा कथा मार्क अन द वाल  कलेज पढ्दा पढ्ने मौका पाएको थिएँ ।

कथा कस्तो छ भने – एक अनाम कथाकार कोठामा बसेर माथि हेरिपठाउँछन् । एउटा काँटीको सानो डोब जस्तो दाग हुन्छ । उनले उठेर हेर्नुको सट्टा सिगरेट पिउँदै धेरै कुराको मनमा खेलाउँछिन् ।

कथाकारको आन्तरिक मनमा खेलेका कुराको विस्तृत वर्णन छ ।

शुरुमा उनी सोच्छिन्, त्यो कुनै काँटीको डोब हो, जहाँ कुनै सुन्दर स्त्रीको पोट्रेट झुण्डिएको थियो !

या कुनै एउटा फूलको पात ।

यसरी सानो दाग हेर्दाहेर्दै उनको सोच धेरै टाढ़ासम्म पुग्छ ।

सोच्दै जाँदा, उनले समाजका नियमहरूबारे सोच्छिन् ।

शेक्सपियरलाई सम्झिन्छिन् ।

युद्धको बारेमा गम्भीर भएर सोच्छिन् । उनले पुराना मान्यता र स्थापित सत्यहरूमाथि प्रश्न उठाउँछिन् ।

पुरुषले नारीवादी कुराहरूलाई कसरी साधारणीकरण गर्छन् भन्ने कुरामा गम्भीर बन्छन् । उनको मन एक कुनादेखि नै अर्को कुनामा भड़्किरहन्छ ।

मरेर बाटो नपाएको आत्म जस्तै।

अन्त्यमा उनले थाहा पाउँछिन् भित्तामा भएको काँटीको सानो डोब सिँगाने कीरा रहेछ ।

यहाँ मुख्य पात्र कथा होइन,‌ तर  सानो दागले मनमा उब्जाएका विचारहरूको श्रृङ्खला हो । 

त्यो कथा पढेपछि विचारको बहाउलाई पनि कथामा उतार्न सकिँदो रहेछ भन्ने कुरा महसुस गरेको थिएँ ।

तर त्यसलाई प्रभाव भन्नु कि अनुकरण?

हुन त जन्मैदेखि हामीले अरूलाई अनुकरण गरेर नै सिकेको होइन त ।

मैले भाषा सिकेँ, अरुलाई नि हेरेर । सामाजिक विधि-विधान, लुगा लगाउने तरिका,  सामाजिक विधि, मूल्य मान्यता, के मैले जन्मेदेखि लिएर आएको थिएँ र ?

मान्छे समाजको निर्मित प्राणी मात्र हो त ? 

मान्छे आफूले सोचेको भन्दा धेरै समाजले सोचिदिएको प्राणी हो ।

यसैले मान्छे आफूभित्रको एकान्त ‘स्व’ देखि डराउँदैन ।

उ त समाजदेखि डराउँछ ।

समाजले हामीलाई भाषा मात्र सिकाउँदैन, सिकेको भाषामा कसलाई प्रेम गर्ने र कसलाई घृणा गर्ने पनि सिकाउँछ ।

मेरो कविता सङ्ग्रह कासभाँडाको आफ्नो कुरामा लेखेको थिएँ –

प्रेम, अनुराग अथवा घृणाका भाव नितान्त पवित्र र प्राकृतिक। तर त्यही प्रेम-घृणाभावको गन्तव्य सम्पूर्ण सामाजिक र अपवित्र ।

यही विरोधाभासपूर्ण मानवीय बचाइ नै यी कविताहरूको मूल विमर्श हो । टिप्पणी हो। साथै त्यसमाथिको हस्तक्षेप पनि।

‘कमरेड राई’ले हाम्रो घर जलाएको कारण मैले खलनायक बनाएको होइन ।

हाम्रो घर जल्न अघि नै  म भित्रको बालख-चेतनामा नै उनी खलनायक बनिसकेका थिए।

‘बङ्गाल हाम्रो चिहान हो,

चिहानमा हामी बस्दैनौ ।

चिहानमा राख्नेलाई, हामी छाड्दैनौँ’

यस्तो नारा हामी बाँदरे गाउँतिर फर्केर भट्याउँथ्यौँ ।

छ वर्षे हामी नानीहरूको मनमा नायक-खलनायकको द्वयधारी  कसले रोप्यो ?

अनि ‘ड़’?

हुन त आज म घाममा लम्पसार परेर ‘ड़’ र ‘ढ़’ वर्णबारे घोत्लिन सुतेको थिएँ ।

तर विचारको बहाव कहाँ-कहाँ पुग्यो !

सुसेलीमा पुग्यो, जङ्गलमा पुग्यो, सिन्थेटिक सिरानीमा पुग्यो, शिक्षकको ‘नस्पती’मा पुग्यो, मञ्चको कँपाइमा पुग्यो, शरीरको आनन्दमा पुग्यो, जवाकुसुम र छोराको ह्याण्ड क्राफ्टमा पुग्यो, खोलाको भेलमा पुग्यो, ’८६ को आगोमा पुग्यो, सुवास घिसिङ, कमरेड राई, मदन तामाङ, दोस्तोव्स्की, हेराक्लितस र भर्जिनिया वुल्फको त्यो सानो दाग हुँदै आफ्नै बाल्यकालमा आइपुग्यो ।

तर ‘ड़’ पनि  हामी बीच सधैँ कतै त थियो ।

जिब्रो उछिटिएर भएर निस्केको उत्छिप्त ध्वनि  ‘ड़’ हामीले बोल्न सिकेका हौँ कि हामीमाथि जबर्जस्ती थोपरिएको हो ? फेरि यही ‘ड़’ लाई नेपाली भाषाको मानक पर्खालभित्र ‘परदेशी’ बनाएर सिमानाबाहिर कसले धपायो ?

‘हाम्रो’ र ‘तिम्रो’ को यो अन्यकरणको भाष्य कसले लेख्यो ?

जसरी कमरेड आर बी राई कसैको निम्ति नायक भए, घिसिङ खलनायक।

मदन तामाङ कतिको निम्ति नायक – खलनायक।

कुनै वर्ण आफैँ नायक हुँदैन।

कुनै वर्ण आफैँ खलनायक पनि हुँदैन।

समाजले त्यसलाई अर्थ दिन्छ ।

समाजले त्यसलाई आफ्नो बनाउँछ।

कहिलेकाहीँ एउटामात्र वर्णभित्र पनि एउटा भूगोल देखिन्छ।

एउटा वर्णभित्र एउटा इतिहास बस्छ।

एउटा वर्णभित्र एउटा बालकको स्मृति बस्छ।

अहिले ‘ड़’ कुनै व्याकरणको निम्ति पहिचानको नायक होला वा  कुनै विश्वविद्यालयको निम्ति खलनायक ।

सायद ‘ड़’ एउटा वर्ण मात्र होइन। भाषिक सत्ता निर्माण गर्ने टुँडिखेल हो । होइन – यो एउटा खेल नै हो ।

तर त्यो कस्तो खेल हो ?

त्यो सोच्नलाई म फेरि घाममा अल्छीलाग्दो भएर उत्तानो पारेर सुत्न पर्ने हुन्छ  ।

‘पापा, पापा’ – भित्रबाट रचना कराई – ‘के हौ तपाईँ त दारी पनि नकाटेर, अल्छि लाग्दो भएर यहाँ सुतिबसेको । छोराहरूलाई कपाल काट्नु ला’नोस त।’

रचनाको स्वर सुनेर अतालिन्दै जुरक्क उठ्दा भनन रिङ्गटा चल्यो ।

अब ‘ड़’ फेरि अर्को दिनको लागि थन्कियो।

°°°

लेखक काँसभाँडा कविता सङ्ग्रहका कवि हुन्।

6 Responses

  1. अराजक अराजक अपियरेन्स लिएको यो निर्बाध निबन्ध लेखेर पोएठ टर्ण्ड निबन्धकार प्रणयले आफ्नो किरिङमिरिङ विश्वस्तरीय विचार-रक्सीले रिडरलाई टन्न मताइदिने आत्मतुष्टीकरणको मूडमा देखिएका छन् । यत्तिको स्याक्खुने निबन्ध मैले निक्कै भो पढ़्न नपाएको । हाम्रो यता त निबन्धको लगभग खड़ेरी नै छ । निबन्ध भनेर जे लेखिएका छन्, ती निबन्ध जस्तै होलान् तर निबन्धै चाहिँ भएका छन् भन्नु निक्कै चुनौतिपूर्ण बयानबाजी हुनेछ । रअ, अर्ग्यानिक र सिन्सियर यो खाले निबन्ध नेपाली साहित्यमा शङ्कर लामिछाने बाहेक यदाकदा अम्ला भाँछेर गन्नु सकिने केही निबन्धकारले रचेका छन् । अब प्रणयले यस्तै निबन्ध लगातार यदाकदा लेखिरहेनन् भने हामी रिडरलाई खाँट्टी निबन्धको ट्रिप् नदिएर प्याक् प्याक् तड़पिएर मर्नै लागेको हेर्ने इच्छा पाल्ने ‘स्याडिस्ट लेखक’-को तक्मा लगाइदिनेमा पहिलो लहरको रिडर मै हुनेवाला छु ।

  2. मानिस किन अतितमा बाँचेका होला, अहिले 80′ को भाइरल ट्रेन्टले फेसबुक छप्छप् भिजेको बेला कवि प्रणयको यो कथामय लेख पनि त्यस्तै भएछ, 80′ मय। मीठो भाषा शैलीमा गुठेका सम्झनामय तरेलीले एकैश्वासमा 80मा पुर्यायो।🙏🙏🙏

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ