अक्टोबर 16, 2026 | 3:26 बेलुका

विनोद प्रधानका पाँच कविता

एउटा कविको कविता

गाँउको सबैभन्दा परिश्रमि ग्वालाले

एकाबिहान दूध दुहुन अगावै

कविजी कविता दुहुन बस्छन्

किताबका लाशैलाश भएको टेबलमा घोरिएर।

देशको अन्धो कानूनको अन्धो चश्मा छ उसको आँखामा

उसको घाँटीबाट असुहाउँदिलो कस्सिएर झुण्डिएको छ शासकको बुट्टेदार टाई

उसको टाउकोमा छ पश्चिमपट्टि ढल्केको दरिद्रताको तानमा बुनेको जातीय टोपी

जङ्गलदेखि मङ्गल ग्रहसम्म चहार्छन् कविजी कल्पनामा

कि अब लेखिनुपर्ने कविता कहाँको होॽ

घायल घड़ीको डायलभित्र टाक्सिएको छ उसको भाषा र अक्षर

उध्रिएको सर्टको कल्दरमा गाडिएको छ बाल्यकालको अपाङ्ग सपना

आधा खुइलिएको तालुबाट पिलित्तै चिप्लिएको छ उसको अर्ध शताब्दीको काव्यरस।

लालटीनको ऐनामा टाँसिएको

उज्यालोले जन्माएको

ध्वाँसे मोसोलाई लेख्नै पाएन उसले

आफ्नो श्रीमतीको लिपिस्टिकले दलिदिनु नपाएको

रङ्गहीन मुस्कानलाई लेख्नै पाएन उसले

माटोले उमारेको रूख। रूखले उमारेको पात। पातले उमारेको कीरा

कीराले उमारेको चरा। चराले उमारेको आकास।

आकासले उमारेको पानी। पानीले उमारेको माटो

-क्यै क्यै लेख्नै पाएन उसले।

ओठमा चुरोट च्यापेर

सिकुटे माचिसको सानो टाउकोमा झोसेकै हो क्रान्ति उसले

छोराको बाक्लिँदै गरेको जुङ्घाको रेखीमा

देखेकै हो उसले सामाजिक परिवर्तन। कालखण्डको पुरातन।

छोरीको साघुँरिँदै गरेको चोलीमा

साघुँरिँदै गयो कविको जीवन दर्शन। भौतिक अन्वेषण।

कुन्नि कसको विचार चल्मलाउँदै हुन्छ उसको कवितामा खुम्लेकीरा जस्तै

कुन्नि कसको अनुभूति गनाउँदै हुन्छ उसको बिम्बमा पौराणिक सिनो जस्तै

कुन्नि कसको गिदीको फसल पाक्दै हुन्छ उसको रूपकमा

शालिन मन्दिरको भित्तामा खोपिएको निरङ्कुश हत्यारा जस्तै।

उसले जानिसकेको छ कि कवि बन्नु भनेको

आफ्नो भावलाई अरू कसैको घाउमा रूपान्तरित गर्नु हो।

गुराँसमाथि कविता लेख्दा

प्रतिवाद गरेकै हो गुराँसले रातो रङमा।

हिमालमाथि कविता लेख्दा

गुनासो गरेकै हो कक्रिएको अचलताले सेतो रङमा।

उसले बुझिसकेको छ कि कवि बन्नु भनेकै

अरूको छायाँलाई आफ्नो शब्दजालको दायाँबायाँ घुमाइबस्नु हो।

कहिले सौदापातको हतारमा पनि

कविजी ओसारिरहन्छन्

बजारभरि भीडका औंसीहरू

आफ्नो हरफिलो पूर्णे टल्काउन।

कहिले गाँउको रोगी चोरबाटोहरूलाई

कविजी तङ्ग्राउन खोजिरहन्छन्

आफ्नो अलङ्कार र प्रतीकहरूको अस्पतालमा।

उसकै कविताको बिम्ब छन्:

-मधुमेहको रोगले ग्रसित फूलहरू।

-आफ्नै असारे आँसुमा सुल्किरहने खोलाहरू।

-अरूकै भाग्यमा भाग लागेका डाँडा अनि खेतबारीहरू।

-कालजस्तै अनिकाल।

-अन्कन्टारजस्तै सरकार।

कुण्ठित दूबोहरूले भर्खर माटो समात्न सिक्दै गर्दा

फलहरूले भर्खर रसलाई पहुना राख्न बोलाउनै आँटदा

मजदुर चराहरूले भर्खरै तानाशाही दाउरेहरूको विरूद्धमा नारा लगाउनै आँटदा

कविजी हिँडे

कविताको छिनो मार्तोलले

महाकवि, युगकवि र जनकविको सालिग खोपी बनाउन।

एउटा मैलो जमेको पोखरीमा

आफ्नै अनुहार देख्दा चकित परे कविजी

आफ्नै कविताहरू पिशाच बनेर

उसकै सामु ठिङ्गै उभ्दा आतङ्कित बने कविजी

नेपथ्यबाट आउँदै गरेको त्यो आवाज उसले टड्कारै सुन्यो:

“ए कवि!

पीडाभन्दा ठूलो कारावास यस संसारमा के नै पो छ र!

जिन्दगीभन्दा कुरूप ऐना यस दुनियाँमा के नै पो छ र!”

गाँउको सबैभन्दा परिश्रमि ग्वालाले

एकाबिहान दूध दुहुन अगावै

देशको अन्धो कानूनको अन्धो चश्मा लगाएरै

उसको घाँटीबाट असुहाउदिलो कस्सिएको शासकको बुट्टेदार टाईमा

तुर्लुङ्गै निष्प्राण झुण्डिएको थियो कविजी

ग्वाला कै गोठको धूरीको बाँसमा।

उसको टाउकोमा थियो पश्चिमपट्टि ढल्केको

दरिद्रताको तानमा बुनेको जातीय टोपी।

°°°

शहरको ब्लूप्रिन्ट

बेला अबेला ऐँठनको झीरले उनिएका गिदीहरू

साँझछेक चौरास्तामा थुरिन्छन्। र हेर्छन् कालो डोरीजस्तो मलरोडले

बेर्दै बेर्दै निमिठ्यान्न पार्न लागेको महाकालको थान।

यसपालीको दसैंमा पनि नयाँ पालुवा किनिदिनु सकेन

धुप्पीका रूखहरूलाई- यस शहरले।

पुरानै बोक्रा बेह्रेर आँगनदेखि केही पर भैलेनी खेल्न उभेएको हुने हो कि नहुने हो

त्यो पैंयूँको रूख यसपाली तिहारमा।

हिउँदको कलिलो घामको कलिलो जोबनमा

सँगसँगै सुकाउछ खुट्टाको गाउट र बोत्तलमा तामाको अचार

-यस शहरले।

सुरूप्प सुरूप्प खाइदिन्छ फेरि गुम्बामा ग्यालिङ्गको घुँनघुँन,

मन्दिरको टिङ्टिङ्, चर्चको क्यारोल, मस्जिदको अजान

कपभरिको चियामा घोलेर।

बिहान बिहान शीतको दानामा नुहाएर

कस्मेटिक प्याकबिना नै राम्री हाँस्छे ढुङ्गाको कापमा सुनाखरी

उ शहरमा फुल्छे। तर बजार कै भइहालेकी छैन।

हंस उडेको वृद्द झैं सेतो छ कञ्चनजङ्घा।

नीलो वीष बोकेको सर्पजस्तो रेलगाड़ीले

इन्सोमेनियाग्रसित बजारे भीडलाई ठुँग्न खोजिरहन्छ। कुँकुँ छुक् छुक्।

-जिल्लाभरिकै समाचार छापिएको न्यूजपेपरले झिँगा धपाइरहेछ चौकबजार।

-जिल्लाभरिकै असन्तुष्टिलाई पोस्टर बनाएर आफ्नै घाउमाथि टाँसिरहेछ चौकबजार।

रित्तो भुल्ढुङ झैं रित्ता सपनाहरू ताँत लागेर उभेका छन् सुकिसकेको धारामा। हात बाँधेर

कानेखुसीमा मै जम्काभेट भइहाल्छन् शङ्काको, इर्ष्याको, बदनामी र आँखिडाहीको।

यस शहरलाई प्रेमको हर्जा छ। त्यसैले त गल्लीका भित्ता भित्तामा

गुप्त यौन रोगको पर्चैपर्चा छ।

डिसम्बरको सिउँसिउँ बिहानलाई

तातो गिलासको चियामा चोबेर घुटुक्क निल्छन् भरिया दाई।

यस शहरमा सौदा भर्न आउनेहरूलाई आफ्नै हाजिरीको फिक्री छ

त्यसैले त उनीहरूको हात, खुट्टा अनि मस्तिष्कमा फलामको सिक्री छ।

खिया परेको घिर्लिङको तारमा नचल्मलाई बसिरहन्छ

उपनिवेशीय सम्झाना।

एउटा कोपिला र अर्को चिचिला कोरिबाटी गरेर बिहान बिहान स्कूल जान्छे

काँडै काँडाको गोरेटो हिँडेर।

अबेर रातमा घरको बार्दलीबाट देखिन्छ

एउटा टिनेजर जून धरमरिँदै लर्खरिँदै अन्धकारमा

मध्यन्हमा एउटा अधबैसे घाम ह्याङओभरले झुलिरहन्छ।

(सुन्नुहोस् न तपाईँलाई सञ्चै छ होला नि?)

नसँगालिएका पिरतीहरू झुण्डिएका छन् गोसखानमा

आन्द्रा, भुँड़ी, मुटु, कलेजो, टाउको, खुट्टा उदाङ्गै बिक्रीमा छन्

ईच्छा आकांक्षा सहिनुष्तता यति नै यस शहरको।

गीताङ्गे डाँडाको तिरैतिर केही गिद्धहरू घुमिरहन्छन्

जब कि कुनै प्रेमिल ढुकढुकीलाई इयरप्लगमा सुन्दै

मौन जुलूसमा सामेल हुन्छन् अर्धचेत पाइतालाका पदचापहरू

र बेलुकी आफ्नै कुड्की लागेको घरको दैलोमा लात बजारेर चिच्याउँछन्

“आमा त्यो आउँछ?”

(हजुर तपाईँको दिमाक त ठीक चल्दैछ होला नि है?)

तपाईँकै हड्डीले खनेर निकालेको मुँगाको ढुङ्गालाई

रातभरि पानीमा भिजाएर फुलिएपछि

टक्क राजभवनको गुम्बज सजाइएको छ।

अर्धमरोदेखि मरणसन्न अवस्थामा हुतिँदै जानुछ ओरियन्ट उकालो भीडमा

जहाँ झुण्डिएका हुन्छन् खुट्टा नभएका सेकेण्ड ह्याण्ड प्यान्टहरू

कारण उनीहरूले पुग्नु पर्ने लक्ष्यमा अरू कोही नै पुगिसकेका छन्।

जहाँ झुऩ्डिएका छन् पाखुरा नभएका सेकेण्ड ह्याण्ड सर्टहरू

कारण त्यसले बोक्न पर्ने उत्तरदायित्व अरू कसैले बोकिसकेको छ।

जहाँ झुण्डिएका हुन्छन् टाउको बिनाकै टोपीहरू

कारण उनीहरूले गर्नुपर्ने चिन्तन अरू कसैले सोचिसकेका छन्।

बीच गल्लीको कुनै पनि मिठाई दोकानमा

एकजना बूढो अल्बर्ट कामू चियरमा बसेर

तावाको खरिएको तेलमा

जुलेबीलाई फन्को मारि मारि घुमाइबस्छ।

फ्रायड्को फ्यालिक लिङ्गजस्तो ठिङ्ग छ क्यापिटलको घड़ी

जहाँ गुजुल्ठिएको छ घनटाउके यादहरूको घनटाउके समयभ्रम।

(तपाईँलाई अहिले ढिलो त भइहालेको छैन नि?)

चियाको गाछको बीचबीचमा गे मार्च गर्न उभेका हुन् कि शिरीषका रूखहरू।

भोलाटाइल सनसेटको रङ्ले आत्महत्या गर्छ कुलैनको पातमा।

मनसूनको मरून मेड़ी गुलोड़ी गुनगुनाउँदा गुनगुनाउँदै

कुनै दिन राजभवन चिप्लेर

तल मुर्दाहाट्टीतिर खस्न सक्छ

(तपाईँलाई डर लागेको त छैन होला नि?)

कुनै समालिङ्गी पुराण सुनेर

अहिले लेस्बियन अँगालोमा कस्सिँदै बगिहरेछ टिस्टा र रङ्गीत।

र बजारभरि बिक्दैछन्- धुवाँ, धुलो, हल्ला र निमुखा आँत।

तपाईँलाई के किन्न मन छ?

तपाईँलाई के बेच्न मन छ?

बेला अबेला ऐँठनको झीरले उनिएका गिदीहरू मात्रै त छन्।

°°°

अगमसिंह गिरी

नौलाख ताराहरू स्वातै पसे ब्ल्याकहोलभित्र

खुब रोए गिरी आँसु कै खोलभित्र

पृथ्वी भयो हाँड़ी, बर्खा भयो आँसु

त्यही हाँड़ीमा आँसु बोक्दै

हिँडिबसे गिरी

लर्ड नेपियरले कोर्राले चुटेको सडकमाथि।

कति सन्धिमा बन्धि परे

कति हड्ताल हुँदै पर्खाल उभे

थापिबसे कति खँदुवाले पारेको सुनको अण्डा

त्यसपछि गिरीले हेर्दा हेर्दै

रगतको बण्डा, आँसुको बण्डा, पसिनाको बण्डा।

गिरीका च्याप्जूहरू चोयाभञ्ज्याङ्मा चोया केलाउँथे

उसका बराजूरहरू त्यही चोयाको नाम्लोले गुन्द्रीबजारमा लोक ढिकुटी ओसार्थे

उसका नातानातिनीले अहिले त्यही नाम्लो नचिनेपछि

खुब कराए मोहब्बत गल्लीनेर-

तिमी त यहाँ नचिनिने भए छौ

तिमी त कस्तो कस्तो भए छौ

उसका साथी दौतारीहरू

डाँफे मुनालका प्वाँख टिपि धरती माथी नीला नीला गीत कोर्थे

ती गीतहरू आकाश भएर गहिरो गहिरो बजिरहे

उसका छरछिमेकहरू

झारपातका लाछा टाउकोमा बाँधेर बतासमा नाँच्थे

उनीहरू बनजङ्गल भएर फैलिरहे

आकाश र धरती जित्न गएकाहरूले तम्सुक पाए, तक्मा थापे

उसले त्यसै तक्मा र तम्सुकमा देखे

चपाएर खिइँदै खिइँदै गएका अनुहारहरू

खिइएका अनुहारहरू देखेको भोलिपल्ट

उसको सपनीमा मेची नदीको उर्लाव आयो

दोस्रो रातको सपनीमा गण्डकीको भेल पस्यो

तेस्रो रातको सपनीमा कोशीको छाल उछिट्यो।

उसले देखेको थियो

सगरमाथाको फेदमा रातो र चन्द्र सूर्जे

तर त्यहाँ पनि उसले भेटेन

नौलाख ताराहरू।

एउटा बर्ष यस्तो पनि आयो

जब समतलका सेता सेता बकुल्लाहरू

उड्दै उड्दै रङ्गीतको पानीमा देखा परे

रानी बकुल्लाले टिपे रङ्गीतका केही रङ्गिन माछाहरू

अनि सजाए पाँचतारे होटलको एक्वेरियमभित्र

गमे

पाँचतारे होटलभित्र कसरी अट्लान

नौलाख ताराहरू।

चिसो साँझ

सिरक अनि तोसकबाट न्यानोहरू भाग्दै गयो

घण्टीफुलमा रङको घण्टी बजेन

एकसिङ्गे रेडियोले भुनभुनायो मृतसूची

फ्रेमभित्रको घाउलाई खदा माला लगाइए

अब शितबाट पातहरू भागे

जाँतोबाट मकैका दानाहरू भागे

माटोबाट कोदालो र चपारो भागे

घाँसबाट डोको र हँसिया भागे

भाग्दै थिए मुखबाट उखान अनि तुक्काहरू पनि।

अरबको खाड़ीमा अहिले अर्को गिरी उभेको छ

बालुवाका लाखौं लाखौं कणहरूमा

खोज्दैछ उसले नौलाख ताराहरू।

°°°

मन नपर्नेहरू

कोही त छ

जसलाई मन पर्दैन नीलो आकास

र त हतार हतार  टाँस्यो

धुँवा, तार, प्लेन, हेलिकप्टर, रकेट

कोही त छ

जसलाई मन पर्दैन जाँघर

र त रौफसँग फैलायो

कारखाना, रोबोट, मसिन, इन्टरनेट

के अचानोलाई खुकुरी मनपर्छ?

के उप्किएको छालालाई नून मनपर्छ?

के सपनालाई ऐठन मनपर्छ?

नाथे गोठाला नै त रहेछ

यो मन पनि

कहिले ईश्वर चराउँछ

कहिले दानव चराउँछ

अघाउँदैनन् तर कोही पनि

कन्डोमभित्रै पतन भएको छ

पहाड, तराई, मधेस, देश

आँधी, सपना, गीत, कविता

कोही त छ

जसलाई मनपर्दैन कोही पनि गर्भवती भएको

कोही त छ

जसलाई मन पर्दैन फुलै फुलको बगैचा

त्यसैले त गमलामा रोप्यो

पेस्तोल, छुरी, भाला र ग्रिनेट।

°°°

अन्तरीक्षमय

जाउँ एकछिन् घुम्न

माथि स्पेसमा।

त्यहाँबाट हेरिबसौं

यो निलो पृथ्वीको निलो आँसु।

जाँदाजाँदै तेज गतिमा

कुनै एस्टोरोइड पनि भेट्न सक्छौं

जो तिम्रो मृत्युभन्दा धेरै पुरानो होला

अथवा मेरो जन्मभन्दा धेरै नयाँ होला।

उ त्यहाँ

सत्र सय प्रकाशवर्ष उताबाट

हेलिक्स नेबूलाको कचेरासरिको आँखाले

ब्यालिस् लाख जुनीको रमिता

एकैचोटि ट्वाल्ल हेरिरहेछ।

यो विराट आकासगङ्गाको गुँडमा

धेरै अण्डाजस्ता ग्रहहरू

जसमध्ये धुमधुम्ति खोजेर हेरौं

र किनौं न ताजा ताजा अक्सिजन

हाम्रो पनाति र खनातिलाई पुग्नेगरि।

तीमध्ये खनेर हेरौं

र लैजाऔं ताजा ताजा माटो र पानी

हाम्रो पनाति र खनातिको खनातिलाई पुग्नेगरि।

जाउँ बरू समयदेखि उतै उता

जहाँ तिमी फेरि भइदिनु एमोइबा

म भइदिन्छु हिलो

लाखौ जुनिपछि

तिमी फेरि भइदिनु लेऊ

म भईदिन्छु चेपेगेडा

पृथ्वीमा अहिले

मान्छेहरूको मन हिम युगमा नै छ,

उनीहरूको मुटु पाषण युगमा नै छ,

उनीहरूको संवेदना फलाम युगमा नै छ।

आमाको गर्भमा

कुमालेको चक्कामा बनिएको हाँड़ीजस्तै

यो शरीरबाट बाहिरिएर

हड्डीबाट पातलिँदै पातलिँदै

इन्द्रीयहरूको गुफाबाट निस्किएर

एकैछिन जाउँ न

त्यो क्रीमजस्तो उज्यालो अँध्यारोभित्र

जहाँ छन् भर्खर जन्मिएका

करोडौं करोडौं पृथ्वीहरू।

°°°

(कविका प्रकाशोन्मुख कविता सङ्ग्रहबाट)

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ