मार्च 19, 2026 | 5:59 बिहान

कविता, राजनीति र दार्जिलिङ

मनोज बोगटी

(भर्खरै 17 अनि 18 मईको दिन कर्नाटकाको सिन्धनुरमा भएको मई लिटरेचर फेस्टिबलमा भारतीय गोर्खाहरूलाई प्रतिनिधित्व गर्दै दार्जिलिङका कवि मनोज बोगटी किनोट स्पिकरकोरुपमा सहभागी बनेका थिए। उनले एकघन्टा भन्दा धेर हिन्दी भाषामा आफ्नो स्पीच राखेका थिए। जुन स्पीच कन्नड भाषाको चर्चित पत्रिका समाजमुखी-मा डा. एचएस अनुपमा कभालक्कीले कन्नड भाषामा अनुवाद गरेर प्रकाशित गरेका छन्। यहाँ त्यही स्पिचको सार नेपालीमा प्रस्तुत गरिएको छ)

म भाषण दिने मान्छे होइन। जे बोल्छु, कवितामै बोल्छु। मलाई त्यति धेरै बोल्न आउँदैन। मेरो मातृभाषा नेपाली हो। यहाँ कन्नड वातावरणमा छु, मनमा लाग्छ, काश! मैले पनि तपाईँहरूको भाषामा बोल्न जानेको भए! मलाई तपाईँहरूको भाषा आउँदैन, नआए पनि यो कार्यक्रमले मेरो मनमा कौतूहल जागाएको छ।

हिजोको कवि गोष्ठीमा मैले कविता सुनेँ। अनि सोचेँ, अरे! हामीले प्रयोग गर्ने कति धेरै शब्दहरू उनीहरूले पनि प्रयोग गर्ने रहेछन्! अर्थ नबुझे पनि उनीहरूको लय र हाउभाउबाट मैले केही बुझेँ।

कविता भनेको त्यस्तै त हो, होइन र?

कविता त भाषा भन्दा पनि माथि हुने रहेछ।

**

बगदादका कवि सिनान अन्तोनको एउटा कविता छ:-

रगतमा चोबिएको ब्रसले

भित्तामा एउटा झ्याल बनाएँ

त्यहाँबाट देखें दुईवटा दृश्य

एउटा  युद्ध

अर्को आमा।

आमा कफन बुनिरहेकी थिइन्

पेटको बच्चाको निम्ति।

अहिले हाम्रो देशमा मात्र होइन, हरेक ठाउँमा, हामीले जस्तो सोचेका थियौं, त्यस्तो केही पनि भइरहेको छैन। मलाई लाग्छ, हामी केही हदसम्म मेसिनजस्ता, यन्त्रमानवजस्ता भइसकेका छौं।

यहाँ पनि युद्ध सुरु भइसकेको हो भनेजस्तो भयो। अनि पछि, ‘हामीले व्यापारको धम्की दिएर युद्ध रोक्यौं’ भन्ने भनाइ आयो।

हरेक नागरिकको मनभित्र यस्तो भावना छ — कि कोही छ, जो हामीलाई कतैबाट नियन्त्रित गरिरहेको छ।

मानिसहरूले अहिले आफ्नो आँखाले हेर्न, मनले महसुस गर्न छोडेका छन्।
मानिसहरूले अहिले आफ्नो आँखाले हेर्न मात्र होइन, मनले सुन्न पनि छोडेका छन्।
अब त मानिसहरूले सोच्न, आँसु खसालेर रुनसमेत बिर्सेका छन्।

मान्छेहरू मेसिन मेसिन बनेका छन्, रोबोट रोबोट बनेका छन्।
किन यस्तो भयो?
अब के गर्ने?
यस्तो कठिन घडीमा म के गरुँ?

मित्र हो, यस्तो सङ्कटको समयमा म कविताको सहारा लिन्छु।

सङ्कटमा हाम्रो साथ दिने भनेको कविताले मात्र हो।
हाम्रो चेतनासँग जसको गहिरो सम्बन्ध हुन्छ — त्यो कविता हो।
जब हामी जीवनसँग विमुख हुन्छौं, कविता नै फेरि जीवनप्रति विवेक फर्काउने शक्ति हो। अन्धो आँखामा दृष्टि फर्काउने चमत्कार कविता नै हो।
यो सबै कविता मात्रले गर्न सक्छ।

त्यसैले कवि हुनु, कविता लेख्नु सानो कुरा होइन, यो त ठूलो जिम्मेवारी हो।

म अहिले 47 वर्षको भएँ।


यो संसारलाई हेर्न सिकाउने — कविता नै हो।
प्रकृतिसँग, मानिससँग, मानिस–मानिसबीचको सम्बन्ध के हो भन्ने बुझाउने — कविता नै हो।
प्रेम के हो भनेर बुझाउने — कविता नै हो।
‘म’ भन्न सक्ने चेतनालाई समेत जागृत गराउने — कविता नै हो।

त्यसैले, आज म त्यो टाढा डाँडापाखाको कुनाबाट तपाईंहरूमाझ आइपुगेको छु।

मेरो क्षेत्र, हाम्रो पहिचान, हाम्रो पीडा, यी सबैबारे ९९% मानिसलाई थाहा छैन।
भारतीयहरूमाझ त झन् झनै छैन।

हामीबारे यो देश के सोच्छ?


फिल्ड मार्शल श्यामबहादुर मानेक श- ले एकपटक भनेका थिए —
‘जो मर्न डराउँदिन भन्छ, य ता उ  झूट बोल्दैछ, या त उ गोर्खा हो।’

हेर्नुहोस् त,  भारतका गोर्खाहरूलाई हेर्ने दृष्टिकोण कस्तो छ!
तर वास्तविकता यस्तो छैन।
हामी, जो युद्धको मैदानमा छाती ठोक्दै उभिदिन सक्छौं, हामीलाई पनि डर लाग्दछ।
हामीलाई पनि पीडा छ।

त्यसोभए, मानेक श-ले झूट बोलेका हुन् त?
होइन।
यसको अर्थ, कसैलाई पनि गोर्खाहरूको वास्तविक परिस्थिति थाहा छैन।
त्यसैले म, मेरो भूमि दार्जिलिङ, मेरो जाति गोर्खा, मेरो भाषा र यहाँका असमानता र पीडाका बारेमा तपाईँहरूलाई केही सुनाउनेछु।

मई 25 तारिक हाम्रो ठाउँमा एउटा कविगोष्ठी हुँदैछ।
त्यो ठाउँमा विकासै विकास छ भनिँदैछ, तर साहित्य, कविता, संवाद हराउँदै छन्। बुझिहाल्नुहोस्, त्यहाँ कस्तो विकास छ।

बल्लबल्ल मेरा मित्रहरूले धेरै मेहनत गरेर कविगोष्ठीको आयोजना गर्दैछन्।

त्यस दिन म साहब को ज़िंदा इंसान पसंद नहीं भन्ने कविता पढ्नेछु भन्दै कार्यक्रमकै सन्दर्भमा मैले एउटा फेसबुक पोष्ट हालेर भनेको थिएँ, ‘साहेबहरू कविता सुन्न आउनेहरूलाई रोक्न सक्छन्, नडराई कविता सुन्न आउनुहोला।’

एक दाजुले मलाई फोन गरेर तिम्रो पोष्टमा राजनीतिजस्तो देखिन्छ, कार्यक्रमलाई असर पर्ला, कवितामा राजनीति गर तर कार्यक्रमलाई समस्या हुने किसिमको पोष्ट हटाइदेउ- भन्ने आशयको कुरा गरे। मैले पोष्ट हटाइदिएँ।

म आयोजकहरूको परिस्थिति बुझ्छु। तर मलाई लाग्यो, अरे भाइ, कविलाई राजनीति थाहा छैन भने समाजलाई दिशा कसले देखाउने? हाम्रो दार्जिलिङलाई केन्द्र, राज्य र स्थानीय प्रशासन मिलेर सबैपक्षबाट नष्ट गर्दैछन्। यस्तोमा कविले राजनीति नबोल्नु त?  केन्द्र सरकारले राजनीति गर्न सक्छ, राज्य सरकारले राजनीति गर्न सक्छ, स्थानीय नेताहरू राजनीति गर्न सक्छन्, तर कविले मात्रै राजनीति गर्न नसक्ने? यस्तो संविधानमा लेखिएको छ र?

कवि बोल्दा साहेबहरू डराउँछन्, सत्तामा बसेकाहरू डराउँछन्। दार्जिलिङमा आज लोकतन्त्रको अवस्था यस्तो छ कि कुनै सानो साहित्यिक कार्यक्रम पनि स्वतन्त्र रूपमा गर्न सकिन्न। निर्धक्कसित गर्न सकिन्न।

कसैले पो केही भन्देला कि, गरिदेला कि…भन्ने डर छ। कहाँबाट आउँदैछ यो डर?

हामी गोर्खारूले अलग राज्यको माग गर्दा त अझै अप्ठेरो हुन्छ। कहिले, कहाँ, कुन बेला कार्यक्रम रोकिन्छ भन्ने डरमा बस्नुपर्छ। जतिखेर पनि कुनै घटना हुन सक्छ। पक्राउ हुन सक्छ, मारिन सक्छ, पुलिस केस लाग्न सक्छ। भिक्टिमाइज हुनसक्छ। हाम्रा मानिसमा यस्तो डर उत्पन्न गराइएको छ, जो अझसम्म पनि डरको माहौल बनाउनेहरूलाई चिन्न सक्दैनन्। चिने पनि बोल्न सक्दैनन्।

जे छ, यस्तै भइरहोस् भन्नेहरूको संख्या बढ्दो छ, जे भइरहेको छ त्यस्तो हुनुहुन्न भनेर बोल्नेहरूको संख्या थोरै छन्।

तर साथीहरू, याद राख्नुस्—डराएको कविले समाजलाई पनि डरछेरुवा बनाउँछ। पाखण्डी बनाउँछ। क्रान्तिकारी कविता लेख्ने कवि नै डराएको छ भने,  तिनी कवि होइनन्, पाखण्डी हुन्। त्यस्ता कविहरूले आफू मात्र होइन, समाज, संस्कार, सङ्गठन सबैलाई मार्छन्।

तपाईंले जसको कवितामा भरोसा गर्नुभएको छ, त्यो कवि नै पाखण्डी भयो भने? समाजलाई बचाउने शक्ति कविता सँगै छ। त्यसैले संसारले कविता बुझेको छ, ग्रहण गरेको छ।

म ३० वर्षदेखि निरन्तर लेखिरहेको छु, हजारौं दुःख, सपना, संघर्षहरूसँग। कविता भन्नु टाइम पास होइन, मनोरञ्जन होइन। यो देश अल्पसंख्यक समुदाय, आदिवासी, महिला सबैका लागि असुरक्षित छ। त्यसैले लेख्नुपर्छ, लड्नुपर्छ।

एर्नेस्ट हेमिङ्वे कहाँ एकजना व्यक्ति आएर भनेछन्—‘म तपाईं जस्तै लेख्न चाहन्छु, कसो गरूँ?’

 हेमिङ्वेले भने—‘तपाईंसँग घाउ छ? छ भने तपाईं लेख्न सक्नुहुन्छ।’

कविले भित्रैदेखि जल्नुपर्छ, बग्नुपर्छ, भोग्नु गर्नुपर्छ—त्यो अनुभूति नै कविता हो।

मैले पहिलो कथा ‘सपना’ लेखें। त्यसपछि पहिलो कविता ‘घर फर्कनलाई’ लेखें।

त्यो बेला भूटानले एक लाख आठ हजार नेपाली भाषीहरूलाई देश निकाला गर्‍यो। उनीहरूको माग के थियो?

देशमा भाषिक र सांस्कृतिक पहिचान सुनिश्चित होस्। तर भयो उल्टो—संयुक्त राष्ट्रसङ्घले हस्तक्षेप गरेपछि उनीहरू अमेरिका, क्यानडा, डेनमार्क, नर्वे, यूके, अस्ट्रेलिया, न्यूजिल्यान्डजस्ता देशमा फैलिन पुगे। उनीहरू आफैंसँग हारे। भाषा र संस्कृतिको हार भयो।

आज नेदरल्याण्ड्समा नेपाली बोलिन्छ? अमेरिका, अष्ट्रेलियामा नेपाली बोलिन्छ? बोलिँदैन। उनीहरूले भाषाको लडाईँ हारे। सांस्कृतिक लडाईँ हारे। त्यही पीडाले मेरो कविता जन्मियो। उनीहरू अझै घर फर्केका छैनन्। सङ्घर्ष अझै जारी छ।

भारतमा गोर्खाहरूको अस्तित्व सङ्कटमा छ। १९८७ मा मेघालयको पूर्वी भागमा बसोबास गर्ने नेपाली भाषीहरूलाई लक्षित गर्दै हिंसात्मक आन्दोलन सुरु गऱ्यो। यस क्रममा  झण्डै १५,००० नेपाली भाषीहरूलाई राज्यबाट निकालियो।  हाम्रो अनुहार हेरेर चिङ्की, मिङ्की, मोमो, कोरोना भन्नु त सामान्य भइरहेको छ। हामीलाई विदेशी, घुसपैठिया भन्छन्—किनकि हामी नेपाली बोल्छौं। बङ्गाली भाषा बङ्गलादेश र पश्चिम बङ्गाल दुवैमा बोलिन्छ—तर पश्चिम बङ्गालका बङ्गालीहरूलाई बङ्गलादेशी भनिँदैन। तर हामीलाई भने नेपालबाट घुसेका जस्तो व्यवहार गरिन्छ। हामीमाथि भइरहेको उनीहरूको राजनीति यस्तो छ।

यो राजनीति बुझ्ने पुस्ता अझै जन्मिन सकेको छैन।

कहिलेकाहीं ममाथि ‘नेपाली कवि’ भन्ने चिनारी टाँसिन्छ। तर म ‘नेपाली भाषी भारतीय गोर्खा कवि’ हुँ। हाम्रो भूमिको इतिहास नेपाल, भूटान, सिक्किमसित जोडिन्छ। यो भूमिलाई सजिलोको लागि बङ्गालमा राखिएको छ, तर बङ्गाल नै हाम्रो शासक बनेको छ। हाम्रो शासक हामी आफै हौं। बनौं भन्ने हाम्रो सपना हो। हिजो अङ्ग्रेज शासक थियो, आज बङ्गाल छ। यसैले हामी आफ्नै पहिचानमा बस्न चहान्छौं। भारत स्वतन्त्र भए पनि हामीले त्यो स्वतन्त्रता भोग्न पाइरहेका छैनौं।

हाम्रो पहिचानको सङ्कटमाथिका उत्पन्न गराइएका गलत धारणाहरूले हामीलाई किनारमा धकेलेको छ। तपाईंलाई जब किनारमा राखिन्छ, तपाईं सभ्य होइन, आक्रोशित बन्न बाध्य बन्नुहुन्छ। तपाईंको समाजले जब आफ्नो अधिकार गुमाउँछ, त्यो समाजको स्वभाव सभ्य रहँदैन, विद्रोही बन्छ। त्यसैले मेरो लेखाइमा पनि त्यही  उद्वेग आउँछ—त्यही मेरो स्वभाव बनेको छ।

दार्जिलिङ पश्चिम बङ्गालमा पर्छ। हाम्रो राज्यभाषा बङ्गाली हो। तर हामी बोल्ने भाषा नेपाली हो। हाम्रो गाउँघरमा शासन गर्ने गैरनेपाली ठूला अधिकारीहरूलाई हाम्रो भाषा आउँदैन। उनीहरूले त हाम्रो भाषा सिक्नुपर्ने हो। तर त्यसको सट्टा हामीले पो बङ्गाली, हिन्दी र अङ्ग्रेजी सिक्नुपर्‍यो र हामी आफ्नै भाषामा लेख्न नसक्ने स्थितिमा पुगिसक्यौं।

यही भाषिक दबाबबाट शासकीय शोषण सुरु भयो। हामीलाई लक्षित गरेर बनाइएका कानून, नीति, योजना हामीसम्म हामीले बुझ्नेगरी आउँदैन।

तपाईँको मुख्यमन्त्री जुन भाषामा बोल्छन्, तपाईँहरू बुझ्नुहुन्छ। तर हाम्रा मुख्यमन्त्री जुन भाषामा बोल्छन्, हामी त्यही बुझ्दैनौं।  न मुख्यमन्त्रीले हामी बोलेको बुझ्छन्।  यस्तो मुख्यमन्त्री जसले हाम्रो भाषा नै बुझ्दैनन्, त्यो भाषाबाट हामीले व्यक्त गरेका पीडा मुख्यमन्त्रीले कसरी बुझ्लान्।

भाषा यस्तो चिज हो, कुनै पनि जातिको अस्तित्व त्यसले बोकेको हुन्छ। 2017 मा मुख्यमन्त्री ममता व्यानर्जीले बङ्गला भाषा दार्जिलिङका नेपाली भाषीहरूले अनिवार्यरुपमा पढ्नुपर्छ भन्ने नीति ल्याइन्, तर नेपाली भाषा बङ्गालभरि अनिवार्यरुपमा पढ्नुपर्छ भन्ने नीति ल्याइनन्।

म त बङ्गला सिकौंला तर के ममता व्यानर्जीले नेपाली सिक्न पर्दैन?

बङ्गला भाषालाई भारतीय भाषाकोरुपमा जुन संविधानले राष्ट्रीय मान्यता दिएको हो, त्यही संविधानले नेपाली भाषालाई पनि राष्ट्रीय भाषाकोरुपमा मान्यता दिएको हो।

मान्यताको हिसाबले हामी भाषिक बराबरीमा छौं। तर नेपाली भाषा भारतमा सँधै किनारमा छ। किन त?

 हामीले उनको भाषिक हेजेमोनीको विरोध गऱ्यौं। यसो गर्दा ममता व्यानर्जीको सरकारले हाम्रा 15 जना आन्दोलनकारीलाई गोली हानेर मारिदियो।

यस्तै दमनहरूबाट निजात पाउन दार्जिलिङले छुट्टै राज्य गोर्खाल्याण्डको माग गरेको हो।

हाम्रा पूर्वजहरू २०० वर्षभन्दा पहिलादेखि दार्जिलिङमा छन्। अङ्ग्रेजहरू आए, शासन गरिराखेर गए। स्वाधिनतापछि  प्रशासनिक काम सजिलो होस् भनेर बङ्गालमा गाभे। त्यहीँबाट हाम्रा सङ्कटका दिनहरू शुरु भए। त्यहीँबाट हामी पहिचानको लागि लडिरहेका छौं। सुरुबाटै यो क्षेत्र समस्याग्रस्त थियो। १९५४ मा यसलाई पृथक क्षेत्रका रूपमा चिन्न कानुन बनेको थियो। आजसम्म पनि यो समस्याग्रस्त क्षेत्रकै रूपमा रहिरह्यो।

हामीलाई दबाउन घरि दार्जिलिङ गोर्खा हिल काउन्सिल घरि गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेसन दिइयो। यी दुवैको पछिल्तिर हामीलाई कमजोर बनाइराख्ने नियत नै थियो।

चारवटा देशहरूचीन, भुटान, बङ्गलादेश, नेपालले घेरेको यो संवेदनशील सीमावर्ती क्षेत्रमा राज्यले हामीलाई सदैव कमजोर बनाएर शासन गर्ने प्रयास गरिरहेको छ। यहाँको ७०% जनता श्रमिक छन्। हरेक दिन रु. २५० को ज्यालामा काम गर्छन्। ती मजदुरहरूले बनाउने चिया प्रतिदिन लाखौं रुपियाँमा बिक्छ, तर तिनीहरूलाई दिनभरको कमाइ२५० रुपैयाँ मात्र।

यस्तो असमानता किन छ?

संसारभर रहेका आठवटा औषधीय बनस्पतिको हटस्पट जोनहरूमध्ये दार्जिलिङको हिमाल क्षेत्र  पनि एक हो। यहाँको चिया, बनस्पति, काठ, खोला, वन, डाँडा, माटो, गोर्खाको संस्कार-संस्कृतिसबै ठूला आर्थिक स्रोतहरू हुन्। यी सम्पदाहरूले हामीलाई एउटा पृथक राज्य चलाउन सक्ने क्षमता दिन्छन्। तर ती स्रोतहरू निमिट्यान्न पार्ने नीतिहरू लादेको लादेकै छन्। दार्जिलिङ गोर्खा हिल काउन्सिल मा बस्ने होस् वा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिष्ट्रेसन-मा बस्ने होस्, सरकारहरू अघि लम्पसार छन्। उनीहरूको उठबसमा सरकार होइन्, सरकारहरूको उठबसमा उनीहरू छन्।

वर्षोदेखि किन यस्तो आर्थिक शोषण भइरहेको छ?

हामी एक संवेदनशील सीमावर्ती क्षेत्रमा बस्छौं। चारैतिरबाट षडयन्त्रहरूले घेरिएर बसेका छौं। जब देशलाई सङ्कट पर्छ, गोर्खाहरू हरदम लड्न तयार। यतिखेर मर्न डर नमान्ने गोर्खा चाहिन्छन् देशलाई। गोर्खालाई पनि देशको संविधान चाहिएको छ, सङ्घीय प्रणाली चाहिएको छ। यही कुरा भन्दै भन्दै भन्दै आइरहेका छौं।

यी सबै कारणहरूले पृथक राज्यको मागसहित आन्दोलन भइरहेको हो। त्यो आन्दोलन दबाउन पनि राज्य र केन्द्रले अनेक प्रयास गर्‍यो। सङ्गठनहरू भङ्ग गरियो। नेताहरूलाई लोभ देखाइयो। हामी-हामीबीच विभाजन ल्याइयो। केस, पक्राउ, मुद्दा, अदालतसबै चालहरू चले।

आन्दोलन अझै चलिरहेको छ।

अहिले 70 प्रतिशत श्रमिकहरूलाई ५ डेसिमल जमिनको पट्टा दिने भनिएको छ। तर बाहिरबाट आएका ठूलठूला उद्योगपतिहरूका लागि हजारौं ऐकर जमिन फ्रीहोल्ड गरेर दिने रे। हामीयहाँकै बासिन्दाहरूलाई५ डेसिमल मात्र।

यसले डेमोग्राफिक र आर्थिक संरचना नै बदल्नेछ। यसको विरोध नगरी बस्न सकिन्छ र?

म कवि हुँ, तर यी सबै देखेर म चुप लाग्न सक्छु र?

मेरो जमिन, मेरा डाँडा, मेरा खोला, मेरा वनसबै रिसोर्ट र एस्सेट बन्दै गर्दा म ५ डेसिमलमा सन्तुष्ट हुने?

मैले अहिलेसम्म ६ वटा कविता सङ्ग्रह,एउटा कथा सङ्ग्रह, एउटा निबन्ध सङ्ग्रह प्रकाशित गरेको छु। एउटा सानो ठाउँको पत्रकार पनि हुँखबरम्यागजिन चलाइरहेको छु। त्यसमार्फत म जनताको पीडा लेखिरहेको छु, बोलिरहेको छु।

 २०२३ मा सिक्किमको बाँध फुटेर टिस्टामा बाढ आयो। हजारौं मानिस प्रभावित भए। जमिन डुब्यो, बस्ती डुब्यो। पुनर्वास हुनुपर्थ्यो। तर त्यो घटनालाई प्राकृतिक विपत्ति मानिएन, राष्ट्रिय विपद् भनेर कहिल्यै सम्बोधन भएन। कुनै राहत र पुनर्वास कोष आएको छैन।  

पश्चिम बङ्गालमा 23 वटा जिल्ला छ। पश्चिम बङ्गालको मोठ रेभेन्युमा दार्जिलिङ जिल्लाले 30 % योगदान गर्छ। यो नै सबैभन्दा ठूलो योगदान हो। सम्झिनुस्, दार्जिलिङको रिसोर्स कति बलियो छ, तर त्यसको लाभ उठाउँदैछ केवल सरकारहरूले। तर टिस्टा आपदामा हाम्रा मानिसहरू पर्दा त्यही सरकार मौन बस्यो। मैले त्यसविरुद्ध बोलें। आवाज उठाएँ।

मेरो बोली थुन्न स्थानीय सत्ता, जो पश्चिम बङ्गाल सरकारको टुल्सकोरुपमा प्रयोग भइरहेको छ, उसले ममाथि गुन्डा लगाइयो। कुटपिट गरायो।

 यद्यपि, मैले बोल्न छोडेको छैन।  दार्जिलिङमा जे जे पनि रिसोर्स छ, सबै सरकारहरूले नै दोहन गरिरहेको छ। तर जनताका हातमा के आयो? केही पनि आएन। जब जब पनि म यो प्रश्न गर्छु, ममाथि अनेक थरीको आक्रमण हुन्छ। मुद्दा लाग्छ। अहिलेसम्म म विरुद्ध १७ वटा मुद्दा दर्ता गरिएका छन्।

एकजना गरीब कवि र पत्रकार कति लड्न सक्छ? एक मुद्दा लड्न कति खर्च लाग्छ थाहा छ? म चुप लागुँ भनेर मुद्दा पिच्छे मुद्दा हालिएको छ। तर दार्जिलिङका जनतामा जिउँदो आत्मा छ। उनीहरू मेरो पक्षमा उभिएका छन्। विरेन्द्र रसाइली, अनिता परियारजस्ता वकिल साथीहरू मेरा लागि कोर्टमा निशुल्क लडिरहेका छन्।

जब तपाईं जनताको पक्षमा उभिनुहुन्छ, तिनीहरू पनि तपाईंको पक्षमा उभिन्छन्। त्यसैले डर बिना बोल्नुपर्छ, लेख्नुपर्छ। मुद्दा थपिन सक्छन्, थपिउन्। यसको डरले आफ्नो आवाज बन्द गर्नु हुँदैन।

तिनै मुद्दाहरूले आज मलाई यस्तो बनाएको हो। म म आफैं बनेको छैन, म भाषा, जाति, माटो र जनताबाट बनेको हुँ। म आफ्नो लागि बाँच्छु कि भाषा, जाति, माटो र जनता लागियसको निर्णय मैले आफै गर्नुपर्छ। कसैले पनि तपाईँको लागि निर्णय गरिदिँदैनन्।

धेरैजसो मान्छे सुरक्षित जीवन, सुखी परिवारकै लागि बाँच्छन्। तर मैले मेरो जीवन समाज र जनताको लागि समर्पित गरें।

तपाईंलाई लाग्न सक्छउ कवि हो, कविता छोडेर के राजनीति बोलिराखेको?

तर जब म बस्ने जमिन, भाषा, संस्कृति, जाति मेरो रहेन भने म कविता कसको लागि लेखुँ?

जब म जनताको पीडा बुझ्दिनँ भने म कसरी कवि हुन्छु?

हामीले जे देख्छौं, भोग्छौं, त्यसैलाई कविता बनाउनुपर्छ। आफूलाई लेख्नु नै साहित्यको औचित्य हो। कुनै पनि किताब उठाउनुस्, लेखकले आफैलाई लेखेको हुनुपर्छ। आफूलाई लेख्न नसक्ने लेखक हुन सक्दैनन्।  कल्पनामा बाँचेका कविता मेरा होइनन्। म कल्पना गर्न जान्दिन। मलाई मेरो कुरा थाहा छ, वरिपरिको कुरा थाहा छ। अनि म त्यही लेख्ने मान्छे हुँ। कल्पनाको कविता लेखेर जनतालाई म के पो दिन्छु? आफूलाई के पो दिन्छु?

कवि पनि एक जीवित व्यक्ति हो। उसँग संवेदना हुनुपर्छ। उसले वरिपरि भइरहेको कुरा देख्न सक्नुपर्छ। नत्र ऊ त जिउँदो शव हो। कविहरूले थाहा पाउनु पर्छउनीहरू जिम्मेवार छन्। समाजलाई खुला आँखाले हेर्नुपर्छ। अनि मात्रजिउँदो रहनका लागि कविता काफी हुन्छ। म त्यही गरिरहेको छु।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ