हाम्रो सबैभन्दा ठूलो विडम्बना, हामी घाउ छिट्टै बिर्सिन्छौं।
धोका बिर्सिन्छौं। गद्दारी बिर्सिन्छौं। झुट पनि बिर्सिन्छौं। अनि जो आयो, त्यही अपनाउँछौं।
हिजोको झन्डा गयो, आज अर्को आयो। हिजोको नेता गयो, आज अर्को। नारा फेरिन्छ, खेल उही रहन्छ। चेतनाको नाममा फेरि बजार सजिन्छ, मोलतोल चल्छ, किनबेच हुन्छ। अनि फेरि धोका, फेरि घाउ।
हिजो जहाँ थियौं, आज पनि त्यहीँ।
सोध्नुपर्ने प्रश्न हराउँछन्। केलाउनुपर्ने जिम्मेवारी बोझ लाग्न थाल्छ।
दार्जिलिङ, तराई र डुवर्सका गोर्खाले यत्तिका वर्ष राजनीति गरे। अब आफैंलाई सोध्ने बेला भएन र? हामीले साँच्चै खोजेको के हो? एउटा पार्टीको जित? एउटा नेताको उदय? एउटा चुनावी गठबन्धन? बङ्गाल अधिनस्त बहस गर्ने एपेक्स समिति?
कि आफ्नो इतिहास, संस्कृति र अस्तित्वको इज्जतिलो मान्यता?
पछिल्ला दशकमा विमलको ठाउँमा अनित आए। गोर्खाल्यान्डको ठाउँमा विकासको कुरा आयो। माकपाको ठाउँमा तृणमूल आयो, ‘बंगाल टुक्रिँदैन’ भन्ने कुरा उही रह्यो। आज पनि उही दोहोरिँदै छ। विकासको कुरा, सुरक्षाको कुरा, स्थिरताको कुरा, राष्ट्रवादको कुरा, प्रतिनिधित्वको कुरा। सबैको कुरा छ, आत्मनिर्णयको कुरा मात्र छैन।
हाम्रो स्मृतिमा हिजोको पीडा किन टिक्दैन? धोका, छल, चाकडी, विकासको नाममा भ्रष्टाचार, अर्को घटना आउनासाथ यी आफैं हराउँछन् कि हराइन्छन्?
हाम्रो स्मृतिमाथि षड्यन्त्र भएको छ।
योजनाबद्ध रूपमा यसलाई कमजोर पारियो। हाम्रा आन्दोलन असफल पारिए। अनि भनियो, ‘यो केन्द्रले अहिले दिँदैन।’ त्यसपछि विकासको पर्दापछाडि सुविधावादी सोच बसालियो।
हामी को थियौं, को हौं, भोलि को बन्ने हौं? यो मिमांसा नै हामीबाट मेटाइयो।
हामीसँग मुद्दा थियो, जातिको पहिचान थियो, आन्दोलन थियो, इतिहास थियो। तर आन्दोलनको इतिहास नाम र घटनाको फेहरिस्त मात्र हैन। त्यो राज्यको सपना हो, आफ्नै प्रतिनिधित्व हो, पहिचान, नागरिकता, भाषा, जमिनको सुरक्षा र सम्मानको प्रश्न हो। त्यसैभित्र सम्झौता छन्, दमनका अध्याय छन्, शहादतका कथा छन्। पुस्तौं पुस्ताले जीवन लगाए, तैपनि रित्तै हात फर्किए। हरेक कालखण्डमा निराशाले तितो बनायो।
अनि इतिहासले अधुरै छोडेका प्रश्न छन्।
भारतीय गोर्खा समुदायले आफ्नो राजनीतिक भविष्यको फैसला कति हदसम्म आफैं गर्न सक्छ?
यही प्रश्नलाई कहिले कांग्रेसले, कहिले माकपाले, कहिले तृणमूलले, अहिले भाजपाले आफ्नै तरिकाले व्याख्या गरे। कसैले प्रशासनिक सुधारमा खुम्च्यायो। कसैले विकासको सपनासँग साट्यो। कसैले चुनावी हिसाब-किताब बनायो। अहिले भाजपाले राष्ट्रवादी बहसलाई अगाडि राखेर मूल मुद्दालाई किनारा लगाउँदैछ।
गोर्खाका लागि आत्मनिर्णय विकास योजनाभन्दा ठूलो हुनुपर्ने। चुनावी वाचाभन्दा गहिरो हुनुपर्ने। सधैं अस्तित्वकै प्रश्न हुनुपर्ने। तर आज हाम्रा आफ्नै नरेटिभ जोखिममा छन्।
सोसल मिडियादेखि जनसभासम्म मूल कुरा छाडेर अरूकै बोलबाला छ। बेरोजगारी, बसाइँसराइ, चिया बगानको संकट, जमिन, शिक्षा, केही पनि बहसको केन्द्रमा छैन। दीर्घकालीन राजनीतिक समाधानको नाममा सबै कुरा फेरि कठघरामै उभिएका छन्।
यसमा राष्ट्रिय र क्षेत्रीय दुवै शक्तिको हात छ। चुनाव आउँछ, गोर्खा प्रश्न ठूलो मुद्दा बन्छ, आश्वासन बाँडिन्छ, नयाँ सपना देखाइन्छ। चुनाव सकिन्छ, हामी जैसेथे।
कसले यस्तो गर्दैछ? किन गर्दैछ? न प्रश्न छ, न आलोचना।
लोकतन्त्रमा कोही पनि आलोचनाभन्दा माथि हुँदैन। राष्ट्रिय पार्टीका लागि गोर्खा प्रश्न चुनावी फाइदा मात्र भयो। क्षेत्रीय पार्टीका लागि सत्ता र पैसाको बाटो। दुवैले जनताको आकांक्षाको भरमा उचाइ पाए, जनता चाहिँ जहाँको त्यहीँ।
नेताका लागि निष्ठाभन्दा उत्तरदायित्व ठूलो हुनुपर्ने, तर हाम्रोमा सब उल्टो।
स्मृतिको संकटको बीउ यही हो।
चुनावसँगै नयाँ नारा, नयाँ गठबन्धन, नयाँ आश्वासन। पुराना वाचाको हिसाब भने कसैले माग्दैन। हामीले पार्टी र नेतालाई उनीहरूले गरेका कबुल सम्झाउन छोड्यौं, अनि उनीहरूले जता डोर्याए, उतै कुद्न थाल्यौं।
मलाई लाग्छ, आजको सबैभन्दा जरुरी काम नयाँ झन्डा रोज्नु मात्र हैन। सबै दललाई बराबर प्रश्न सोध्नु हो। नागरिक चेतना बनाउनु हो।
अनि यो पनि खुलाउनुपर्छ, हाम्रो मुद्दा छुट्टै राज्य हो कि बंगालभित्रको संवैधानिक व्यवस्था? आत्मालोचना अहिले सबैभन्दा जरुरी छ।
पार्टी ठूलो कि गोर्खाका सपना? अब गोर्खाले आफ्ना लक्ष्य पार्टीभन्दा माथि राख्ने बेला आएको छ। नत्र पार्टी स्थायी हुन्छन्, जनताका सपना अस्थायी।
यसैले यो गहिरो आत्मपरीक्षणको बेला हो।
विगतका आन्दोलनबाट हामीले के सिक्यौं? कहाँ सफल भयौं? कहाँ चुक्यौं? कुन गल्ती अझै दोहोरिँदै छन्? हामी आफ्ना प्रश्न आफ्नै भाषामा सोध्दै छौं कि अरूले बनाइदिएको राजनीतिक बोलीमा आफूलाई व्यक्त गर्दै छौं?
चिया बगानका पातले कुनै पार्टीको सदस्यता लिएका छैनन्। पहाडका खोल्साहरू कुनै विचारधाराका प्रचारक हैनन्। माटोले कुनै घोषणापत्र पढेको छैन। प्रकृतिले कुनै चुनावी गठबन्धनमा दस्तखत गरेको छैन।
तर हामीचाहिँ बारम्बार आफ्ना साझा आकांक्षाको निर्णय केन्द्र र राज्य सरकारको हातमा छाडिरहेका छौं। ‘बंगाल टुक्रिँदैन’ भन्दा रमाउने अनि छुट्टै राज्य पनि माग्ने। जीटीए चाहिँदैन भन्ने अनि त्यहीँको करोडौं पैसामा राल पनि चुहाउने। आफैंलाई मुद्दा र जातिको नेता भन्ने, अनि अमित शाह र शुभेन्दु अधिकारीको अगाडि पुच्छर हल्लाउने?
यो प्रवृत्तिले हामीलाई कता लगिरहेको छ?
यो कसैलाई देवता बनाउने वा राक्षस देखाउने बेला हैन। कसले इमानदारीसँग मुद्दाको नेतृत्व गर्दैछ, कसले झुक्याउँदैछ, चिन्ने बेला हो।
आत्मनिर्णयको अधिकार हामीसँग छ। त्यो प्रयोग गर्न पाउने कि फेरि अरूले नै हामीमाथि शासन गर्ने समाधान खोज्ने? छनौट गर्ने बेला हो।
उन्मुक्तिको सपना देखेको हो भने तय गर्नुपर्छ, हामीलाई कसबाट, केबाट मुक्ति चाहिएको हो? अनि त्यो मुक्ति छुट्टै राज्यले दिन्छ कि? यूटीले दिन्छ कि? २४४ ए ले दिन्छ कि? छैटौं अनुसूचीले दिन्छ कि? ‘बेस्ट अफ द बेस्ट’ ले दिन्छ कि? बीटीआरले दिन्छ कि जीटीए-३ ले?
आत्मपरीक्षण गरौं न हैन?