चिमामान्डा ङोजी अदिची, नाइजेरियाकी लेखिका हुन्। सन् १९७७ मा एनुगुमा जन्मिइन्। न्सुक्का सहरमा हुर्किन्। सानै उमेरदेखि किताबसँग नाता जोडिन्। पछि साहित्यकी साधक बनिन्। उनलाई ‘पर्पल हिबिस्कस’, ‘हाफ अफ ए यलो सन’, ‘अमेरिकाना’- उपन्यासले संसारभर चिनायो। उनका किताबले युद्ध, प्रेम, पहिचान र आप्रवासनका कथा भने। ‘हाफ अफ ए यलो सन’ ले ओरेन्ज प्राइज (अहिलेको वुमेन्स प्राइज फर फिक्सन) जित्यो। ‘अमेरिकाना’ ले पनि विश्वभर चर्चा पायो। सन् २००९ मा उनले ‘द डेन्जर अफ अ सिङ्गल स्टोरी’ शीर्षकको भाषण दिइन्, जुन आज संसारभरका सबैभन्दा बढी हेरिने र सुनिने ‘TED’ भाषणहरूमध्ये एक बनेको छ। तिनी भन्छिन्, एउटै कथाले मानिसलाई पूरा चिन्न सकिँदैन, धेरै कथाले मात्र मानिस पूरा बन्छ। त्यही भाषणलाई यहाँ प्रस्तुत गरिएको छ।
खबरम्यागजिन साहित्य डेस्क
म एक कथावाचिका हुँ। आज म तपाईंलाई मेरो कथा सुनाउन चाहन्छु र यो कथालाई म ‘एकपाखे भाष्यको खतरा’ भन्ने गर्छु।
म पूर्वी नाइजेरियाको एउटा युनिभर्सिटी क्याम्पसमा हुर्किएँ। आमा भन्नुहुन्थ्यो, ‘दुइ वर्षको हुँदै पढ्न थालेकी होस्।’ तर त्यस्तो पनि होइन। चार वर्षतिर पढ्न थालेकी हुँला। मेरा वरिपरि बेलायती वा अमेरिकी बालसाहित्य हुन्थे र म त्यही टिप्थें, पढ्थेँ।
मैले छिट्टै लेख्न पनि थालें। सात वर्षको हुँदा, पेन्सिलले लेख्ने, क्रेयोनले चित्र कोर्ने खाले कथा लेख्न थालेँ। मेरा कथाको पाठक आमा थिइन्। उनले पढ्नै पर्थ्यो। मैले जे जे पढेकी थिएँ, उस्तै उस्तै लेख्थें। मेरा पात्रहरू सबै गोरा हुन्थे। तिनका आँखा निला हुन्थे। उनीहरू हिउँमा खेल्थे। स्याउ खान्थे। मौसमको कुरा गर्नुपऱ्यो भने, ‘आहा, आज घाम कति राम्रो लाग्यो’ भन्थे।
म त नाइजेरियामै बसेकी थिएँ। विदेश कहिल्यै गएकै थिइनँ। हाम्रोतिर हिउँ नै पर्दैनथ्यो। हामी त आँप खान्थ्यौं। मौसमको गफ गर्नै पर्दैनथ्यो।
तर मेरा पात्रले भने जिन्जर बियर घुटुक्क निल्थे। किनभने बेलायती किताबका पात्रले त्यही र त्यसरी नै पिउँथे। मलाई जिन्जर बियर के हो भन्नेसम्म थाहै थिएन।
वर्षौंसम्म मलाई त्यो एकपटक चाख्न मन थियो। त्यो अर्कै कुरा हो।
बाल्यकालमा हामी कथाबाट कति सजिलै बहकिने रहेछौं, यसले बताउँछ। मैले पढेका सबै किताबमा बाहिरी मानिस मात्र भएकोले, मलाई लागिसकेको थियो- किताब भनेकै विदेशी मानिसको हो। किताब भनेकै मैले नचिनेका, नजानेका कुराको हो।
पछि पछि अफ्रिकी लेखकका किताब भेट्टाएँ। त्यसपछि सबै बदलियो। यस्ता किताब खोज्न सजिलो पनि थिएन। किताब थोरै मात्र पाइन्थे। तर चिनुआ आचेबे, कमारा लेयजस्ता लेखकले मेरो सोचाइ नै फेरिदिए। मैले बुझें, मजस्तै चकलेट रङको छाला भएकी केटी, पोनिटेल नबन्ने घुम्रिएको कपाल भएकी केटी पनि किताबमा हुन सक्छे।
त्यसपछि मैले चिनेका, देखेका कुराबारे नै लेख्न थालें।
म ती अमेरिकी-बेलायती किताब मन पराउँथें नै। तिनले मेरो कल्पनालाई उडान दिए। नयाँ-नयाँ संसार देखाइदिए। तर एउटा नराम्रो असर पनि पऱ्यो, मजस्तो मानिस पनि किताबमा हुन सक्छ भन्ने मलाई कहिल्यै लागेकै थिएन। अफ्रिकी किताबले मलाई बचायो।
किताब भनेकै यस्तो हुन्छ भन्ने मेरा साँघुरा बुझाइ भत्किए।
मेरो परिवार सोझो थियो। मध्यमवर्गीय थियो। बुबा प्राध्यापक। आमा प्रशासक। हामीकहाँ घरेलु सहयोगी राख्ने चलन थियो। म आठ वर्षकी हुँदा नयाँ सहयोगी आयो। उ फिदे थियो।
आमाले भनेकी थिइन्, ‘उसको परिवार एकदमै गरिब छ।’
आमाले उसको घरमा चामल पठाउँथिन्। तरकारी पठाउँथिन्। हाम्रा पुराना लुगा पठाउँथिन्। मैले खानामा अमन गर्दा आमा भन्थिन्, ‘खा खा छिटो खा, फिदेको घरमा त यति पनि छैन।’
मलाई फिदेको परिवारप्रति ठूलो दया लाग्थ्यो।
एक शनिबार हामी उनीहरूको गाउँ गयौं। फिदेकी आमाले एउटा टोकरी देखाइन्। राम्रो बुट्टा भएको। फिदेको दाजुले बनाएको। म त छक्क परें। मलाई त थाहै थिएन, उनीहरूले पनि आफैं केही बनाउन सक्छन् भनेर। मैले सुनेको कुरा त एउटै थियो- उनीहरू गरिब छन्। त्यसैले मेरा लागि उनीहरू गरिबबाहेक अरू केही हुनै सकेनन्।
धेरै वर्षपछि यो कुरा फेरि सम्झें।
म अमेरिका पढ्न गएँ। उतिखेर म १९ की थिएँ। मेरी अमेरिकी रूममेट मलाई देखेरै छक्क परी।
सोधी- ‘यति राम्रो अङ्ग्रेजी कहाँबाट सिक्यौ?’
नाइजेरियाको सरकारी भाषा नै अङ्ग्रेजी हो भन्दा उसलाई पत्यारै लागेन। उसले ‘तिम्रो जातीय सङ्गीत सुनान’ भनी। मेरो झोलाबाट मारिया केरीको टेप निस्कियो। इ हिस्रिक्क परी।
उसले सोचेकी रहिछे, मलाई चुला बाल्नै आउँदैन होला।
सबैभन्दा ठूलो कुरा त यो थियो, उसले मलाई देख्नुअघि नै मप्रति दया देखाइसकेकी थिई। एक अफ्रिकीको रूपमा उसको मप्रतिको पहिलो भाव नै एक किसिमको ‘सहानुभूतिजन्य दया’ थियो।
उसले बुझेको अफ्रिकाको एउटै कथा थियो, विपत्तिको कथा। त्यो कथामा अफ्रिकी मानिस उसजस्तै हुन सक्छ भन्ने ठाउँ थिएन। दयाभन्दा जटिल भावना राख्छ भन्ने ठाउँ थिएन। बराबरीको नाताले जोडिन सकिन्छ भन्ने ठाउँ त झन् थिएनै थिएन।
अमेरिका जानुअघि म आफूलाई खासै ‘अफ्रिकी’ ठान्दिनथें। तर अमेरिकामा जहिले पनि अफ्रिकाको कुरा उठ्यो कि सबैको आँखा मतिरै फर्कन्थ्यो।
मलाई नामिबिया जस्तो ठाउँ पनि छ भन्ने थाहै थिएन।
पछि म आफैं यो नयाँ पहिचानमा रमाउन थालें। अहिले त म आफूलाई अफ्रिकी नै मान्छु। तर अफ्रिकालाई ‘देश’ मात्र भनेर बोलाइदिँदा भने अझै रिस उठिहाल्छ। ‘भारत, अफ्रिका र अन्य देशहरूमा’ गरिने सहायताको बारेमा भर्खरै लागोसबाट फर्कंदा उडानमै एउटा घोषणा भएको सुनें।
अफ्रिका भनेको पूरै महाद्वीप हो।
अमेरिकामा केही वर्ष अफ्रिकीको पहिचान बोकेर बसें। रूममेटको त्यो व्यवहार विस्तारै बुझ्दै गएँ। म नाइजेरियामा नहुर्केको भए, अफ्रिकाबारे टिभी-पत्रिकाले जे देखाउँछ, त्यति नै मात्र थाहा भएको भए, म पनि उ जसरी नै सोच्थें होला, अफ्रिका भनेको सुन्दर पहाड-जङ्गलको ठाउँ हो। अफ्रिका भनेको अनौठा जनावरको ठाउँ हो। बुझ्नै नसकिने मानिसको ठाउँ हो। अर्थहीन युद्ध, गरिबी, एड्सले मर्नेहरूको ठाउँ हो। आफैं बोल्नै नसक्ने, गोरा परदेशीले बचाइदिने पर्खाइमा बसेकाहरूको ठाउँ हो-भनेर।
जसरी म फिदेको परिवारलाई हेर्थें, अफ्रिकालाई पनि उसरी नै हेर्ने थिएँ।
अफ्रिकाको यो ‘एकपाखे भाष्य’ पश्चिमी साहित्यबाटै सुरु भएको जस्तो लाग्छ।
सन् १५६१ मा पश्चिम अफ्रिका पुगे लन्डनका एक व्यापारी जोन लोक। उनले काला अफ्रिकीलाई ‘घरै नभएका पशु’ भने।
उनले लेखे, ‘तिनीहरूको त टाउकै हुँदैन, मुख र आँखा छातीमै हुन्छ।’
म यो पढ्दा हरेकपल्ट हाँसो थाम्नै सक्दिन। हाँसिहाल्छु। यति फराकिलो कल्पना गर्न सकेकोमा उनलाई तारिफ त गर्नैपर्छ। तर गम्भीर कुरा के भने यहीँबाट पश्चिममा अफ्रिकाबारे एउटै किसिमको कथा भन्ने चलन सुरु भइदियो।
केवल नकारात्मकता। फरकपन। अन्धकार। कवि रुडयार्ड किपलिङकै शब्दमा भन्ने हो भने, ‘आधा दानव, आधा बालक’ भएका मानिसको ठाउँ।
अनि मैले बुझें, मेरी रूममेटले पनि जीवनभरि यस्तै कथाका थरीथरी किस्सा सुनेकी-देखेकी हुनुपर्छ।
जस्तो कि- एक प्राध्यापकले एकपटक मलाई भने, तिम्रा उपन्यास ‘साँच्चिकै अफ्रिकी’ जस्तो लागेन।
मेरो उपन्यासमा कमजोरी थिए भन्न त म तयारै थिएँ। तर ‘खाँटी अफ्रिकी’ देखाउने गर्ने कुरामा नै असफल? यो त कल्पनासम्म गरेकी थिइनँ।
यो के भनिँदैछ भन्ने नै मलाई थाह थिएन।
उनले भनेअनुसार मेरा पात्र उनीजस्तै शिक्षित र मध्यमवर्गीय थिए। तिनीहरू गाडी चलाउँथे। भोकै मर्दैनथे। त्यसैले तिनीहरू खाँटी अफ्रिकी भएनन् रे।
हुन त म पनि यस्ता गल्तीबाट मुक्त छैन।
केही वर्षअघि म अमेरिकाबाट मेक्सिको घुम्न गएँ। त्यतिबेला अमेरिकामा आप्रवासनको बहस निकै तातिरहेको थियो। सँधैजस्तै। ‘आप्रवासी’ भन्नु भनेको ‘मेक्सिकन’ भन्नुजस्तै। बहस यस्तै भइसकेको थियो। जस्तो की- मेक्सिकनहरू स्वास्थ्य सेवा दुरुपयोग गर्छन्। सीमा नाघेर आउँछन्। समातिन्छन्।
यस्तै कथा मात्र सुनिन्थ्यो जताततै।
ग्वादलाहारामा पहिलो दिन हिँड्दा मैले मानिसहरू देखें। काममा हिँडेको। बजारमा टर्टिया बेलेको। धुम्रपान गर्दै हाँसेको। पहिले त अलिक अचम्म लाग्यो। अनि अचम्मैगरी लाज लाग्न थाल्यो। मैले महसुस गरें, मिडियाले देखाएको कुरामा यसरी डुबेछु कि मेरो दिमागमा मेक्सिकनहरूबारे अर्कै धारणा छापिसेकेको रहेछ। मेक्सिकनहरू हुन्छन् नै बिचरा, दयनीय आप्रवासी भन्नेजस्तो। मैले आफैं मेक्सिकनको एकपाखे भाष्य बोकेको रहेछु।
आफैंप्रति यत्रो लाज कहिल्यै लागेको थिएन।
कसैबारे एकपाखे भाष्य कसरी बन्छ त?
कुनै मानिस समूहलाई बारम्बार, बारम्बार, एउटै किसिमको देखाइराख्दा तिनीहरू त्यही र त्यस्तै मात्र बन्दारहेछन्।
एकपाखे भाष्यको कुरा गर्दा शक्तिको कुरा पनि नगरी हुँदैन।
इग्बो भाषामा एउटा शब्द छ ‘नकाली’। जुन मलाई संसारका शक्ति-सम्बन्धबारे सोच्दा ठ्याक्क मिल्छ भन्ने लाग्छ।
यसको अर्थ हुन्छ, ‘अरूभन्दा ठूलो हुनु।’
जसरी अर्थतन्त्र र राजनीति शक्तिले चल्छ, त्यसैगरी कथाहरू पनि शक्तिकै भरमा चल्छन्। कस्तो कथा भनिन्छ, कसले भन्छ, कहिले भनिन्छ, कति भनिन्छ – सबै शक्तिमा भर पर्छ।
शक्ति भनेको अर्काको कथा भन्न सक्नु मात्र होइन। त्यही कथालाई नै त्यो मानिसको एकमात्र सत्य कथा बनाइदिन सक्नु हो। प्यालेस्टिनी कवि मुरिद बर्गुती भन्छन्, कुनै जातिलाई सम्पत्तिहीन बनाउने सबैभन्दा सजिलो उपाय भनेको, तिनीहरूको कथा ‘दोस्रोबाट’ सुरु गरिदिनु हो। कथा रेड इन्डियनको धनुबाणबाट सुरु गर। बेलायती आइपुगेको कुरा नबताउ। तुरुन्तै कथा नै फरक बनिहाल्छ। कथा अफ्रिकी राज्यको असफलताबाट सुरु गर। त्यो राज्य त उपनिवेशले नै खडा गरेको हो भन्ने नबताउ। फेरि कथा पूरै फरक बन्छ।
भर्खरै एउटा विश्वविद्यालयमा एक विद्यार्थीले मलाई भन्यो, ‘कति लाजको कुरा हो, मेरो उपन्यासको बाबु-पात्रजस्तै नाइजेरियाली पुरुषहरू आफ्नी श्रीमतीलाई कुट्छन्।’ मैले जवाफमा भनें ‘मैले भर्खरै ‘अमेरिकन साइको’ भन्ने उपन्यास पढें। त्यसमा त अमेरिकी युवा नै क्रमिक हत्यारा देखाइएको छ। कति लाजको कुरा।’
यो त मैले अलिक झोंकमा भनेको थिएँ। तर एउटा उपन्यासमा हत्यारा पात्र भएकैले सबै अमेरिकी त्यस्तै हुन् भन्ने त मलाई कहिल्यै लागेको थिएन। यो म बुझकी भएर होइन। अमेरिकाको सांस्कृतिक र आर्थिक शक्ति ठूलो भएकैले हो। मैले टाइलर पढेकी थिएँ। अपडाइक पढेकी थिएँ। स्टाइनबेक, गेट्सकिल पढेकी थिएँ। मसँग अमेरिकाका थुप्रै कथा थिए। एउटै मात्र थिएन।
केही वर्षअघि मैले थाहा पाएँ, राम्रो लेखक बन्न त दुःखी बाल्यकाल भएको हुनुपर्छ रे, त्यसपछि मैले सोच्न थालें, आमाबुबाले मलाई कस्तो नराम्रो व्यवहार गरेका थिए भनेर कुनै कथा बनाउन सकिन्छ कि भनेर। तर साँचो कुरा के भने मेरो बाल्यकाल हाँसो र माया-प्रेमले भरिएको थियो। आफन्तसँग एकदमै मिलेको सुखी बाल्यकाल थियो।
तैपनि, मेरा हजुरबुवाहरू शरणार्थी शिविरमा नै मरे। मेरो भाइ पोल्ले उपचार नपाएर मऱ्यो। मेरो मिल्ने साथी ओकोलोमा विमान दुर्घटनामा मऱ्यो। किनभने हाम्रा दमकल गाडीमा पानी नै थिएन। दमनकारी सैनिक सरकारले शिक्षालाई महत्त्वै नदिएको बेला म हुर्किएँ। कहिलेकाहीं मेरा आमाबुबाले तलबसम्म पाउनुहुन्नथ्यो। सानो छँदा खाजाको टेबलबाट पहिले जाम हरायो। फेरि मार्जरिन हरायो। फेरि रोटी महङ्गो भयो। दूध राशनमा सीमित भयो। सबैभन्दा बढी भनेको एक किसिमको सधैंको राजनीतिक डर नै हाम्रो घरभित्र पसिसकेको थियो।
यी सबै कुराले नै मलाई आज जस्तो छु त्यस्तै बनाएको हो। तर यी नकारात्मक कथालाई मात्र समातेर बस्नु भनेको मेरो पूरा अनुभवलाई छोप्नु हो। मलाई बनाउने अरू थुप्रै कथालाई बिर्सनु हो। एकपाखे भाष्यले रूढिबद्ध छवि बनाइदिन्छ। रूढिको समस्या यो होइन कि त्यो झूटो हुन्छ। समस्या यो हो कि त्यो अधुरो हुन्छ। त्यसले एउटा मात्र कथालाई एकमात्र सत्य बनाइदिन्छ।
अफ्रिका विपत्तिले भरिएको महाद्वीप त हो नै। कङ्गोमा भएका डरलाग्दा बलात्कार जस्ता ठूला विपत्ति, नाइजेरियामा एउटा जागिरका लागि पाँच हजार जनाले निवेदन दिनुपर्ने जस्ता निराशाजनक कुराबाहेक अरू कथा पनि धेरै छन्। ती कथा पनि भन्नु उत्तिकै जरुरी छ।
मलाई सधैं लाग्छ, कुनै ठाउँ वा मानिसलाई राम्ररी बुझ्न त्यसका सबै कथासँग जोडिनैपर्छ। एकपाखे भाष्यको सबैभन्दा नराम्रो असर भनेको त्यसले मानिसको इज्जत खोसिदिन्छ। हामी सबै समान मानिस हौं भन्ने कुरा बुझ्न गाह्रो बनाइदिन्छ। हामीबीचको समानतालाई भन्दा फरकपनलाई बढी देखाइदिन्छ।
मेक्सिको जानुअघि नै मैले आप्रवासनको बहस दुवैतिरबाट सुनेको भए के हुन्थ्यो होला? आमाले फिदेको परिवार गरिब मात्र होइन, मिहिनेती पनि हो भनेको भए? हामीसँग विविध अफ्रिकी कथा देखाउने आफ्नै टिभी च्यानल भएको भए? चिनुआ आचेबेले भनेजस्तो ‘कथाहरूको सन्तुलन’ भएको भए?
मेरी रूममेटलाई मेरा नाइजेरियाली प्रकाशक मुख्तार बकारेको बारेमा थाहा भएको भए? जसले आफ्नो सपना पछ्याउन व्याङ्कको जागिरै छोडेर प्रकाशन गृह खोले। ‘नाइजेरियालीले किताब पढ्दैनन्’ भन्ने चलन थियो। तर मुख्तार भन्छन्- ‘पढ्न जान्नेले किताब सस्तो र सजिलै पाए पढ्छन् नै।’
मेरो पहिलो उपन्यास प्रकाशित भएको केही समयपछि म लागोसको एउटा टिभी च्यानलमा अन्तर्वार्ता दिन गएँ। त्यहाँ काम गर्ने एउटी दिदीले भनिन्, ‘तपाईंको उपन्यास मन पऱ्यो। तर अन्त्य मन परेन। अब भाग-२ लेख्नैपऱ्यो र त्यो यस्तो हुनुपर्छ…’ उनले भाग-२ मा के लेख्ने भनेर आफैं सुझाव दिन थालिन्। म मुग्ध मात्र भइनँ, भावविह्वल नै भएँ। किताब पढ्दैनन् भनिएकी एक सामान्य दिदीले किताब पढेकी मात्र थिइनन्, त्यसलाई आफ्नै ठानेकी थिइन्। मलाई अर्को भाग लेख्ने सल्लाह दिन पनि हिचकिचाइनन्।
मेरी रूममेटलाई मेरी साथी फुन्मी इयान्दोको बारेमा थाहा भएको भए, जो लागोसमा टिभी शो चलाउँछिन् र भुल्न मन लाग्ने कुराहरू पनि भन्न डराउँदिनन्। गएको हप्ता लागोसकै एउटा अस्पतालमा भएको हृदय शल्यक्रियाबारे थाहा भएको भए? अङ्ग्रेजी, पिजिन, इग्बो, योरुबा, इजो मिसाएर गाउने नाइजेरियाली सङ्गीतकारबारे थाहा भएको भए, जे-जेडदेखि फेला, बब मार्लेसम्मको प्रभाव बोकेका?
पासपोर्ट नवीकरणमा लोग्नेको सहमति चाहिने हास्यास्पद कानूनविरुद्ध अदालत गएकी वकिल दिदीबारे थाहा भएको भए? नोलिउडबारे थाहा भएको भए, जहाँ कति प्राविधिक अवरोधका बाबजुद पनि मानिसहरूले सिर्जनशील फिल्म बनाउँछन्, नाइजेरियालीले आफैं बनाएको कुरा आफैं हेर्ने सबैभन्दा राम्रो उदाहरण।
आफ्नै व्यापार सुरु गरेकी मेरी महत्त्वाकांक्षी कपाल बुन्ने साथीबारे वा व्यापार सुरु गर्ने, असफल हुने, फेरि उठ्ने लाखौं नाइजेरियालीबारे थाहा भएको भए?
म घर जाँदा हरेकपल्ट उही कुराले रीस उठाउँछ, बिग्रिएको पूर्वाधार, असफल सरकार। तर त्यसको बाबजुद मानिसको अद्भुत जिजीविषाले पनि म छक्क पर्छु। सरकारका कारण होइन, सरकारको बाबजुद पनि फस्टाइरहेको जिजीविषा। म हरेक गर्मीको समय लागोसमा लेखन कार्यशाला चलाउँछु। त्यहाँ कति धेरै मानिस आउँछन् जो कथा भन्न, लेख्न उत्सुक हुन्छन्।
मेरा प्रकाशक र मैले भर्खरै ‘फराफिना ट्रस्ट’ भन्ने गैरनाफामूलक संस्था खोलेका छौं। हाम्रो सपना ठूलो छ, पुस्तकालय बनाउने। भत्किएकालाई मर्मत गर्ने। किताबै नभएका सरकारी स्कूललाई किताब दिने। पढ्न-लेख्न चाहने सबैका लागि कार्यशाला चलाउने।
कथाहरू महत्त्वपूर्ण छन्। धेरै कथाहरू महत्त्वपूर्ण छन्। कथाले मानिसको सम्पत्ति खोस्न र बदनाम गर्न सक्छ। तर त्यही कथाले सशक्त बनाउन र मानवीय बनाउन पनि सक्छ। कथाले मानिसको इज्जत भत्काउन सक्छ। तर त्यही भत्किएको इज्जत जोड्न पनि सक्छ।
अमेरिकी लेखिका एलिस वाकरले उत्तरतिर बसाइँ सरेका आफ्ना दक्षिणी आफन्तबारे लेखेकी छिन्। उनले उनीहरूलाई छाडेर आएको दक्षिणी जीवनबारे लेखिएको एउटा किताब चिनाइन्। सबैजना बसे। आफैं पढे। मैले पढेको सुने। र मानौं एक किसिमको स्वर्ग नै फेरि भेटिएजस्तो भयो।
म यही भनेर सक्न चाहन्छु, जब हामी कुनै मानिस वा ठाउँको एकपाखे भाष्यमा अडिन छाड्छौं, जब हामी बुझ्छौं कि कसैको पनि एउटै मात्र कथा हुँदैन, हामीले फेरि त्यही स्वर्ग भेट्टाउँछौं।