अक्टोबर 16, 2026 | 3:26 बेलुका

मदन तामाङ : निभाइएको राजनैतिक घाम

(मदन तामाङ दाजुसँगका मेरा संस्मरण, असहमति र मैले बुझेको नेतृत्वको पाठ)

मदन तामाङ दाजुको मूल्याङ्कन गर्ने दुस्साहस गर्दा सबैभन्दा पहिले म आफैँसँग एउटा प्रश्न गर्छु-के म उहाँको मूल्याङ्कन गर्न योग्य व्यक्ति हुँ?

सायद म यसका लागि योग्य छैन।

उहाँजस्तो लामो राजनीतिक अनुभव, अध्ययन, सङ्घर्ष र सार्वजनिक जीवन भएको व्यक्तित्वलाई केही वर्षको व्यक्तिगत परिचय र संस्मरणका आधारमा मूल्याङ्कन गर्नु आफैँमा सीमित प्रयास हो। त्यसैले यो कुनै अन्तिम फैसला होइन। यो मैले नजिकबाट देखेको, सुनेको, भोगेको र उहाँबाट सिकेको एउटा व्यक्तिको स्मृति हो।

मेरो उद्देश्य उहाँलाई महान् प्रमाणित गर्नु पनि होइन, असफल प्रमाणित गर्नु पनि होइन। विशेषगरी आजका र भोलिका युवा राजनीतिक नेतृत्वले उहाँबाट के सिक्न सक्छन् र उहाँको राजनीतिक जीवनका सीमाबाट कुन कुरामा सावधान हुन सक्छन् भन्ने प्रश्नमा मैले आफ्नो सीमित अनुभव राख्ने प्रयास गरेको हुँ।

मदन तामाङसँग मेरो राजनीतिक सम्बन्ध सधैँ सरल थिएन। हामीबीच सहमति थियो, गम्भीर असहमति पनि थियो। कुनै समय नजिक भयौँ, कुनै समय टाढियौँ। उहाँबाट सिकेँ, उहाँका केही राजनीतिक शैलीसँग असहमत पनि भएँ।

तर यति हुँदाहुँदै पनि उहाँको हत्या भएको खबर जेलभित्र थाहा पाउँदा मलाई एउटा असाधारण क्षति भएको अनुभूति भयो।

मलाई लाग्यो- मेरो समाजको एउटा प्रमुख स्तम्भ ढल्यो।

सायद त्यही भावनाले आजसम्म मलाई उहाँलाई सम्झिरहन बाध्य बनाएको छ।

मदन तामाङ नाम सुन्नुअघिको मेरो समय

प्रान्त परिषद्को आन्दोलन, लालगल्लीको खाकी आतङ्क र त्यसपछिका घटनाहरूले मेरो जीवनमा जाति, माटो र अस्तित्वको प्रश्नको बीजारोपण गरेका थिए।

त्यस समयमा मैले अबुल फजल दाजुको नाम सुनेको थिएँ। कुमुदिनी होम्सका मेरा गुरुहरू-भरत छेत्री सर, टी.बी. राई सर, सी.के. श्रेष्ठ सरजस्ता व्यक्तित्वहरूको नाम पनि सुन्न थालेको थिएँ।

त्यसपछि १९८६ को आन्दोलन आयो।

तर त्यतिबेलासम्म मैले मदन तामाङको नाम सुनेको थिइनँ।

पछि सुवास घिसिङले कुनै अन्तर्वार्तामा ‘No more on Madan Tamang’ भनेको सुनेँ। त्यहीँबाट मेरो मनमा पहिलोपटक प्रश्न उठ्यो- मदन तामाङ भन्ने व्यक्ति पनि राजनीतिमा यति महत्त्वपूर्ण हुनुहुँदो रहेछ?

त्यसपछि दागोपाप आयो। काउन्सिलरहरूको एक प्रकारको राजनीतिक प्रभुत्व स्थापित भयो। त्यस लामो राजनीतिक यात्रामा मदन तामाङ भन्ने नाम मेरो स्मृतिबाट फेरि हरायो।

म फौजमा गएँ।

फौजबाट फर्किएँ।

फर्किएपछि जिएनएलएफको राजनीतिक प्रभुत्वसँग लड्दै साथी खोज्ने क्रममा प्रताप खातीसँग भेट भयो। त्यसबेला राजनीतिक हत्याहरूको शृङ्खला चलिरहेको थियो।

रुद्र प्रधान, प्रकाश थिङ र सी.के. प्रधानको हत्या भइसकेको थियो। हत्या जस्तो गम्भीर राजनीतिक घटना पनि सामान्य बन्दै गएको अनुभूति हुन्थ्यो।

सी.के. प्रधानको हत्या भएपछि हामीलाई लाग्यो- अब यी राजनीतिक हत्याहरूको संस्कार बन्द हुनुपर्छ।

प्रताप खाती र म तीन–चार दिन स्कुटरमा घुमेर कालेबुङको जगन्नाथ धर्मशालामा सर्वदलीय सभा आयोजना गर्न सफल भयौँ। काङ्ग्रेस, जिएनएलएफका सी.के. प्रधान समर्थकहरू, हर्कबहादुर छेत्री दाजु, क्रामाकपा, गोर्खा लिग नेतृत्व तथा समाजका अग्रजहरू गरी करिब ५०–६० जना भेला हुनुभएको थियो।

त्यही सभामा मैले पहिलोपटक मदन तामाङ दाजुलाई प्रत्यक्ष भेटेँ।

पहिलो भेट : सिंहजस्तो व्यक्तित्व

मदन तामाङ दाजुको व्यक्तित्वले मलाई त्यही पहिलो भेटमै प्रभावित पाऱ्यो।

उहाँको बोलीमा स्पष्टता थियो। तर्कमा धार थियो। आत्मविश्वास थियो। उहाँ बोल्दा मानिसहरू ध्यान दिएर सुन्थे। मैले जीवनमा त्यतिबेलासम्म त्यस्तो प्रभावशाली व्यक्तित्वको धनी मानिस प्रत्यक्ष भेटेको थिइनँ।

हामी आयोजकहरूको सोच भने छुट्टै सङ्गठन बनाएर तत्कालीन राजनीतिक प्रभुत्वलाई चुनौती दिने थियो। तर जिएनएलएफका सी.के. प्रधानका समर्थकहरूमा छुट्टै किसिमको आक्रोश थियो। राजनीतिक रूपमा अनुभवी साथीहरूले भने- यी मानिसहरू भोलि फेरि जिएनएलएफ मै फर्कन सक्छन्, त्यसैले पहिले उनीहरूलाई औपचारिक रूपमा अलग हुने वातावरण बनाउनुपर्छ।

त्यो कुरा मलाई पनि तर्कसङ्गत लाग्यो।

त्यसपछि जिएनएलएफ-सी निर्माण गर्ने र त्यसपछि संयुक्त मञ्च बनाएर जिएनएलएफको राजनीतिक प्रभुत्वलाई चुनौती दिने निर्णयतर्फ सभा गयो।

मदन तामाङ दाजुलाई भने सभाको त्यो दिशा त्यति चित्त परेको रहेनछ।

सभा सकिएपछि हर्कबहादुर छेत्री दाजु, मदन तामाङ दाजु र म लालगल्लीको होटल चाइना गार्डेनमा खाजा खान गयौँ।

त्यहाँ मदन तामाङ दाजुले मेरो काँधमा हात राख्दै भन्नुभयो-

‘अजय भाइ, तिमीजस्ता दस जना युवाको साथ पाएँ भने छ महिनामा यो राजतन्त्र उखेलेर फ्याँक्न सक्छु।’

त्यो वाक्य आज पनि मेरो स्मृतिमा ताजा छ।

त्यसपछि जिएनएलएफ-सी बन्यो। सङ्गठनलाई खुट्टा टेकाउने क्रममा म आफैँ पनि त्यसको महासचिवको जिम्मेवारी सम्हाल्न बाध्य भएँ।

सङ्गठनात्मक रूपमा म मदन तामाङ दाजुसँग आबद्ध थिइनँ। तर सिक्ने जिज्ञासाका कारण व्यक्तिगत रूपमा उहाँसँग नजिकिँदै गएँ।

गुरुबाट सिक्ने मेरो प्रयास

म उहाँलाई भेट्न दुई–तीनपटक बिहान गएर बेलुकी फर्कने गरी पुगेँ।

मेरो मनमा उहाँबारे धेरै प्रश्न थिए। उहाँका समकालीन सहयात्री तथा राजनीतिक वृत्तबाट विभिन्न आरोपहरू लाग्थे- उहाँ छुच्चो हुनुहुन्छ, आफूलाई मात्र जान्ने ठान्नुहुन्छ, अरूलाई प्रयोग गरेर फालिदिनुहुन्छ, आफूलाई सिकाउने मानिस मन पराउनुहुन्न आदि।

कतिपयले उहाँको सरकारका उच्च तहका मानिसहरूसँग सम्पर्क रहेको आरोप पनि लगाउँथे।

म ती सबै प्रश्नहरूको सूची बनाउँथे र उहाँलाई सोध्ने गर्थेँ।

आश्चर्य के भयो भने उहाँ झर्किनुभएन। रिसाउनुभएन। प्रत्येक प्रश्नको जवाफ दिनुभयो। कुनै उत्तर मलाई चित्त बुझ्थ्यो, कुनै बुझ्दैनथ्यो। तर प्रश्न सोध्न नसकिने किसिमको वातावरण उहाँले बनाउनुभएन।

एकपटक मैले उहाँलाई जिडिएफ सम्बन्धमा लागेको आरोपबारे सोधेँ।

आरोप यस्तो थियो कि जिडिएफ निकै स्थापित भइसकेपछि उहाँले सरकारको निर्देशनमा योजनाबद्ध रूपमा सङ्गठनलाई लो प्रोफाइलमा लगेर समाप्त गर्नुभयो र त्यसबापत सरकारबाट ठेक्का तथा अन्य प्रलोभन प्राप्त गर्नुभयो।

उहाँको उत्तर थियो- कसले ठेक्का पायो भन्ने कुरा कागजपत्र खोज्दा थाहा पाइन्छ, तथ्यविनाका आरोपहरू सामान्य मानिसलाई झुक्याउने आरोप हुन्। उहाँले जिएनएलएफ र बङ्गाल सरकारबाट आफूलाई भौतिक रूपमा समाप्त गर्ने योजना थाहा पाएपछि आफू लो प्रोफाइलमा गएको बताउनुभयो।

त्यो उत्तर त्यतिबेला मलाई पूर्ण रूपमा चित्त बुझेको थिएन।

तर उहाँको हत्या भएपछि मैले मनमनै सोचेँ- उहाँले आफ्नो राजनीतिक जीवनमा खतरा रहेको कुरा पहिल्यै पनि गम्भीर रूपमा महसुस गर्नुभएको रहेछ।

२००४ : एउटा राजनीतिक मतभेद

२००४ को लोकसभा निर्वाचनअघि पिडिएफ गठनको प्रक्रियामा मदन तामाङ दाजु र मेरो गम्भीर मतभेद भयो।

मदन दाजुकै निवासमा भएको एउटा बैठकमा काङ्ग्रेस, क्रामाकपा, जिडिएफ र जिएनएलएफ-सीबाट कर्नल डी.के. प्रधान र म सहभागी थियौँ।

मदन दाजुको सोच पिपुल्स डेमोक्रेटिक प्रन्ट भन्ने नाम राख्ने थियो। मेरो अडान भने नाममा ‘गोर्खा’ शब्द जोडिनुपर्छ भन्ने थियो।

काङ्ग्रेस पक्षको मुख्य चिन्ता चुनाव जित्नु थियो। क्रामाकपाका साथीहरू मदन तामाङ दाजुसँग प्रत्यक्ष विवाद गर्न चाहँदैनथे। मदन दाजुको व्यक्तित्व पनि त्यस्तै थियो, उहाँको तर्क काट्न सजिलो थिएन।

अन्ततः जिएनएलएफ-सीको अडानलाई बेवास्ता गर्दै पिडिएफ नाम राखियो।

भोलिपल्ट पत्रिकाको पहिलो पृष्ठमा नाम देखियो।

तर मेरो मनमा एउटा प्रश्न रहिरह्यो- ’गोर्खा’ शब्द उच्चारण गर्नसमेत राजनीतिक रूपमा असहज मान्ने नेतृत्वले गोर्खाल्यान्ड आन्दोलनको नेतृत्व कसरी गर्छ?

त्यही प्रश्न लिएर कालेबुङको डम्बरचोकमा आयोजित पिडिएफको पहिलो जनसभामा मैले बोलेँ।

मेरो राजनीतिक अनुभव पनि त्यतिबेला काँचै थियो।

मैले प्रश्न उठाएँ- पिडिएफले गोर्खाल्यान्ड आन्दोलनको नेतृत्व गर्छ भन्ने ग्यारेन्टी के हो?  फेरि अर्को कुनै व्यवस्थाले हाम्रो सङ्घर्षलाई ढाकेर राख्दैन भन्ने ग्यारेन्टी के हो?

मदन दाजु भन्नुहुन्थ्यो- ‘Politics is an art.’

मैले भनेँ- ‘Politics is a science. त्यसैले Political Science भनिएको हो।’

मेरो पछाडि मदन दाजुले बोल्ने कार्यक्रम थियो। मैले उहाँलाई रिस उठाएछु भन्ने सुनेँ। म फर्कँदा उहाँ मञ्चमा हुनुहुन्नथ्यो। त्यसपछि हामी दुवै क्रमशः टाढिँदै गयौँ।

पछि मङ्पुमा सिन्कोना बगानसम्बन्धी सभामा भेट भयो  तर विशेष कुराकानी भएन।

दूरी बढ्यो, तर सम्मान घटेन

त्यसपछि हामीले २००४ मा यूजीआरएफ गठन गर्‍यौँ। पछि यूजीआरए बनाएर भूमिगत भयौँ।

हाम्रा केही शुभचिन्तक साथीहरू गोर्खा लिगमा थिए।

मदन तामाङ दाजुसँग भेट्नुपर्छ भन्ने साथीहरूको सुझाव आयो। विगतको अनुभवका कारण म त्यति उत्साहित थिइनँ। मैले उहाँ अझै छुच्चो हुनुहुन्छ होला भन्ने धारणा राखेँ।

साथीहरूले भने-

‘अहिले उहाँ उमेरले पनि नरम हुनुभएको छ।’

२००९ मा जस्तो लाग्छ, सिक्किमबाट गाडी रिजर्भ गरेर साँझ करिब आठ बजेतिर हामी उहाँको घर पुग्यौँ। साथीहरू उहाँलाई बोलाउन गए। केही विषयमा उहाँले झाप्नुभएछ। हामी त फर्कने तयारी गर्दै थियौँ। तर केहीबेरपछि उहाँ आफैँ आउनुभयो र भित्र बोलाउनुभयो।

‘खाना खायो?’ सोध्नुभयो।

हामीलाई भोक लागेको थियो। तर एकक्षणअघिको व्यवहार सम्झेर, अनुहार पनि नहेरी हामीले बाटोमै खाएर आएको भन्यौँ।

उहाँले अटिकमा लगेर सुत्ने व्यवस्था गरिदिनुभयो। स्लीपिङ ब्याग र सिरानी दिनुभयो।

हामी त्यहीँ सुत्यौँ।

भोलिपल्ट बिहान उहाँ मर्निङ वाकमा जानुभयो। फर्किएपछि हामीबीच कुराकानी भयो। उहाँले हामीलाई सरेन्डर गर्न सुझाव दिनुभयो।

‘म वकिल मिलाउँछु,’ भन्नुभयो।

तर हामीले अस्वीकार गर्‍यौँ।

हामीलाई त्यतिबेला जिजेएमले गोर्खाल्यान्ड आन्दोलनलाई सम्झौतामा साट्ने खतरा छ भन्ने लागिरहेको थियो। भूमिगत अवस्थामा पनि हामी, वैकल्पिक व्यवस्थाको समझौतामा हस्ताक्षर गरेर फर्कने दलालहरूको हात काट्नेछौँ भनेर, यो भिराउँने राजनीतिक नेक्ससलाई तोड्न रातिराति पर्चा वितरण गर्थ्यौँ।

हाम्रो तर्क थियो- हामी भूमिगत अवस्थामा रहनु नै दिल्ली वार्तामा जाने इमानदार पक्षका लागि बार्गेनिङ पोजिसन हुन सक्छ। टालटुले व्यवस्थामा सहमति गर्न खोज्नेहरूलाई पनि त्यसले दबाब दिन सक्छ।

हामीले उहाँलाई भन्यौँ-

‘दाजु, हामी मर्नकै लागि निस्केका हौँ। अब फर्कन मिल्दैन।’

उहाँले हामीलाई फेरि दबाब दिनुभएन। हामी विदा भएर फर्कियौँ। त्यसपछि मदन तामाङ दाजुसँग मेरो भेट भएन।

विश्वासको एउटा अनौठो पक्ष

भूमिगत अवस्थामा कसलाई भेट्ने, कसको घरमा खाने, कहाँ सुत्ने भन्ने कुरा जीवन–मृत्युको प्रश्न हुन सक्थ्यो।

जसलाई भेटियो, जसको घरमा खाइयो, उसैले पुलिस प्रशासनलाई सूचना दिएर फसाउन सक्थ्यो। तर मदन तामाङ दाजुको घरबाट फर्कँदा मेरो मनमा एउटा कुरा स्पष्ट थियो- यो मानिसले जे गर्छ, अगाडि गर्छ। पछाडिबाट षड्यन्त्र गर्छ भन्ने शङ्का उहाँप्रति कहिल्यै आएन।

हामीबीच राजनीतिक मतभेद थियो। दूरी पनि थियो। तर विश्वासको एउटा आधार बाँकी थियो।

त्यसपछि म १० फेब्रुअरी २०१० मा सिक्किममा पक्राउ परेँ।

अन्तिम भेट हुन नसकेको पीडा

२१ मे २०१० मा मदन तामाङ दाजुको हत्या हुँदा म रोंगे सेन्ट्रल जेलमा थिएँ। सुरक्षाको कारण केही दिनसम्म पत्रिका उपलब्ध भएन। पछि खबर थाहा पाएँ। म जेलमै हुँदा १८ जुलाई २०११ मा जिटिए सम्झौता भयो।

त्यो समय मेरो मनमा अर्को प्रश्न पनि उठ्यो। मेरो पक्राउको समयमा सिक्किमका एक पत्रकार, जो पछि राजनीतिमा पनि आउनुभयो- ले हामीलाई पक्राउ गर्न सफल भएजस्तो अर्थ लाग्ने कुरा भनेको मैले सुनेको थिएँ।

त्यसपछि कहिलेकाहीँ मेरो मनमा पनि प्रश्न उठ्यो- मेरो पक्राउ, मदन तामाङ दाजुको हत्या र त्यसपछिको जिटिए सम्झौताबीच कुनै प्रत्यक्ष वा परोक्ष राजनीतिक सम्बन्ध थियो कि?

जेलमा मेरो अधिकांश समय व्यायाम र ध्यानमा बित्थ्यो। पक्राउ परेँ भने जेलमै मर्छु भनेर म मानसिक रूपमा तयार थिएँ। एकजना पुलिस अधिकारीले ‘You will rot in the jail’ समेत भन्नुभएको थियो। बाहिर निस्कन्छु भन्ने आशा थिएन।

आर्थिक अवस्था पनि जेलमुक्त हुने स्थितिको थिएन।

भाग्यवश दुई राज्यमा दुईवटा मुद्दा रहेकाले कानुनी प्रक्रियाबाट एउटा राज्यको मुद्दा अर्को राज्यमा ट्रान्सफर गर्ने अवस्था बन्यो। एउटा मुद्दामा बेल पाएपछि अर्कोमा पनि बेलको बाटो खुल्यो।

त्यो कठिन समयमा साथीहरू र नाम लिन नमिल्ने राजनीतिक प्रतिपक्षका सहयात्रीहरूले समेत सहयोग गर्नुभयो। वकिलले विनापैसा केस लडिदिनुभयो।

त्यसपछि मैले मदन तामाङ दाजुलाई फेरि भेट्न सकिनँ।

सायद यही नै जीवनका केही अधुरा अध्यायमध्ये एउटा हो।

मैले देखेको मदन तामाङ

मदन तामाङ दाजु असाधारण व्यक्तित्वका धनी हुनुहुन्थ्यो। फलामे अनुशासन थियो। समयको अत्यन्त पाबन्द हुनुहुन्थ्यो। अध्ययन गर्नुहुन्थ्यो। कुनै विषयमा प्रमाण र एभिडेन्स बिना हतारमा निष्कर्ष निकाल्नुहुन्नथ्यो।

फिजुल खर्च गर्नुहुन्नथ्यो। उहाँबाट पैसा निकाल्नु सजिलो कुरा थिएन, तर आवश्यक ठाउँमा खर्च गर्न पनि हिचकिचाउनुहुन्नथ्यो।

उहाँको व्यक्तित्व र उपस्थिति नै यस्तो थियो कि सामान्य मानिसहरू उहाँको अगाडि असहज हुन्थे। उहाँको अगाडि धेरै विज्ञ र बुद्धिजीवीहरूको व्यक्तित्व पनि खुम्चिएजस्तो देखिन्थ्यो।

बैठकमा ढिलो आउनेलाई गेट आउट भन्न सक्नुहुन्थ्यो।

रक्सी खाने कार्यकर्तालाई रक्सी छोड्ने कि पार्टी छोड्ने भन्ने चेतावनी दिनुहुन्थ्यो। गुण्डागर्दी गर्ने, असामाजिक गतिविधिमा लागेका वा गैरकानुनी शक्ति प्रयोगलाई राजनीतिको साधन बनाउन खोज्नेहरू उहाँको अगाडि सहज महसुस गर्दैनथे।

तर विशेष योग्यता, कला र क्षमता भएका मानिसहरूलाई भने उहाँ आफ्नो सम्पर्कमा राख्न रुचाउनुहुन्थ्यो। उहाँभित्र प्रतिभाको सम्मान थियो।

मैले धेरै अग्रजहरूको भाषण सुनेको छु र केही अग्रजहरूसँग एउटै मञ्चबाट जनसम्बोधन पनि गरेको छु, सी.के. श्रेष्ठ सर, हर्कबहादुर छेत्री, आर.बी. राई सर, आर. मोक्तान, सुवास घिसिङलगायत।

सबैको शैली फरक थियो।

कसैको भाषण शिक्षाविद्को जस्तो लाग्थ्यो। कसैको मनोरञ्जनात्मक हुन्थ्यो। कसैको शैली जाति, माटो, अस्तित्व र वीरताबोध जगाउने ऊर्जावान् हुन्थ्यो। कसैको शैली यी सबैको मिश्रण हुन्थ्यो।

मदन तामाङको शैली भने आफ्नै किसिमको थियो, तर्क, तथ्य, स्पष्टता र आत्मविश्वासले भरिएको।

कतिपय समकालीन वक्ताहरू पनि मदन तामाङ दाजुसँग एउटै मञ्चबाट जनसम्बोधन गर्न हिचकिचाउँथे। युवा अवस्थामा उहाँलाई नाटक मञ्चन र गायनमा पनि रुचि थियो भन्ने मैले सुनेको छु।

उहाँको राजनीतिक यात्रा गोर्खा लिग, प्रान्त परिषद्, DGF हुँदै अन्ततः फेरि गोर्खा लिगसँग जोडिएको थियो।

२००२ मा मिजोरम गोर्खा युथ एसोसिएसनको अधिवेशनमा भारतीय गोर्खाहरूको एउटा छाता सङ्गठन हुनुपर्छ भन्ने प्रस्ताव उहाँले राख्नुभएको थियो भन्ने मैले सुनेको छु। त्यसै प्रक्रियाबाट नेश्नल गोर्खा फेडरेसन निर्माण भयो र पछि त्यसैको रूपान्तरण हुँदै भारतीय गोर्खा परिसङ्घजस्ता संरचनाहरू विकास भए। भारतीय गोर्खा परिसङ्घले आफूलाई अराजनैतिक राख्ने निर्णय गरेपछि मदन तामाङ राजनीतिक पार्टीसँग आबद्ध रहेका कारण त्यस संरचनाबाट अलग हुनुभएको थियो।

भुटानी गोर्खाहरूमाथि भएको विस्थापन र मानवअधिकार उल्लङ्घनको विषयमा पनि उहाँले खुलेर समर्थन गर्नुभएको र भुटानी शरणार्थी विद्यार्थीहरूलाई उच्च शिक्षा प्राप्त गर्न आर्थिक सहयोग गर्ने गरेको मैले सुनेको छु।

यी सबै पक्षलाई जोडेर हेर्दा मदन तामाङ केवल स्थानीय राजनीतिक वक्ता मात्र हुनुहुन्थ्यो भन्ने मेरो बुझाइ छैन। उहाँको राजनीतिक दृष्टिकोण क्षेत्रीय सीमाभन्दा बाहिर भारतीय गोर्खाहरूका प्रश्नसम्म फैलिएको थियो।

साधारण व्यक्तित्व, तर अधुरो सङ्गठन

यति प्रखर वक्ता, इमानदार, साहसी, अनुशासित, अध्ययनशील र राजनीतिक दाउपेच बुझ्ने नेता हुँदाहुँदै उहाँले आफ्नो व्यक्तित्वको उचाइ बराबरको जनसङ्गठन किन निर्माण गर्न सक्नुभएन?

मेरो बुझाइमा यसको एउटा उत्तर उहाँको व्यक्तित्वभित्रै लुकेको थियो।

मदन तामाङ प्रखर वक्ता हुनुहुन्थ्यो। तर राम्रो वक्ता हुनु र दीर्घकालीन जनआधार निर्माण गर्नु फरक कुरा हो।

जनआधार बनाउन कार्यकर्तासँग व्यक्तिगत सम्बन्ध चाहिन्छ। कमजोर कार्यकर्तालाई उठाउने धैर्य चाहिन्छ। गाउँ–टोलमा सङ्गठन निर्माण गर्नुपर्छ। आफूभन्दा फरक सोच्ने मानिसलाई पनि साथमा राख्ने क्षमता चाहिन्छ। यी कुरामा उहाँले पर्याप्त पहल गर्नुभएन।

मेरो अवलोकनमा यी पक्ष उहाँको राजनीतिक व्यक्तित्वको तुलनामा कमजोर रहे।

उहाँका सहायक र अधीनस्थ नेतृत्वका केही मानिसहरू पनि मदन तामाङकै वरिपरि केन्द्रित रहे। उहाँको व्यक्तित्वकै वरिपरि सङ्गठन घुमिबस्यो। कमान र बस्तीमा गएर स्वतन्त्र सङ्गठनात्मक नेतृत्व निर्माण गर्ने काम पर्याप्त भएन।

यसको एउटा गम्भीर परिणाम के भयो भने-मदन तामाङ जहाँ हुनुहुन्थ्यो, त्यहाँ राजनीतिक ऊर्जा हुन्थ्यो, तर उहाँ अनुपस्थित भएपछि त्यो ऊर्जा पनि कमजोर हुन्थ्यो।

नेतृत्वको व्यक्तित्व संस्थाभन्दा ठूलो हुनु हुँदैन। संस्था नेताभन्दा ठूलो हुनुपर्छ। नेताको अनुपस्थितिमा संस्था चलिरहन सक्ने गरी दोस्रो र तेस्रो पुस्ताको नेतृत्व तयार गर्नुपर्छ। मेरो विचारमा मदन तामाङको राजनीतिक जीवनको एउटा ठूलो अधुरोपन यही थियो।

उहाँको हत्यापछि उत्पन्न राजनीतिक आक्रोश र भावनालाई दीर्घकालीन राजनीतिक शक्तिमा रूपान्तरण गर्न सक्ने पर्याप्त संस्थागत दोस्रो पंक्ति निर्माण नभएको अनुभूति हुन्छ।

यो उहाँको व्यक्तिगत कमजोरी मात्र होइन। उहाँ वरिपरि रहेका हामी सबैका लागि पनि यो एउटा गम्भीर राजनीतिक पाठ हो।

असहमतिको ठाउँ

मदन तामाङ दाजुबाट मैले धेरै कुरा सिकेँ।

तर मेरो अवलोकनमा उहाँलाई उहाँको गल्ती देखाउने, उहाँसँग गम्भीर असहमति राख्ने वा उहाँलाई संशोधन गर्न खोज्ने मानिससँग दीर्घकालीन सहज सम्बन्ध बनाउन कठिनाइ थियो। एकपटक नजिक भएको मानिस कुनै कारणले टाढियो भने फेरि उही आत्मीयताको ठाउँमा फर्कन कठिन हुन्थ्यो।

नेतृत्वलाई केवल प्रशंसा गर्ने मानिस मात्र चाहिँदैन। गल्ती देखाउने मानिस पनि चाहिन्छ। नेताले आफ्नै विचारसँग असहमत हुने मानिसलाई नजिक राख्न सक्नुपर्छ।

मदन तामाङको व्यक्तित्वमा प्रश्न सोध्ने ठाउँ थियो- मैले स्वयं उहाँलाई धेरै असहज प्रश्न सोधेको छु। तर दीर्घकालीन सङ्गठनात्मक संस्कृतिमा आलोचना र असहमतिको संस्थागत ठाउँ कति थियो भन्ने प्रश्न भने म अझै उठाउँछु।

बौद्धिक दूरी र भावनात्मक दूरी

मदन तामाङ दाजुसँग ज्ञान बाँड्न सकिन्थ्यो। तर्क गर्न सकिन्थ्यो। राजनीति सिक्न सकिन्थ्यो। तर मनको कुरा साटासाट गर्ने, भावनात्मक रूपमा दोहोरो सम्बन्ध बनाउने ठाउँमा उहाँसम्म पुग्न धेरै मानिसलाई कठिन पर्थ्यो भन्ने मेरो अनुभव हो।

समाजका तल्लो तहका मानिसहरूसँग भुइँमा पलेँटी मारेर बस्ने, सँगै खाने, सँगै गीत गाउने, दुःखसुखका साधारण कुरा गर्ने र त्यही माध्यमबाट भावनात्मक सम्बन्ध बनाउने शैली उहाँमा पर्याप्त थिएन भन्ने मलाई लाग्छ।

यो सानो कुरा जस्तो देखिए पनि राजनीति केवल विचारबाट चल्दैन।

मानिसहरू विचारसँग सहमत भएर मात्र कार्यकर्ता बन्दैनन्। उनीहरू भावनात्मक नजिकपनबाट पनि राजनीतिक रूपमा जोडिन्छन्। मदन तामाङ दाजुको अर्को सीमा यहाँ थियो भन्ने मेरो बुझाइ छ।

तर यो पनि सम्झनुपर्छ- उहाँको कठोरता र दूरीको अर्को पक्ष अनुशासन र राजनीतिक स्पष्टता पनि थियो। एउटै गुण फरक परिस्थितिमा शक्ति पनि बन्न सक्छ र सीमा पनि।

साहस र जोखिमबीचको सीमा

मदन तामाङ दाजु ध्रुवीकृत राजनीतिक वातावरणमा शक्तिशाली प्रतिद्वन्द्वीहरूसँग खुलेर सङ्घर्ष गर्नुहुन्थ्यो। त्यो साहस पनि थियो। तर कतिपय अवस्थामा त्यो रणनीतिक जोखिम पनि बन्न सक्थ्यो। एकपटक बेनजीर भुट्टोको हत्या भएको समाचार हेर्दै उहाँले भन्नुभएको थियो- ‘What a glorified death.’

त्यो वाक्य मैले बिर्सेको छैन। उहाँको अन्त्य सम्झँदा त्यो वाक्य मेरो मनमा अझ गहिरो भएर आउँछ। तर उहाँको हत्या भएको घटनालाई उहाँकै कुनै अघिल्लो भनाइसँग जोडेर उहाँले जानाजान त्यस्तो अन्त्य रोज्नुभएको थियो भन्ने निष्कर्ष निकाल्नु उचित हुँदैन।

बरु उहाँको राजनीतिक स्वभावमा जोखिमबाट पछि हट्नुभन्दा जोखिम स्वीकार गरेर मैदानमा उभिने प्रवृत्ति थियो भन्ने मेरो अनुभव हो। राजनीति केवल साहसको खेल होइन।

साहसलाई रणनीति चाहिन्छ।

अघि जाने साहससँगै कहिले पछाडि हट्ने, कहिले मौन रहने, कहिले अर्को बाटोबाट जाने र कहिले समय पर्खने कार्यनीतिक क्षमता पनि चाहिन्छ।

मेरो बुझाइमा मदन तामाङ दाजुको साहस कहिलेकाहीँ रणनीतिक र कार्यनीतिक लचकताको अभावमा दुस्साहसको सीमासम्म पुगेको हुन सक्छ।

यो उहाँको साहसलाई कम आँक्नु होइन। बरु साहसको पनि एउटा राजनीतिक अनुशासन हुन्छ भन्ने पाठ हो।

अध्ययन धेरै, लेखन कम

मदन तामाङ दाजु किताबहरू सङ्कलन गर्ने र निरन्तर अध्ययन गर्ने व्यक्ति हुनुहुन्थ्यो। त्यही अध्ययनले उहाँलाई राम्रो वक्ता र विश्लेषक बनाएको थियो। तर लेखनमा भने उहाँले त्यति रुचि देखाउनुभएन।

उहाँले आफ्नो विचारलाई कुनै ठूलो लिखित कृतिका रूपमा छोड्नुभएन। यसको परिणाम आज हामीले महसुस गर्न सक्छौँ। भविष्यका नेतृत्वले मदन तामाङ दाजु वास्तवमा कस्तो वैचारिक धरातलमा उभिनुभएको थियो, उहाँको राजनीतिक विचारको गहिराइ कति थियो, उहाँका अवधारणाहरू कसरी विकसित भए भन्ने बुझ्न आज धेरै हदसम्म उहाँका भाषण, भिडियो र सार्वजनिक अभिव्यक्तिमै निर्भर हुनुपर्छ। एउटा ठूलो राजनीतिक व्यक्तित्वको विचार केवल स्मृतिमा मात्र बाँच्नु हुँदैन।

लेखिनुपर्छ।

दस्तावेज बन्नुपर्छ।

आफ्ना विचारसँग असहमत हुने मानिसले पनि पढेर बुझ्न सक्ने गरी विचार छोड्नुपर्छ।

मदन तामाङको यो पक्षबाट पनि आजको पुस्ताले सिक्न सक्छ।

जातीय सङ्गठनबारे उहाँको दृष्टिकोण

मदन तामाङ दाजु कुनै एउटा तामाङ सङ्गठनसँग कहिल्यै आबद्ध हुनुभएन भन्ने मैले बुझेको छु।

उहाँको धारणा थियो- जातजातका छुट्टाछुट्टै सङ्गठनले गोर्खा समाजलाई विभाजन गर्न सक्छन् र पहाडलाई विभाजन गरेर राजनीतिक दुरुपयोग गर्ने ठाउँ सिर्जना गर्न सक्छन्।

यो विचारसँग सबै सहमत हुन्छन् भन्ने छैन।

तर उहाँको राजनीतिक दृष्टिकोण बुझ्नका लागि यो महत्त्वपूर्ण पक्ष हो। उहाँको प्राथमिकता जातीय पहिचानलाई अलग–अलग सङ्गठनमा विभाजन गर्नु होइन, व्यापक गोर्खा राजनीतिक एकताको प्रश्नमा केन्द्रित गर्नु थियो भन्ने मेरो बुझाइ हो। उहाँलाई सभामा बोलाउन गाडीको पैसा दिनुपर्ने बाध्यता थिएन। कतिपय ठाउँमा मानिसहरू उहाँको सभा सुन्नकै लागि आफ्नै खर्चमा खाजा बोकेर आउने गर्थे भन्ने मैले सुनेको-देखेको छु।

त्यसले एउटा कुरा देखाउँछ-उहाँको व्यक्तित्वले मानिसहरूमा प्रभाव पार्थ्यो।

तर व्यक्तिगत आकर्षणलाई दीर्घकालीन सङ्गठनमा रूपान्तरण गर्ने काम अलग विषय हो।

मैले मदन तामाङबाट के सिकेँ?

मेरा धेरै राजनीतिक गुरुहरू छन्। उहाँहरूमध्ये मदन तामाङ दाजु पनि एक हुनुहुन्छ। उहाँबाट मैले स्वास्थ्यप्रति सचेत रहन सिकेँ। अनुशासन सिकेँ। समयपालन सिकेँ। अध्ययन गर्न सिकेँ। प्रमाण र एभिडेन्सको आधारमा तर्क गर्न सिकेँ। भ्रष्टाचारबाट टाढा रहन सिकेँ। राजनीतिमा व्यक्तिगत इमानदारीको मूल्य बुझेँ। असामाजिक तत्त्वबाट टाढा रहने र गैरकानुनी शक्तिको प्रयोगलाई राजनीतिको साधन नबनाउने दृढता सिकेँ। उहाँको व्यक्तित्व धेरै प्रभावशाली थियो।

तर एउटा रोचक कुरा के थियो भने प्रायः सबैले उहाँलाई ‘दाजु’ भनेर सम्बोधन गरेको मैले सुनेँ। कसैले ‘सर’ भनेर सम्बोधन गरेको मैले कमै सुनेँ। सायद त्यसमा उहाँसँगको सम्बन्धको एउटा विशेषता थियो।

उहाँ शिक्षकजस्तो हुनुहुन्थ्यो, तर आफूलाई शिक्षक भनेर स्थापित गर्नुभन्दा दाजुका रूपमा स्वीकार गरिनुहुन्थ्यो। तर उहाँसँग मेरो सम्बन्ध मेरा केही अन्य गुरुहरूसँग जस्तो गहिरो पारिवारिक वा भावनात्मक बन्न सकेन। उहाँबाट सिक्न सकिन्थ्यो, तर उहाँसँग मन खोल्न सबैलाई सजिलो थिएन।

यही विरोधाभास नै सायद मदन तामाङको व्यक्तित्व बुझ्ने एउटा महत्त्वपूर्ण चाबी हो।

आजका युवाले के सिक्ने?

मदन तामाङको जीवनबाट मैले सिकेको सबैभन्दा ठूलो कुरा के हो भने मुक्ति सङ्ग्राम वा ठूलो राजनीतिक आन्दोलनको नेतृत्व गर्न केवल राम्रो वक्ता भएर पुग्दैन। अध्ययन चाहिन्छ। अनुशासन चाहिन्छ। इमानदारी चाहिन्छ। समयपालन चाहिन्छ। तथ्यमा आधारित तर्क चाहिन्छ। विचारमा दृढता चाहिन्छ। साहस चाहिन्छ। तर त्यति मात्र पर्याप्त छैन, मानिसको मन बुझ्नुपर्छ।

आफूभन्दा फरक विचार राख्ने मानिसलाई पनि सुन्न सक्नुपर्छ। आलोचकलाई शत्रु ठान्नु हुँदैन। सङ्गठनलाई आफ्नो व्यक्तित्वभन्दा ठूलो बनाउनुपर्छ। आफू मरेपछि पनि आन्दोलन चलिरहने दोस्रो र तेस्रो पुस्ताको नेतृत्व निर्माण गर्नुपर्छ। साधारण मानिससँग साधारण भएर बस्न सिक्नुपर्छ। जनताको दैनिक दुःख, आवश्यकता र आकांक्षासँग जोडिनुपर्छ।

ठूलो राजनीतिक मुद्दालाई गाउँको जीवनसँग जोड्न सक्नुपर्छ।

गरिबको घरको चुल्हो, युवाको रोजगारी, परिवारको शिक्षा, बिरामीको उपचार र किसानको जीवनसँग राजनीतिक विचार जोडिनुपर्छ। मानिसलाई केवल नाराले लामो समयसम्म आन्दोलनमा राख्न सकिँदैन। उनीहरूको जीवनसँग जोडिएको आशा निर्माण गर्नुपर्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा-

आफूले नेतृत्व गरेको आन्दोलन आफू मरेपछि पनि चलिरहने संस्था बनाउन सक्नुपर्छ। नेताको लोकप्रियता क्षणिक हुन सक्छ। नेताको भाषण स्मृतिमा हराउन सक्छ। नेताको मृत्यु हुन सक्छ। तर संस्था बाँच्यो भने विचार बाँच्न सक्छ।

संस्था कमजोर भयो भने ठूलोभन्दा ठूलो व्यक्तित्व पनि इतिहासको एउटा अध्यायमा सीमित हुन सक्छ।

मदन तामाङको हत्या : एउटा व्यक्तिगत र राजनीतिक क्षति

मदन तामाङ दाजुको हत्या केवल मेरो व्यक्तिगत स्मृतिको घटना होइन। उहाँको हत्या भएको समयको राजनीतिक वातावरण, त्यसअघि र त्यसपछि भएका घटनाहरू र त्यसले समाजमा पारेको प्रभावलाई अलग गरेर हेर्न सकिँदैन।

तर यस्ता घटनाको मूल्याङ्कन गर्दा भावनाभन्दा प्रमाण बलियो हुनुपर्छ।

कसैको हत्या कसले गऱ्यो, त्यसको राजनीतिक पृष्ठभूमि के थियो, त्यसमा कुन–कुन शक्तिको भूमिका थियो, त्यसपछि राजनीतिक घटनाक्रम कसरी अगाडि बढ्यो, यी सबै प्रश्नका उत्तर दस्तावेज, अनुसन्धान र प्रमाणबाट खोजिनुपर्छ।

मसँग रहेका व्यक्तिगत अनुभवले ती सबै प्रश्नको उत्तर दिन सक्दैनन्।

तर एउटा कुरा म निश्चित रूपमा भन्न सक्छु-

मदन तामाङको हत्या भएपछि मैले मेरो समाजको एउटा ठूलो सम्भावना गुमेको महसुस गरेँ। मेरो जातिको एउटा प्रमुख स्तम्भ ढलेको अनुभूति भयो।

म पनि टुहुरो भएजस्तो लाग्यो। उहाँसँग मेरो राजनीतिक मतभेद थियो, तर मतभेदले सम्मान समाप्त गरेको थिएन।

एउटा अधुरो विरासत

आज धेरै वर्षपछि पछाडि फर्केर हेर्दा मलाई लाग्छ, मदन तामाङ दाजुको सबैभन्दा ठूलो विरासत उहाँले छोडेको कुनै पद होइन। कुनै चुनावी परिणाम मात्र होइन। कुनै लिखित कृति पनि होइन। उहाँको विरासत उहाँले देखाएको एउटा राजनीतिक सम्भावना हो।

त्यो सम्भावना थियो-

राजनीतिमा इमानदार, अनुशासित, अध्ययनशील र निर्भीक भएर पनि उभिन सकिन्छ। उहाँका उज्याला पक्षबाट मैले अनुशासन, अध्ययन, इमानदारी र साहस सिकेको छु। उहाँका सीमाबाट नेतृत्वमा आत्मसमीक्षा, सामूहिकता, भावनात्मक सम्बन्ध, जनआधार र रणनीतिक धैर्यको महत्त्व सिकेको छु। यही कारणले उहाँको स्मृति मेरो लागि केवल श्रद्धाको विषय होइन।

यो आत्मसमीक्षाको विषय पनि हो। उहाँलाई सम्झनु भनेको उहाँका सबै कुरा सही थिए भन्नु होइन। उहाँको आलोचना गर्नु भनेको उहाँको योगदान अस्वीकार गर्नु पनि होइन। एउटा राजनीतिक व्यक्तित्वलाई पूर्ण मानिसका रूपमा हेर्न सक्नु नै सायद उहाँप्रतिको इमानदार सम्मान हो।

अन्तिम सम्झना

मदन तामाङ दाजुसँग मेरो राजनीतिक सम्बन्ध सधैँ सरल थिएन। हामीबीच सहमति थियो। असहमति पनि थियो। नजिकियौँ। टाढियौँ। उहाँबाट सिकेँ। उहाँका केही शैलीसँग असहमत पनि भएँ। तर आज पछाडि फर्केर हेर्दा एउटा कुरा भने स्पष्ट देख्छु- उहाँसँग मेरो सम्बन्धले मलाई नेतृत्वको शक्ति र नेतृत्वको सीमा दुवै बुझ्न सिकायो। उहाँको व्यक्तित्वबाट मैले सिकेँ कि राजनीतिक जीवनमा व्यक्तिगत इमानदारी सम्भव छ। अध्ययन र तथ्यलाई राजनीतिसँग जोड्न सकिन्छ। अनुशासनलाई जीवनशैली बनाउन सकिन्छ। शक्तिशाली प्रतिद्वन्द्वीको अगाडि पनि निर्भीक भएर उभिन सकिन्छ।

तर उहाँकै जीवनले अर्को पाठ पनि दियो-

व्यक्तित्वभन्दा ठूलो संस्था निर्माण गर्नुपर्छ। आफूभन्दा फरक मानिसलाई पनि साथमा राख्नुपर्छ। आलोचना सहन सक्नुपर्छ। जनताको भावनासँग जोडिनुपर्छ। साहससँगै रणनीति चाहिन्छ। र आफू नभए पनि चलिरहने नेतृत्व तयार गर्नुपर्छ।

सायद यही नै मदन तामाङ दाजुको जीवनको सबैभन्दा ठूलो पाठ हो। मदन तामाङ दाजु, विकट परिस्थितिमा निडर भएर आँधीतुफानको सामना गर्ने तपाईंको व्यक्तित्व मेरो मानसपटलमा सधैँ जीवित रहनेछ।

तपाईंका उज्याला पक्षबाट मैले धेरै कुरा सिकेको छु।

तपाईंका सीमाबाट पनि उत्तिकै महत्त्वपूर्ण कुरा सिकेको छु।

र तपाईंको अनुपस्थितिले एउटा प्रश्न सधैँ बाँकी राखेको छ-

यदि एउटा असाधारण व्यक्तित्वले आफ्नो बराबरको संस्था पनि निर्माण गर्न सकेको भए, हाम्रो राजनीतिक इतिहास कति फरक हुन सक्थ्यो?

यस प्रश्नको उत्तर मसँग छैन।

सायद इतिहाससँग पनि छैन।

तर आजका युवाले त्यसको उत्तर खोज्नुपर्छ।

नेताको पूजा गरेर होइन, नेताको आलोचना मात्र गरेर पनि होइन। उहाँको उज्यालोबाट सिकेर, उहाँका सीमाबाट सचेत भएर, उहाँभन्दा बलियो संस्था निर्माण गरेर। सायद यही नै उहाँप्रतिको मेरो सानो श्रद्धाञ्जलि।

4 Responses

  1. मलाई तिमी कसरी अछूत बनाउन सक्छौ, छुत मान्छे?
    त्यो इतिहासको कठघरामा उभिने आँट गर, कि आफूलाई बदल्ने साहस गर।
    आँखा जुधाउने आँट गर, पुजारी।
    म २१औँ शताब्दीको अछूत हुँ।
    म गोल भूगोलको एउटा गाउँ — गोरो अफ्रिका हुँ।
    म अपमानित इतिहासको हिसाब चाहन्छु।
    म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु।

  2. दक्षिण एशियामा बाहुन, दक्षिण एशियामा क्षेत्री आज दुःख पाएर हैरान भएका छन्।
    खाडी मुलुकमा गएर हैरान भएका छन्।
    दक्षिण एशियाका बाहुन अरूले नमस्कार गर्दै–गर्दै भिखारीमा परिणत भएका छन्।
    भिखारी जस्तो भनेको हो विदेश गएर पैसा माग्ने।
    उससित बेच्नका लागि मन्त्र बाहेक केही छैन।
    मन्त्र कतै बिक्दैन।
    विज्ञान–प्रविधि पनि छैन, उत्पादन पनि छैन।
    यता मन्त्रहरू छन्, यता राम र कृष्णका कथाहरू छन्,
    तर त्यो अरू कतै बिक्दैन।
    भिखारी भयो दक्षिण एशियाको शासक।
    भिखारी भयो दक्षिण एशियाको सम्मानित बाहुन।
    त्यसलाई पनि मुक्त गर्न दलितहरू आउनुपर्‍यो।
    जसरी सिंगै विश्वमा श्रमिकहरू आएपछि मात्र मध्यम वर्गका प्रोफेसरहरूको पनि मुक्ति हुन्छ।
    त्यसरी नै नेपाल र भारतमा सबैभन्दा तल राखिएका दलितहरू क्रान्तिकारी भएर आएपछि मात्र
    ३००० वर्षदेखि नमस्कार खाएर कंगाल हुन पुगेका बाहुनहरूको पनि मुक्ति हुन्छ।

  3. When Aryans and Dravidians had already merged as one society, the so-called leaders of the Vedic civilization imposed the theory of blood purity. This poisonous ideology created the caste system and shattered social unity. Like villains in history, they scarred Indian civilization, and their legacy of division continues to haunt us even today.

    हाम्रो समूहको मुख्य विचारधारा नेपाली समाजबाट जातीय विभेद अन्त्य गर्नु हो। जातीय व्यवस्था विशेषगरी नेवार र खास आर्यन समुदायभित्र गहिरो रूपमा जरा गाडिएको छ। यो विभेदले सामाजिक एकता भङ्ग गर्छ र प्रगतिमा बाधा पुर्‍याउँछ। हामी समानता, सम्मान र न्यायमा आधारित समावेशी नेपाली समाज निर्माण गर्न प्रतिबद्ध छौँ।

  4. नेपाली समाजमा धेरै जातिहरू छन्, तर कुनै पनि समुदायमा उच-नीच वा ठूलो-सानो भन्ने भेदभाव छैन,
    सबैमा समानताको अवधारणा छ।

    तर किन नेवार र खस आर्यहरूबीच गम्भीर जात व्यवस्था छ ?

    हाम्रो उद्देश्य यी दुई समुदायमा पनि अन्य नेपालीहरूजस्तै समानताको अवधारणा ल्याउनु हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ