अक्टोबर 16, 2026 | 3:27 बेलुका

कोष्ठकभित्रको कवि अर्थात एन कार्सन

१५ वर्षकी किशोर उमेर। यो उमेरमा मानिस अल्लारे बन्छन्। जीवनको ध्येय अर्कै अर्कै हुन्छ। १९६५ मा ह्यामिल्टन, अन्टारियो सहरको एउटा शपिङ मलमा तिनी भने किताब पल्टाइरहेकी थिइन्। एकापट्टि प्राचीन ग्रीक अक्षर, अर्कोपट्टि अङ्ग्रेजी अनुवाद।

किताब थियो विल्स वार्नस्टोनले सम्पादन र अनुवाद गरेको द्विभाषिक पुस्तक – कवि साफोको। तिनलाई ग्रीक अक्षरको रूप नै आकर्षक लाग्यो। त्यतिबेला तिनी आफैं ग्रीक जान्दिनथिन्। तर त्यो किताब समातेपछि तिनीभित्र साहित्यको भूत सऱ्यो। त्यो भूतले यस्तो वर्तमानमा उभ्याइदियो, अहिले तिनको हातमा नोबेल छ। १९६५ मा ह्यामिल्टन, अन्टारियो सहरको एउटा शपिङ मलमा साफोको किताब पल्टाइरहेकी किशोरी ७६ वर्षकी भइसकेकी छन्।

तिनी हुन्, एन कार्सन।

१९५० मा जन्मिइन्, टोरन्टोमा। पिता व्याङ्कमा काम गर्थे। त्यसैले तिनको बाल्यकाल धेरै साना क्यानडाली सहरमा नै बित्यो। हाइस्कूलमा ल्याटिन पढाउने शिक्षिका एलिस कोवानले उनलाई प्राचीन ग्रीक सिकाउन थालिन्। कलेजको पढाइ उनले दुईपटक छाडिन्। केही समय ग्राफिक आर्टमा पनि लागिन्। अन्ततः पढाइमा फर्किइन्। टोरन्टो विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि गरिन्। पछि स्कटल्यान्डको सेन्ट एन्ड्र्युजमा पनि ग्रीक छन्दको अध्ययन गरिन्।

यसबीच जे जे गरिन्, त्यसमा एउटा कुरा साझा थियो- शब्द।

त्यही शब्दसँगको सङ्गत लत बन्यो। लतले कवि बनायो।

नोबेल समितिले अहिले उनको सम्पूर्ण लेखनलाई भाषाशास्त्रीको ‘शब्दप्रतिको सनक’ र कविको ‘नयाँ अर्थप्रतिको चाहना’-को भेट भएको ठाउँ मानेको छ। कार्सनले आफ्नो कामको सुरुवात बिन्दु नै शब्दको व्युत्पत्ति भएको बताएकी छन्।

कार्सनका लागि शब्द आफूभित्र अनेकौं रहस्य बोकेर उभिएको सङ्ग्रहालयजस्तो हो। शब्द खोल्नु भनेको त्यो सङ्ग्रहालयको ताला खोल्नु हो। जहाँ पुगेपछि अर्को संसार भेटिन्छ।

अन्टारियोको एउटा शपिङ मलमा तिनले जुन कविको किताब समातेकी थिइन्, साफोको, तिनी करिब २,६०० वर्षअघि ग्रीसको लेस्बोस टापुमा बस्ने कवि थिइन्। साफोका कविता प्रेम, चाहना, विरह, सौन्दर्य र तड्पनका कविता थिए, तर साफोको एउटा ठूलो दुर्भाग्य पनि छ। उनले धेरै कविता त लेखिन्, प्राचीन समयमा उनका कविताहरू पुस्तकका रूपमा पनि पढिन्थे। तर समय बित्दै जाँदा उनका अधिकांश रचना हराए। उनका धेरै कविता पूरा अवस्थामा थिएन।

कुनै पुरानो पापिरस (कागज) मा एक टुक्रा हरफ भेटिन्थ्यो। कुनैमा दुई लाइन। कुनैमा आधा शब्द। कुनैमा एउटा वाक्यको सुरुआत छ, अन्त्य छैन। कहिलेकाहीँ त पापिरसको टुक्रा हुलाक टिकटभन्दा पनि साना हुन्थे।

कल्पना गर्नुस्, बोजुको पुरानो चिठी भेटियो। दुई शब्द पढ्न मिल्छ। बीचको लाइन गायब छ। अन्त्यमा नाम मात्र बाँकी। साफोका कविता त्यसैगरी भेटिन्थे। तर यही अधुरोपनले कार्सनलाई अझ तान्यो। उनले साफोलाई पढेर मात्र छाडिनन्। पछि उनले साफोका बाँकी रहेका कविताका टुक्राहरू आफैं अनुवाद गर्न थालिन्।

सन् २००२ मा उनको एउटा महत्त्वपूर्ण किताब प्रकाशित भयो- If Not, Winter : Fragments of Sappho।

त्यो साफोको कविता सङ्ग्रह होइन, त्यो कार्सनले साफोका बाँकी रहेका टुक्राहरूलाई अङ्ग्रेजीमा उतारेको पुस्तक हो। जहाँ एउटा पानामा प्राचीन ग्रीक, अर्कोतिर कार्सनको अङ्ग्रेजी अनुवाद छ। ठ्याक्क विल्स वार्नस्टोनले अनुवाद गरेको र कार्सनले १५ वर्षकी हुँदा अन्टारियो सहरको एउटा शपिङ मलको किताब दोकानमा भेटेजस्तो।

तर यहाँ एउटा अचम्मको कुरा छ।

जहाँ साफोको मूल पाण्डुलिपि च्यातिएको छ, जहाँ शब्द हराएको छ, जहाँ केही पढ्न सकिँदैन, कार्सनले आफ्नै अनुमानले त्यो खाली ठाउँ भरेकी छैनन्। उनले त्यहीँ [ ] राखिन्। कोष्ठक। यसको अर्थ हुन्थ्यो- यहाँ केही त छुटेको छ। तर के छुटेको छ? थाहा छैन।

अर्थात् उनले अनुवाद गर्दा साफोको मौनतालाई पनि अनुवाद गरिन्। यो सामान्य कुरा होइन। अनुवादकले चाह्यो भने वाक्य पूरा गर्न सक्छ। अनुमान गर्न सक्छ। हराएको शब्दको ठाउँमा मिल्दोजुल्दो शब्द राख्न सक्छ। पाठकलाई कथा पूरा भएको अनुभूति दिन सक्छ, तर कार्सनले त्यसो गरिनन्। उनले पाठकलाई अधुरै छोडिन्। जसरी मूल पनि अधुरो थियो। उनका लागि त्यो अधुरोपन कमजोरी थिएन, त्यो नै साफोको कविताको एउटा हिस्सा थियो।

कार्सनको विचारमा कोष्ठक रोमाञ्चक हुन्छ। किनभने खाली ठाउँले पाठकलाई कल्पना गर्ने ठाउँ दिन्छ। त्यहाँ के लेखिएको होला? कुन शब्द छुट्यो? कसको नाम थियो? कस्तो भावना थियो? पाठकले आफैं सोच्न थाल्छ। अर्थात् हराएको शब्द पनि पाठको हिस्सा बन्यो। यही कारण कार्सन र साफोको सम्बन्ध केवल एक कविले अर्को कविको कविता पढेको सम्बन्ध होइन, साफोले कार्सनलाई भाषा सिकाइन्। कार्सनले फेरि साफोको आवाजलाई आजको भाषामा ल्याइन्, तर आवाज ल्याउँदा उनले मौनता हटाइनन्। मौनता पनि साथमै ल्याइन्। यहीँबाट कार्सनको आफ्नै साहित्य बुझ्न सकिन्छ। तिनी पुरानो कुरालाई आजमा ल्याउँछिन्, तर त्यसलाई पूरै आफ्नो बनाउँदिनन्। बीचमा एउटा खाली ठाउँ छोड्छिन्। त्यो खाली ठाउँमा पाठक पस्छ।

साफोको कविता पढेपछि कार्सनको साहित्यिक जीवनमा ग्रीक मिथक र प्राचीन साहित्य अझ गहिरो भएर आयो। उनको लेखनमा हजारौं वर्ष पुराना मानिसहरू आजका मानिससँग कुरा गर्न थाले। प्राचीन ग्रीसको प्रेम आजको प्रेमसँग जोडियो। पुरानो शोक आजको शोकसँग जोडियो। पुरानो एक्लोपन आजको एक्लोपनसँग जोडियो। यही कारण कार्सनका लागि पुरानो साहित्य कहिल्यै पुरानो भएन।

उनको सबैभन्दा चर्चित किताब Autobiography of Red सन् १९९८ मा आयो।

ग्रीक कथामा गेरियोन नामको पखेटा भएको रातो राक्षस हुन्छ। कार्सनले त्यसलाई आजको समयको एउटा संवेदनशील, एक्लो र प्रेममा परेको किशोरको रूपमा कायाकल्प गरिन्। राक्षस देखिने मान्छेभित्र पनि कोमल मन हुन सक्छ, कथाको सार त्यही हो। तर किताबलाई ठ्याक्कै उपन्यास मात्र भन्न सकिँदैन। त्यो कविता पनि हो, मिथक पनि हो। प्रेमकथा पनि हो। आफूलाई खोजिरहेको एउटा किशोरको कथा पनि हो।

गेरियोन क्यामेरा बोकेर हिँड्छ। उसले संसारलाई सीधै हेर्दैन, फोटोबाट हेर्छ। प्रेम गर्छ। चोट खान्छ। फेरि आफ्नै संसार बनाउँछ। कार्सनले हजारौं वर्ष पुरानो ग्रीक राक्षसलाई आजको मान्छेको एक्लोपनमा हुलिदिन्छन्।

त्यही उनको लेखनको जादु हो। पुरानो कुरा कहिल्यै पुरानो हुँदैन। मान्छेको दुःख पुरानो हुँदैन। प्रेम पुरानो हुँदैन। एक्लोपन पनि पुरानो हुँदैन।

ग्रीक मिथकमा आजको मान्छे भेटिन्छ- भनेर देखाइन्। किताबले पाठकको माया पायो।

उनको अर्को महत्त्वपूर्ण किताब Eros the Bittersweet हो। सन् १९८६ मा आएको यो कृति मूलतः प्राचीन ग्रीक साहित्यमा प्रेम र इच्छाको प्रकृतिबारे उनको अध्ययन थियो। तर अनुसन्धानको भाषा कविता जत्तिकै छ। यही किताबबाट उनको एउटा विशेष शैली देखिन थाल्यो, विद्वत्ता र कविता एउटै ठाउँमा राख्ने शैली।

त्यसपछि आयो Short Talks। सानासाना गद्यका टुक्रा। तर विषय हुन्थ्यो कहिले लियोनार्दो दा भिन्ची, कहिले मोनालिसा। कहिले सिल्भिया प्लाथ, कहिले इतिहास। कहिले मृत्यु, कहिले प्रेम।

एक पानाभरको लेखले पनि एउटा ठूलो प्रश्न छोड्न सक्छ भन्ने उनको विश्वास त्यहाँ देखिन्छ। उनको लेखनमा इतिहास र वर्तमान पनि सँगसँगै हिँड्छन्। जस्तो कि प्राचीन ग्रीक कवि र आधुनिक कलाकार एउटै पानामा भेटिन्छन्। जस्तो कि थुसिडाइड्स र भर्जिनिया वुल्फ एउटै युद्धबारे बोल्न सक्छन्। जस्तो कि हेलेन अफ ट्रोय टेलिभिजनको पर्दामा आउन सक्छिन्।

कार्सनका लागि समय सीधा रेखा होइन, समय एउटा ठूलो कोष्टक हो। त्यो कोष्टकमा पुराना मानिस पनि छन्, हामी पनि छौँ।

उनको Men in the Off Hours मा कविता, समाधिलेख, प्रेमकविता, गद्य, चित्र र टेलिभिजनका दृश्यजस्ता विभिन्न रूप एकै ठाउँमा भेटिन्छन्। यही किताबले उनलाई ग्रिफिन कविता पुरस्कार दिलायो। सन् २००१ मा उनले The Beauty of the Husband का लागि टी.एस. एलियट पुरस्कार पनि जितिन्। त्यो पुरस्कार जित्ने तिनी पहिलो महिला बनिन्।

The Beauty of the Husband भत्किँदै गरेको विवाहको कथा हो। सम्बन्धको कथा हो। तर कार्सनले त्यसलाई साधारण विवाहकथा मात्र बनाएर लेखिनन्। उनले त्यसलाई २९ वटा ‘ट्याङ्गो’ मा बाँडिन्।

ट्याङ्गो नाचमा दुई शरीर नजिक आउँछन्, फेरि टाढिन्छन्। फेरि नजिक आउँछन्। सम्बन्ध पनि त्यस्तै हुन्छ, नजिकिँदै, टाढिँदै, फेरि फर्किँदै, अन्ततः कतै हराउँदै गर्ने।

निर्णायकहरूले किताबलाई तीखो, गीतात्मक र उच्च भावनाले भरिएको कृति मानेका थिए। तर कार्सनको जीवनको सबैभन्दा निजी र मार्मिक किताब Nox हो। यसको पछाडि उनका दाजु माइकलको कथा छ। माइकल तिनीभन्दा चार वर्ष जेठा थिए। सन् १९७९ मा तिनी क्यानडा छाडेर गए। लामो समय परिवारबाट टाढा रहे। वर्षौंपछि सन् २००० मा कोपेनहेगनबाट उनले बहिनीलाई फोन गरे।

भेट्ने योजना बन्यो, तर भेट हुन पाएन। माइकलको मृत्यु भयो। बहिनीले आफ्नै दाजुको जीवनलाई फेरि खोज्न थालिन्। विधवाबाट कुरा सुन्न थालिन्। पुराना चिठी खोजिन्। फोटो जम्मा गरिन्। पोस्टकार्ड भेटिन्। आफ्नो सम्झना खोतलिन् अनि ती सबै मिलाएर एउटा किताब बनाइन्।

त्यो किताब किताबजस्तो देखिँदैन। एउटा बाकसजस्तो देखिन्छ। भित्र लामो कागज छ, अकर्डियनजस्तै पट्याइएको। त्यो खोल्दै जाँदा किताब पनि खुल्छ। सम्झना पनि खुल्छ। कुनै फोटो आउँछ। कुनै चिठी आउँछ। कुनै शब्द आउँछ। कुनै ठाउँ फेरि खाली हुन्छ।

एकातिर रोमन कवि क्याटुलसले आफ्ना मृत दाजुको सम्झनामा लेखेको कविताको अनुवाद छ। अर्कातिर कार्सन आफ्नै दाजुको कथा खोजिरहेकी छन्। क्याटुलसको दाजु पनि टाढा कतै मरेका थिए, कार्सनको दाजु पनि टाढा कतै मरे। दुई हजार वर्षको दूरी एकैपटक घट्यो।

कार्सनको लागि अनुवाद भाषा बदल्ने काम मात्र रहेन, मृत मान्छेसम्म पुग्ने पनि बाटो बन्यो। त्यसैले समालोचकहरू भन्छन्, Nox लाई शोकको किताब मात्र भन्न मिल्दैन, यो खोजीको किताब पनि हो। जसलाई राम्ररी चिन्न पाइएन, उसको जीवन बुझ्ने प्रयासजस्तो। जसको बारेमा धेरै कुरा थाहा छैन, उसैको बारेमा लेख्ने प्रयासजस्तो। अर्थात् अभावलाई नै सामग्री बनाउने प्रयासजस्तो।

The Beauty of the Husband मा सम्बन्धको खाली ठाउँ थियो। Nox मा मानिसको खाली ठाउँ। साफोमा शब्दको खाली ठाउँ। कार्सनको साहित्यमा खाली ठाउँ बारम्बार फर्केर आउँछ।

सायद यही उनको सबैभन्दा ठूलो चिनारी हो।

२०२० मा उनले स्पेनको प्रतिष्ठित प्रिन्सेस अफ अस्टुरियास साहित्य पुरस्कार पाइन्। निर्णायकहरूले प्राचीन ग्रिको-रोमन संसारबाट उनले आजको समय बुझ्ने नयाँ साहित्यिक भाषा बनाएको जिकिर गरेका थिए। त्यसअघि नै तिनी म्याकआर्थर फेलो बनिसकेकी थिइन्।

सन् २००० को ‘जिनियस ग्रान्ट’ भनेर चिनिने त्यो सम्मान उनलाई कविता, क्लासिक्स र मध्ययुगीन अध्ययनमा गरेको कामका लागि दिइएको थियो।

उनको पछिल्लो चर्चित कृति Wrong Norma सन् २०२४ मा आयो।

त्यसमा २५ वटा गद्य-कविताजस्ता रचना छन्। विषय पनि उस्तै अनौठा छन्।

फ्लोबेयर, जोसेफ कोनराड, हिउँ, गरिबी, रोजेटको शब्दकोश, सुकरात, पिता, शनिबार, यी रचनाहरू आपसमा जोडिएका छैनन्।

कार्सनले त्यसैले किताबको नाम राखिन्-Wrong Norma। गलत नोर्मा।

त्यस किताबले २०२४ को नेसनल बुक क्रिटिक्स सर्कल पुरस्कार जित्यो। नेसनल बुक अवार्डको अन्तिम सूचीमा पनि पुग्यो।

अझ अर्को रमाइलो कुरा पनि छ।

सन् २०१९ मा उनको Norma Jeane Baker of Troy नामको म्युजिक-थिएटर प्रस्तुति आयो। नाममै दुई संसार छन्। नोर्मा जीन बेकर अर्थात् म्यारिलिन मुनरो। अर्कोतिर ट्रोयकी हेलेन। एउटी आधुनिक संसारकी सुन्दरी, अर्की प्राचीन मिथककी सुन्दरी।

कार्सनले दुवैलाई एउटै कथामा ल्याइन्।

दुवैलाई पुरुषहरूले बनाएको कथामा दोष दिइएका महिला पात्रका रूपमा हेरिन्। दुई हजार वर्षको दूरीमा रहेका दुई महिलालाई एउटै मञ्चमा उभ्याइन्। यही कारण कार्सनको लेखनलाई सजिलै एउटा विधामा राख्न सकिँदैन। पढ्नेलाई लाग्छ, यो कविता पो हो कि? निबन्ध पो हो कि? नाटक पो हो कि? अनुवाद पो हो कि? शोध पो हो कि?

तिनी आफैंले पनि सायद यस्ता प्रश्नलाई धेरै महत्त्व दिँदिनन्। उनको कामले नै सिमाना भत्काउँछ, कविता र गद्यको सिमाना। पुरानो र नयाँको सिमाना। विद्वत्ता र कल्पनाको सिमाना। व्यक्तिगत जीवन र मिथकको सिमाना। मृत्यु र स्मृतिको सिमाना।

कार्सन नाम चाहिँ खुब चर्चित हो, तर तिनी चडकभडकवाला चम्किलो मञ्चकी लेखक भने होइनन्। लजालु छिन्। कम बोल्छिन्। आफ्नो निजी जीवन सकेसम्म जोगाउँछिन्।

‘द ह्वाइट रिभ्यू’ ले तिनीसँग छ महिनासम्म इमेलबाट अन्तर्वार्ता लिएको थियो। केही प्रश्नको जवाफ लामो आयो। केहीको एउटै शब्दमा। केही प्रश्नको जवाफ नै आएन। लेखकले आफ्नो रचनाभन्दा बढी बोल्नुपर्छ भन्ने मान्यतालाई यसले चुनौती दियो। कार्सनको एउटा विशेषता यही हो।

तिनी आफ्नो किताबको अर्थ आफैंले अन्तिमपटक बन्द गरेर दिन चाहँदिनन्। पाठकलाई पनि ठाउँ दिन्छिन्। त्यसैले उनको किताबमा खाली ठाउँ हुन्छ। कोष्ठक हुन्छ। अधुरो वाक्य हुन्छ। अचानक अर्को आवाज आउँछ। अर्को समय आउँछ। अर्को कथा आउँछ। पाठक अलमलिन्छ, तर त्यही अलमलमा केही भेट्छ।

सुसान सोन्ट्यागले कार्सनका बारेमा आफूले तिनी जे लेखे पनि पढ्ने बताएकी थिइन्। त्यो प्रशंसा पनि कार्सनको असाधारण प्रभावको एउटा प्रमाण हो।

अहिले स्टकहोमबाट आएको खबरले त्यो लामो यात्रालाई एउटा नयाँ नाम दिएको छ – नोबेल।

स्वीडिस एकेडेमीले कार्सनको लेखनलाई ‘साहसी र आविष्कारी’ भनेको छ।

कारण पनि त्यही हो, उनले प्राचीन परम्परासँग खेलपूर्ण संवाद गर्दै समकालीन साहित्यका नयाँ रूप बनाइन्। शपिङ मलमा एउटा किशोरीले ग्रीक र अङ्ग्रेजी आमनेसामने भएको किताब देखेकी थिइन्। त्यो दृश्यले उनको जीवन बदलिदियो। आज ६१ वर्षपछि त्यही केटी विश्व साहित्यको सबैभन्दा ठूलो पुरस्कारको केन्द्रमा छिन्।

कार्सनको लेखनीले भन्छ, सबै खाली ठाउँ भर्नुपर्दैन। केही खाली ठाउँ त्यत्तिकै छोडिदिनुपर्छ। त्यहीँबाट पाठकको कल्पना सुरु हुन्छ। त्यहीँबाट अर्को कथा जन्मिन्छ। त्यहीँबाट साहित्य फेरि जीवित हुन्छ। त्यसैले कार्सनलाई कोष्टक कवि पनि भनिन्छ। समालोचकहरू भन्छन्, कार्सनको कवितामा राखिएको त्यो कोष्ठकभित्र हामीले पनि आफ्नै कथा राख्न सक्छौं।

°°°

प्रस्तुत लेख अनलाइन सामाग्रीहरूको आधारमा तयार पारिएको हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ