डेभिड फोस्टर वालेस (१९६२-२००८) एक अमेरिकी लेखक थिए, जो आफ्नो जटिल र गहिरो उपन्यास इन्फिनिट जेस्ट (१९९६) का लागि सबैभन्दा बढी चिनिन्छन्। यो उपन्यासले उनलाई समकालीन अमेरिकी साहित्यका सबैभन्दा प्रभावशाली लेखकहरूमध्ये एक बनायो। उनी उपन्यासकार मात्र होइनन्, निबन्धकार र लघुकथाकार पनि थिए। उनको लेखनशैली बौद्धिक गहिराइ, आत्म-विश्लेषण, र आधुनिक जीवनको खोक्रोपनबारे तीखो अवलोकनका लागि चिनिन्छ। दुर्भाग्यवश, उनी लामो समयदेखि डिप्रेसनसँग जुझिरहेका थिए र सन् २००८ मा ४६ वर्षको उमेरमा आत्महत्या गरे। उनको मृत्युपछि उनी झन् बढी अध्ययन र चर्चाको विषय बने। दिस इज वाटर– वालेसले सन् २००५ मा केन्यन कलेज ओहायो, अमेरिकाको स्नातक समारोहमा दिएको भाषण हो। यो उनको एकमात्र सार्वजनिक रूपमा रेकर्ड भएको ठूलो भाषण थियो। उनी सामान्यतया यस्ता सार्वजनिक कार्यक्रमहरूबाट टाढा बस्थे। भाषण दिँदा उनले आफ्नो नाम नबताउने सर्तमा निमन्त्रणा स्वीकारेका थिए, तर पछि यो सर्त उठाइयो। यो भाषण उनको जीवनकालमा प्रकाशित भएको थिएन। उनको मृत्युपछि मात्र सन् २००९ मा यसलाई सानो किताबको रूपमा प्रकाशित गरियो। भाषणको मूल रेकर्डिङ अडियो मात्र थियो। पछि यसको ट्रान्सक्रिप्ट इन्टरनेटमा व्यापक रूपमा फैलियो। यसको नेपाली रुपान्तर यहाँ प्रस्तुत गरिएको छ।
°°°
दुईवटा साना माछा सँगै पौडिरहेका थिए। बाटोमा उनीहरूले अर्कोतिरबाट आइरहेको एउटा बूढो माछालाई भेटे। बूढो माछाले टाउको हल्लाउँदै भन्यो, ‘गुडमर्निङ, केटाहरू। पानी कस्तो छ?’
दुवै माछा केहीबेर अडे र अघि बढे। त्यसपछि एउटाले अर्कोलाई हेरेर भन्यो, ‘पानी भनेको के हो?’
यो कथा सुन्दा सामान्य लाग्छ। तर यसको अर्थ गहिरो छ। हामीलाई सबैभन्दा नजिक र सबैभन्दा महत्त्वपूर्ण लागेका कुराहरू नै धेरैपटक देखिँदैनन्। किनभने ती कुराहरू हाम्रो जीवनको यति सामान्य हिस्सा बनिसकेका हुन्छन् कि हामीले तिनलाई प्रश्न नै गर्दैनौँ।
शिक्षा भनेको के हो?
दीक्षान्त समारोहमा बोल्दा मलाई तपाईंहरूले पाएको शिक्षाको अर्थबारे कुरा गर्नुपर्ने हुन्छ। सामान्यतया भनिन्छ, कलेजको शिक्षा भनेको धेरै ज्ञान लिनु मात्र होइन, कसरी सोच्ने भनेर सिक्नु पनि हो।
विद्यार्थी हुँदा यस्तो कुरा सुन्दा मलाई पनि मन पर्दैनथ्यो। मलाई लाग्थ्यो, ‘मलाई कसरी सोच्ने भनेर कसैले सिकाउनुपर्छ र? म यति राम्रो कलेजमा भर्ना हुन सकेको छु भने सोच्न त जानिहाल्छु नि!’
तर पछि मैले बुझ्दै गएँ, ’कसरी सोच्ने’ भन्नुको अर्थ केवल सोच्ने क्षमता विकास गर्नु होइन। यसको अझ गहिरो अर्थ तपाईंले कुन कुरा सोच्ने, कुन कुरामा ध्यान दिने र आफूले देखेको संसारको अर्थ कसरी लगाउने भन्ने कुरा आफैँ रोज्न सक्नु-मा छ।
त्यसैले फेरि ती दुई माछाको कथा सम्झौँ। पानी यति सामान्य कुरा हो कि माछाले त्यसलाई देख्दैन। हाम्रो जीवनमा पनि यस्ता धेरै कुरा छन्, जुन सधैँ हाम्रो वरिपरि हुन्छन् तर हामी तिनलाई देख्दैनौँ।
अर्को एउटा कथा सोचौँ।
अलास्काको एक सुनसान ठाउँमा दुईजना मानिस बसेर कुरा गरिरहेका थिए। एकजना धार्मिक थिए, अर्को भगवानमा विश्वास नगर्ने मानिस।
भगवान छन् कि छैनन् भनेर उनीहरूबीच बहस भइरहेको थियो।
भगवानमा विश्वास नगर्ने मानिसले भन्यो, ’म भगवानमा विश्वास गर्दिनँ भनेर मात्र भनेको होइन। मैले प्रार्थना गरेर पनि हेरेको छु। केही समयअघि म हिउँको ठूलो आँधीमा बाटो बिराएर अलमलिएँ। अवस्था निकै खराब थियो। मैले भगवानलाई पुकारेँ र आफूलाई बचाउन अनुरोध गरेँ।’
धार्मिक मानिसले भन्यो, ‘त्यसो भए त तिमीले भगवानमा विश्वास गर्नुपर्ने भयो नि। तिमी अहिले जिउँदै छौ।’
अर्को मानिसले भन्यो, ‘मलाई भगवानले होइन, संयोगले त्यहाँ आइपुगेका केही स्थानीय मानिसहरूले बाटो देखाएर बचाएका हुन्।’
एउटै घटना भयो। तर दुईजनाले त्यसको अर्थ बिल्कुलै फरक लगाए।
हामी पनि यस्तै गर्छौँ। हामीले देखेको घटना, सुनेको कुरा र आफूले भोगेको अनुभवलाई आफ्नै विश्वास र सोचअनुसार अर्थ दिन्छौँ।
समस्या के हो भने हामीमध्ये धेरैलाई आफ्नो सोच कसरी बनेको हो भन्ने कुरा नै थाहा हुँदैन।
हामीलाई लाग्छ, ‘मैले जे देखिरहेको छु, त्यही सत्य हो।’
यही ठाउँमा अहंकार र बन्द सोचको समस्या सुरु हुन्छ। धार्मिक मानिस मात्र होइन, भगवानमा विश्वास नगर्ने मानिस पनि आफ्नो विचारमा अन्धो भएर बस्न सक्छ।
आफू सही छु भन्ने अत्यधिक निश्चितता पनि एक किसिमको कैद हो। अझ खतरनाक कुरा के भने, यस्तो कैदमा परेको मानिसलाई आफू कैदमा छु भन्ने पनि थाहा हुँदैन।
शिक्षाले मलाई के सिकाउनुपर्छ भन्ने प्रश्नको एउटा उत्तर यही हो- आफूले पत्याएको कुरामाथि पनि कहिलेकाहीँ प्रश्न गर्न सक्नु।
अर्थात्, अलिकति कम अहंकारी हुनु।
हामी जुन कुरालाई स्वाभाविक रूपमा सही ठान्छौँ, त्यसमध्ये धेरै कुरा गलत पनि हुन सक्छन्। मैले यो कुरा जीवनमा विस्तारै सिकेको छु।
उदाहरणका लागि, हामी सबैभित्र एउटा प्राकृतिक बानी हुन्छ, हामी आफूलाई संसारको केन्द्र ठान्छौँ।
तपाईंले संसारलाई आफ्नो आँखाबाट हेर्नुहुन्छ। तपाईंका भावना तपाईंलाई सबैभन्दा वास्तविक लाग्छन्। तपाईंको भोक, तपाईंको दुःख, तपाईंको थकान, तपाईंको समस्या, सबैभन्दा तत्काल र महत्त्वपूर्ण लाग्छ।
अरू मानिसको भावना बुझ्न उनीहरूले केही भन्नुपर्छ। तर आफ्नो भावना त तुरुन्तै महसुस हुन्छ।
यो भनेको डिफल्ट सेटिङ अर्थात् जन्मजात वा स्वाभाविक मानसिक बानी हो।
शिक्षाको एउटा काम यही स्वाभाविक बानीलाई प्रश्न गर्न सिकाउनु हो। आफूलाई मात्र केन्द्रमा राखेर संसार हेर्ने बानीबाट अलि बाहिर निस्कन सक्नु हो।
शिक्षित हुनु भनेको धेरै कुरा जान्नु मात्र होइन। आफ्नो दिमागले जे सोच्यो, त्यही सोचिरहनु पनि होइन।
बरु, आफूले के सोच्ने र कुन कुरामा ध्यान दिने भन्ने केही हदसम्म आफैँ रोज्न सक्नु हो।
हाम्रो दिमागभित्र निरन्तर कुरा चलिरहन्छ। हामी आफैँसँग कुरा गरिरहेका हुन्छौँ। यही कारणले अगाडि भइरहेको वास्तविक कुरामा ध्यान दिन गाह्रो हुन्छ।
त्यसैले ‘सोच्न सिक्नु’ भन्नुको गहिरो अर्थ हो- आफ्नो सोचमाथि केही नियन्त्रण राख्न सिक्नु।
कुन कुरामा ध्यान दिने?
कुन कुरालाई महत्त्व दिने?
कुन घटनाको अर्थ कसरी लगाउने?
यी कुरा पनि रोज्न सकिन्छ।
यदि हामीले यो गर्न सकेनौँ भने हाम्रो आफ्नै दिमाग हाम्रो मालिक बन्न सक्छ।
कलेज सकेपछि जीवन कस्तो हुन्छ भन्ने कुरा दीक्षान्त समारोहमा धेरै बोलिँदैन।
जीवनमा ठूलो सफलता मात्र हुँदैन। बोरियत हुन्छ। एउटै काम दोहोरिरहन्छ। साना-साना झन्झट आउँछन्।
कल्पना गर्नुहोस्, तपाईं बिहान उठ्नुभयो। राम्रो नोकरीमा आठ-दस घण्टा काम गर्नुभयो। साँझसम्म थाक्नुभयो। अब घर गएर खाना खाने र आराम गर्ने इच्छा छ।
तर घरमा खानेकुरा छैन।
त्यसैले सुपरमार्केट जानुपर्यो ।
काम सकेर निस्कँदा सडकमा ठूलो जाम छ। पसलमा पनि मानिसको भीड छ। सामान खोज्न पसलका धेरै गल्ली घुम्नुपर्छ। सबै मानिस थाकेका छन्। क्यास काउन्टरमा लामो लाइन छ।
काउन्टरमा काम गर्ने कर्मचारी पनि दिनभरको कामले थाकेको छ।
अन्ततः तपाईंको पालो आउँछ। पैसा तिर्नुहुन्छ। कर्मचारीले औपचारिक रूपमा ‘तपाईंको दिन राम्रो होस्’ भन्छ।
त्यसपछि सामान बोकेर फेरि भीडभाड भएको पार्किङबाट गाडी निकाल्नुपर्छ। घर पुग्न फेरि जाममा बस्नुपर्छ।
यो सबै तपाईंले पहिले पनि भोग्नुभएको होला।
तर कलेजबाट भर्खर निस्केका युवाहरूका लागि यस्तो दिनचर्या अब बिस्तारै जीवनको नियमित हिस्सा बन्नेछ। हप्ता, महिना र वर्षसम्म यस्तै साना-साना झन्झटहरू दोहोरिइरहन्छन्।
यस्ता सामान्य र झन्झटिला क्षणमै हाम्रो सोच्ने तरिकाको असली परीक्षा हुन्छ।
जाममा बस्दा हामी सोच्न सक्छौँ, ’यी सबै मानिस किन मेरो बाटो छेकिरहेका छन्?’
पसलको लाइनमा उभिँदा लाग्न सक्छ, ’म मात्र किन यति थाकेको छु? अरू सबै किन यति झन्झटिला छन्?’
अर्थात्, हामी संसारलाई आफ्नै भोक, थकान, इच्छा र समस्याको आँखाबाट हेर्छौँ।
त्यो हाम्रो स्वाभाविक मानसिक बानी हो।
तर अर्को तरिकाले पनि सोच्न सकिन्छ।
जाममा अगाडि रहेको ठूलो गाडीको चालक कुनै समय ठूलो दुर्घटनामा परेको हुन सक्छ। त्यसैले उसलाई ठूलो गाडीमा मात्र सुरक्षित महसुस हुन्छ।
अथवा तपाईंलाई बाटो काटेर अघि गएको गाडीभित्र बिरामी बच्चा लिएर अस्पताल जाँदै गरेको पिता हुन सक्छ।
त्यस्तो अवस्थामा तपाईंलाई उसको व्यवहार असभ्य लागेको हुन सक्छ, तर उसको अवस्था तपाईंले सोचेभन्दा बिल्कुलै फरक हुन सक्छ।
त्यसैगरी सुपरमार्केटको लाइनमा उभिएका मानिसहरू पनि तपाईंजस्तै थाकेका र दिक्क भएका हुन सक्छन्। कसैको जीवन त तपाईंको भन्दा अझ कठिन हुन सक्छ।
क्यास काउन्टरमा एउटी महिला आफ्नो बच्चासँग रिसाएर कराइरहेकी हुन सक्छिन्।
पहिलो नजरमा हामी उनलाई नराम्रो, असभ्य वा झर्को लाग्दो मानिस ठान्न सक्छौँ।
तर हामीलाई उनको जीवनबारे केही थाहा छैन।
सायद उनी धेरै दिनदेखि बिरामी परिवारको सदस्यको हेरचाह गरेर थाकेकी छन्। सायद उनको जीवनमा अरू कुनै ठूलो समस्या चलिरहेको छ।
यीमध्ये कुनै कुरा सत्य नै हुनुपर्छ भन्ने होइन।
मुख्य कुरा के हो भने, हामीलाई वास्तविकता पूरा थाहा छैन।
यदि हामी आफूले देखेको पहिलो कुरा नै पूर्ण सत्य हो भनेर मान्छौँ भने हामी अरू सम्भावना देख्नै छोड्छौँ।
तर ध्यान दिएर हेर्न सिक्यौँ भने हामीसँग अर्को तरिकाले हेर्ने क्षमता हुन्छ।
त्यसपछि भीड, गर्मी, जाम, लामो लाइनजस्ता सामान्य झन्झटिला अवस्थामै पनि हामी अरू मानिसको जीवन र सङ्घर्ष देख्न सक्छौँ। मानिसहरूबीचको सम्बन्ध र साझा मानवता महसुस गर्न सक्छौँ।
यसको अर्थ ‘यही तरिकाले सोच्नुपर्छ’ भन्ने होइन। तपाईंले कसरी हेर्ने भन्ने कुरा रोज्न सक्नुहुन्छ।
शिक्षाको वास्तविक स्वतन्त्रता यही हो।
कुन कुरालाई महत्त्व दिने?
कुन कुरालाई अर्थपूर्ण मान्ने?
कुन कुरामा आफ्नो ध्यान लगाउने?
यी कुरा सचेत भएर रोज्न सक्नु।
हामी सबैले कुनै न कुनै कुरालाई आफ्नो जीवनको सबैभन्दा ठूलो मूल्य बनाएका हुन्छौँ।
कसैले पैसालाई।
कसैले वस्तु र सम्पत्तिलाई।
कसैले शक्ति र प्रतिष्ठालाई।
कसैले आफ्नो रूप र आकर्षणलाई।
कसैले आफू बुद्धिमान छु भन्ने कुरालाई।
तर यी कुरालाई जीवनको सबैभन्दा ठूलो अर्थ बनायौँ भने त्यसले हामीलाई कहिल्यै पूर्ण सन्तुष्ट बनाउँदैन।
पैसालाई नै सबैथोक मान्ने मानिसलाई सधैँ अझ धेरै पैसा चाहिन्छ।
रूप र सौन्दर्यलाई जीवनको आधार बनाउने मानिसलाई समयसँगै आफ्नो रूप बदलिँदै जाँदा असुरक्षा बढ्न सक्छ।
शक्तिलाई सबैभन्दा ठूलो मूल्य बनाउने मानिसलाई अझ बढी शक्ति चाहिन सक्छ।
आफू बुद्धिमान देखिनैपर्छ भन्ने मानिसलाई आफू पर्याप्त बुद्धिमान छैन कि भन्ने डर रहिरहन सक्छ।
समस्या यी कुराहरू आफैँमा खराब भएर मात्र होइन। समस्या के हो भने हामीले यसलाई आफ्नो जीवनको आधार बनाएको कुरा नै थाहा नपाई त्यसैअनुसार बाँच्न थाल्छौँ।
आजको समाजले हामीलाई पैसा कमाउन, सफल हुन, आफूलाई अगाडि बढाउन र आफ्नो जीवन आफ्नै तरिकाले चलाउन धेरै स्वतन्त्रता दिएको छ।
तर एउटा अझ महत्त्वपूर्ण स्वतन्त्रताबारे कम कुरा हुन्छ।
त्यो हो-आफ्नो ध्यान र चेतनालाई आफैँ नियन्त्रण गर्न सक्ने स्वतन्त्रता।
अरू मानिसको जीवनलाई पनि महत्त्व दिन सक्नु। सानो-सानो कुरामा अरूलाई सहयोग गर्न सक्नु। आफ्नो सुविधा मात्र होइन, अरूको आवश्यकता पनि देख्न सक्नु। हरेक दिनका सामान्य जीवनमा अरू मानिसका लागि केही त्याग गर्न सक्नु। यही वास्तविक स्वतन्त्रता हो।
यही अर्थमा शिक्षित हुनु भनेको सोच्न जान्नु हो।
यसको विपरीत अवस्था भनेको आफूलाई थाहा नै नभई एउटै चक्रमा घुमिरहनु हो, काम, पैसा, तनाव, चाहना, प्रतिस्पर्धा र फेरि त्यही जीवन।
यो कुरा कुनै धार्मिक उपदेश मात्र होइन। न त यो नैतिकताको लामो पाठ हो। यो मृत्यु पछिको जीवनबारे पनि होइन। यो मृत्युअघि बाँचिरहेको जीवनबारे हो।
शिक्षाको वास्तविक मूल्य धेरै कुरा जान्नुमा मात्र छैन। यसको वास्तविक मूल्य चेतनामा छ। आफ्नो वरिपरि भइरहेको कुरा देख्न सक्नुमा छ। आफ्नो मनभित्र के भइरहेको छ भन्ने बुझ्न सक्नुमा छ। आफ्नो स्वाभाविक सोचले आफूलाई कहाँ लैजाँदैछ भन्ने थाहा पाउन सक्नुमा छ।
हामीले बारम्बार आफूलाई सम्झाइरहनुपर्छ
‘यो पानी हो।’
अर्थात्, जुन कुरा हाम्रो वरिपरि सधैँ छ, त्यसलाई पनि देख्न र बुझ्न सिक्नुपर्छ।
हामी जुन वातावरणमा बाँचिरहेका छौँ, जुन मानिसहरूसँग हरेक दिन भेटिरहेका छौँ, जुन सामान्य जीवनलाई हामी खासै ध्यान दिँदैनौँ, त्यही नै हाम्रो वास्तविक जीवन हो।
त्यसलाई सचेत भएर हेर्नु नै ठूलो कुरा हो। यो गर्न निकै गाह्रो छ। हरेक दिन, वर्षौँसम्म सचेत भएर बाँचिरहनु सजिलो हुँदैन। त्यसैले ‘शिक्षा भनेको जीवनभर चलिरहने काम हो’ भन्ने पुरानो भनाइमा साँच्चै अर्थ छ।
तपाईंको शिक्षा अब सुरु हुँदैछ।