अक्टोबर 16, 2026 | 2:24 बेलुका

म उड्न चाहन्छु, तर उनीहरू मेरा पखेटा थुतेर फ्याँक्ने दाउमा छन्

°°°

एक मध्यान्ह दिदीसँग गफ गरेर बस्ने समय जुर्‍यो।

हाम्रा कुराकानी धेरैजसो छोराछोरीकै वरिपरि घुम्छन्। पहिले पढाइ, त्यसपछि भविष्य, अन्तमा नोकरी। त्यतिबेला एउटा खरो असन्तुष्टि हाम्रा वरिपरि व्याप्त देखिन्छ।

दिदी भन्छिन्, ‘हाम्रा छोराछोरीले जति नै मेहनत गरेर पढे पनि के गर्नु? नोकरी त पाउने होइनन्। दसवटा रिक्त पद छन् भने आठवटा रिजर्भ हुन्छन्। बाँकी दुई सिटका लागि ९९ प्रतिशतले प्रतिस्पर्धा गर्नुपर्छ। त्यसमा पनि एमपी र एमएलएको सिफारिस बोक्नेहरूले म्याच फिक्स गरिसकेका हुन्छन्।’

हुन पनि हो। हामीले के दुःख मान्नु? हामी र हाम्रा सन्तानले भोगिरहेको हाम्रै बाबुबाजेको कर्मको फल हो।

म उनका आँखामा हेरिरहेकी छु। ती आँखामा असन्तुष्टि छ। विद्रोह छ।

दुई-चार सेकेन्डअघिसम्म व्यवस्थातिर फर्किएको आक्रोशको तीर अब बाउबाजेतिर फर्किएको छ।

उनी भन्दै छिन्, ‘म सानी हुँदा बिरामी भइरहन्थेँ रे। मेरो रोग जाओस् भनेर सानो जातकी केटीसँग मित लगाइदिएको रे।’

रोग तथाकथित सानो जातकी त्यो केटीलाई जाओस् भन्ने अन्धविश्वास थियो। मितिनी विश्वकर्मा परिवारकी थिइन्।

मितआमा कचिया र धार लगाएको खुकुरी लिएर कहिलेकाहीँ हाम्रो घर आउँथिन्।

उनी आउँदा आमाले भात दिने थालबटुको अलग्गै राख्नुभएको हुन्थ्यो। सिकुवामा पिरा ओछ्याएर भात दिनुहुन्थ्यो। खाइसकेपछि मितआमा बलेसीको बाहिरबाहिरै घुमेर घरको पल्लो छेउको धारामा जान्थिन्। आफैँ थाल धुन्थिन्। फेरि बाहिरबाटै फर्केर आउँथिन्। अनि थालबटुको सिकुवामै घोप्ट्याएर राखिदिन्थिन्।

घरका सबैले नियमित प्रयोग गर्ने धाराको बाटो सिकुवादेखि घरभित्रै हुँदै जान्थ्यो। मितआमाका लागि त्यो बाटो निषेध थियो।

दिदी त्यो बेला आफ्नो बाल्यकालमै थिइन्। म भने आफ्नो वर्तमानमा थिएँ। मलाई मेरो वर्तमानले चसक्क घोच्यो।

प्रतिक्रियामा आँखा बिझाउँदै टलपलाउन थाले। दिदीले देख्लिन् भन्ने डरले खोकेको बहाना गर्दै बाहिर निस्किएँ।

पाठकवृन्द, तपाईंहरू सोच्दै हुनुहुन्छ होला, मलाई यसरी पटक–पटक केले घोचिरहन्छ?

१० जुलाई २०२४ को बिहान थियो। बर्खाको दिन। सिमसिम पानी परिरहेको थियो। आकाश कालो थियो। दिन धुम्म थियो।

आँगनको चउर धेरै मान्छे हिँडेर किल्चिएको थियो। हिलो कचिक्क उछिट्किन्थ्यो।

तर मौसमको विरक्तिलाई ढाक्ने रमझम थियो। घरवरिपरि पाल टाँगिएका थिए। आँगनको एक कुनामा राखिएको होम थिएटरमा प्रेमिल गीत बज्दै थिए। घिउको धुपको बास्ना छरिएको थियो।

आफन्त र गाउँलेहरू भेला भएका थिए। महिलाहरू सजिएर आइसकेका थिए। सबै आफ्नै धुनमा थिए। समग्रमा माहौल गुलाबी थियो।

किनकि त्यो दिन कसार बाट्ने दिन थियो।

छोराको बिहेको कसार।

भोलि हुने बेहुला मेरो भतिजो हो। म उसलाई मनले छोरा मान्छु।

मेरो बिहे हुँदा ऊ दस वर्षको मात्र थियो। उसको काकाले मलाई चिनाउन ल्याउँदा ऊ स्कुलबाट भर्खरै आइपुगेको थियो। काकाले उसलाई बोकेरै ल्याउनुभएको थियो।

सुनौला आँखाले मलाई हेरेर ऊ अलि लजायो। मुसुक्क हाँस्दै काकाको काँधमा टाउको लुकायो।

आज पनि मेरो आँखामा त्यही बालसुलभ अनुहार छ। मनमा ती सुनौला आँखाप्रति स्नेह छ।

त्यसैले म बिहानैदेखि उत्साहित थिएँ। नियमित समयभन्दा छिटै उठेँ। छिटो नउठे आज काम भ्याइँदैनथ्यो।

बिहे घर र हाम्रो घरको आँगन साझा छ। बिहे घरका दस–बाह्र जना पाहुना हाम्रै घरमा सुत्ने व्यवस्था मैले मिलाएकी थिएँ।

हाम्रो गाउँमा बर्खाको महिनामा एकछिन जोडले पानी पर्दा वा अलिकति हावाबतास चल्दा बिजुली जान्छ। आज पनि थिएन।

बिहान चिसो थियो। धेरै दिनदेखि आरामको समय थिएन। कम्मर पनि अलि–अलि दुखिरहेको थियो।

तैपनि आगो बालेर पानी तताउन भ्याइनँ। चिसै पानीले नुहाएँ।

नुहाउँदिनँ भने पनि जेठानी दिदी (बेहुलाकी आमा) को अनुरोध थियो। हिजै भनिराख्नुभएको थियो, ‘भोलि कुलमा चढाउने सेलरोटी तिमीले पकाएर चढाइदिनू है। सुरुमै।’

मैले ‘हुन्छ’ भनेकी थिएँ। म वचनकी पक्की मान्छे हुँ। बहाना देखाएर टार्ने स्वभाव छैन।

छिटोछिटो घरको काम सकेँ। कसार बाट्ने उत्सवका लागि तयार हुन थालेँ। सुन्तला रङको साडी लगाएँ। ऐनामा अगाडि–पछाडि फर्केर हेरेँ। मनमनै सोचेँ, ठीक छ, बेहुलाकी काकीजस्ती देखिएँ।

बिहे घरमा गएँ।

सेलरोटी पकाउने ठूलाठूला भाँडामा पिठो तयार राखिएको थियो। छेउमा तातिसकेको ताइबाट तेलको बाफ अलि–अलि उड्न थालिसकेको थियो। रोटी पकाउन गाउँका बहिनीहरू तयार भएर बसेका थिए।

उनीहरूले मलाई बोलाए, ‘दिदी, तपाईंले पकाएर कुलका लागि लगिहाल्नुस्। अनि हामी सुरु गर्छौं।’

मेरो काम आठ–दस वटा रोटी पकाउनु थियो। ती लगेर पूजाकोठामा चढाउनु थियो। बस्, त्यत्ति।

मलाई सम्झना भयो, मैले लगाएको साडी सिल्कको थियो। दसवटा मात्र रोटी पकाउनुपर्ने भए पनि आगोको छेउमा जानु खतरा थियो।

मैले भनेँ, ‘एकछिन है, म कटनको चुन्नी साडीमाथि बेरेर आउँछु।’

घरमा आएर कटनको चुन्नी बेर्दै निस्कँदै थिएँ। त्यत्तिकैमा गाउँका पुरेहित टिकाराम नेपालले मलाई रोके, ‘भाउजू, एउटा सल्लाह गरौँ न।’

उनको सल्लाह सुन्न म रोकिएँ।

उनले भने, ‘तपाईं प्रसाद चढाउने रोटी पकाउन लाग्नुभएको रहेछ। शुभकार्यमा एकपाखेलाई नलगाऔँ भन्ने सल्लाह भएको छ नि।’

मैले उनका कुरा बुझेँ। उनले ‘एकपाखे’ शब्द विधवाको वैकल्पिक शब्दका रूपमा प्रयोग गरेका थिए। यो गाउँघरमा प्रयोग गरिने बोलीचालीको भाषा हो।

मैले ‘हुन्छ’ भनेँ र घरभित्र पसेँ।

आफ्नो कोठाभित्र पसेँ। मेरो मनको बाँध झन् कमजोर भइदियो।

आँखा भरिएर तिरमिर देख्न थालेँ। दुवै हातले पुछेर आँखाका पानी तह लगाएँ।

ऐनाअघि उभिएर आफ्नै अनुहार हेरेँ। आफ्नो अपराधको प्रमाण खोज्न थालेँ। जसको सजाय फैसला सुनाएर पुरोहित भर्खरै निस्केका थिए।

मेरो निधारको टुप्पोमा बजारको बट्टामा भरिएको रातो रङ पोतिएको छैन। त्यसको फैसला यही पुरोहित जमातले गरेको हो।

मेरो गलामा एक लर हरियो पोतेको दाना पनि छैन। यो पनि उनीहरूकै फैसला हो।

यो निर्णय मेरो होइन। ती रङले मलाई सजाउन खोज्ने मेरो पतिको पनि होइन।

मेरो पतिका लागि म आदर्श थिएँ। सम्मानको पात्र थिएँ। अनि पतिको मरणपछि मेरो अस्तित्वको मूल्य घटाउने आधार कसले तय गर्‍यो?

पतिको मृत्युपछि मलाई अछुत बनाउने निर्णय कसको?

उनीहरूले बनाएका सबै तथाकथित नियमको पालना मैले गरेँ भने, के उनीहरूले मेरो पतिलाई फिर्ता ल्याउन सक्छन्?

सक्दैनन् भने मलाई प्रताडना दिन यी बकम्फुसे नियम बनाउने अधिकार उनीहरूलाई कसले दियो?

प्रश्न–प्रतिप्रश्नका आँधीले मेरो घाइते मनलाई रक्ताम्मे पार्‍यो। पीडाको बाँध फुटेरै छोड्यो।

सिरानीले मुख छोपेर डाँको छोडेर रोएँ।

छोराले सुनेछ। आएर ढोका ढक्ढक्यायो। पीडा बगिसकेकै थिएन। रुन पनि नपाइने कस्तो विडम्बना!

हतारहतार आँखा पुछेर ढोका खोलेँ। मेरो अनुहारमा हेरेर उसले सोध्यो, ‘के भो, आमा?’

‘भुँडी दुख्यो,’ भनिराखेँ। फेरि चुकुल लगाएँ।

छोरा पक्कै पनि सुर्ताएको थियो। उसका लागि त म अहिले पनि पुरानै आदर्श आमा हुँ। आज पनि चोखो र अनमोल छु।

उसले ठुलो बाबालाई सुनाएछ, दाजु आएर सोध्नुभयो। मैले अब ढाँट्न सकिनँ।

ढाँट्नुपर्ने कारण पनि थिएन। उहाँले मेरो पीडाको गहिराइ बुझ्नुहुन्छ। सुनाउँदै गर्दा मेरो स्वर लर्बरिँदै थियो। आँसु थामिएका थिएनन्। आमा पनि आइपुग्नुभयो। सुनिसक्दा दाजुको अनुहार गम्भीर भयो। आमाका आँखा भरिए।

आमा केही नबोली अर्कोतिर लाग्नुभयो। सायद आमाको पनि घाउमा नुन पोखियो। शब्द हराए।

म अठार वर्षकी मात्र हुँदा मेरो बिहे भयो। आजको सरकारी नीतिअनुसार त्यो बालविवाह ठहरिन्छ।

तर मैले रूढिवादका धेरैजसो पर्खाल नाघेको परिवार पाएँ। अध्यात्म र विज्ञानमा रुझान राख्ने परिवार पाएँ। परिवारको साथ पाएँ।

शिक्षा छुटेको थियो। नानीहरूलाई स्कुल पठाएँ। म पनि स्कुलको ढोकामा फर्केँ।

मेरा रुचिका क्षेत्रमा पढ्न र सिक्न एउटै मौका छोडिनँ। योगा-नेचुरोपेथीमा डिप्लोमा गरेँ। पत्रकारिता क्षेत्रमा पनि केही समय काम गरेँ। अहिले पनि मनोविज्ञानमा एमए दोस्रो वर्षमा छु।

कहिलेकाहीँ मलाई घर, परिवार, जिम्मेवारी, सबै कुरा भारी भएजस्तो महसुस हुन्छ।

कति दिन खाना पकाउनु। घर बढार्नु। नानीहरूका लागि खाजा पकाउनु। स्कुल पुर्‍याउनु र लिन जानु…

मलाई पनि खुला आकाशमा उड्न मन लाग्यो। चरा जस्तै स्वतन्त्र।

मलाई संसारका प्रत्येक कुरा जान्न मन लाग्छ। प्रत्येक ठाउँ हेर्न मन लाग्छ। नयाँ कुरा पढ्न र बुझ्न मन लाग्छ। देशका सीमा पारि पनि घुम्ने रहर लाग्छ।

मैले पनि जीवनका केही दिन त पक्कै पनि नितान्त आफ्ना लागि बाँच्न पाउनुपर्छ।

एक दिन दाजुसँग दुई दिनको बिदा मागेँ।

दाजुले मेरो सपना बुझ्नुहुन्छ। इच्छा बुझ्नुहुन्छ। मभित्र उम्लिँदै गरेको अदृश्य विद्रोह पनि महसुस गर्नुहुन्छ।

उहाँले मेरा सबै जिम्मेवारीहरूलाई आफ्नो अञ्जुलीमा थापेर मलाई बिदा दिनुभयो।

म नर्थ सिक्किमतिर लागेँ।

बाइक हाँकेर एक्लै दुई दिनको बाटो डाँडाकाँडा छिचोल्दै हिमालको छेउ पुगेँ।

पहाडबिच सर्पजसरी लमतन्न परेको सुनसान सडक थियो। आँखाले भ्याएसम्म पत्रपत्र परेर उभिएका हरिया पहाड थिए। तिनका बिचबिचमा छरिएर उडिरहेका निखुर सेता बादलका पोका थिए।

सडकको दुवैतिर जङ्गल थियो। चराहरूको मीठो बातचित थियो।

कतै–कतै मैले कहिल्यै नदेखेका साना-साना जङ्गली जन्तु मलाई हेर्दै बाटो काट्थे। साँच्चै लोभ्याउने थियो यात्रा।

अगाडि बढ्दै जाँदा कता–कता डर पनि लाग्थ्यो। फेरि सोच्थेँ, किन डराउनु? मसँग एउटा मोबाइल र अलिकति बाटो खर्च पैसा बाहेक के नै छ र?

मलाई पिँजडाको चरा आकाशमा उडेजस्तो महसुस भइरहेको थियो।

त्यतिबेलै दुई जना पुरुष पर्यटक बुलेट बाइकमा मलाई ओभरटेक गरेर अघि बढे। पछाडि बस्नेले थम्स अप गरे।

राइडरले बाइकको गति कम गर्‍यो। मेरो समानान्तर ल्यायो। अनि भन्यो, ‘We recognized you as a girl by looking at your hair. Nice riding…’

मैले सोचेँ, मैले जति बाइक त सबै राइडरले चलाउँछन्। तर मेरो लागि मात्र टिप्पणी!

उनीहरूको भनाइको अर्थ थियो, अरू आइमाईले गर्न नसकेको काम तिमीले गरेकी छौ।

अरू आइमाईले पनि अवसर पाए गर्न सक्छन् भन्ने कुरा उनीहरूलाई कसले बुझाइदिने?

मैले बाइक चलाएको देखेर कतिजना फर्किफर्की हेर्थे।

एक ठाउँमा रोकेर हेल्मेट खोलेँ। मलाई हेरिरहेका पुरुष आँखाहरूको हेराइ पटक्कै मन परेन। ती आँखा गिद्धका जस्तै लागे।

त्यो क्षण मैले जोखिम महसुस गरेँ।

जोखिम क्षेत्रमा पर्न केही अमूल्य चिज साथमा हुनुपर्छ र? स्त्री संरचना नै पर्याप्त हो?

मलाई विदेशी मित्र एनीको याद आयो।

उनलाई पनि मलाई जस्तै घुम्न मन लाग्दो हो। त्यसैले त अस्ट्रेलियाबाट भारत आउँछिन्। तर मैले अहिलेसम्म सोधेकी छैन। कुनै दिन सोध्नुछ।

एक्लै यत्तिविधि समुद्रहरू पार गरेर आउँदा उनलाई मलाई जस्तो जोखिम महसुस हुन्छ कि हुँदैन होला?

सायद हुँदैन कि जस्तो लाग्छ। किनकि उनलाई मेरो गाउँमा मलाई जसरी कुनै पनि शुभकार्यमा विधवा भनेर सीमा कोरिएको मैले देखेकी छैन।

मेरी दिदीकी मितआमालाई जस्तो ‘टेलर’ भनेर सिकुवामा भात दिइएको घटना पनि छैन।

अँ साँच्चै, एकदिन मैले उनलाई उनको थरबारे सोध्दा उनले भनेकी थिइन्, ‘हाम्रै बाजेहरूले सिलाइको काम गर्थे। त्यसैको आधारमा हाम्रो सरनेम टेलर भएको हो।’

हाम्रो क्षेत्रीय भाषामा दर्जी?

उनी शिक्षा क्षेत्रमा काम गरेर सेवानिवृत्त भएकी महिला हुन्। उनी पनि विधवा हुन्।

मैले एउटा अपच्य कुरा अब्जर्भ गरेँ। न उनलाई हाम्रो समाजमा कसैले शुभकार्यमा सीमा राख्यो, न त मूल ढोकामै।

अर्को चाखलाग्दो कुरा, उनको समाजले उनलाई कहिल्यै महसुस गराएन कि दर्जी जातकी भएकाले उनी अछुत हुन्। न त विधवा भएकाले उनी शुभकार्यमा बाधा हुन्।

त्यसैले उनलाई हीनताबोध कतै छैन। कसैको मूल ढोकाभित्र पस्न उनी डराउँदिनन्। कसैको घरको शुभकार्यमा बस्न पनि डराउँदिनन्।

उसो भए मेरो समाजले चाहिँ किन?

तथाकथित उपल्लो र तल्लो जातिको संज्ञा दिएर, सधुवा र विधवाको फाँट राखेर, आफ्नै समाजका छोरीबुहारीलाई किन अर्को तिरस्कृत तटमा धकेलेको?

समाजले तथाकथित जात र वर्गका आधारमा बनाएका नियमनीति एक सम्प्रदायविशेषलाई शोषण गर्ने तानाबाना भन्दा बढी केही होइनन्।

हाम्रो समाजमा अहिले पनि पुरुषवादी अवधारणाकै दखल छ। यही हैसियतले नारीलाई दोस्रो दर्जामा राखिन्छ।

त्यसमा पनि तथाकथित तल्लो जात र विधवाहरूलाई दोस्रो स्थानभन्दा पनि तल्लो वर्गमा राख्ने प्रयास गरिएको छ।

विधवा स्टाटसका आधारमा गरिएको अवहेलनापछि मेरो आत्मविश्वास तहसनहस भएको महसुस गरेकी छु।

मेरो अध्ययन र अनुभवले भन्छ, कुनै पनि व्यक्ति वा सम्प्रदायलाई शोषण गर्नु छ भने उसलाई कमजोर बनाउनुपर्छ।

कमजोर बनाउने सबैभन्दा कारगर उपाय हो, उसको आत्मविश्वासलाई कुल्चिएर निमिट्यान्न पार्नु।

बाल्यकालदेखि किशोरावस्थातिर चढ्दै गर्दादेखि नै हो, जब मेरो मथिङ्गलले ‘म’ भन्ने शब्दमा आफ्नो दखल राख्ने प्रवृत्ति हुर्काउने वातावरण खोज्न थाल्यो।

त्यही अवधिदेखि मैले एउटा विरोधाभास महसुस गरेकी छु। म समाजले निर्माण गरेको परम्परागत रोडम्यापमा जबर्जस्ती घचेटिएकी छु।

म मानव सभ्यताको २१ औँ शताब्दीकी नारी हुँ।

प्रकृतिले नारी र पुरुषका लागि जे-जति भेद राखेको छ, ती सबै वैज्ञानिक छन्। यसको विरोध गर्नु मूर्खता हो।

तर हाम्रो समाजले आज पनि नारी जातिका लागि धेरै खाले सीमारेखा कोरेको छ। जसको एउटै उद्देश्य छ, नारीलाई नियन्त्रणको साङ्लोले कस्ने।

तर समाजले नारी र पुरुषबिच राखेको ग्यापलाई नाघ्ने मेरो जिद्दी स्वभाव छ।

यस्ता साङ्लो चुडाउने आकाङ्क्षाको विद्रोह ममा हुर्किसकेको छ। जुन म बाँचेको समाजकै देन हो।

पुरुषवादी समाजले आफ्नै पक्षमा निर्माण गरेका रीतिरिवाज जोगाउन लागिपरेका ठेकेदारहरूलाई मेरो सपनाले बिझाउँछ। मेरो प्रश्नले बेस्सरी घोच्छ।

म उड्न चाहन्छु। उनीहरू मेरा पखेटा थुतेर फ्याँक्ने दाउमा बसेका छन्।

म उज्यालो खोज्छु। उनीहरू मलाई कालकोठरीमा धकेल्न खोज्छन्।

तर मेरो आँखामा असमानताको बडेमाको खाडलको नक्सा छापिएको छ। मेरो चेतनामा विद्रोहको बिरुवा दिनदिनै झाँगिँदै छ। यो मेरो प्रतिरोध मात्रै होइन। समाजका प्रत्येक नागरिकलाई एउटै श्रेणीमा राख्ने परिकल्पना हो।

जात–जाति, धर्म र लिङ्गका आधारमा गरिने हिंसाको अन्त्येष्टिको पहल हो।

°°°

नोट: यो संस्मरण लेखिसक्दा मैले मेरा आँखा सयौँपल्ट पुछेकी छु। उति नै पल्ट मेरो पतिलाई सम्झेकी छु। मलाई अपमान गर्ने ती कुटिल अनुहारहरू सम्झेकी छु। म जस्तै अपमानित हुने असंख्य अनुहारहरू पनि सम्झेकी छु।

8 Responses

  1. Bhaouju sahrai metho, hirdaya ma chasa lagyuh, honi ekdamai sahi ho tapai le lekhnu vko,awti aaimai le shriman ghumaowda kti peeda sahnu parcha,shriman dhaleko din dekhi suru huncha, sabai vanda pahila jatinai najik ko aatmiya kina na hos,hamro ta shriman cha kasari sindur mote magnu, shrimaan navayeko aaimai lai vnnu parcha vanne kura ,khasa khusk huda tyo kura jaslai biteko cha usko kaan ma parda,kastoo lagyuh hola tyo bela,awti aaimai ko lagi boldine hudaina yo samaj ma.

  2. नेपाली समाजमा विद्यमान विभेदका तहहरू कति सघन र गहिरा छन् भनेर बुझ्न चाहे यो एउटा महत्वपूर्ण लेख पढ्नुहोस् भनि सिफारिस नै गर्नुपर्ला। आत्मपरक अभिव्यक्ति भए तापनि यस लेखले नेपाली समाजको विभेदपूर्ण जटिल संरचनाको वस्तुस्थिति उजागर गरेको छ। लेखिकालाई कुनै कुराले घरी-घरी घोचिरहेको कुराको स्वीकृत गरेकी छिन्, तर पढिसक्दा म आफैँलाई घोचिरहने यथेष्ट कुराहरू भुमरीझैँ मस्तिष्कमा उठेको अनुभूत भयो। मूलतः ब्राह्मणवादी र पितृसत्तात्मक सामाजिक संरचनाको सिकार बनेकी पात्रले यसरी आफैँ सांस्कृतिक रुढीलाई चिन्हित गरेर यसले दिएका पीडाको उजागर गर्नाले नै हामीमा पनि परिवर्तन कुन तहसम्म हुन आवश्यक छ त्यसको वोध गराउने हो। समस्यालाई चिन्हित गरेर यस्ता सांस्कृतिक रुढीलाई उन्मूलन गर्ने अभियान यही सांस्कृतिक विरासत हाँकेर हिँड्ने समुदायभित्रबाट थाल्न खाँचो छ। यो खाँचो पूर्ति होस्। भविष्यमा आउने परिवर्तनले लेखिकालाई लागेको चोट ठिक नगर्ला, यद्यपि अन्य कसैलाई यस्तै आघात नपुगोस् भन्ने प्रयास हामी सबैको जिम्मेवारी बनोस्। पढ्दा म पनि निकै भावुक भएँ, आफ्नै जीवनमा देखेका थुप्रै पात्रहरू आँखामा झल्झली बल्झिए।
    अरू केही गर्न नसके पनि तपाईँको साथमा यस्ता रुढी विरुद्ध सधैँ खडा रहने प्रतिबद्धता व्यक्त गर्दछु। यस्तै लेख अझ पढ्न पाउँ। प्यारी जानुका दिदिलाई शुभकामना।

  3. “कमजोर बनाउने सबैभन्दा कारगर उपाय हो, उसको आत्मविश्वासलाई कुल्चिएर निमिट्यान्न पार्नु।”
    कथाको बान्की बोकेको यो संस्मरणात्मक निबन्धको यो वाक्यले मलाई मजाले छोयो। `विधवा महिला ´ अनि अलिक रिबेल चेतभित्र एउटी नारी चरित्रको मनोवैज्ञानिक पक्ष खुलाउने यो सिर्जना पठनीय लाग्यो।।

  4. यो पढ्दा मलाई यसको पीडा भन्दा धेरै छुने कुरा, त्यो पीडाबाट जन्मिएको प्रश्न र प्रतिरोध लाग्यो।
    यो लेख एउटा महिलाले आफूले भोगेको अपमान सुनाएको मात्र होइन। यो प्रश्न हो।

    समाजले कसलाई शुभ र कसलाई अशुभ भनेर छुट्याउने अधिकार कहाँबाट पायो?
    कसैको वैवाहिक अवस्था, जात, लिङ्ग वा सामाजिक पहिचानको आधारमा उसको स्वतन्त्रता, आत्मसम्मान र अस्तित्वको मूल्याङ्कन गर्ने अधिकार कहाँबाट पायो समाजले?
    तिमीले, मैले?
    हामीले जीविका दिएको पुरोहित ले? हाम्रै टयाक्सको सेलरी खाने कर्मचारीले? तिम्रो सासुले? मेरो गर तलतिर को बाजेले?
    कसले दियो समाजलाई यो अधिकार? कसले दियो तिमीलाइ, मलाई, हामीलाई यो अधिकार?

    “म उड्न चाहन्छु। उनीहरू मेरा पखेटा थुतेर फ्याँक्ने दाउमा बसेका छन्।”
    महिलाका पखेटा काटेर उसलाई सुरक्षित राख्न सक्दैनौ तिमी।
    उसलाई उड्न नदिएर तिम्रो समाज माहान बनाउ सक्दैनौ।
    पखेटा जोगिनुपर्छ। आवाज जोगिनुपर्छ। आत्मसम्मान जोगिनुपर्छ। र सबैभन्दा बढी प्रश्न गर्ने साहस जोगिनुपर्छ।

  5. कसैले कुनै आविष्कार गर्‍यो भनेर थाहा पाएको भरमा त्यो केवल एउटै व्यक्तिको उपलब्धि हुँदैन। यदि Isaac Newton नहुने भए पनि ज्ञानको यात्रा रोकिने थिएन, र यदि Albert Einstein नहुने भए पनि विज्ञान कुनै न कुनै दिशामा अगाडि बढिरहन्थ्यो।
    वास्तवमा ज्ञान, विज्ञान र आविष्कार मानव सभ्यताको लामो श्रृंखलाको परिणाम हुन्। जसरी गणितमा ‘१’ नहुने भए ‘२०’ को कल्पना गर्न सकिँदैन, त्यसरी नै हरेक नयाँ खोज अघिल्ला पुस्ताहरूको योगदानमाथि उभिएको हुन्छ।
    त्यसैले हामीले कुनै नयाँ कुरा पत्ता लगायौँ भने पनि त्यसलाई केवल आफ्नो निजी सम्पत्ति ठान्नु हुँदैन। Isaac Newton ले भनेझैँ, “म धेरै टाढा देख्न सकेँ भने त्यसको कारण म महान् व्यक्तिहरूको काँधमा उभिएको छु।”
    हामीले आफ्ना पुर्खाहरू, ज्ञानको बाटो बनाइदिने अग्रदूतहरू, र समाजका लागि संघर्ष तथा बलिदान गर्ने साथीहरूलाई कहिल्यै बिर्सनु हुँदैन। हामी सबैलाई समान सम्मानका साथ हेर्छौँ।
    विनम्रता हाम्रो विशेषता हुनुपर्छ, र संघर्षशीलता तथा लडाकुपन पनि हाम्रो पहिचान हुनुपर्छ। ज्ञानको यात्रामा अहंकार होइन, कृतज्ञता र सामूहिकताको भावना नै हाम्रो मार्गदर्शक बन्नुपर्छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ