अक्टोबर 16, 2026 | 2:25 बेलुका

भाषा शक्ति हो

टोनी मोरिसन (१९३१–२०१९) अमेरिकी साहित्यकी सबैभन्दा सशक्त आवाजमध्ये एक थिइन्। ओहायोको लोरेनमा जन्मिएकी उनको मूल नाम क्लोई अर्डेलिया वोफर्ड थियो। उनले द ब्लुएस्ट आई, सुला, सङ् अफ सोलोमन र बिलोभेड जस्ता उपन्यासमा अफ्रिकी-अमेरिकी जीवन, दासत्वको घाउ र स्त्रीको अनुभवलाई गहिराइसँग लेखिन्। बिलोभेड ले उनलाई पुलिट्जर पुरस्कार दिलायो। लेखनसँगै उनी प्रकाशनमा सम्पादक र विश्वविद्यालयमा प्राध्यापक पनि भइन्  र कैयौँ अश्वेत लेखकलाई मञ्च दिलाउने काम गरिन्। सन् १९९३ मा उनी साहित्यको नोबेल पुरस्कार पाउने पहिलो अफ्रिकी-अमेरिकी महिला बनिन्।

उनले नोबेल थाप्दै जुन भाषण (७ डिसेम्बर १९९३) दिएकी थिइन्, त्यसमा वृद्ध अन्धी बजै र युवाहरूको कथा छ। युवाहरूले हातमा बोकेको ‘चरा’-लाई ‘भाषा’-को विम्ब बनाएर जे बोलेकी छन्, त्यो मनन गर्न लायक छ। जीवनको मापन भाषाले नै हुन सक्छ भन्ने विचार रहेको सोही भाषणको केही अंशको भावानुवाद यहाँ प्रस्तुत गरिएको छ।

°°°

एउटा देशमा एउटी बूढी बजै थिइन्। दृष्टिविहीन। तर असाध्यै ज्ञानी।

अथवा  कुनै बूढा बाजे अथवा कुनै गुरु पनि हुनसक्छन्? अथवा हुनसक्छ अशान्त बालबालिकालाई फकाउँदै कथा सुनाउने कुनै बूढा कथावाचक?

मलाई ठ्याक्कै याद छैन।

तर यस्तै एउटा कथा मैले धेरै संस्कृतिका लोककथामा सुनेको छु। कथा फेरिन्छ, पात्र फेरिन्छन्, ठाउँ फेरिन्छ। तर भित्री कथा उस्तै रहन्छ।

एउटा देशमा एउटी बूढी बजै थिइन्। दृष्टिविहीन। ज्ञानी।

मैले सुनेको कथामा ती महिला दासकी छोरी हुन्। अफ्रिकी-अमेरिकी महिला। शहरदेखि अलि पर एउटा सानो घरमा एक्लै बस्छिन्। तर उनको ज्ञानको ख्याति सानो छैन। आफ्ना मानिसहरूका बीच उनी आफैंमा एउटा कानुनजस्तो र कानुनको मर्यादा पनि।

उनलाई दिइने आदर उनको छिमेकमा मात्र सीमित छैन। धेरै टाढासम्म फैलिएको छ। त्यस्ता शहरहरूसम्म, जहाँ गाउँका बूढाबूढीको ज्ञानलाई प्रायः हाँसोको विषय बनाइन्छ।

एक दिन केही युवा उनलाई भेट्न आउँछन्। उनीहरू ज्ञान लिन आएका होइनन्। उनलाई गलत साबित गर्न आएका हुन्। उनको बुद्धिलाई ढोंग साबित गर्न। उनलाई ठग ठहर्‍याउन आएका हुन्।

उनीहरूको योजना पनि गाह्रो छैन।

घरभित्र पस्ने। एउटा प्रश्न सोध्ने। र उनको कमजोरीमै उनलाई समात्ने।

त्यो कमजोरी के हो?

उनको अन्धोपन।

उनीहरू बूढी बजैको अगाडि उभिन्छन्। तीमध्ये एक जनाले आफ्नो हातमा एउटा चरा समातेको हुन्छ।

ऊ भन्छ, ‘ए बूढी बजै, मेरो हातमा एउटा चरा छ। भन त, यो जीवित छ कि मरेको छ?’

बूढी बजै केही बोल्दिनन्।

प्रश्न फेरि दोहोरिन्छ।

‘मैले समातेको चरा जीवित छ कि मरेको छ?’

फेरि मौनता।

उनी देख्न सक्दिनन्। त्यसैले अगाडि उभिएका मानिसहरूलाई पनि देख्न सक्दिनन्। उनीहरूको हातमा के छ, त्यो देख्न त त परै जाओस्।

उनीहरू कस्ता छन्, कुन जातिका हुन्, पुरुष हुन् कि महिला, कहाँबाट आएका हुन्, तिनलाई केही थाहा छैन। तर एउटा कुरा भने उनलाई थाहा छ। उनीहरूको नियत।

मौनता लम्बिँदै जान्छ। यति लामो कि युवाहरूलाई आफ्नो हाँसो रोक्न मुस्किल पर्छ। उनीहरू आफ्नै खेलमा रमाइरहेका छन्। अन्ततः बूढी बजै बोल्छिन्। स्वर न ठूलो छ, न कमजोर। शान्त छ। तर कडा।

‘मलाई थाहा छैन,’ उनी भन्छिन्, ‘तिम्रो हातमा भएको चरा मरेको छ कि बाँचेको। मलाई साँच्चै थाहा छैन।’

एकछिन रोकिन्छिन्।

‘तर एउटा कुरा मलाई थाहा छ।’

फेरि भन्छिन्, ‘त्यो तिम्रो हातमा छ।’

फेरि पनि भन्छन्, ‘तिम्रो हातमा।’ यति मात्रै।

तर यही छोटो वाक्यभित्र सबै कुरा छ। चरा मरेको छ भने, जिम्मेवारी तिम्रो। सायद तिमीले त्यसलाई मरेकै अवस्थामा भेट्यौ। सायद तिमीले नै मार्‍यौ।

चरा जीवित छ भने पनि त्यसको जीवन तिम्रो हातमा छ। तिमी त्यसलाई बचाउन सक्छौ। तिमी चाह्यौ भने मार्न पनि सक्छौ। अर्थात्, चरा जिउँदो होस् वा मरेको-निर्णय तिम्रो हातमा छ। र त्यसको जिम्मेवारी पनि।

आफ्नो शक्ति देखाउन आएका युवाहरूलाई बूढी बजैले उल्टै उनीहरूको शक्ति देखाइदिइन्। उनीहरू उनको असहायपनको मजाक उडाउन आएका थिए।

तिमीहरूसँग शक्ति छ। अब त्यसको जिम्मेवारी पनि तिमीहरूसँगै छ।

मलाई सधैं लाग्छ, त्यो हातमा समातिएको चराले अरू के कुराको सङ्केत गर्छ होला? विशेषगरी अहिले, म आफ्नो काम र मलाई यहाँसम्म ल्याइपुर्‍याउने यात्राबारे सोच्दा, त्यो चरा झन् अर्थपूर्ण छजस्तो लाग्छ।

म त्यो चरालाई भाषाका रूपमा हेर्न चाहन्छु। र बूढी बजैलाई लेखकका रूपमा।

एक लेखक आफ्नो भाषालाई लिएर किन यति चिन्तित हुन्छ?

किनकि भाषा कसरी प्रयोग भइरहेको छ भन्ने कुरा सानो कुरा होइन। कसले भाषा चलाइरहेको छ? कसका लागि चलाइरहेको छ? कुन काममा लगाइरहेको छ? कुन स्वार्थका लागि प्रयोग गरिरहेको छ? र कसैले खराब नियतले भाषा नै खोस्न खोजिरहेको त छैन?

लेखकका लागि भाषा केवल नियमहरूको एउटा थुप्रो होइन। भाषा आधा प्रणाली हो। आधा मानिसको हातमा रहने जीवित वस्तु।

तर सबैभन्दा बढी, भाषा एउटा शक्ति हो।

भाषाले केही गर्छ। भाषाले काम गर्छ। भाषाको परिणाम हुन्छ। त्यसैले ती युवाहरूले सोधेको प्रश्न, ’यो जीवित छ कि मरेको?’

बूढी बजैका लागि कुनै अनौठो प्रश्न होइन।

किनकि उनलाई थाहा छ, भाषा पनि मर्न सक्छ। भाषा हराउन सक्छ। मेटिन सक्छ। सङ्कटमा पर्न सक्छ। र कहिलेकाहीँ त्यसलाई बचाउन इच्छाशक्ति मात्र चाहिन्छ।

यदि ती युवाहरूको हातमा भएको चरा मरिसकेको छ भने, त्यसको जिम्मेवारी त्यसलाई समातेका मानिसहरूको हो। त्यस्तै, मृत भाषा भनेको बोल्न छोडिएको भाषा मात्र होइन। आफ्नै ठाउँमा अड्किएर बसेको भाषा पनि मृत हुन्छ। आफ्नो जडताको प्रशंसा गर्ने भाषा। प्रश्नसँग डराउने भाषा। सत्तावादी भाषा। सेन्सर गरिएको भाषा। अरूलाई सेन्सर गर्ने भाषा। आफ्ना नियम अरूमाथि थोप्न हमेसा निर्दयी हुने भाषा।

यस्तो भाषाको अन्तिम ध्येय एउटै हुन्छ-आफ्नो प्रभुत्व बचाइराख्नु।

आफ्नो एकाधिकार जोगाउनु। आफ्नो आत्ममुग्धता जोगाउनु। यस्तो भाषा मरेजस्तो देखिए पनि त्यसको असर मरेको हुँदैन। बरु त्यसले काम गरिरहन्छ।

त्यसले बुद्धिलाई रोक्छ। विवेकलाई थुन्छ। मानिसका सम्भावनालाई साँघुरो बनाउँछ। किनभने त्यस्तो भाषाले प्रश्न स्वीकार्दैन।

प्रश्न स्वीकार्दैन भने नयाँ विचार कहाँबाट आउँछ? नयाँ विचार आउँदैन भने अर्कोको दुःख कसरी बुझिन्छ? अर्काको दुःख बुझिएन भने अर्को कथा कसरी सुनिन्छ?

र कहिलेकाहीँ सबैभन्दा ठूलो समस्या यही हुन्छ, मौनतालाई अर्थ दिने कुनै भाषा बाँकी रहँदैन। अज्ञानतालाई ज्ञानजस्तो देखाउन बनाइएको आधिकारिक भाषा एउटा चम्किलो हतियारजस्तो मात्र हुन्छ। टाढाबाट हेर्दा बलियो, नजिक पुग्दा खोक्रो। त्यसको कवचभित्रको योद्धा उहिल्यै भागिसकेको हुन्छ। तर कवच उभिइरहेको हुन्छ। मूर्ख। हिंस्रक। भावुक।

त्यही भाषाले विद्यालयका बालबालिकामा अन्धो भक्ति जगाउन सक्छ। तानाशाहलाई आश्रय दिन सक्छ। जनतालाई स्थिरता र सद्भावको झूटो सम्झना दिन सक्छ।

बूढी बजैलाई एउटा कुरा राम्ररी थाहा छ। भाषा लापरवाहीले मारियो भने पनि त्यसको ‘जिम्मेवारी’ हुन्छ। बेवास्ताले मारियो भने पनि हुन्छ। उदासीनताले मारियो भने पनि हुन्छ। आदेशले मारियो भने पनि हुन्छ।

भाषा बनाउनेहरू दोषी छन्। भाषा प्रयोग गर्नेहरू पनि। उनको देशमा बालबालिकाहरूले आफ्नै जिब्रो टोकेर फालिरहेका छन्। शब्दको ठाउँमा गोली बोलिरहेको छ। अर्थ खोज्नुपर्ने ठाउँमा हिंसा छ। मार्ग देखाउनुपर्ने ठाउँमा आदेश छ। प्रेम व्यक्त गर्नुपर्ने ठाउँमा घृणा छ।

वयस्कहरूले उनीहरूलाई ‘भाषा’ दिन छाडेका छन्। अर्थ दिन छाडेका छन्। दिशा दिन छाडेका छन्। तर बूढी बजैलाई थाहा छ, भाषाको हत्या बालबालिकाले मात्र गर्दैनन्। यो त अपरिपक्व राष्ट्राध्यक्षहरूमा पनि देखिन्छ। शक्तिका व्यापारीहरूमा पनि। आफ्नो शक्ति जोगाउन मात्र बोल्ने नेताहरूमा पनि।

उनीहरू मानिससँग कुरा गर्दैनन्। उनीहरू केवल आदेश दिन्छन् वा आदेश मान्न बाध्य पार्न बोल्छन्।

भाषा कसरी लुटिन्छ, त्यो पनि चिन्न सकिन्छ। जब मानिसले भाषाको सूक्ष्मता लत्याउँछ, जटिल कुरा बुझाउने धैर्य छोड्छ। ज्ञान बाँड्ने काम छोड्छ अनि धम्की र दमन रोज्छ।

दमनकारी भाषा हिंसाको प्रतिनिधित्व मात्र गर्दैन, दमनकारी भाषा आफैंमा हिंसा हो। त्यसले ज्ञानको सीमा देखाउँदैन। ज्ञानलाई नै सीमित गर्छ। चाहे त्यो सरकारको अस्पष्ट भाषा होस्, सञ्चारमाध्यमको विचारहीन भाषा होस्, विश्वविद्यालयको घमण्डी भाषा होस्, विज्ञानलाई व्यापारमा बदल्ने भाषा होस्, नैतिकता हराएको कानुनको भाषा होस्, चाहे अल्पसङ्ख्यकलाई अलग्याउन बनाइएको भाषा होस्।

यस्ता भाषालाई प्रश्न गर्नैपर्छ। अस्वीकार गर्नैपर्छ। बदल्नैपर्छ। पर्दाफास गर्नैपर्छ। किनकि यस्ता भाषाले रगत पिउँछन्। मानिसका कमजोरीबाट फाइदा उठाउँछन्। भद्रताको पोसाक लगाउँछन्। देशभक्तिको झन्डा ओढ्छन्। तर भित्रबाट घिनलाग्दा हुन्छन्। महिलालाई दबाउने भाषा, जातिवादी भाषा, धार्मिक अन्धताको भाषा-यी सबै नियन्त्रणका भाषा हुन्।

यी भाषाले नयाँ ज्ञानलाई दैलो खोल्न दिँदैनन्। नयाँ विचार आउन दिँदैनन्। विचारहरूबीच कुराकानी हुन दिँदैनन्।

बूढी बजैलाई यो पनि थाहा छ, उनको कुरा सबैले मान्ने छैनन्।

बौद्धिकता बेचेर खानेहरूले मान्ने छैनन्। लोभी तानाशाहहरूले मान्ने छैनन्। बिकेका राजनीतिज्ञहरूले मान्ने छैनन्। झूटा नेताहरूले मान्ने छैनन्। किनकि मानिसलाई हतियारले मात्र मारिँदैन।, पहिले भाषाले तयार पारिन्छ।

नागरिकहरूलाई सधैं हतियार बोकेर बस्न उक्साइनेछ। मलको थुप्रोमा होस् वा अदालतमा, हुलाकमा होस् वा खेलमैदानमा, सुत्ने कोठामा होस् वा सडकमा, मानिसलाई मार्न र मारिन तयार पार्ने भाषा बोलिनेछ।

अनावश्यक मृत्यु लुकाउन ठूला-ठूला स्मरणीय शब्द बनाइनेछन्। बलात्कार, यातना र हत्यालाई जायज देखाउन अझ सभ्य भाषा बनाइनेछ। महिलाको घाँटी थिच्न उनीहरूको आवाजभन्दा मीठा तर झन् खतरनाक शब्द खोजिनेछन्। ‘निगरानी’-लाई ‘अनुसन्धान’ भनिनेछ। जनताको पीडालाई इतिहास भनिनेछ। करोडौं मानिसको दुःखलाई मौन बनाउन राजनीति बोल्नेछ। असन्तुष्ट मानिसलाई आफ्नै छिमेकीमाथि खनिन उक्साउने आकर्षक भाषा हुनेछ। सिर्जनशील मानिसलाई हीन र निराश बनाइराख्ने घमण्डी भाषा हुनेछ।

त्यसैले शब्दहरू मीठा हुँदैमा भाषा जीवित हुँदैन। शब्द आकर्षक हुँदैमा पनि हुँदैन। शब्द विद्वतापूर्ण सुनिँदैमा पनि हुँदैन। ती शब्दहरूको पछाडि चरा मरिसकेको छ भने, भाषाको मुटु कमजोर र सायद धड्किनै छाडिसकेको हुनुपर्छ।

बूढी बजै अर्को कुरा पनि सोचिरहेकी छिन्।

यदि कुनै विषय वा ज्ञानले प्रभुत्व जमाउने तर्कसँग लड्नमै आफ्नो समय र जीवन खर्च गर्नुपर्दैनथ्यो भने हाम्रो बौद्धिक इतिहास कस्तो हुन्थ्यो होला?

कति कुरा अझै थाहा पाउन सकिन्थ्यो होला? कति मानिस बोल्न पाउँथे होला? कति मानिस सुन्न पाउँथे होला? भेदभावको भाषाले ज्ञानका दैलो बन्द गरिदिएको छ। बहिष्कृत हुनेहरूका लागि मात्र होइन, बहिष्कार गर्नेहरूका लागि पनि।

बाबेलको टावरको कथा हामी सबैले सुनेका छौं। भाषा छुट्टियो। मानिसहरूले एकअर्कालाई बुझ्न छाडे। टावर बन्न सकेन।

यसको परम्परागत अर्थ के हो?

धेरै भाषा हुनु दुर्भाग्य हो। एउटै भाषा भएको भए निर्माण छिटो हुन्थ्यो। टावर स्वर्गसम्म पुग्थ्यो।

तर बूढी बजै सोध्छिन्, कसको स्वर्ग? र कस्तो स्वर्ग?

अरूको भाषा बुझ्ने फुर्सद छैन, अरूको कथा सुन्ने धैर्य छैन, अरूको दृष्टिकोण बुझ्ने समय छैन, त्यस्तो अवस्थामा स्वर्ग पुग्ने हतार किन?

सायद उनीहरूले एकअर्कालाई बुझ्न खोजेका भए, उनीहरूले खोजिरहेको स्वर्ग आफ्नै खुट्टामुनि भेट्ने थिए।

अलि जटिल, अलि अप्ठ्यारो, अलि बढी मिहिनेत चाहिथ्यो। तर मृत्यु पछिको स्वर्ग होइन, जीवनमै भेटिन्थ्यो स्वर्ग।

बूढी बजै आफ्ना युवा पाहुनाहरूलाई अर्को कुरा पनि भन्न चाहन्छिन्।

भाषालाई केवल जीवित राखेर पुग्दैन। भाषा जीवन्त हुनुपर्छ। यसले जीवन बोकेर हिँड्नुपर्छ। पाठकको जीवन। लेखकको जीवन। वास्तविक जीवन। कल्पनाको जीवन। अझै आउन बाँकी जीवन।

भाषाले अनुभवलाई व्यक्त गर्न सक्छ, तर भाषा अनुभवको विकल्प होइन। भाषा भनेको अनुभवसम्म पुग्ने बाटो हो। अर्थ भेटिने ठाउँतिर जाने बाटो।

अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो देशलाई गृहयुद्धले चिथोरिरहेको बेला एउटा कुरा भनेका थिए।

उनले भनेका थिए, हामी यहाँ जे बोल्छौं, त्यसलाई संसारले सायद धेरै सम्झने छैन। तर यहाँ मानिसहरूले जे गरे, त्यसलाई संसारले कहिल्यै बिर्सने छैन।

कति सरल शब्द, तर कति गहिरो।

लिङ्कनले युद्धमा मारिएका मानिसहरूको जीवनलाई केही शब्दभित्र कैद गर्न खोजेनन्, उनले ठूलो स्मारक खडा गरेर अन्तिम सत्य सुनाउन खोजेनन्, उनले आफ्नो शब्दले सबै कुरा भन्न सक्छ भन्ने घमण्ड गरेनन्। बरु स्वीकारे, शब्दको पनि सीमा हुन्छ। जीवन शब्दभन्दा ठूलो हुन्छ। यही कुराले बूढी बजैलाई छुन्छ।

भाषाले जीवनलाई कहिल्यै पूर्ण रूपमा समेट्न सक्दैन र समेट्नु पनि हुँदैन। दासत्वलाई भाषाले केही वाक्यमा टुङ्ग्याउन सक्दैन।, नरसंहारलाई व्याख्या गरेर सकिँदैन। युद्धलाई केही सुन्दर शब्दमा बाँधेर बुझाउन सकिँदैन। भाषाले त्यस्तो घमण्ड गर्नु हुँदैन।

भाषाको शक्ति अर्कै ठाउँमा छ। नसमेटिने कुरालाई पनि छुन खोज्नुमा छ, चाहे त्यो भव्य होस् वा सानो। गहिरो अध्ययन होस् वा विस्फोटजस्तो आकस्मिक।

पवित्र भनिएको कुरालाई प्रश्न गरोस् वा पवित्र मान्नै अस्वीकार गरोस्। ठूलो स्वरमा हाँसोस् वा शब्दविहीन चीत्कार गरोस्। सही शब्द र सही ठाउँको मौनताले भाषालाई विनाशबाट ज्ञानतिर लैजान्छ।

तर प्रश्न गरेकै कारण प्रतिबन्धित गरिएका साहित्य हामीले कति देखेका छौं? आलोचना गरेकै कारण बदनाम गरिएका लेखहरू कति छन्? फरक भएकै कारण मेटिएका आवाज कति छन्? अनि भाषा यसरी मारिँदा कति जना साँच्चै आक्रोशित हुन्छन्?

बूढी बजै सोध्छिन्, शब्दको काम यति ठूलो किन छ? किनकि शब्दले सिर्जना गर्छ। शब्दले अर्थ बनाउँछ र त्यो अर्थले हाम्रो भिन्नता जोगाउँछ। हामी अरू कुनै जीवजस्तै मात्र होइनौं, हामी मानिस हौं। हाम्रो भिन्नता छ। सायद त्यही भिन्नतालाई बचाइराख्ने एउटा ठूलो माध्यम भाषा हो।

हामी मर्छौं, सायद त्यो जीवनको अर्थमध्ये एउटा हो। तर हामी भाषा बनाउँछौं। सायद त्यही हाम्रो जीवनको मापन हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ