दार्जिलिङ विधानसभा क्षेत्रबाट अजय एडवर्ड अनि नोमन राईले आफ्नो नामाङ्कन दर्ता गरिसकेपछि एउटा बहस सुरु भएको छ। विधायक पढेको पठाउने कि अनपढ? मलाई यो विषय निकै रोचक लाग्यो, त्यसकारण आफ्नो विचार यहाँ लेखिरहेको छु।
हुन त मलाई अनपढ भन्ने शब्द एउटा गाली लाग्छ। आजका दिन बहसमा चलिरहेको अनपढ/पढेको भन्ने वर्गीकरणअनुसार मेरा आमा बाबा दुवै अनपढ हुन्। तपाईँहरू धेरैको आमा बाबा पनि मेरैजस्ता होलान्। कति मजदुरी गर्दा हुन्। कति चिया बगानमा काम गर्दा हुन्। म आफैले जीवनका लागि काम लाग्ने सबैभन्दा महत्त्वपूर्ण ज्ञान उनीहरूको जीवनबाट सिकेको छु। म आफ्नो औपचारिक अध्ययन समाप्त गरेर बसेको मान्छे हुँ तर मैले आफ्नो अनुभूति अनि स्व-अध्ययनले जति कुरा सिक्न पाएँ, ती कुरा नै मेरो जीवनमा सबैभन्दा धेर काम लागे। ती ज्ञान नै मेरो समाज बुझ्ने चस्मा भए।
आफ्नै बारेमा कुरा राख्ने भन्दा पनि म यहाँ केही उदाहरण राख्न चाहन्छु।
पहिलो उदाहरण अब्राहम लिङकन हुन्, जससँग आधिकारिक शिक्षा थिएन तर आफ्नो जीवनकालमा हातमा परेका सबै किताब पढेर आफूलाई निखारे। आफै कानुनको अध्ययन गरे अनि अमेरिकाको सोह्रौँ राष्ट्रपति बने। यसमा अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वसिङ्टनलाई पनि थप्न सकिन्छ, जो ११ वर्षको हुँदा बाबाको मृत्यु भएपछि स्कुल जान नपाएका रहेछन्।
अर्का उदाहरण मेरा प्रिय बेन्जामिन फ्राङ्कलिन हुन्, जसले १० वर्षको उमेरमा बाबाको मोमबत्ती कारखानामा काम गर्नका लागि स्कुल छोडेका रहेछन्। उनलाई इतिहासकै सबैभन्दा ज्ञानी मानिसहरूमध्ये एक मानिन्छ। यसमा हामी लेनिनको नाम पनि जोड्न सक्छौँ, जसलाई छात्र प्रतिवादमा भाग लिएका कारण विश्वविद्यालयबाट निष्कासन गरिएको रहेछ।
इलेक्ट्रोम्याग्नेटिक इन्डक्सनको आविष्कार गर्ने माइकल फ्याराडेसँग केवल प्राथमिक शिक्षा थियो। बुक बाइन्डिङको काम गर्दै गर्दा आफूले बाइन्ड गर्नुपर्ने किताबहरू पढेर उनी विश्वकै मानिएका वैज्ञानिक बने। यस्तै अर्को उदाहरण थोमस एडिसन पनि छन्, जसलाई ‘लठुवा’ भनेर स्कुल प्रवेश गरेको तिन महिनाभित्रै स्कुलबाट निकालिएको थियो।
नश्लवाद अनि साम्राज्यवादविरुद्ध लेखनद्वारा सबैभन्दा बलियो आवाज उठाउने विश्व प्रसिद्ध लेखक मार्क ट्वेनले पनि बाह्र वर्षको उमेरमा स्कुल छोड्नु परेको रहेछ। यसमा कति नाम थप्ने?
अब कुरा विधायक बन्ने आएपछि बङ्गालकै एकजना पूर्व विधायकको कुरा गर्छु जसलाई बङ्गालकी मुख्यमन्त्री ममता व्यानर्जी स्वयंले सन् २०२१ को चुनाउ लढ्नको लागि चुनेकी थिइन्।
उनी हुन् दलित लेखक मनोरञ्जन व्यापारी।
उनीसँग एउटै पनि स्कुली शिक्षा छैन। बालापन रेफ्युजी क्याम्पमा बित्यो। नक्सल आन्दोलनमा आफ्नो युवा उमेर खर्चिए। जीवनको रहल भाग लेखनमा दलित आवाज मुखर गरेर बिताए। यसपालिको चुनाउ नलढे पनि उनी आफ्नो जनतामाझ लोकप्रिय छन्।
अब अनपढ मानिसहरूको यति धेरै कुरा गरेपछि केही पढेका मानिसहरूको पनि कुरा गरौँ, जसले आफ्नो नियत ठिक नभएको कारण आफ्नो समुदाय, देश अनि विश्वलाई सङ्कटको मुखमा धकेले।
पहिले म सालोथ सारको बारेमा कुरा गर्न चाहन्छु, जसलाई कम्बोडियामा एक बौद्धिक मानिन्थ्यो। उनलाई कम्बोडिया जनसंहारका लागि उत्तरदायी मानिन्छ। जसले देशको लगभग २५ प्रतिसत जनसङ्ख्याको ज्यान लियो।
यसमा जोसेफ मेङ्गेले नामका एकजना मानिसलाई पनि सामेल गर्न मन लाग्यो जसले मानवशास्त्रमा विद्यावारिधि हासिल गरेका थिए। उनले आफ्नो वैज्ञानिक विशेषज्ञतालाई नाजीवादको भयावह सिद्धान्त निर्माण गर्न पुगे।
तपाईँहरूले बसर अल असदको नाम सुन्नुभएको होला, जसको कारण सिरियाली गृह युद्ध सुरु भयो। यस गृहयुद्धका कारण करौडौँ मानिस विस्थापित बन्न पुगे र विश्वमा एउटा रेफ्युजी सङ्कट आइपऱ्यो। उनी एकजना आँखाका डाक्टर थिए जसले लन्डनबाट तालिम लिएका थिए।
अब तपाईँ आफै सोँच्नुहोस्। तपाईंको मनमा अन्य कुन कुन यस्ता मान्छेको नाम आयो जसले थोरै पढेका साथ आफ्नो समुदाय देश अनि संसारका लागि उपलब्धिमूलक काम गरे? अनि यस्ता कुन कुन मान्छेको नाम याद आयो जसले पढेर पनि आफ्नो समाज र राष्ट्रमा विध्वंश मचाए?
खासमा मेरो तर्क पढेका मान्छे खराब हुन्छन् अनि नपढेका मान्छे असल हुन्छन् भन्ने होइन। खराब अनि असल पढाइले होइन आफ्नो अनुभूति, स्व-अध्ययन र सबैभन्दा धेर आफ्नो नियतले तय गर्ने हो। कलेज पढेको होस् नहोस्, समाजलाई राम्ररी पढेको हुनुपऱ्यो। समाजको समस्या, विसङ्गतिबारे अध्ययन गरेको हुनुपऱ्यो र यसलाई सुधारेर ल्याउने भिजन हुनुपऱ्यो। यदि उम्मेदवारसँग ठुल्ठुलो डिग्री छैन तर उनको नियत ठिक छ, समाज रुपान्तरण गर्ने उनको भिजन छ र क्षेत्रको लागि केही गर्ने अठोट छ भने उनले मज्जाले चुनाउ लड्न सक्छन्। चुनाउ जितेर क्षेत्रका लागि काम गर्न सक्छन्। यदि नियत ठिक छैन, केवल अवसरका लागि चुनाउ लडिरहेका छन् भने, जति पढे पनि के भयो? उदाहरण त हाम्रै इतिहास छँदै छ। होइन?