अक्टोबर 16, 2026 | 2:24 बेलुका

गोर्खाल्याण्डका फरक बाटा, एउटै प्रश्न

– हामी केवल डा. हर्कबहादुर छेत्रीको भर्‍याङ चढ्दै जाने रणनीतिमा मात्र भर पर्न सक्दैनौँ। – हामीले सी.के. श्रेष्ठको सामाजिक-सांस्कृतिक चेतना र सङ्घर्षलाई सुन्दर बनाउने क्षमताबाट सिक्नुपर्छ। तर सङ्घर्षको सौन्दर्यले अन्तिम लक्ष्यलाई विस्थापित गर्न दिनु हुँदैन।- सुवास घिसिङको ‘फाइट टु फिनिस’ जस्तो लक्ष्यप्रतिको दृढता आवश्यक छ। तर विगतमा देखिएका कार्यनीतिक कमजोरी दोहोर्‍याउनु हुँदैन।- मदन तामाङको लक्ष्यमा सीधा केन्द्रित रहने दृढता आवश्यक छ। तर लक्ष्यसम्म पुग्न कार्यनीतिक लचकता र सङ्गठनात्मक तयारी पनि चाहिन्छ।- क्रामाकपाको वर्गीय दृष्टिकोण आवश्यक छ। तर १९८६ को ऐतिहासिक बोझबाट बाहिर निस्केर नयाँ पुस्तासँग नयाँ सम्बन्ध बनाउनुपर्छ। त्यसैले मलाई सबैभन्दा सम्भावनायुक्त बाटो यी धारका उपयोगी पक्षहरूको संश्लेषणमा छ भन्ने लाग्छ- क्रामाकपाको वर्गीय दृष्टिकोण, सी.के. श्रेष्ठको सामाजिक–सांस्कृतिक चेतना, सुवास घिसिङको लक्ष्यप्रतिको दृढता  र मदन तामाङको लक्ष्यकेन्द्रित राजनीतिक दृढता। यी सबैलाई एउटै राजनीतिक दृष्टिकोणमा जोड्न सक्नुपर्छ। तर यो केवल विचारको फ्युजनले पुग्दैन। यसलाई सङ्गठनमा रूपान्तरण गर्नुपर्छ।

°°°

स्वर्गीय मदन तामाङ, स्वर्गीय सुवास घिसिङ, डा. हर्कबहादुर छेत्री, सी.के. श्रेष्ठ र आर.बी. राई – यी मेरा लागि केवल फरक फरक राजनीतिक व्यक्तित्वका नाम होइनन्। यी सबैसँग मेरा आफ्नै अनुभव जोडिएका छन्  र सबैले कुनै न कुनै रूपमा मेरो राजनीतिक सोचलाई प्रभावित गरेका छन्।

उहाँहरूको राजनीतिक शैली फरक थियो, व्यक्तित्व फरक थियो, बौद्धिक क्षमता फरक थियो। तथ्यलाई हेर्ने दृष्टिकोण फरक थियो, राजनीतिक निष्कर्षसम्म पुग्ने बाटो पनि फरक थियो। तर मैले सबैबाट केही न केही सिकेको छु। यहाँ मैले अरू धेरै महत्वपूर्ण व्यक्तिको नाम लिएको छैन। विमल गुरुङ, अनित थापा, विनय तामाङ, रोशन गिरी, आर. मोक्तान, सी.के. प्रधान र मभन्दा अघिल्लो पुस्ताका धेरै नेता पनि छन्। उहाँहरूले गोर्खा समाज र राजनीतिमा योगदान दिएनन् वा प्रभाव पारेनन् भन्ने मेरो आशय कदापि होइन।

मैले राजनीतिक धारका आधारमा कसैलाई सुवास घिसिङको ‘फाइट टु फिनिस’ धारको नजिक देखेँ, कसैलाई गोर्खाल्याण्डको सङ्घर्षलाई अर्कै दिशातिर मोड्ने धारमा राखेँ। त्यसैले यहाँ सबैको नाम लिन सम्भव भएन।

तर यी मध्ये एक जना मात्र व्यक्तिलाई पछ्याउनुपर्छ वा एउटै धारलाई पूर्ण रूपमा अपनाउनुपर्छ भन्ने निष्कर्षमा म कहिल्यै पुगिनँ।

हामी सबैले आफ्ना अग्रजबाट केही न केही सिक्छौँ। उहाँहरूका विचार, शैली र राजनीतिक अभ्यासको नक्कल पनि गर्छौँ। तर उहाँहरू किन सफल हुन सक्नुभएन? कुन सीमाका कारण उहाँहरूको नेतृत्व घोषित लक्ष्यसम्म पुग्न सकेन? यी प्रश्नमा भने हामी प्रायः आलोचनात्मक ढङ्गले सोच्दैनौँ।

मेरो उद्देश्य कसैको अँध्यारो पक्ष मात्र देखाउनु होइन। मेरो उद्देश्य के कुरा लिने, के कुरा छोड्ने  र फरक–फरक अनुभवबाट सिकेका कुरालाई कसरी एउटै राजनीतिक दृष्टिकोणमा मिलाउने (फ्युजन गर्ने) भन्ने हो।

समयसँगै मलाई लाग्यो, गोर्खाल्याण्ड आन्दोलनलाई बुझ्न विभिन्न धारका विचार, उपलब्धि र कमजोरीलाई एकै ठाउँमा राखेर हेर्नुपर्छ।

लक्ष्य एउटै भए पनि त्यहाँ पुग्ने रणनीति र कार्यनीति फरक हुन सक्छन्। कहिलेकाहीँ एउटै आन्दोलनको सबैभन्दा ठूलो समस्या लक्ष्यमा हुँदैन। समस्या त के कुरालाई अहिले प्राथमिकता दिने र केलाई गौण राख्ने भन्ने तालमेलमा हुन्छ-लक्ष्य, रणनीति र कार्यनीतिबीचको तालमेलमा।

आज २०२६ मा उभिएर विगतलाई हेर्दा मलाई गोर्खाल्याण्ड आन्दोलनका विभिन्न राजनीतिक धारलाई मोटामोटी केही फरक दृष्टिकोणबाट बुझ्न सकिन्छ जस्तो लाग्छ।

°°°

फरक बाटा, एउटै प्रश्न

गोर्खाल्याण्डको माग गर्ने सबैको अन्तिम राजनीतिक आकांक्षा एउटै थियो भन्ने होइन। कतिपयका लागि छुट्टै राज्य नै अन्तिम लक्ष्य थियो। कसैका लागि गोर्खाल्याण्ड भनेको भारतभरिका गोर्खाको पहिचान, राजनीतिक सुरक्षा र भविष्य निर्धारण गर्ने माध्यम थियो। कतिपयले वैकल्पिक राजनीतिक संरचना र अवधारणा पनि अघि सारे।

तर आन्दोलनभित्र अर्को प्रवृत्ति पनि देखियो – गोर्खाल्याण्डको घोडामा चढेर सत्ताको भर्‍याङ चढ्ने, सत्तामा पुगेपछि त्यसबाट पाएको सुविधा, पहुँच र अवसरलाई व्यक्तिगत तथा पारिवारिक स्वार्थमा प्रयोग गर्ने प्रवृत्ति।

आन्दोलनका नाममा राजनीति गर्ने तर अन्ततः आन्दोलनलाई नै आफ्नो सत्ताको भर्‍याङ बनाउने प्रवृत्ति पनि स्थापित भयो।

त्यसैले प्रश्न केवल ‘गोर्खाल्याण्ड चाहिन्छ कि चाहिँदैन?’ भन्ने मात्र होइन।

मुख्य प्रश्न यी हुन्-

– गोर्खाल्याण्ड कसरी प्राप्त गर्ने?

– कसको नेतृत्वमा प्राप्त गर्ने?

– त्यसका लागि कस्तो समाज बनाउने?

– बाटोमा आउने चार आना, आठ आना जस्ता राजनीतिक प्रलोभन र पासोबाट कसरी जोगिने?

यही प्रश्नले मलाई मेरा ती राजनीतिक गुरुहरूका रणनीतिको बारम्बार तुलना गर्न बाध्य बनाउँछ।

°°°

१. डा. हर्कबहादुर छेत्री : भर्‍याङ चढ्दै अघि बढ्ने रणनीति

मेरो बुझाइमा १९८६ को आन्दोलन मुख्यतः चार मोर्चामा विभाजित थियो – सडक, सदन, जङ्गल र कूटनीतिक सङ्घर्ष।

१९८६ मा हामी जनताले सडक र जङ्गलको सङ्घर्ष लगभग जित्यौँ। तर सदनमा हाम्रो प्रभावकारी उपस्थिति थिएन। कूटनीतिक सङ्घर्षमा भने हाम्रो नेतृत्व वार्ताको टेबलमा पराजित भयो।

२००७ को आन्दोलनमा पनि चार प्रमुख मोर्चा थिए, तर स्वरूप फरक थियो – सडक, सदन, मिडिया र कूटनीति। जङ्गलको सङ्घर्ष थिएन।

सडक आन्दोलनमा हामी जनता र सरकार लगभग बराबरीको अवस्थामा थियौँ। कूटनीतिमा हाम्रो नेतृत्व कमजोर रह्यो। सदनको मोर्चा पहिलेजस्तै प्रभावकारी बन्न सकेन। तर मिडियाको मोर्चामा डा. हर्कबहादुर छेत्रीले एक्लै असाधारण भूमिका निर्वाह गर्नुभयो। मेरो व्यक्तिगत मूल्याङ्कनमा २००७-११ को आन्दोलनको ‘परमवीरचक्र’ कसैले पाउनुपर्छ भने त्यो डा. हर्कबहादुर छेत्रीले पाउनुपर्छ।

नेतृत्वका रूपमा डा. छेत्री धेरै राजनीतिक दलसँग जोडिनुभयो। उहाँको बौद्धिकता र तर्कशक्तिका कारण उहाँ जुन पार्टीमा जानुभयो, कतिपय अवस्थामा त्यो पार्टीभन्दा उहाँ स्वयं ठूलो राजनीतिक पहिचान बन्नुभयो।

मानिसहरूले ‘हर्कबहादुर कुन पार्टीमा हुनुहुन्छ?’ भन्नुभन्दा ‘कुन पार्टी हर्कबहादुरसँग जोडिएको छ?’ भन्ने अवस्था बन्यो।

२००७ को आन्दोलनबारे उहाँको दृष्टिकोण र आजको दृष्टिकोणमा एउटा निरन्तरता देखिन्छ- भर्‍याङ चढ्दै गोर्खाल्याण्डसम्म पुग्न सकिन्छ।

अर्थात्, सुरुमा बाह्र आना सङ्घर्ष गरौँ। बाटोमा चार आना उपलब्धि मिल्छ भने त्यसलाई पनि स्वीकार गरौँ  र त्यसैलाई आधार बनाएर अर्को चरणतिर बढौँ। एउटा भर्‍याङ, त्यसपछि अर्को भर्‍याङ, अनि अर्को।

यस रणनीतिको आफ्नै तर्क छ। राजनीतिमा सबै उपलब्धि एकैचोटि नमिल्न सक्छ। सानो उपलब्धिलाई आधार बनाएर ठूलो उपलब्धितर्फ बढ्न सकिन्छ। यस अर्थमा यो व्यवहारवादी रणनीति हो।

तर मेरो प्रश्न यहीँबाट सुरु हुन्छ।

विगतमा यस्ता भर्‍याङ चढ्दै जाँदा हामी कति पटक भर्‍याङमै अल्झियौँ? लक्ष्य नै बिर्सियौँ कि?

१९८६ पछि हामीले विभिन्न चरणमा सम्झौता, संरचना, चुनाव, सत्ता र संस्थागत व्यवस्था देख्यौँ। २००७, २०११, २०१३, २०१७- यीमध्ये कति वास्तवमै अन्तिम लक्ष्यतर्फ जाने भर्‍याङ बने? कति चाहिँ भर्‍याङमै रोकिए?

मेरो प्रश्न भर्‍याङ चढ्नु गलत हो भन्ने होइन। प्रश्न यति हो-

भर्‍याङ चढेपछि अर्को भर्‍याङ कहाँ छ? र प्रत्येक भर्‍याङले अन्तिम गन्तव्यसँगको सम्बन्ध कसरी कायम राख्छ?

त्यसैले २०२६ मा फेरि यही रणनीति अपनाउँदा विगतका भर्‍याङहरूको पनि गम्भीर अध्ययन गर्नुपर्छ भन्ने मलाई लाग्छ।

°°°

२. सी.के. श्रेष्ठ : सङ्घर्षलाई नै अर्थपूर्ण र सुन्दर बनाउने राजनीति

सी.के. श्रेष्ठ सर मेरो राजनीतिक जीवनमा विलक्षण प्रतिभाका धनी व्यक्तित्व हुनुहुन्छ। उहाँ पारसजस्तै हुनुहुन्छ, जे छोए पनि त्यसलाई सुनमा बदल्न सक्ने।

कथा, कविता, नाटक, भाषण, सभा–सेमिनार, भाषा सङ्घर्ष, जातीय चेतना र मुक्ति सङ्घर्ष, जुनसुकै क्षेत्रमा पनि उहाँले आफ्नो प्रभाव छोड्न सक्नुभयो। मलाई त कहिलेकाहीँ उहाँ सास फेर्दा पनि गोर्खा जातिकै परिधिभित्र फेर्नुहुन्छ जस्तो लाग्थ्यो।

उहाँको इभेन्ट म्यानेजमेन्ट क्षमतासँग तुलना गर्न सकिने अरू कोही मलाई भेटिन्छजस्तो लाग्दैन। भारतीय गोर्खा परिसङ्घलाई उहाँले जुन उचाइमा पुर्‍याउनुभयो, भविष्यमा त्यही उचाइ सजिलै दोहोरिएला जस्तो लाग्दैन। नेपाली भाषाको मान्यताका लागि उहाँले गर्नुभएको योगदान पनि अविस्मरणीय छ।

सी.के. श्रेष्ठ सरले जुन मुद्दा समात्नुहुन्छ, त्यसलाई ठूलो उचाइमा पुर्‍याउने क्षमता राख्नुहुन्छ।

छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनसँग पनि उहाँ जोडिनुभयो। प्रान्त परिषद्को आन्दोलनका बेला उहाँले नेतृत्व गर्नुभयो। तर मेरो मनमा एउटा प्रश्न रहिरह्यो-यति विलक्षण प्रतिभा र क्षमता भएको व्यक्तिको नेतृत्वमा पनि मुक्ति सङ्घर्षले अपेक्षित उचाइ किन पाएन?

कहिलेकाहीँ मलाई लाग्छ, उहाँले छुट्टै राज्यको मुद्दालाई आफ्नो सम्पूर्ण राजनीतिक यात्राको केन्द्रीय ध्येय नमानेर व्यापक सामाजिक–सांस्कृतिक सङ्घर्षको एउटा महत्वपूर्ण अंश मात्र मान्नुभयो कि?

उहाँसँग जोडिएका विभिन्न अवधारणा र राजनीतिक प्रयोगले उहाँलाई पछ्याउनेहरूमा पनि कहिलेकाहीँ अन्योल पैदा गरेको देखिन्छ।

तर यहाँ म एउटा कुरा स्पष्ट गर्न चाहन्छु, यसको अर्थ उहाँले लक्ष्य नै छोड्नुभयो भन्ने होइन।

बरु मेरो बुझाइमा उहाँको राजनीतिक शक्ति धेरैजसो अन्तिम लक्ष्यभन्दा वर्तमान सङ्घर्षलाई अर्थपूर्ण, सुन्दर र सिर्जनात्मक बनाउनेतर्फ बढी केन्द्रित भयो। अर्थात् हामी जहाँ उभिएका छौँ, त्यहीँको सङ्घर्षलाई सुन्दर बनाऔँ। त्यसलाई कलात्मक रूप दिऔँ। सङ्घर्षभित्रै समाजलाई परिष्कृत गर्दै अघि बढौँ।

यस दृष्टिकोणको आफ्नै ठूलो महत्व छ। किनकि कुनै पनि आन्दोलन केवल अन्तिम परिणामका लागि मात्र बाँच्दैन। आन्दोलनले आफैँ समाज बदल्नुपर्छ। मानिसको चेतना बदल्नुपर्छ। संस्कृति, विचार र सामाजिक सम्बन्धलाई नयाँ रूप दिनुपर्छ।

तर यहाँ पनि एउटा खतरा छ। सङ्घर्ष नै यति महत्वपूर्ण भयो कि लक्ष्यभन्दा सङ्घर्ष ठूलो भयो भने?

बेहुली लिन जन्ती गएको हो। बाटोमा नाचगान रमाइलो भयो। रमाइलो यति धेरै भयो कि लगन नै बित्यो। अन्त्यमा बेहुली नलिई जन्ती रित्तै फर्किनुपर्ने भयो भने?

मेरो डर यही हो। सङ्घर्ष सुन्दर हुनुपर्छ, तर त्यसको सुन्दरताले लक्ष्यलाई विस्थापित गर्न हुँदैन।

°°°

३. सुवास घिसिङ : स्पष्ट लक्ष्य र ‘फाइट टु फिनिस‘

सुवास घिसिङमा एउटा कुरा अत्यन्त स्पष्ट थियो, लक्ष्य।

गोर्खाल्याण्ड उहाँका लागि केवल चुनावी नारा थिएन। लक्ष्यप्रति उहाँमा प्रतिबद्धता थियो। उहाँमा ‘फाइट टु फिनिस’ को मानसिकता थियो  र आन्दोलन पनि त्यही मानसिकताबाट सुरु भयो।

तर मेरो बुझाइमा उहाँको कमजोरी लक्ष्यमा भन्दा बढी कार्यनीतिक तयारीमा देखियो।

सत्ता र सरकारले आन्दोलनविरुद्ध प्रयोग गर्न सक्ने विभाजन, प्रलोभन, आन्तरिक द्वन्द्व र दीर्घकालीन राजनीतिक चालको पर्याप्त मूल्याङ्कन भएन। आन्दोलनका बाहिरी शत्रुको मात्र होइन, आन्दोलनभित्रै पस्ने विभाजनकारी शक्तिको पनि तयारी गर्नुपर्ने थियो।

सत्ताको खेलमा आन्दोलनलाई फुटाउने अनेक उपाय हुन्छन्। कहिले पद, कहिले प्रलोभन, कहिले सुविधा, कहिले फूट, कहिले भ्रम, कहिले अविश्वास।

यी सबैको समग्र मूल्याङ्कन नहुँदा अन्ततः आन्दोलन विभाजित भयो, अविश्वासको वातावरण बन्यो र आन्दोलन कमजोर भयो।

मेरो बुझाइमा अन्तिम चरणमा सुवास घिसिङको राजनीतिक मनोविज्ञान पनि क्रमशः यस्तो अवस्थातिर धकेलियो, जहाँ उपलब्ध विकल्पमध्ये सम्झौता स्वीकार गर्नु व्यावहारिक ठानिन थाल्यो।

इतिहासको विडम्बना यही हो, ‘फाइट टु फिनिस’ को उद्घोषबाट सुरु भएको आन्दोलन अन्ततः सम्झौताको संरचनामा पुग्यो।

यसबाट मैले सिकेको पाठ यो हो- लक्ष्यप्रतिको दृढता मात्र पर्याप्त हुँदैन। लक्ष्य जोगाउन कार्यनीतिक तयारी पनि उत्तिकै आवश्यक हुन्छ।

°°°

४. मदन तामाङ : चार आना होइन, सीधै गन्तव्य

मदन तामाङको राजनीतिक सोच यी सबैभन्दा केही फरक थियो।

उहाँलाई बुझ्न मलाई सहयोग गर्ने एउटा उदाहरण बर्खाको ठूलो खोला तर्ने उदाहरण हो। खोला तर्नुपर्छ भने एउटा किनाराबाट साहस गरेर उफ्रनुपर्छ र अर्को किनारामा टेक्नुपर्छ। बीचमा टेक्ने ठाउँ हुँदैन। बीचमा उभिने प्रयास गरियो भने बगिने सम्भावना हुन्छ।

मदन तामाङको राजनीतिक सोच पनि मलाई यस्तै लाग्थ्यो। छुट्टै राज्य लक्ष्य हो भने बाटोमा भेटिने चार आना टिप्दै हिँड्नु हुँदैन।

मन्साको जीटीआर होस्, २४४ होस्, पञ्चायत, नगरपालिका वा विधानसभाको चुनाव होस्, यी सबैलाई अन्तिम लक्ष्यतर्फ जाने भर्‍याङभन्दा पनि सम्भावित राजनीतिक पासोका रूपमा हेर्नुपर्छ भन्ने उहाँको धारणा थियो।

कार्यनीतिक हिसाबले राजनीतिक बाध्यता वा ट्याक्टिक्सका रूपमा लिन सकिए पनि रणनीतिक अर्थमा बङ्गाल सरकारअन्तर्गतका सबै चुनावमा सहभागी हुनु लक्ष्यप्रति गद्दारी नै हो, अपराध नै हो।

प्रश्न त्यसको राजनीतिक उद्देश्य र आन्दोलनसँगको सम्बन्धको हो। यदि हरेक पटक चुनाव, पद, स्थानीय सत्ता वा सानो प्रशासनिक उपलब्धिलाई आन्दोलनको उपलब्धि मान्दै गयौँ भने, कुनै दिन हामी थाहै नपाई मूल लक्ष्यबाट धेरै टाढा पुगिसकेका हुन सक्छौँ।

मेरो बुझाइमा मदन तामाङको जोड यही कुरामा थियो- चार आना देखेर रोकिने होइन, लक्ष्यको दिशा नछोडी अघि बढ्ने।

तर यहाँ पनि एउटा कुरा बुझ्नुपर्छ। सीधै लक्ष्यतर्फ जाने दृढता आवश्यक भए पनि त्यसका लागि कार्यनीति चाहिन्छ। दृढता र कार्यनीति एकअर्काका विरोधी होइनन्।

गन्तव्यमा सम्झौता नगर्ने र बाटोमा राजनीतिक बुद्धिमत्ता नछोड्ने, दुवै कुरा आवश्यक छन्।

°°°

५. आर.बी. राई र क्रामाकपा : गोर्खाल्याण्ड कसका लागि?

आर.बी. राई तथा क्रामाकपाको धारले अर्को महत्वपूर्ण प्रश्न उठाउँछ, गोर्खाल्याण्ड कसका लागि? शोषितका लागि कि शोषकका लागि? हेभ्सका लागि कि हेभ-नट्सका लागि?

गोर्खाल्याण्ड शोषित जनताको मुक्ति र सम्मानका लागि हो भने आन्दोलनको नेतृत्व र संरचना पनि शोषित वर्गको हितमा हुनुपर्छ, यो विचार यस धारको मूलमा देखिन्छ।

जातीय मुक्ति र वर्ग सङ्घर्षलाई अलग–अलग हेर्नुभन्दा दुवैलाई जोडेर अघि बढाउनुपर्छ भन्ने विचार मलाई सैद्धान्तिक रूपमा महत्वपूर्ण लाग्छ। किनकि एउटा जाति राजनीतिक रूपमा उत्पीडित हुन सक्छ, तर त्यही जातिभित्र पनि वर्गीय शोषण हुन सक्छ। एउटा समुदायमाथि बाह्य शासन वा भेदभाव हुन सक्छ, तर त्यही समुदायभित्रको शक्तिशाली वर्गले कमजोर वर्गको शोषण पनि गर्न सक्छ।

त्यसैले समाजलाई केवल ‘हामी’ र ‘उनीहरू’ मा बाँड्दा पुग्दैन। ‘हामीभित्र को शोषक हो, को शोषित हो?’ भन्ने प्रश्न पनि उठाउनुपर्छ।

कम्युनिस्ट साहित्य पढ्नेहरूले इतिहासबाट यो कुरा सिकेका छन्। हाम्रै अनुभवले पनि देखाएको छ, सत्ता शोषणकारी प्रवृत्तिका हातमा पुग्यो भने नाम र झन्डा फेरिँदैमा जनताको जीवन आफैँ बदलिँदैन।

यस अर्थमा वैज्ञानिक दृष्टिले हेर्दा वर्ग सङ्घर्ष र जातीय मुक्तिलाई मिलाउने क्रामाकपाको सैद्धान्तिक धार मलाई महत्वपूर्ण र सम्भावनायुक्त देखिन्छ।

तर यहाँ पनि इतिहासले अर्को कमजोरी देखाएको छ।

°°°

६. १९८६ को कार्यनीतिक दुर्घटना र कम्युनिस्टहरूको ऐतिहासिक बोझ

मेरो विचारमा १९८६ को आन्दोलनमा पहाडका कम्युनिस्टहरू गम्भीर कार्यनीतिक दुर्घटनामा परे।

वर्ग सङ्घर्षको रक्षा गर्ने क्रममा उहाँहरूलाई कतिपय अवस्थामा जातीय मुक्तिको विरोधमा पनि प्रयोग गरियो। यसको राजनीतिक परिणाम गम्भीर भयो। त्यसपछि पहाडको कम्युनिस्ट राजनीति लामो समयसम्म त्यस घटनाको छायाबाट निस्कन सकेन। शिर उठाएर हिँड्न सकेन।

गोर्खाल्याण्डका निम्ति शत्रुसँग पनि मित्रता गर्न सक्छौँ भनियो, तर व्यवहारमा कहिले यता लुक्नुपर्ने, कहिले उता लुक्नुपर्ने अवस्था बन्यो।

अन्ततः आज क्रामाकपा उग्र बुर्जुवा शक्तिको राजनीतिक छायामुनि आश्रय खोज्नुपर्ने अवस्थासम्म पुगेको देखिन्छ। अब त ‘कमरेड’ भन्ने कि ‘पण्डित’ भन्ने भन्ने खालको राजनीतिक अन्योल पनि देखिन्छ।

मलाई लाग्छ, पुरानो पुस्ताका कमरेडहरू यो ऐतिहासिक बोझ र अपराधबोधबाट पूर्ण रूपमा मुक्त नभएसम्म वर्ग सङ्घर्ष र जातीय सङ्घर्षलाई एकीकृत गरेर गोर्खाल्याण्ड आन्दोलनको नेतृत्व गर्ने सामर्थ्य क्रामाकपाले पुनर्निर्माण गर्न कठिन हुनेछ।

वर्ग सङ्घर्षलाई जातीय मुक्तिको विरोधमा प्रयोग गर्ने गल्ती दोहोर्‍याउनु हुँदैन। त्यसैगरी जातीय मुक्तिका नाममा वर्गीय शोषणलाई ढाकछोप गर्ने गल्ती पनि गर्नु हुँदैन। यी दुई अतिबाट बचेर नयाँ संश्लेषण आवश्यक छ।

तर त्यसका लागि पुरानो पुस्ताले राजनीतिक सन्न्यास लिएर नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्छ। के पुरानो पुस्ताले त्यो साहस गर्छ? मलाई शङ्का लाग्छ।

तर इतिहासले अन्ततः पुस्तान्तरण माग्छ।

°°°

७. समस्या व्यक्तिमा मात्र होइन, व्यक्तिकेन्द्रित सङ्गठनमा पनि छ

यी सबैको तुलना गर्दा अर्को कुरा पनि बारम्बार मेरो ध्यानमा आउँछ।

हाम्रो राजनीतिक इतिहासमा कतिपय व्यक्ति आफ्नो सङ्गठनभन्दा धेरै ठूला भए। सङ्गठनको नामले नेताको पहिचान हुनुको सट्टा नेताको नामले सङ्गठनको पहिचान हुन थाल्यो।

फलानो सङ्गठन भन्नासाथ फलानो नेता सम्झिने, फलानो नेता भन्नासाथ त्यही सङ्गठन सम्झिने। अर्थात् नाम प्रमुख भयो, सङ्गठन गौण भयो। यसले सामूहिक नेतृत्वको विकासलाई कमजोर बनाउँछ।

स्वर्गीय मदन तामाङका सन्दर्भमा मैले पहिलेदेखि अनुभव गरेको प्रश्न यही हो, यति प्रखर वक्ता, इमानदार, साहसी, अनुशासित, अध्ययनशील र राजनीतिक दाउपेच बुझ्ने नेता हुँदाहुँदै पनि उहाँले आफ्नो व्यक्तित्वको उचाइ बराबरको जनसङ्गठन किन बनाउन सक्नुभएन?

यो प्रश्न मदन तामाङमाथि मात्र होइन। यो हाम्रो समग्र राजनीतिक संस्कृतिमाथिको प्रश्न हो।

व्यक्तित्व ठूलो भएकै कारण सङ्गठन ठूलो हुँदैन। बरु कहिलेकाहीँ अत्यन्त शक्तिशाली व्यक्तित्वकै कारण सङ्गठनभित्र सामूहिक नेतृत्व विकास हुन नसक्ने जोखिम हुन्छ।

त्यसैले भविष्यको आन्दोलनले व्यक्तित्वको सम्मान र सङ्गठनको संस्थागत विकासबीच सन्तुलन राख्नुपर्छ।

  • नेता मरे पनि आन्दोलन मर्नु हुँदैन।
  • नेता बिरामी भए पनि सङ्गठन अस्पतालमा सुत्नु हुँदैन।
  • नेता जेल परे पनि सङ्गठन हराउनु हुँदैन।
  • नेता कमजोर भए पनि विचार कमजोर हुनु हुँदैन।

व्यक्तिभन्दा सङ्गठन ठूलो र सङ्गठनभन्दा लक्ष्य ठूलो हुनुपर्छ।

°°°

८. अब के गर्ने?

यी सबै धारलाई एकै ठाउँमा राखेर हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ छ :-

– हामी केवल डा. हर्कबहादुर छेत्रीको भर्‍याङ चढ्दै जाने रणनीतिमा मात्र भर पर्न सक्दैनौँ।

– हामीले सी.के. श्रेष्ठको सामाजिक-सांस्कृतिक चेतना र सङ्घर्षलाई सुन्दर बनाउने क्षमताबाट सिक्नुपर्छ। तर सङ्घर्षको सौन्दर्यले अन्तिम लक्ष्यलाई विस्थापित गर्न दिनु हुँदैन।

– सुवास घिसिङको ‘फाइट टु फिनिस’ जस्तो लक्ष्यप्रतिको दृढता आवश्यक छ। तर विगतमा देखिएका कार्यनीतिक कमजोरी दोहोर्‍याउनु हुँदैन।

– मदन तामाङको लक्ष्यमा सीधा केन्द्रित रहने दृढता आवश्यक छ। तर लक्ष्यसम्म पुग्न कार्यनीतिक लचकता र सङ्गठनात्मक तयारी पनि चाहिन्छ।

– क्रामाकपाको वर्गीय दृष्टिकोण आवश्यक छ। तर १९८६ को ऐतिहासिक बोझबाट बाहिर निस्केर नयाँ पुस्तासँग नयाँ सम्बन्ध बनाउनुपर्छ।

त्यसैले मलाई सबैभन्दा सम्भावनायुक्त बाटो यी धारका उपयोगी पक्षहरूको संश्लेषणमा छ भन्ने लाग्छ- क्रामाकपाको वर्गीय दृष्टिकोण, सी.के. श्रेष्ठको सामाजिक–सांस्कृतिक चेतना, सुवास घिसिङको लक्ष्यप्रतिको दृढता  र मदन तामाङको लक्ष्यकेन्द्रित राजनीतिक दृढता।

यी सबैलाई एउटै राजनीतिक दृष्टिकोणमा जोड्न सक्नुपर्छ। तर यो केवल विचारको फ्युजनले पुग्दैन। यसलाई सङ्गठनमा रूपान्तरण गर्नुपर्छ।

°°°

९. चार आना, आठ आना होइन– दिशा नछोडौँ

मेरो निष्कर्ष सरल छ।

बाटोमा भेटिने हरेक चार आना, आठ आना उपलब्धिलाई हामीले अन्तिम उपलब्धि ठान्नु हुँदैन।

बङ्गालभित्रको प्रत्येक राजनीतिक संरचनालाई बहिष्कार गर्नुपर्छ भन्ने कुरा यान्त्रिक अर्थमा होइन, हाम्रो मूल लक्ष्यलाई कमजोर बनाउने संरचनासँग राजनीतिक निर्भरता र सम्झौताको सम्बन्ध अस्वीकार गर्ने अर्थमा यसलाई बुझ्नुपर्छ।

मुख्य कुरा यी हुन् :-

  • लक्ष्यको दिशा नछोड्नु।
  • रणनीति र कार्यनीतिबीच तालमेल राख्नु।
  • आन्दोलनलाई केवल चुनावी गणितमा सीमित नगर्नु।
  • सत्ताले दिने पद, सुविधा र प्रलोभनलाई आन्दोलनको उपलब्धि ठान्ने भूल नगर्नु।
  • जातीय मुक्ति र वर्गीय मुक्तिलाई एकअर्काका विरोधी होइन, परस्पर पूरकका रूपमा बुझ्नु।

र सबैभन्दा महत्वपूर्ण कुरा, व्यक्तिभन्दा सङ्गठनलाई ठूलो बनाउनु। नेतृत्व व्यक्तिको करिश्मामा होइन, संस्थागत क्षमतामा टिक्नुपर्छ।

चार आना भेटियो भनेर रोकिने होइन। आठ आना भेटियो भनेर गन्तव्य बिर्सने होइन। बीचको भर्‍याङमा घर बनाएर बस्ने होइन।

गन्तव्य स्पष्ट राख्दै, रणनीति र कार्यनीतिमा तालमेल मिलाउँदै, जातीय मुक्ति र वर्गीय मुक्तिको फ्युजनसहित अघि बढ्ने बाटो नै आजको आवश्यकता हो भन्ने मलाई लाग्छ।

किनकि अन्ततः प्रश्न गोर्खाल्याण्ड प्राप्त गर्ने हो कि होइन भन्ने मात्र होइन, प्रश्न यो पनि हो- हामी कस्तो गोर्खाल्याण्ड बनाउन चाहन्छौँ? र त्यो गोर्खाल्याण्ड बनाउने समाज, सङ्गठन र नेतृत्व आजैदेखि बनाउन सक्छौँ कि सक्दैनौँ?

One Response

  1. Dajuko sangharsha khatrai ho,malai wahako sabai banda dami kura chai wahako ma proper solution cha,Andhra Pradesh ko tyo manche jastai,MP hunne manchey chai Jyanko bazi lagayera bok hartal basera gorkhaland ko lagi marnu janu parcha,eauta marcha,feri re election bata jitney manchey,feri arko……12,13 wota huda tha kasari po hudaina hola gorkhaland.

    Yesto bhako bhaye chai MP candidate ko value matrai haina,dum pani dekginthyo.

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ