अक्टोबर 16, 2026 | 2:24 बेलुका

बुद्धीजीवीहरूको निर्माण

°° °°

नयाँ बुद्धिजीवीको बाटो अब भाषणबाजीमा छैन। वाक्पटुता त भावना र आवेगको बाहिरी पोशाक मात्र हो। नयाँ बुद्धिजीवीको पहिचान त व्यावहारिक जीवनमा सक्रिय हस्तक्षेप गर्ने निर्माता, सङ्गठनकर्ता र प्रेरकका रूपमा बन्छ, केवल वक्ताका रूपमा होइन। हामीले काम गर्ने प्रविधिबाट अघि बढेर विज्ञान र इतिहासको मानवीय बुझाइसम्म पुग्नुपर्छ। त्यो नगरी मानिस कुनै एक क्षेत्रको विशेषज्ञ त हुन सक्छ, तर समाजलाई दिशा दिने नेता (विशेषज्ञ र राजनीतिक दुवै) हुन सक्दैन।

°° °°

बुद्धिजीवी भनेका को हुन्? के सबैभन्दा माथि बसेको आफ्नै एउटा अलग जमात हुन्?  कि हरेक वर्गले आफ्नै बुद्धिजीवी जन्माउँछ?

इतिहास हेर्दा बुद्धिजीवी थरीथरीका देखिन्छन्, त्यसैले यो प्रश्नको उत्तर सजिलो छैन। बुद्धिजीवीका दुई किसिम छन्। एक, हरेक नयाँ वर्गले आफूसँगै जन्माउने बुद्धिजीवी । अर्को, पुरानो जमानाबाट चलिआएका बुद्धिजीवी।

आफ्नै वर्गका बुद्धिजीवी

समाजमा मानिस आआफ्नो काम अनुसार बाँडिएका हुन्छन्। कोही खेती गर्छन्, कोही कारखाना चलाउँछन्, कोही ज्यालादारी गर्छन्। यस्तो हरेक जमातले समाजमा आफ्नो ठाउँ बनाउँदै जाँदा आफ्नो काम चलाउन र आफ्नो कुरा फैलाउन पढेलेखेका, जान्ने मानिस चाहिन्छन्। त्यसैले त्यो जमातले आफ्नै बीचबाट वा आफ्नै वरिपरिबाट बुद्धिजीवी तयार पार्छ।

तिनले दुई काम गर्छन्, एक, आफ्नो जमातलाई एकजुट बनाउँछन्। दुई, ‘हामी पैसा कमाउने मात्र होइनौँ, समाज र राजनीतिमा पनि हाम्रो हात छ’ भन्ने चेत भर्छन्। यस्ता बुद्धिजीवी जैविक हुन्छन्। जसरी हात शरीरकै अङ्ग हो, त्यसैगरी यी बुद्धिजीवी आफ्नो वर्गकै अङ्ग हुन्।

उदाहरणका लागि कारखानाको मालिक (पुँजीपति) लाई हेरौँ। उसले उद्योग चलाउन इन्जिनियर राख्छ, हिसाबकिताब र बजार बुझ्ने अर्थशास्त्री राख्छ, कानुनी कुरा सम्हाल्ने वकिल राख्छ। यी सबै पुँजीपति वर्गका जैविक बुद्धिजीवी हुन्। मालिक आफैँ पनि साधारण मानिस हुँदैन। उसले लगानी गर्नेको भरोसा जित्नुपर्छ, ग्राहक सम्हाल्नुपर्छ, धेरै मानिसलाई चलाउनुपर्छ। सबै मालिकमा नभए पनि तिनका माथिल्लो तहमा आफ्नो वर्गको फाइदा हुने गरी समाज र राज्यसम्मलाई चलाउने क्षमता हुनैपर्छ। त्यो नसके पनि यस्ता भरपर्दा मानिस चिन्न सक्नुपर्छ, जसलाई ती काम सुम्पन सकियोस्।

यसरी जब कुनै नयाँ वर्ग बलियो हुँदै जान्छ, उसका बुद्धिजीवीको दायरा पनि बढ्दै जान्छ।

सामन्तहरूको पनि आफ्नै सीप थियो, लडाइँको सीप। जबसम्म त्यो सीपमा कुलीन वर्गको एकाधिकार थियो, तबसम्म सामन्ती व्यवस्था टिक्यो। त्यो एकाधिकार टुटेपछि सामन्तवाद ढल्न थाल्यो। (सामन्ती युग र त्यसभन्दा अघिको प्राचीन समयमा बुद्धिजीवी कसरी बने भन्ने कुरा भने छुट्टै गहिरो अध्ययन चाहिने विषय हो।)

किसानको हालत अचम्मको छ। अन्न फलाउने किसान नभई समाज चल्दैन, तर पनि किसानले आफ्नो बुद्धिजीवी जन्माउन सक्दैनन्। उल्टो, अरू वर्गले आफ्ना बुद्धिजीवी किसानकै छोराछोरीबाट तान्छन्।

पुरानो जमानाका ‘परम्परागत’ बुद्धिजीवी

कुनै नयाँ वर्ग उदाउँदा उ मात्र मैदानमा आइपुग्दैन। अघिल्लो युगबाट चलिआएका बुद्धिजीवी त्यहाँ पहिल्यै जमेर बसेका हुन्छन्। राजनीतिमा जतिसुकै ठूलो उथलपुथल आए पनि यिनीहरू भने जस्ताको तस्तै देखिन्छन्। यस्ता बुद्धिजीवी परम्परागत हुन्छन्।

सबैभन्दा राम्रो उदाहरण पादरीहरू हुन्। लामो समयसम्म धर्म, पढाइ, ज्ञान-विज्ञान, नैतिकता, न्याय र दानधर्म सबै उनीहरूकै हातमा थियो। इतिहासको एउटा लामो युग नै यही आधिपत्यले चिनिन्थ्यो।

तर पादरीहरू हावामा झुन्डिएका थिएनन्। जमिनदारजस्ता कुलीन वर्गसँग उनीहरूको गहिरो साँठगाँठ थियो। जमिनको मालिकी र राज्यले दिने विशेष सुविधा उनीहरू पनि कुलीनसँगै भोग्थे।

यो एकाधिकार भने निर्बाध चलेन। राजाहरू बलिया हुँदै गए, पछि निरङ्कुश नै भए। आफ्नो शासन चलाउन उनीहरूले पादरीबाहेक अरू किसिमका पढेलेखेकालाई पनि प्रोत्साहन दिए। यसरी दरबारसँग जोडिएका बुद्धिजीवीको नयाँ जमात बन्यो- प्रशासक, विद्वान, वैज्ञानिक, सिद्धान्तकार र पुरोहित नभएका दार्शनिक। तिनले पनि आफ्ना विशेष सुविधा पाए।

परम्परागत बुद्धिजीवीको एउटा खास बानी हुन्छ। उनीहरू आफूलाई युगौँदेखि चलिआएको अटुट परम्पराको हिस्सा ठान्छन्  र आफूसँग विशेष योग्यता छ भन्ठान्छन्। त्यसैले आफूलाई शासकहरूबाट अलग र स्वतन्त्र देखाउँछन्। ‘हामी त ज्ञान र सत्यका साधक हौँ, कसैका नोकर होइनौँ’ भन्ने भाव उनीहरूमा हुन्छ।

यो आफ्नै बारेमा बनाएको छविले विचार र राजनीतिमा ठूलो असर पार्छ। भाववादी दर्शन (विचार नै सबै कुराको जग हो भन्ने सोच) को ठूलो भाग यही सोचसँग जोडिएको छ। यो बुद्धिजीवीले आफ्नै बारेमा देखेको एउटा सपना हो, जहाँ उनीहरू आफूलाई कुनै वर्गमा नबाँधिएको, आफ्नै चरित्र भएको जमात ठान्छन्।

जस्तो इटालीका पोप र चर्चका ठूला पादरीहरूले आफूलाई ठूला उद्योगपति (बेन्नी र एग्नेली) भन्दा येशू र उनका चेलाहरूसँग बढी नजिक ठान्छन्। जेन्टील र क्रोचे इटालीका दार्शनिक हुन्। क्रोचे आफूलाई प्लेटो र एरिस्टोटलका सन्तान ठान्छन्, तर उद्योगपति एग्नेली र बेन्नीसँगको आफ्नो नाता भने लुकाउँदैनन्। क्रोचेको दर्शनको सबैभन्दा ठूलो विशेषता यही हो।

‘बुद्धिजीवी’ भन्नाले ठ्याक्कै को?

कसलाई बुद्धिजीवी भन्ने? बुद्धिजीवीले गर्ने काममा त्यस्तो कुनै सधैँ लागू हुने चिनारी छ, जसले उनीहरूलाई अरूबाट अलग पार्छ?

यहीँ धेरैले गल्ती गर्छन्। उनीहरू बुद्धिजीवीको कामभित्रै चिनारी खोज्छन्। तर चिनारी काममा होइन, समाजमा उसको ठाउँमा हुन्छ।

मजदुरलाई नै हेरौँ। मजदुरलाई मजदुर बनाउने कुरा उसले हातले गर्ने काम होइन। उसले कस्तो अवस्थामा, कस्तो सम्बन्धमा बसेर काम गर्छ, त्यसैले उसलाई मजदुर बनाउँछ।

शुद्ध शारीरिक श्रम भन्ने कुरै हुँदैन। टेलर नाम गरेका व्यवस्थापन विशेषज्ञले मजदुरलाई ‘तालिम पाएको गोरिल्ला’ भनेका थिए, मानौँ उ दिमाग नलगाई मेसिनजस्तै काम गर्छ। तर त्यो एउटा तुलनामात्र हो। सबैभन्दा सानो र यान्त्रिक ठानिने कामका लागि पनि केही सीप र केही सोचाइ चाहिन्छ।

पुँजीपतिको कुरा पनि त्यस्तै हो। उसको कामले केही बौद्धिक क्षमता माग्छ, तर समाजमा उसको स्थान त्यसले तय गर्दैन। उद्योगमा उसलाई मालिक बनाउने सम्बन्धले तय गर्छ।

त्यसैले भन्न सकिन्छ, सबै मानिस बुद्धिजीवी हुन्, तर सबैले समाजमा बुद्धिजीवीको भूमिका निभाउँदैनन्।

हामीले के हेरेर कसैलाई बुद्धिजीवी र कसैलाई ‘अबुद्धिजीवी’ भन्छौं?

उसको मुख्य काम दिमाग चलाउनेतिर बढी छ कि हात चलाउनेतिर। तर पूरै ‘अबुद्धिजीवी’ भन्ने मानिस हुँदैन। दिमाग र हातको काम मिसिएको अनुपात फरक हुन्छ मात्र। सोचविना कुनै काम हुन सक्दैन।

त्यसैले हरेक मानिस पेसाबाहेक पनि केही न केही सोच्ने काम गर्छ। उ एक किसिमले दार्शनिक हो, एक किसिमले कलाकार हो, संवेदनशील मनको मानिस हो। संसारबारे उसको आफ्नै बुझाइ हुन्छ, के ठीक के बेठीक भन्ने आफ्नै दृष्टि हुन्छ। यसरी उसले कि त पुरानो सोच टिकाउन सघाउँछ, कि त नयाँ सोच ल्याएर संसार बदल्न योगदान दिन्छ।

नयाँ बुद्धिजीवी कसरी बन्छन्?

त्यसैले नयाँ तहका बुद्धिजीवी बनाउने काम हरेक मानिसभित्र पहिल्यै भएको बौद्धिक क्षमतालाई आलोचनात्मक ढङ्गले फराकिलो बनाउने कामसँग जोडिएको छ। पेसागत कामसँग बौद्धिक कामलाई नयाँ सन्तुलनमा ल्याउनुपर्छ। मानिसले दिनदिनै गर्ने कामले भौतिक र सामाजिक संसारलाई बदलिरहेकै हुन्छ। त्यही कामलाई संसारबारे नयाँ बुझाइको जग बनाउनुपर्छ।

पुराना किसिमका बुद्धिजीवी विद्वान, दार्शनिक र कलाकारमा मात्र सीमित थिए। त्यसैले आफूलाई विद्वान, दार्शनिक र कलाकार ठान्ने पत्रकारहरूले पनि आफैँलाई ‘साँचो’ बुद्धिजीवी सम्झन्छन्। तर आधुनिक संसारमा उद्योगको कामसँग गाँसिएको प्राविधिक शिक्षा नै नयाँ किसिमका बुद्धिजीवीको जग बन्नेछ।

यही आधारमा ‘ओर्दिने नुओभो’ साप्ताहिकले नयाँ किसिमको बौद्धिकताका केही रूप विकास गर्ने र त्यसका अवधारणा तय गर्ने प्रयास गर्‍यो। त्यसको सफलताको एउटा मुख्य कारण यही थियो कि त्यो सोच जीवनका वास्तविक रूपहरूको विकासको चाहनासँग मेल खान्थ्यो।

नयाँ बुद्धिजीवीको बाटो अब भाषणबाजीमा छैन। वाक्पटुता त भावना र आवेगको बाहिरी पोशाक मात्र हो। नयाँ बुद्धिजीवीको पहिचान त व्यावहारिक जीवनमा सक्रिय हस्तक्षेप गर्ने निर्माता, सङ्गठनकर्ता र प्रेरकका रूपमा बन्छ, केवल वक्ताका रूपमा होइन। हामीले काम गर्ने प्रविधिबाट अघि बढेर विज्ञान र इतिहासको मानवीय बुझाइसम्म पुग्नुपर्छ। त्यो नगरी मानिस कुनै एक क्षेत्रको विशेषज्ञ त हुन सक्छ, तर समाजलाई दिशा दिने नेता (विशेषज्ञ र राजनीतिक दुवै) हुन सक्दैन।

शासक वर्ग र बुद्धिजीवी

बौद्धिक भूमिका निभाउन इतिहासमा खास किसिमका जमात बनेका छन्। यी सबै सामाजिक समूहसँग जोडिन्छन्, तर शासक समूहसँग सबैभन्दा गहिरो र जटिल तरिकाले जोडिन्छन्।

कुनै वर्ग शासनतिर बढ्दै छ भन्ने सबैभन्दा ठूलो लक्षण के हो? उ पुराना परम्परागत बुद्धिजीवीलाई ‘वैचारिक रूपमा’ आफ्नो पक्षमा तान्न र जित्न सङ्घर्ष गर्छ। साथसाथै आफ्नै जैविक बुद्धिजीवी पनि बनाउन सफल भयो भने यो जित्ने प्रक्रिया अझ छिटो र प्रभावकारी हुन्छ।

मध्ययुगपछि विकसित समाजमा शिक्षासँग जोडिएका संस्था र काम असाधारण रूपमा बढेका छन्। यसले आधुनिक संसारमा बौद्धिक काम र त्यसका तहको महत्त्व कति ठूलो भएको छ भन्ने देखाउँछ। एकातिर हरेक मानिसको बौद्धिकतालाई फराकिलो र गहिरो बनाउने प्रयास भएको छ। अर्कोतिर विशेषज्ञताका क्षेत्र झन्झन् बढाउने र सूक्ष्म बनाउने प्रयास पनि भएको छ। यो शिक्षाका सबै तहदेखि विज्ञान र प्रविधिका सबै क्षेत्र हुँदै ‘उच्च संस्कृति’ बढावा दिने संस्थासम्म देखिन्छ।

स्कुल नै ती औजार हो, जसबाट विभिन्न तहका बुद्धिजीवी तयार गरिन्छन्। कुनै देशमा बौद्धिक कामको जटिलता नाप्न त्यहाँका विशेषज्ञ संस्था कति छन् र तिनका तह कति छन् भनेर हेरे पुग्छ। शिक्षाको दायरा जति फराकिलो र स्कुल प्रणालीमा तलदेखि माथिसम्म तह जति धेरै, त्यहाँको सांस्कृतिक संसार र सभ्यता त्यति नै जटिल हुन्छ।

यसलाई उद्योगसँग तुलना गर्न सकिन्छ। कुनै देश कति औद्योगिक भयो भन्ने नाप यो हो कि उ मेसिन बनाउने मेसिन कति बनाउन सक्छ  र कति सूक्ष्मताका साथ बनाउन सक्छ। जुन देशले प्रयोगशालाका उपकरण र ती उपकरण जाँच्ने अरू उपकरण पनि सबैभन्दा राम्ररी बनाउन सक्छ, त्यसको प्राविधिक, औद्योगिक क्षेत्र सबैभन्दा जटिल र सभ्यता सबैभन्दा उच्च हुन्छ। बुद्धिजीवी र तिनलाई तयार गर्ने संस्थाको हकमा पनि यही लागू हुन्छ।

यहाँ गुणस्तर र सङ्ख्या अलग हुँदैनन्। सबैभन्दा परिष्कृत प्राविधिक-सांस्कृतिक विशेषज्ञता चाहिए प्राथमिक र माध्यमिक शिक्षा सकेसम्म धेरैसम्म पुग्नैपर्छ। उत्कृष्ट प्रतिभा छान्न र उमार्न सबैभन्दा फराकिलो जग चाहिन्छ अर्थात् उच्च संस्कृति र उच्च प्रविधिलाई लोकतान्त्रिक बनाउनुपर्छ। तर यसले केही समस्या पनि ल्याउँछ। मध्यम तहका बौद्धिकका लागि बेरोजगारी उत्पन्न हुन्छ  र आजका सबै आधुनिक समाजमा यो समस्या देखिँदै छ।

यो विस्तार कुनै केवल ‘लोकतन्त्र’ को आधारमा हुँदैन। यो इतिहासले बनाएका ठोस र परम्परागत बाटोसँग मेल खान्छ। समाजमा केही तह छन् जसले परम्परैदेखि बुद्धिजीवी जन्माउँदै आएका छन्, साना व्यापारी बुर्जुवा, मझौला जमिनदार बुर्जुवा र मझौला सहरिया बुर्जुवा। विभिन्न आर्थिक इलाकामा कस्ता स्कुल (शास्त्रीय वा पेसागत) कसरी बाँडिएका छन्  र ती इलाकाका विभिन्न तहका मानिसका आकाङ्क्षा के छन्, त्यसैले बौद्धिक विशेषज्ञताका शाखा तय हुन्छन्।

इटालीमा गाउँतिरका मझौला वर्गले खास किसिमका सरकारी कर्मचारी र पेसाकर्मी जन्माउँछन्, सहरतिरका वर्गले उद्योगका प्राविधिक। त्यसैले उत्तरी इटालीले धेरैजसो प्राविधिक विशेषज्ञ दिन्छ  र दक्षिणी इटालीले कर्मचारी र पेसाकर्मी।

बुद्धिजीवी र उत्पादन

कारखाना मालिक वा मजदुरको उत्पादनसँग सिधा सम्बन्ध हुन्छ। बुद्धिजीवीको उत्पादनसँग सम्बन्ध त्यति सिधा हुँदैन। बीचमा समाजको सिङ्गो बनावट र त्यसको माथिल्लो ढाँचाको जटिलताले ‘मध्यस्थता’ गर्छ। यसमा बुद्धिजीवीको भूमिका स्पष्टतः ‘सञ्चालक’ को हुन्छ।

त्यसैले दुई कुरा छुट्याउन सक्नुपर्छ, एक, विभिन्न तहका बुद्धिजीवी आफ्नो आधारभूत वर्गसँग कति गहिरो जोडिएका छन् (उनीहरू कति ‘जैविक’ छन्)। दुई, समाजको माथिल्लो ढाँचामा तलदेखि माथिसम्म तिनका कामको सोपानक्रम के कस्तो छ।

यहाँ ‘माथिल्लो ढाँचा’ (अधिरचना) भनेको अर्थतन्त्रको माथि उभिएका संस्कृति, विचार, कानुन, राजनीति र संस्थाहरूको सिङ्गो संरचना हो।

अहिलेलाई यसका दुई मुख्य तह छुट्याउन सकिन्छ,

नागरिक समाज – स्कुल, चर्च, मिडिया, क्लब, सङ्घसंस्था जस्ता सामान्यतया ‘निजी’ भनिने गतिविधिको समूह।

राजनीतिक समाज वा राज्य – सरकार, पुलिस, अदालत, सेना।

यी दुई तह दुई कुरासँग मेल खान्छन्। एउटा, शासक समूहले सिङ्गो समाजमाथि चलाउने ‘वर्चस्व’, अर्थात् मन जितेर चलाउने प्रभाव। अर्को, राज्य र ‘कानुनी’ सरकारले चलाउने ‘प्रत्यक्ष शासन’  अर्थात् आदेश र कानुनको बल।

यी काम आपसमा जोडिएका र सङ्गठनात्मक किसिमका छन्। बुद्धिजीवी शासक समूहका कार्यकारी ‘प्रतिनिधि’ भएर राजनीतिक शासन र सामाजिक वर्चस्व चलाउने सहायक भूमिका निभाउँछन्। यसमा दुई कुरा पर्छन्-

एक, जनताको स्वाभाविक सहमति।

शासक समूहले सामाजिक जीवनमा जुन सामान्य दिशा थोपर्छ, त्यसप्रति ठूलो जनसमुदायको ‘स्वतः स्फूर्त’ सहमति। यो सहमति ऐतिहासिक रूपमा शासक वर्गको प्रतिष्ठा (र त्यसबाट आउने आत्मविश्वास) बाट सम्भव हुन्छ, जुन उसले उत्पादनको संसारमा आफ्नो हैसियत र भूमिकाबाट पाएको हुन्छ।

दुइ, राज्यको दण्ड दिने शक्ति।

जसले सक्रिय वा निष्क्रिय रूपमा सहमति नदिने समूहमाथि ‘कानुनी’ अनुशासन लागू गर्छ। यो औजार सिङ्गो समाजका लागि बनाइएको हुन्छ तर विशेषगरी निर्देशन र नियन्त्रणको सङ्कटका ती घडीका लागि, जब स्वतःस्फूर्त सहमति हराउँछ।

समस्यालाई यसरी राख्दा ‘बुद्धिजीवी’ को अवधारणा निकै फराकिलो हुन्छ। तर यथार्थको सबैभन्दा नजिक पुग्ने एउटै बाटो यही हो। यसमा एउटा पूर्वधारणा पनि जोडिएको छ। सामाजिक वर्चस्व र राज्यको शासन स्थापना गर्ने प्रक्रियाले एउटा खास श्रम बाँडफाँड र योग्यताको सोपानक्रम जन्माउँछ, जसमा केही मानिसको प्रत्यक्ष निर्देशन वा सङ्गठन गर्ने भूमिका देखिँदैन। जस्तै, सामाजिक र राजकीय निर्देशनका औजारमा शारीरिक र यान्त्रिक प्रकृतिका कामको पूरै शृङ्खला हुन्छ (अधिकारी र कर्मचारीको सट्टा एजेन्टहरू)। यो भेद छुट्याउनु अपरिहार्य छ, जसरी अरू भेद छुट्याउनु अपरिहार्य छ।

बौद्धिक कामलाई यसका भित्री विशेषताका आधारमा तह तहमा छुट्याउनुपर्छ। चरम विरोधका घडीमा ती तहबीचको साँचो गुणात्मक भिन्नता देखिन्छ। सबैभन्दा माथिल्लो तहमा विज्ञान, दर्शन, कला आदिका सिर्जनाकर्ता हुन्छन्। सबैभन्दा तल्लो तहमा साना ‘प्रशासक’ र पहिल्यैदेखि जम्मा भएको परम्परागत ज्ञानसम्पदालाई एकबाट अर्कोमा सार्ने मानिस हुन्छन्।

आजको संसारमा बुद्धिजीवीको बाढी

आधुनिक संसारमा यसरी बुझिएका बुद्धिजीवीका श्रेणीमा अभूतपूर्व विस्तार भएको छ।

लोकतान्त्रिक सरकारी तन्त्रले यस्ता धेरै काम बनाएको छ, जुन उत्पादनको सामाजिक आवश्यकताका हिसाबले अनावश्यक छन्, तर शासक समूहको राजनीतिक आवश्यकताका हिसाबले चाहिन्छन्। त्यसैले लोरियाको ‘अनुत्पादक श्रमिक’ को धारणा केही हदसम्म ठीक ठहरिन्छ। तर प्रश्न उठ्छ, कसका सम्बन्धमा र कुन उत्पादन पद्धतिका लागि अनुत्पादक? किनभने यी मानिसले आफ्नो हैसियतको बलमा राष्ट्रिय आयको ठूलो हिस्सा लिन्छन्, त्यो पनि बिर्सनु हुँदैन।

अर्को असर यो छ कि ठूलो सङ्ख्यामा बुद्धिजीवी बनाउँदा तिनीहरू मनोवैज्ञानिक रूपमा र व्यक्तिगत योग्यताका हिसाबले एउटै साँचोमा ढलेजस्ता (मानकीकृत) भएका छन्। अरू मानकीकृत जनसमुदायमा जस्तै यहाँ पनि उस्तै घटना देखिएका छन्, प्रतिस्पर्धाका कारण पेसाको सुरक्षाका लागि सङ्गठन बन्नु, बेरोजगारी, स्कुलमा अति उत्पादन  र रोजगारीका लागि विदेशिने लर्को।

°° °°

ग्राम्सीको यो लेख डिबेटअनुलाइनबाट लिइएको हो। हिन्दीमा यसका अनुवादक डिबेट अनलाइनका सम्पादकहरू कवित्येन्द्र इन्दु र द्वीगविजय कुमार सिंह हुन्।  यो लेख अङ्ग्रेजीबाट उनीहरूले हिन्दीमा गरेको अनुवादको नेपाली भावानुवाद हो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ