खबरम्यागजिन व्युरो
पहाडको राजनीतिमा अहिले देखिएको दृश्यलाई सतहबाट हेर्दा कथा धेरै सरल देखिन्छ। अनित थापाले राजीनामा दिए, केही सभासदहरूले पनि राजीनामा दिए, राजनीतिक सङ्कट आयो।
तर राजनीतिमा देखिएको कुरा प्रायः वास्तविक कथा हुँदैन। वास्तविक कथा त्यहाँबाट सुरु हुन्छ जहाँ सामान्य मानिसले राजनीति सकियो भनेर सोच्छ।
अहिले पहाडमा त्यही भइरहेको छ।
अनित थापाले राजीनामाको घोषणा गरेपछि धेरैले यसलाई उनको राजनीतिक चालको रूपमा हेरे। भ्रष्टाचारको आरोप, जनदबाब, विपक्षी आक्रमण र आफ्नै पार्टीभित्रको असन्तुष्टिका कारण उनी पछि हट्न बाध्य भए भन्ने बुझाइ बन्यो।
तर राजनीति केवल हार र जितको खेल होइन। कहिलेकाहीँ हारिरहेको जस्तो देखिने खेलाडीले पोलिटिकल इकोसिस्टम नै फेरिदिन्छ।
अनित थापाले राजीनामाको घोषणा गरेर त्यही गरे कि भन्ने देखिन्छ।
किन?
किनभने राजीनामाअघि राजनीतिक प्रश्न थियो- अनित थापा किन जिटिएमा बसिरहेका छन्?
राजीनामापछि राजनीतिक प्रश्न बदलियो- अब जिटिए कसले चलाउने?
यो सामान्य परिवर्तन होइन।
जबसम्म अनित थापा पदमा थिए, सम्पूर्ण आक्रमण उनीमाथि केन्द्रित थियो। भ्रष्टाचारको आरोप पनि उनीमाथि, प्रशासनिक असफलताको आरोप पनि उनीमाथि, गोर्खाल्याण्ड आन्दोलनलाई कमजोर बनाएको आरोप पनि उनीमाथि।
तर उनले राजीनामाको घोषणा गरेपछि उनीमाथिको आधा दबाब अरूको काँधमा सर्यो।
राजनीतिमा कहिलेकाहीँ सबैभन्दा ठूलो बचाउ भनेको पद छोड्नु होइन, प्रश्न बदल्नु हुँदोरहेछ, अनित थापाले ठीक त्यही गरे।
हिजोसम्म जिटिएको नेतृत्व लिनु शक्ति प्राप्त गर्नु थियो।
आज जिटिएको नेतृत्व लिनु आरोपको भारी बोक्नु जस्तै बन्यो।
किन?
किनभने वर्षौँदेखि पहाडको राजनीति एउटा न्यारेटिभमा चलेको छ- जिटिए अन्तिम समाधान होइन, गोर्खाल्याण्ड चाहिन्छ।
अब यस्तो अवस्थामा अनित थापाले कुर्सी छोडेपछि त्यो कुर्सीमा बस्न खोज्ने जोसुकैलाई जनताले सोध्लान्-
ए तिमीलाई गोर्खाल्याण्ड होइन जिटिएको चौकी पो चाहिएको?
यो निकै खतरनाक राजनीतिक प्रश्न हो।
किनभने यसको सजिलो उत्तर छैन।
जिटिए चलाउन खोजे मुद्दालाई गद्दार गऱ्यो भन्ने आरोप लाग्ने। जिटिए नचलाए प्रशासनिक सङ्कट आउने। अनित थापाले कुर्सी खाली मात्र गरेनन्, त्यो कुर्सीलाई नै राजनीतिक जोखिमको केन्द्र बनाइदिए।
राजनीतिमा विपक्षीको काम सरकारलाई प्रश्न सोध्नु हो। तर अहिले अवस्था यस्तो बन्यो कि विपक्षी आफैँ प्रश्नको घेरामा पुग्न सक्ने भयो।
मानौँ बिजेपीले जिटिए चलाउने रुचि देखायो।
आम जनताले तुरुन्त प्रश्न गरिदेलान्-
सांसदज्यु, 5 मईको दिन जिटिए खारेज हुन्छ भनेर किन जुम्लागिरी गरेको? थोइट, ढँटुवा मोरा
मानौँ विमल गुरुङ पक्षले नेतृत्व लिन खोज्यो।
आम जनताले तुरुन्त प्रश्न गरिदेलान्-
ममताको लुङ्गी समातेर पहाड छिरेको त यस्सैको लागि पो?
मानौँ अजय एडवर्डले अगाडि बढ्ने प्रयास गरे।
आम जनताले तुरुन्त प्रश्न गरिदेलान्-
माटो पनि छोडदिन, बाटो पनि छोडदिन भनेको त यही पो हो? म सत्ताको लागि राल काड्छु भनेको त मोरोले ठिकै भनेको थिएछ।
अर्थात् अनित थापाले आफ्नो सङ्कटलाई विपक्षीको सङ्कटमा बदलिदिए।
तर, यहीँबाट कथा रोचक बन्छ।
पहाडमा आज सबैभन्दा धेरै राजनीतिक पूँजी कसको छ?
यदि इमानदारीपूर्वक हेर्ने हो भने उत्तर हुन्छ-राजु विष्ट।
केन्द्र सरकारसँग पहुँच भएको नेता उनी नै हुन्। बिजेपी को आधिकारिक अनुहार पनि उनी नै हुन्। गोर्खाल्याण्डको नाममा पिपिएसको नारा अलाप्ने राष्ट्रिय राजनीतिक प्लेटफर्म पनि उनीसँग नै छ। जनताले अपेक्षा गरेको परिवर्तनको प्रतिनिधित्व पनि उनीसँग नै जोडिएको छ। जिटिए खारेज गर्छु, भ्रष्टाचारीहरूलाई जेल हाल्छु, इडी ल्याउँछु, सिबिआई ल्याउँछु, गोर्खाल्याण्ड ल्याउँछु यस्तो के के चाहीँ भनेका छैनन्, तर गरेको एउटै छैनन्।
मुख पड्काउने केही नउखाड्ने नेता कोही हुन् भने तिनी- राजु विष्ट नै हुन्। चुरीफुरी उत्तिकै, न मुखमा लगाम न, संसदीय भाषा, दिएको बचन पुरा गर्ने न कुनै एक्सन, पुरापुरी जुम्लागिरीको प्याकेज। कुल मिलाएर- सुपरडुपर कसैले फुकेर छोडेको बेलुन्।
जता जता चर्को हावा, त्यतैतिर कावा।
यसैले पनि जिटिएको भ्रष्टाचारको कुरा आयो कि जनताले राजु विष्ट नै सम्झिन्छन्, किन भने भोट नै इडी र सीबीआई ल्याउँछु भनेर मागेका छन्। तर ल्याएका छैनन्।
गोर्खाल्याण्डको प्रश्न आयो कि जनताले राजु विष्ट नै सम्झिन्छन्, किन भने महाकाल धामको कसम उनैले खाएका छन्। तर गोर्खाल्याण्ड? ल्याउन त के उच्चारण गर्न पनि सक्दैनन्।
जनता ठान्छन्- राजु विष्ट र बिजेपीको लिने काम सकियो, अब दिने टाइम आयो।
तर विष्ट छन्, कि दैनिकरुपमा जुम्लामा व्यस्त छन्। यसैले अहिले प्रश्न भनेकै राजु विष्टको वरिपरि घुमिरहेको छ।
अहिले अनित थापाको हर्कत हेर्दा यस्तो लाग्छ अहिले अनित थापाले राजु विष्टलाई राजनैतिक घुच्चुकमा समातेर सोधिरहेका छन्-
मलाई भ्रष्टाचारी भन्छौ? भोलि म र मेरो पार्टी नै बिजेपीमा सामेल भयो भने के गर्छौ?
यही प्रश्नले राजु विष्टलाई टाउको ठोक्काउँदै हिँड्ने बनाएको छ।
अनितको पारा नै त्यस्तै देखिएको छ।
जनतालाई विष्टले भनेका छन्- भ्रष्टाचार गर्नेहरू जेल जान्छन्।
इडी आउँछ। बिसिआई आउँछ। डोजर चल्छ।
तर यदि भोलि त्यही आरोप खेपिरहेका मानिसहरू बिजेपीमा पसे जनताले राजु विष्टलाई कसरी हेर्लान् त?
राजु विष्ट त अनित थापा भन्दा पनि गएगुज्रेको निस्किए, खोदा पहाड, निक्ला चुहा, जुम्लावाज– भन्दैनन् त जनताले?
के दिन्छन् त अनित थापाले राजनैतिक घुच्चुकमा समातेर राजु विष्टलाई सोधेको प्रश्नको उत्तर-
आउ हाम्रो वासिङ मेसिनमा पस शुद्ध बन – भन्छन्?
कि तिमेरलाई बिजेपीमा होइन जेलको हावा खवाउँछु -भन्छन्?
पाठकवृन्द, यी दुइमा कुन उत्तर देलान् राजु विष्टले?
राजनीतिमा विरोधीलाई हराउनु सजिलो हुन्छ तर आफ्नै बाचासित लड्नु सबैभन्दा कठिन हुन्छ।
राजु विष्ट अहिले आफ्नै पुराना बाचाहरूको कठघरामा उभिसकेका छन्।
यही ठाउँमा सबैभन्दा रोचक अध्याय सुरु हुन्छ।
१२ सभासदहरूले पार्टीबाट राजीनामा दिए तर सभासद पदबाट दिएनन्। पहिलो नजरमा यो सामान्य घटना जस्तो लाग्न सक्छ तर वास्तवमा यही अहिलेको सबैभन्दा ठूलो राजनीतिक चाल हुन सक्छ।
किनभने उनीहरूले एउटा अत्यन्त महत्त्वपूर्ण सन्देश दिएका छन्–
हामी पार्टी छोड्न सक्छौँ, तर जबसम्म कानूनीरुपमा जिटिए रहन्छ जनताले दिएको म्यान्डेट छोड्दैनौँ।
यो कुरा सामान्य सुनिए पनि यसको राजनीतिक अर्थ गहिरो छ। यदि सबैले पदबाट राजीनामा दिएका भए जिटिए खाली हुन्थ्यो। जिटिए खाली भयो भने प्रशासक आउँथ्यो। प्रशासक आयो भने राजनीतिक नियन्त्रण निर्वाचित प्रतिनिधिबाट हट्थ्यो र अनितको सहयोगबाट राजु विष्टको हिहि बढ्थ्यो।
तर १२ सभासदहरूले त्यो बाटो नै बन्द गरिदिए।
उनीहरूले अब एउटा सीधा प्रश्न सोध्न सक्छन्–
यदि जिटिए साँच्चै खारेज गर्नुपर्छ भने कानुन ल्याएर खारेज गर।
यो प्रश्न किन खतरनाक छ? किनभने यसले सबैलाई कुनामा पुर्याउँछ।
कि त कानूनीरुपमा जिटिए खारेज गर्नु पऱ्यो, जिटिए जिउँदो राख्यो भने निर्वाचित सभासदहरू जिउँदै छन्।
यही तर्कले अनित-राजुको नेक्सस लथालिङ्ग पारिदिन्छ।
यही ठाउँमा १२ सभासदहरूले राजनीतिक बहसको केन्द्र नै बदलिदिएका छन्। अनित थापा राजनीतिमा रहन्छन् कि रहँदैनन्, त्यो अर्कै कुरा हो। तर अहिलेको मुख्य प्रश्न त्यो होइन। मुख्य प्रश्न हो- राजु विष्टले अब के गर्छन्?
जिटिए जोगाउँछन्? जिटिए खारेज गर्छन्? खारेज गरेर गोर्खाल्याण्डको बील ल्याउने काममा लाग्छन् कि जिटिएमा प्रशासक राख्छन्? कि बहुमत सभासदहरूलाई नयाँ नेतृत्व चयन गर्न दिन्छन्?
किनभने अब जुन बाटो रोजिन्छ, त्यसले एउटा कुरा तय गर्नेछ-
पहाडमा वर्षौँदेखि राजु विष्टले बोलेको गोर्खाल्याण्डको राजनीति केवल चुनावी भाषण थियो कि वास्तवमै राजनीतिक प्रतिबद्धता थियो, त्यही कुरा अब पर्दाफास हुन्छ।
यस हिसाबले 12 जना सभासदहरूले अनित थापालाई ताकेर राजु विष्टको धर्नासोमा हानेका छन्।
++
राजनीतिमा कहिलेकाहीँ यस्तो क्षण आउँछ, जहाँ शक्ति कसको हातमा छ भन्ने कुरा पदले होइन, परिस्थितिले निर्धारण गर्छ।
केही दिनअघिसम्म अनित थापा कठघरामा थिए। भ्रष्टाचारका आरोप, जिटिए को औचित्यमाथि उठेका प्रश्न, आफ्नै पार्टीभित्रको असन्तुष्टि र जनताको बढ्दो असन्तोषका कारण सबै प्रश्नको केन्द्र उनी नै थिए। तर उनले राजीनामाको घोषणा गरेपछि राजनीतिक समीकरण फेरियो। अब प्रश्न केवल अनित थापामाथि मात्र छैन। त्यत्तिकै ठूलो प्रश्न राजु विष्टमाथि उठ्न थालेको छ।
किन?
किनभने यदि अनित थापाले साँच्चिकै जिटिए को राजनीति छोडेर गोर्खाल्याण्डको राजनीतितर्फ फर्किएको दाबी गर्छन् भने उनले आफ्नो विगतको राजनीति प्रमाणित गर्नुपर्नेछ। गोर्खाल्याण्डको आन्दोलन र मुद्दामाथि गद्दारी गरेर तिनी जिटिएमा बसेका हुन्। अनि यता यदि राजु विष्टले वर्षौँदेखि बोल्दै आएको जिटिए खारेज र गोर्खाल्याण्डको प्रतिबद्धता साँच्चै हो भने उनले पनि त्यसलाई व्यवहारमा देखाउनुपर्नेछ।
अब १२ सभासदहरूको भूमिका असाधारण रूपमा महत्त्वपूर्ण हुने देखिन्छ।
उनीहरूले राजु विष्टको स्थिति जटिल बनाइदिएका छन्।
उनले जिटिए जोगाउने बाटो रोजे भने उनीमाथि आफ्नै प्रतिबद्धताबाट पछि हटेको आरोप लाग्न सक्छ। यदि जिटिए खारेज गर्ने बाटो रोजे भने त्यसलाई कानुनी र राजनीतिक रूपमा पूरा गर्नुपर्ने जिम्मेवारी उनकै काँधमा आउँछ। त्यसपछि पिपिएसको लागि केही गर्नैपर्ने स्थिति उप्जिन्छ।
सरसर्ती हेर्दा अनितले पनि राजु विष्टकै कान मोलेका छन्, 12 सभासदले पनि राजु विष्टकै कन्सिरी समातेका छन्।
यसबीच अर्को प्रश्न उठ्छ- बाँकी सभासदहरू कता जान्छन्?
किनकि संख्या नै अहिले शक्ति हो। यदि बाँकी सभासदहरू कथङ्कल राजु विष्टको लाइनमा गए भने १२ जना एक्लिन्छन्। त्यसपछि १२ जनाको राजनीतिक दबाब कमजोर हुन सक्छ।
तर यदि बाँकी सभासदहरू पनि 12 सभासदहरूकै लाइनमा उभिए परिस्थिति पूरै बदलिन सक्छ।
त्यसपछि दुइवटा परिस्थिति बन्छ- कि कानूनीरुपमा जिटिए खारेज गर्नु पऱ्यो र पिपिएस ल्याउनु पऱ्यो। कि त निर्वाचितहरूलाई जिटिए चलाउन दिन पऱ्यो।
फस्छन्- राजु विष्ट।