अक्टोबर 16, 2026 | 2:24 बेलुका

विनोद प्रधान अनि म

                   

१.  

सन् २०१४ मा दार्जिलिङको युवा कविता आफ्नो उत्समा थियो। त्यतिबेला सिर्जना भएका सारा कविताहरूको श्रीपेच केवलचन्द्र लामा थिए। त्यतिबेला दार्जिलिङका धेरैजना कविहरूले लेखेका कविताहरूमा म उनको शैली भेट्थेँ। एउटा दार्जिलिङ्गे शैली। 

मैले एक दिन एउटा ठुलै धृष्टता गरेँ।

आर्ट ग्यालेरी मुन्तिर उनको घर थियो। हामी एक दिन उनको घरभित्र पस्यौँ। म र विनोद प्रधान।

‘रजनीगन्धा छ?’ उनले विनोद प्रधानतिर फर्केर नरम स्वरमा सोधे।

‘मैले छोडिदिएँ नि दा।’ सोफामा बसेर दुइटा घुँडामा हात राखेका विनोद प्रधानले आफ्नो दन्त्यलहर देखाएर भने। यसो भन्दा उनका चिम्सा आँखा अलिकति खोलिएर चम्किलो हाँसेको थियो।

 ‘ठिक गऱ्यौ। यो खाने चिज होइन रहेछ। मैले पनि छोडिदिएँ। तिमीले छोड्यौ कि छोडेनौ भनेर एसो बुझिहेरेको।’ निक्कै गम्भीर शैलीमा उनले भने।

उनको गम्भीरताले मलाई केही सहज गरिदियो। किनकि मलाई त्यतिबेला आफूभन्दा ठुलाका अगाडि अट्टाहस गरेर हाँस्ने आँट समेत आउँदैन थियो। लुकेर, अलिकति दबाएर हाँस्थेँ। न उनीहरूसँग कुरा गर्नै आउँथ्यो। त्यसकारण धेरजसो ‘हजुर, हो हो!’ को उत्तर दिने गर्थेँ।

केही क्षण वरपरका कुरामा भुलिएपछि विनोद प्रधान विषयमा आए।

‘लेखनाथको नयाँ कविताको किताब आउनेवाला छ। तपाईँले यसको भूमिका लेखिदिनुपर्छ है।’

विनोद प्रधानले यसो भन्दै गर्दा सादा कागजमा लेखिएका पच्चिसवटा कविताको पाण्डुलिपि झोलाबाट झिकेर आफू बसेको सोफाको एक छेउमा राखिसकेको थिएँ। एउटा ठुलै सपना पुरा हुन लागेको थियो।

जवाबमा केवलचन्द्र लामाले हामीलाई किताबको भूमिका लेखाउनसक्ने विकल्पका रूपमा केही नामहरू दिए।

म केही भन्न चाहन्थेँ। मेरो उनैलाई आफ्नो भूमिका लेखाउने उत्कट इच्छा प्रकट गर्न चाहन्थेँ। तर आँट पुगेन।

कवि केवलचन्द्र लामाको अस्वीकृति उनको स्वाभावजस्तै शालीन थियो। उनले मलाई राम्रो भूमिका लेख्ने केही नामहरू सुझाउस्वरूप दिए।

‘म तिम्रो कविताको किताबको भूमिका लेख्दिनँ।’ तर मैले उनीबाट बुझेको कुरा यतिमात्र थियो। त्यति बुझ्ने बित्तिकै मभित्रको एउटा कवि सिधै कोमामा गयो। 

हामी लगभग नबोलिकनै क्विन्सहिल पुग्यौँ। क्लब स्ट्यान्डबाट उकालो चौरस्तातिर लागेपछि हल्ला केही शान्त भयो। विनोद प्रधानले भने-

‘भाइ, तिम्रो किताबको भूमिका म लेख्छु।’

विनोद प्रधानलाई त्यतिबेला मेरो सबैभन्दा नजिकका केवलचन्द्र लामाजस्तो लाग्यो। मैले त्यतिबेलै उनको पाण्डुलिपि हातमा थमाइदिएँ अनि साह्रै हलुङ्गो भएँ।

एउटा औसत कविता सङ्ग्रहको भूमिका लेख्न कति समय लाग्छ होला? आफूले कहिल्यै भूमिका लेखेको भए पो थाहा हुन्थ्यो।

पान्डुलिपि हातमा थमाएर चौध महिनासम्म पर्खिन मैले गतिलै धैर्य देखाउनुपऱ्यो। बिचबिचमा उनीसँग गरेको किचकिचको कथा अर्कै छ। चौध महिनाको यस अवधिमा दार्जिलिङमा अनेक प्रकारको घटना घट्यो। हुन त हामी ती कुराहरूमा पनि अलिअलि भुलियौँ।

तेह्रमा आन्दोलन सुरू भयो। यसबाजी मङ्गलसिंह राजपुतले कालेबुङमा आत्मदाह गरे अरे भन्ने खबर बन्द दार्जिलिङ सहरमा आइपुग्यो। युवाहरू बिलेटले छात्तीमा गोर्खाल्यान्ड लेखेर सडकमा निस्किए। स्त्रीहरूले शीर मुण्डन गराए। म दार्जिलिङको किरायाको कोठामा बसिरहेँ। त्यसपछि बन्द खुल्यो। विनोद प्रधान लामा गाउँबाट फेरि दार्जिलिङ साउथफिल्ड कलेजमा पढाउन फर्किए।

आन्दोलन सकिएपछि हामी त्यस दिन पहिलोचोटि भेटेका थियौँ। त्यो दिन डा. महेन्द्र पी. लामा सिलिगुडीबाट पैदल यात्रा गरेर दार्जिलिङ सहर आइपुग्ने दिन थियो। डा. लामाको छवि दार्जिलिङका एक वौद्धिकको रूपमा सर्वत्र फैलिरहेको थियो। त्यस्तोमा उनले के भन्लान् र गर्लान् भन्ने दार्जिलिङमा आम उत्सुकता थियो।

‘दा, डा. लामा किन यसरी हिँडेको?’, मैले दार्जिलिङको चौरस्तामा उत्तापट्टी महाकाल मन्दिरतिर जाने बाटोको मुखैमा एउटा चौकीमा बसेर चिया पिउँदै उनलाई सोधेको थिएँ।

‘मान्छे हो, हिँड्छ नि भाइ!’

उनले भर्खरै घुटुक्क पारेको चियाको प्यालाले आफ्नो स्मृतिस्वरूप हावाको साथमा वापस धर्तीमा पठाएको बाफसँगै यो जवाब निकालेका थिए। त्यस दिन कुन्नी किन हो उनी बढो भावुक देखिन्थे। चाल एकदम हल्का थियो। त्यसदिन भूमिकाको कुरा गरेर उनलाई अझ धेर दुःख थपिदिन मन लागेन।     

चौध महिना पुग्दा विनोद प्रधानले मलाई दुई किस्ती भूमिका लेखेर दिए। भूमिकाको दुई किस्तीपछि तेस्रो किस्तीको प्रतीक्षा थियो। 

त्यै आइसकेको दुई किस्ती भूमिकाको पनि एउटा कथा छ। पहिलो किस्तीमा लेखनाथ छेत्री को हो र लेखनाथ छेत्रीको कविताको मूल तत्त्व के हो भन्ने सानोतिनो बखान थियो। दोस्रो किस्तीमा देशबहादुर कवितालाई समातेर उनले गरेको शिल्पगत् अध्ययन थियो। लेखनाथले यस कविता सङ्ग्रहमा ‘आँखा’ शब्द पुरापुरी चौबिस पटक चलाएका छन्, त्यस कारण लेखनाथको कविता हेर्नू पनि हो, उनले यो लेखेको पनि थाहा छ।

तेस्रो किस्तीका लागि मैले किचकिच गर्न फोन गर्न थालेँ। फोन उठाउने क्रम पनि कम हुँदै गएको थियो।

‘हतार नगर, यसरी लेख्दै दिँदै गर्छु’, एक दिन फोन उठाएको बेला उनले मलाई सहानुभूति दिए।

 तर सायद हल्का पहेँलो चडेको ह्यान्ड मेड पेपरमा, निलो स्केचपेनले बोर्डर गरेर, आफ्नो भनाइ कालो पेनले अनि उनले उल्लेख गरेका मेरा कविताका पङ्क्ति हरियो पेनले लेखिएको त्यो अपूर्ण भूमिका एउटा कलाकृतिचाहिँ थियो। तिलस्मी हातले लेखिएका अद्भूत ह्यान्डराइटिङ! हेर्दै रहरलाग्दो!

‘भाइ, तिम्रो कवितामाथि मैले लेख्न सकेको यति मात्र हो। यसरी नै हो। यसलाई किताबमा छाप्नु होइन, फ्रेममा सजाएर राख।‘

चौध महिना बितिसक्दा फोन समेत उठाउन छोडिसकेका विनोद प्रधानले यसै भनेजस्तो लाग्यो। मैले उनको भूमिकाबिनै कविता सङ्ग्रह छाप्ने निर्णय गरेँ। सम्पादन अनि पुनर्लेखनमा लगभग चार महिना खर्चेपछि कालेबुङको आरोहण प्रकाशनले किताब छाप्यो। सामान्य सार्वजनिकरणको कार्यक्रम थियो। कार्यक्रमको दिन थाना डाँडामा विनोद प्रधान निच्च हाँस्दै गाडीबाट ओर्लिए। उनलाई कार्यक्रमको निम्तो थिएन।

त्यस दिनदेखि यता विनोद प्रधान मेरा प्रिय मित्र बनेका थिए।

२.

‘नानी, म तरूण अङ्कल, लामा गाउँबाट।’ एक दिन दार्जिलिङको किरायाघरमा विनोद प्रधानका बाबाको फोन आयो।

‘विनोद तीन दिनदेखि हराइराको छ। कहाँ गयो गयो। बढो मुस्किलले तिम्रो नम्बर खोजेर निकालेको। तिमीलाई केही थाहा छ कि भनेर नि।‘

उनले एकै सासमा भने।

मलाई उनको बारेमा थाहा त थिएन, त्यस दिन मैले एउटा कुरा बोध गरेँ। विनोद प्रधानका नजिकका भनिने साथीहरू धेरै कम छन्। सायद उनी पनि मजस्तै कम साथीहरूसँग हेलमेल गरेर जीवन बिताउने प्राणी हुन्।

‘त्यसको कोई गर्लफ्रेन्ड छ नानी?’

विनोद प्रधान निखोज बनेको बेला तरूण अङ्कलले आफ्नो उत्सुकता राखेका थिए। म अङ्कललाई मसँग भएको एउटा मात्र कथा सुनाउन चाहन्थेँ, आपत्‌को त्यो बेला ‘खै थाहा छैन अङ्कल’, मैले यसो मात्र भनिराखेँ।

तर मलाई त्यो कथा सुनाउन मन लाग्छ।

 कलेज पढ्दा दार्जिलिङको हल्लाबाट विरक्त कोहीबेला एकान्त बाटा, हरिया झारजङ्गलको खोजीमा लागिन्थ्यो। घुम्दै जाँदा मैले उनलाई दार्जिलिङको पछिल्तिरको आलुबारी रोडको एउटा घुम्तीमा अचानक फेला पारेको थिएँ। परैबाट आँउदै गरेको देखेको भए म त्यसदिन सर्टकर्ट हानेर उनको एक प्राण बचाइदिन्थेँ। 

‘बजिया विनोध प्रधान!’

साँच्चै भन्नु हो भने त्यस दिन उनलाई देख्दा मेरो मुखबाट निस्केको पहिलो शब्द यही थियो।

अलिक रफरफ भएर हिँड्ने विनोद प्रधानले त्यस दिन शरीरमा भुवा उठेका स्वेटर अनि वेस्टेड जिन्स प्यान्ट र खुट्टामा मैलामैला परेको कन्भर्स जुत्ता लगाएका थिएनन्। कपाल फुङ्ग उडेको थिएन।

सेतो लामो बाउले सर्ट, दुईपल्ट पल्टाएको। त्यसमाथि कालो अस्कोट। कालै प्यान्ट। टिलिक्क टल्कने अलि लामा छालाका जुत्ता। हातमा चिटिक्क पारेर मिलाइएको कालो छाता। क्लिन सेभ्ड। अङ्ग्रेजी स्टाइलका विनोद प्रधान। मलाई लागेको थियो, विनोद प्रधानले त्यस दिन मलाई सधैँजसो जाँदाजाँदै दुईटा कुरा भनिराखेर हँसाउलान्। आफू पनि सधैँको स्टाइलमा गललल हाँस्लान् अनि छेउका धुप्पीमा बसेका चराहरू तर्सिएर भुर्रर उड्लान्। तर त्यस्तो भएन।

उनले हात मिलाएर साउतीमा मसँग दुईटा कुरा गरेर टाप कसे। उनीसँग कुममा कुम मिलाएर हिँडिरहेकी बाला विनोद प्रधानजस्तै केही लजाएर उनको पछिपछि लागिन्।

सायद मैले अङ्कललाई पनि त्यस दिन यो कथा सुनाइदिनु पर्थ्यो। त्यसको दुई दिनपछि उनीभन्दा पहिले इन्स्टाग्राममा फोटो आयो। भुटानको फोटो। विनोद फोटो खिच्न चुपचाप कतै हल्लै नगरी भुटानतिर पुगेका रहेछन्। मलाई अचम्मचाहिँ लागेन।

केही महिनाअघि उनको घर गएको बेला हामी उनको भान्साघरमा थियौँ। एउटा कालो बिरालो फुत्रुक्क उफ्रिएर विनोद दाको काखमा बस्यो। उनले त्यसलाई मायाले सुम्सुम्याउन थाले। त्यसलाई मायाका शब्दहरू भन्न थाले। बिरालो उङ्न थालिहाल्यो।

‘हेर्नुहोस् त, आफ्नो नानी खेलाउने बेलामा….’, आन्टीले त्यस दिन भनिन्। विनोद प्रधान खिन्न बने।

३.

बतासेमा किरायाघरमा बसेको बेला रातको एघार-बाह्र बजेतिर बाहिर कुकुरहरू जोडसँग भुक्न थाले भने मलाई लाग्थ्यो, विनोद प्रधान आइपुग्छन्। उनलाई रातको फोटो खिच्ने नसा चढेको थियो। रातरातभरि घाँटीमा क्यामेरा भिरेर दार्जिलिङ सहर डुल्थे। कोहीबेला भूतजस्तो फुत्त किरायाघरको कोठामा पस्थे।

‘खाना खानुभयो?’ म उनलाई सोध्थेँ।

‘मेरो छ नी’, उनी ब्यागबाट चोकबजार सात नम्बरमा किनेको चिप्सको प्याकेट निकाल्थे अनि भुइँमा थचक्क बसेर कच्याककच्याक चपाउन थाल्थे। रातभरि कविता अनि किस्साहरूको महफिल जम्थ्यो।  

विनोद प्रधानले त्यस समय गरेका नाइट फोटोग्राफीका प्रशंसकहरूले आज पनि मसँग भेट्दा ती फोटोहरूको कुरा गर्छन्। रातको अँध्यारोमा उनको क्यामेराका लेन्सभित्र कैद भएको दार्जिलिङ चमचमजस्तो चम्कन्थ्यो।

तर विनोद प्रधानले मन लागेका कुरा मात्र यसरी गर्छन्। नलागेको कुरा गर्नैपर्ने छ भने पनि गर्दैनन्।

२०१५ मा हामी पाँच भाइ कविता सुनाउन काठमान्डु गयौँ। कफी कविता, मण्डला थिएटरतिर उनले सुनाएका कविताहरूले लोभिएका त्यतिबेलाका फिनिक्स पब्लिकेसनका जगदिशले उनले कविता सङ्ग्रहका लागि सम्झौता गरे। नेपालका लेखक राजन मुकारूङको उपस्थितिमा एउटा सेकुवाघरमा गरिएको त्यो लिखित सम्झौता विस्मृतिमा हराएर गयो। विनोद प्रधानले आफ्नो कविता सङ्ग्रह कहिल्यै छपाएनन्।

‘यो साल त निकाल्नुपर्छ होला हौ। तिमीलाई याद भएको मेरो कविता कुनकुन हो, भन त?’

 उनी बेलाबेला मसँग फोन गरेर भन्छन्। म उनलाई मेरो स्मृतिमा भएजति कविताहरू सम्झाइदिन्छु। कोहीबेला नयाँ कविता फोनमा सुनाउँछन् पनि।

‘कस्तो भयो?’

उनी सोध्छन्। म आफूले जानेजति कविताबारे बताइदिन्छु। 

तर यो साल अर्को साल भइजान्छ। विनोद प्रधानको कविताको किताब निस्कँदैन। लाग्छ, विनोद प्रधानको कविता किताब कहिल्यै निस्किँदैन होला।

विनोद प्रधानसँग एउटा उपन्यास लेख्ने योजना छ। सायद उनले यसको केही अंश लेखेका पनि होलान्। त्यसमा दार्जिलिङ सहर, टिस्टा खोला, रङ्गीत खोला, लाली गुराँस र कञ्चनजङ्घा – यी चारवटा पात्रले आ-आफ्नो कथा भनेका छन्। सायद यो पनि निस्कँदैन होला। 

४.

दार्जिलिङ कलेज पढ्न बस्दाका दिनहरू हाम्रा जीवनका साह्रै कष्टकर दिनहरू थिए। साथीहरू सुकिला लुगा लगाएर कलेज आउँथे। कम्तीमा हप्ताभरि उनीहरूको कपडा दोहोरिँदैन थियो। म अनि फुर्तेन थियौँ भिखारीजस्ता। प्याटप्याट चप्पल पड्काउँदै कलेज जान्थ्यौँ। दिउँसो कलेज लगाएर गएकै कपडामा सुत्थ्यौँ अनि भोलि बिहान त्यहीँ कपडामा कलेज जान्थ्यौँ।

दार्जिलिङले जति तामझामको कपडा लगाएर हिँडे पनि, यो सहरको वास्तविकता हामी हौँ। बाँकी सब आडम्बर हो। चौरस्तालाई यसको औकात यसको छात्तीमा पड्किएको हाम्रो चप्पलले देखाइदिन्छ।

फुर्तेनको यो दर्शनले बडो सहानुभूति दिन्थ्यो। ट्युसन पढाएर उब्रेको पैसा बँचाउन धेरै गाह्रो पर्थ्यो। यस्तोमा एकदिन विनोद प्रधानसँग हाम्रो पाँच दिनको सिङ्गलीला ट्रेकिङमा योजना बन्यो। माने भञ्ज्याङबाट हिँडेर मेघमा, टङ्गलू, सन्दफफू, फालुट, गोर्खे हुँदै रिम्बिकमा निस्कने यो योजना खर्चको हिसाबले मलाई त सुरू मै गाह्रो ला

‘प्रोफेसर मान्छे हो। सब विनोद दा ले हेरिहाल्छ’, फालुटको तिनचुलेबाट हिमालको ऐना हेर्ने सपना देखेर तम्सिएका फुर्तेनले मलाई सम्झाए।

‘दा… कहाँ आइपुग्नुभयो?’ यात्रा सुरू गर्ने दिन मिम कमानको सिरानमा उभिएर मैले उनलाई फोन लगाएँ। सुकियापोखरीमा भेट्ने योजना थियो।

‘भर्खर भुइँचालो आएको थाहा पायौ, भाइ?’ दार्जिलिङमा ओछ्यानमा सुतिरहेका विनोद प्रधानले उल्टै प्रश्न सोधे। पैसा बचाउनका लागि मिम कमानको उकालो सुइँसुइँ पैदल हिँडेर थाकेका फुर्तेन अनि मैले त्यतिबेला केही थाहा पाएनौँ।

हामीलाई झटका सुकियापोखरी पुगेर विनोद प्रधानलाई भेटेपछि मात्र लाग्यो।

सुकियापोखरी बजार बिचमा भेट भएपछि पहिलो कुरा खर्चको मिलिमतोमा आयो। फुर्तेन अनि मैले ट्युसन पढाएर बँचाएका पन्ध्र पन्ध्र सय निकाल्यौँ। पालो खास मान्छेको थियो।

दुईतिरको पतलुङको गोजीबाट सितिमिती विनोद प्रधानले एक हजार पैसा मात्र निकाल्न सके।

दाज्यु, तिमीले किन पाँच हजार ल्याएनौ? सोध्न सकेनौँ। त्यसमाथि अर्को आपत् आइलाग्यो। विनोद प्रधान एउटा पातलो पतलुङ अनि टिसर्टमा सुकियापोखरीमा फुत्त देखापरेका थिए।

‘पातलो टिसर्टले सन्दकफूको जाडो कसरी थाम्छ? दा त जाडोले मर्छ होला है।‘ फुर्तेनले कुनामा लगेर मलाई सम्झायो।

हामीले विनोद प्रधानका लागि एउटा सेतो बाक्लो तर ठिकठाक दामको सुइटर किनिदियौँ। एउटा ट्राकप्यान्ट पनि किनिदियौँ। उनले ट्राकप्यान्ट ब्यागमा हाले। सुइटर त्यतिबेलै लगाए।

‘दा, रनवीरजस्तो देखिनुभयो!’ फुर्तेनले भन्यो। उनी गललल हाँसे। यात्रा सुरू भयो।

गोजीमा सितिमिती पच्चिस सय बोकेर सुरू गरेको त्यस यात्रामा पाएको दुःखको कथा बेग्लै छ। पाँच दिनपछि रिम्बिकमा विकास आलेको घर पुग्दा हाम्रो ओठ सुकेको थियो। उब्रिएको मकै खाँदै दिनभरि फालुटबाट हिँडेर हामी दुई बजीतिर रिम्बिक आइपुग्यौँ। हामी विकास आले दाज्युकहाँ गयौँ।

विनोद प्रधान दिवान बेडको भित्तामा ढेसिएर ब्याट्री चार्ज गरेर पाँच दिनको फोटो हेर्दै मुस्कुराइरहेका थिए। साह्रै गजबगजब फोटो थियो। हामीलाई पनि देखाए। मलाई एउटाचाहिँ राम्ररी थाहा छ। त्यो फोटो चाउरी गोठमा खिचिएको एउटा दुई-तीन वर्ष नानीको थियो, उसले मुखमा पिप्सिङ गाडेको थियो। हातमा प्लास्टिकको सानो जगबाट तोङ्बाको पानीको बाफ निस्किरहेको थियो।

‘टेबलमा समोसा छ, खाँदै गर ल!’ विकास आले यति भनिराखेर आफ्नो नियमित काममा जानुभयो। हामीले सासले समोसा खायौँ।

‘मोराहरूले त सप्पै बजाएछ त!’, बेलुकी खित्का छोडेर हाँस्दै विकास आलेले हामीतिर फर्किएर भन्नुभयो। हामीले कुरा बुझेनौँ। खासमा समोसा हाम्रा लागि त थिँदैथियो तर त्यस दिन उपवास बसेकी भाउजूको उपवास तोड्नका लागि पनि थिएछ।

‘यसपालि जानू कि नजानू हौ केटाहो?’ दसैँको घाम लाग्न सुरू हुने बित्तिकै प्रत्येक साल विनोद प्रधानले फोन गरेर हामीलाई सम्झाउँछन्।

‘लिमिट चैँ पाँच हजार है दा!’ हामी सम्झाउँछौँ। आजकल उनले हाम्रो कुरा सुन्छन् र ट्रेकमा जाँदा राम्रै रकम बोकेर हिँड्छन्।

५.

दिसम्बरको महिना थियो। दीर्घ दिनदेखि पानी नपरेकाले धुलोले संसार ढाकिएको थियो। हामी गैरीबास कविता सुनाउन गएका थियौँ। होम्स्टेमा बसिरहेको बेला राती दस बजीतिर अचानक पानीका छिटाहरू बज्रिन सुरू भयो।

धेरै दिनपछि परेको पानीको थोपा धरतीमा पर्न थालेपछि धरतीबाट एक तमासको वासना उठ्नथाल्छ। एउटा उर्वर वासना।

मैले विनोद प्रधानलाई भनेँ, ‘बाहिर पानीलाई फिल गर्न जाउँ होइन?’

हामी जाडोको पर्वाह नगरी बाहिर निस्कयौँ। पिच वाइनको मातले हल्का रमरम भइरहेको थियो। रमरम अँध्यारो साँझको मात बेग्लै थियो।  

‘जीवन किन यति विरक्तलाग्दो छ, विनोद दा?’

पानीमा रूझ्दै हिँडिरहेको बेला विनोद प्रधानलाई सोध्न मन लाग्यो।

एकछिन त उनी ज्याकेटको गोजीमा हात हालेर केही नभनी हिँडिरहे। हिँडिरहे।

‘विरक्ति पनि जीवनको एउटा सौन्दर्य हो, भाइ। यसलाई भोग्न सिक।…….. निस्सरता पनि एउटा रस हो।’

चौताराका अगाडि टक्क उभिएर उनले भने।

एकदिन कालेबुङको किरायाघरमा बसेर भारत पाकिस्तान क्रिकेट म्याच हेरिरहेको थिएँ। निरूले टिभी कोठामा फोन ल्याइदिइन्। विनोद प्रधान रहेछन्।

‘औ भाइ, तिमी एक नम्बरको स्वार्थी मान्छे हो’, उनले मलाई झ्वाम्मै खाए।

‘विनोद दा, यस्तो गरिदेऊ न, विनोद दा त्यस्तो गरिदेऊ न भन्छौ।‘

 विनोद दा ले भनेको कुरामा दम थियो।

‘भाइ, तिमीले कहिले यो विनोद प्रधानको सुन्नु खोजेको छौ?’

‘जाँठा भाइ, तिमीले यो विनोद प्रधान को हो भनेर कहिले चिन्नु खोजेको छौ?’

‘जाँठा भाइ, तिमीले यो विनोद प्रधानको दुःख के हो भनेर कहिल्यै बुझ्न खोजेको छौ?’

हो त! मैले विनोद प्रधानलाई असङ्ख्यचोटि भेट गरेको छु। उनीसँग सयौँ घन्टा बात गरेको छु। उनीसँग धेरै लामा लामा यात्रा गरेको छु। उनीसँग हाँसेको छु। नाँचेको छु। गीत गाएको छु। तर आफुअघि प्रस्तुत हुने विनोद प्रधान पछाडिको विनोद प्रधान को हो? कहिल्यै जान्न खोजेको छुइनँ।

‘दा, तपाईँ को हो? तपाईँको दुःख के हो?’

मैले उनको पुच्छर समातेर त्यतिबेलै उनलाई सोधेँ।

‘यहाँ अर्काको बिहेको बारमा तिमीलाई म को हो भनेर पढाउनु?’ उनले थपे, ‘शुक्रबार तिमी दार्जिलिङ आउँछौ होइन?’

-‘आउँछु दा।‘

-‘त्यो दिन भन्छु। राखेँ ऐले!’

उनको फोन काटियो।

शुक्रबार मैले दार्जिलिङमा भेटेको विनोद प्रधान त्यही विनोद प्रधान थिए। बातबातमा हँसाउने विनोद प्रधान। बातबातमा ताजा ताजा किस्सा सुनाउने विनोद प्रधान। कविताको कुरा गर्ने विनोद प्रधान। दार्जिलिङको समाजशास्त्रिय चिन्तन धाराबाहेक सुनाउने विनोद प्रधान। त्यही जोस। त्यही फुर्ती।

‘दा, तपाईँ को हो? तपाईँको दुःख के हो?’

उनले मलाई सोध्ने अवसर दिएनन्। उनको अनुहारमा खिन्नताको एउटा धर्सासमेत फेला पारेको भए म त्यस दिन उनलाई सोध्ने थिएँ। 

मैले देख्ने विनोद प्रधान पछाडिको विनोद प्रधान को हो? मैले जान्न सकिनँ। सायद मेरा लागि विनोद प्रधान त्यति मात्र हुन् जति उनका अन्य साथीहरूका लागि हुन्। 

सायद जीवनको केही समयसम्म नजिक भएर अचानक टाढिएका मेरा पुराना साथीहरूले ठिकै भनेका हुन्। म मित्रता निभाउन नजान्ने मान्छे हुँ।

नोट: यो संस्मरण लगभग तीन सालअघि लेखिएको हो। अहिलेसम्म विनोद प्रधानले बिहे गरेका छैनन्। उनको कविताको किताब पनि प्रकाशन भएको छैन।

3 Responses

  1. लेखनाथको लेखनको त म फ्यान नै हो। उसको उपन्यास फुलाङ्गे त मैले मेरो मराठी, माल्याली, बङ्गाली साथीहरूलाई जबरजस्ती पढन लगाएको छु। सारै दामी तरिकाले प्रस्तुत गर्छ कथा ब्रोले । कविता पनि त्यतिनै जोड लेख्छ। उसकै कहानी सुनेर मैले पनि मार्केज सबै पडि पठाए। किताब पढने पनि गजब आदाद छ।

  2. अति सुन्दर संस्मरण,यश लेखको माध्यम द्वारा प्यारो भाई विनोद प्रधान लाई अझ नजिकबाट चिन्ने , बुझ्ने अनि भाईको बारेमा जन्ने मौका दिनुभएकोमा लेखक ज्युलाई धेरै धेरै धन्यवाद ।गजबको व्यत्तित्व विनोध प्रधान।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ