डा.हर्कबहादुर छेत्रीले पुरानो सम्झना साझा गर्दै एउटा साहित्यिक कार्यक्रममा भनेको सम्झन्छु, जो फेसबुकमा भाइरल भएको थियो- ‘एकदिन एउटा कवि गोष्ठीमा हुन त म कवि होइन भन्दै सबैले कविता सुनाए। कतिसम्म भने साहित्य अकादमी प्राप्त गरेका कवि गिर्मी शेर्पाले पनि ‘हुनत म कवि होइन’ भनेरै कविता सुनाएका थिए। त्यसबेला मैले पनि कविता लिएर गएको थिएँ। मलाई पनि कविता भन्न लगाए। मैले सुरूमै कविता सुनाउन स्टेजमा उभिएर भनेँ – ‘म कवि हो।’
कविता सुनाउन गएका डा.छेत्रीले ‘म कवि हो’ भन्दा दर्शकश्रोता सबै हाँसे रे। हुन त नेपालीहरूलाई हाँस्नको लागि कुनै ठाउँठहर पर्दैन भनेर उनै डा.छेत्रीले बेलाबखत भनिरहन्छन्। खैर, यतापट्टि नजाऔँ। कुराको मेलोमा आऔँ।
डा.हर्कबहादुर छेत्रीलाई अरूले कवि माने पनि नमाने पनि उनले उसबेला ‘म कवि हो’ भनेर भन्न सके। तर आफुले भने अहिलेसम्म भन्न सकिएको छैन। वास्तवमा ‘म कवि हो’ र ‘हुन त म कवि होइन’ भन्ने म कोही पनि होइन। किन कि यो कुरा पाठक-श्रोता बाहेक अरू कसैलाई थाहा छैन। यदाकदा रचना सुनाउँदा, न म कवि होइन भनी बस्छु, न त हो नै। न त मैले लेखेको रचना कविता नै हो भनेर दाबी गर्छु। एउटा लेखमा ईश्वरवल्लभ भन्छन्- ‘कसैले कविता लेख्छु भन्यो भने-त्यो जस्तो ठूलो सनक के हुन सक्छ र? बरू एउटा देश जितेर नेपोलियन बोनापार्टले झैँ राज्य गर्छु भन्यो भने सनक हुँदैन।’
इन्द्रबहादुर राई पनि प्लेटोलाई उल्लेख गर्दै भन्छन्- ‘कविहरू ज्ञानले कविता लेख्तैन रहेछन् र बताउनै सक्तैनन्।’
भावना र कल्पनामा पनि के को हकदाबी? के को फैसला? गर्लफ्रेन्ड-बोइफ्रेन्ड हुने बितिक्कै श्रीमान-श्रीमती भइहाल्दैन। श्रीमान-श्रीमती नै हुँदा त जायजन्न भइहाल्दैन। यस्तै केही जोड शब्दलाई तोडमोडर गरेर यताउता हुल्दैमा कविता बनिहाल्दैन। पारसमणि प्रधानले उहिल्यै ‘कवि र कविता’ मा भनिसकेका छन्-
‘कवि कविता होस् कविता कवि होस्,
कविता तब पो हुन्छ।
शब्द थुपारीकन के हुन्छ?
भाव भए पो हुन्छ।।’
काव्यालङ्कारमा ‘शब्दार्थौं सहितौ काव्यम्’ भनिएको छ भन्दैमा शब्द र त्यसले दिने शब्दार्थको समजोड मात्र कविता होइन। शब्दहरूको शब्द (लुडिक) मात्र कविता होइन। कविता आराधना मात्रै होइन साधना हो। कविता न नर नाता हो न त कृपा। कविता केवल कविता हो। ‘हुनत म कवि होइन’ भन्दै अनि कविता भनेको-भनै गरेर साहित्यमा अगि बढ्दै गरेको साहित्यकारहरूको सत्ताको ठूलै जत्था अहिले पनि चलायमान छ। उनीहरूकै साहित्यमा सान पनि छ। जसलाई म कहिलेकाहीँ सुन्छु र सोच्छु- ‘कवि नभइ पनि कविता लेखिदिन सक्ने?’
अचम्मैको छ कवि-करामत!
हुनत म कवि होइन भन्नु पनि अहिले रचना सुनाउनेहरूको मङ्गलाचरण नै भएको छ। ‘हुन त म कवि होइन। हुन त म कवि होइन।’ ‘हुन त म कवि होइन’ भन्दै कविता लेख्तैसुनाउदै मात्र कहाँ हो र कृति नै प्रकाशित भइसकेका छन्। हिजाज कविता कसले लेख्छ भन्दा पनि कसले लेख्तैन? भन्ने प्रश्न बढी सार्थक र सन्दर्भित बनेको छ। ‘हुन त म कवि होइन’ भन्नुको लक्षित अर्थ हो ‘म कवि हो।’ अथवा ‘म चाहिँ कवि हो।’ अचेलका कविहरूलाई कविता भन्नुभन्दा पनि कवि हुँ भन्नु बडी मनलाग्छ।
कवि अगमसिंह गिरीले इन्द्रबहादुर राईलाई एकदिन भनेका थिएछन्- ‘मलाई कसैले ‘कवि’ भनेको ठ्याम्मै मनपर्दैन। मलाई कहीँ कसैले पनि कवि नभनिदिओस् भन्छु। म कवि होइन। त्यो ठूलो चिज भयो। आफ्नो कुरा लेख्ने मान्छे वा यस्तै केही हुँ म।’
दार्जिलिङ सुकेपोखरीका कवि दाजुले एकदिन फेसबुकमा पोस्ट गरे – ‘वास्तवमा कविले कविता लेख्तैन!’ त्यसपछि मैले यसो सोचेँ, उसो भए कसले लेख्छ त कविता?
केहीबेरपछि यस प्रश्नको उत्तर दिन लायक त पाठक बाहेक को छ? कोही छैन भन्ने लागेर आयो। तर साहित्यबाट पाठक नै यतिबेला ‘बाहेक’ भएको बेला छ। ‘साहित्यिक श्रेष्ठताको नाप जनता (पाठक) मा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर रहन्छ’ भन्ने देवकोटेली बिचारबोली त यतिबेला मारागोली।
कविहरू कविदेखि कविसम्म छन्। कविहरूले नै पाठक हुन दिइरहेका छैनन्। यसमा पाठकको कुनै दोष छैन। पाठकोन्मुखी हुनुको साटो कविलेखकहरूको यो कस्तो लेखकोन्मुखी ध्याउन्न हो। घरिघरि त भाउन्न भएर आउँछ।
भारतीय नेपाली साहित्यमा कविताको पुस्तक प्रकाशित धेरै हुन्छ तर खोजिन्छ थोरै। आख्यानका किताब छापिन्छ थोरै सोधिन्छ धेरै। भरीभराउ कविताका किताबमा कविताकै अभाव छ। कवि कालमा कविताकै अनिकाल छ। यसप्रकारको अद्यावधिक कमेडी क्रम भने जारी छ। कवि गोष्ठी, वाचन कार्यक्रमहरू होटेल, रेष्टुराँका फ्लोरतिर सरेका छन्। कविले मात्र होइन तर उनका कविताले पनि भुइँ छोडेको वर्षौँ भयो। बाहिर बिस्तारिएका पाठकहरूबाट होइन कोठाभित्र कवि नै कविले लगाएको तोकले कवि र कविताको तक्मा टाँसिइन्छ र उ कवि कहलिन्छ।
साहित्यको यस्तो हबिगत अघि पाठक अग्रसर हुन अत्यावश्यक छ।
कविता न रहर हो न त कर। कविता त कविता हो। लहडी तरिकाले न त कवि बनिन्छ न त कविता रचिन्छ। कविता कर्म हो ,काण्ड होइन। कविता मर्म हो, झण्डा होइन। कविहरूले कविता लेखेपछि पाठकलाई सुनाउने मात्र होइन सुन्नेबानी पनि गर्नुपर्छ। कविहरूले मनोलग र एपीलग प्रवृत्ति छाड्नै पर्छ। कविहरूले यस्तो माहोल बनाएका छन् कि कविता सुनेको बेला भन्दा नसुनेको बेला कविताको बेला हो जस्तो लाग्छ, आनन्द। कविता सुनाएको बेला त आतङ्क। कविता न फेसबुके होहल्ला हो न त खादामाला र दोसल्ला! कविता केवल कविता हो।
यो यस्तो समय हो जहाँ मनको ठाउँ मसिनले ओगटीसकेको छ। कवि हुँ नभनीकन नै ‘च्याटजीपीटीले’ खुरूखुरू कविता लेखिदिइरहेको छ। कति त कविहरूले लेखेका भन्दा राम्रा कविता लेखिरहेको छ र मान्छेले भन्दा गम्भीर भएर सोँचिदिइरहेको छ।
यस्तोमा कविता जस्तो-जस्तो होइन ठ्याक्कै कविता नै लेख्नका लागि कविहरूलाई चुनौती नै दिइरहेको छ। वास्तवमै भन्ने हो भने कविता सोसियल मिडियाको अल्गोरिदममा होइन पाठकको मनमस्तिष्कमा बसेको हुन्छ। यद्यपि हिजाज कविहरूले पाठक होइन भोटर्स खोज्न थालेका छन्। कविता लेख्ने कवि अब कुनै राजनीति गर्ने नेताले चुनावमा मत मागेको जस्तो भोट माग्न थालेका छन्। भोट माग्ने कवि पनि भाट नै त हुन्। होइन र? कविताको अचेल मतपेटिका छ। राइटर्सहरूले रिडर्स होइन लाइकर्स खोजिरहेका छन्। थम्पको थ्पाप्चे रोजिरहेका छन्। कवि अचेल मान्छेको दिलमा होइन मोबाइलको डिभाइसमा बस्न चाहन्छन्। कविहरूले पाठक होइन दर्शक खोजिरहेका छन्। आफै फलो गर्न रिक्वेस्ट पठाएर फलोवर्स बढाउँन साहित्यकारहरू पिछलग्गु भएका छन्। यसै पनि हिजाजका नेताहरूको नेतागिरी र साहित्यकारहरूको साहित्यगिरीमा उस्तो पार्थक्य छैन। जसमा उनीहरूलाई शब्दको-पदपङ्क्ति नभएर कुर्सीको-पदमस्ति चाहिएको छ। नेता र साहित्यकारमा के समानता छ भने नेता भन्छन् एकथरी, गर्छन् अर्कैथरी। साहित्यकार लेख्छन् एकथरी, बन्छन् अर्कैथरी।
कविता शब्द हो भन्दैमा शब्दलाई नै कविता मानेर ‘च्याटजीपीटी’-को जमानामा ‘जेपीटी’ (जेपायो त्यै) माइक्रोफोनबाट बोल्दैमा कवि भइहाल्ने क्या हाइढुक्कको समय छ। कवि कति? होइन, कवि अति भएको अवस्था छ। कारण यो कोक कल्चरलाई ‘क’ मात्रै लेखिँदिदैमा कविता भइहाल्छ। फेसबुकमा वाह!वाही! आइहाल्छ। लोकाचारलाई चाहे कविता होस् न होस्, ताली पाइहाल्छ। यो भूल्नु हुँदैन कि कविता कविता हो, बित्था मात्र होइन।
कसैले कविता नलेख्ता पनि समस्या, सबैले कविता लेखिदिँदा पनि समस्या!
मेरा एकजना कवि साथीले एकदिन राती वाट्सएपमा कविता पठाए र कस्तो लाग्यो प्रतिक्रिया पाउँ है भनेर सोधे। मैले बिहान चियाको सुरूपसित कविता सुरू गरेर पढिसिध्याएँ र प्रतिक्रियामा केवल यति लेखिपठाएँ- ‘कविताले मलाई अलिक छुएन!’ त्यसपछि आजसम्म उनी मसित न कुरा नै गर्छन् न त कविता नै पठाउँछन्! स्वात्त सुखायको लागि भन्ने अनि आफूबाहेक अरू एकै जनाले पनि कविता रूचाइदिएन भने ठुस्किदिने? प्रतिक्रियाको माने प्रशंसा मात्रै सम्झन्छन् कविहरू। बरू एआईसित बुद्धिमत्ता छ। कविहरूमा भने बुद्धिमत्ता र नैतिकताको खाँचो खट्काइ छ। एकजना कवि दाइले दार्जीलिङको एउटा क्याफे कविता कार्यक्रममा सोधेको सम्झन्छु-‘ कवि बन्न अघि के बन्नुपर्छ ?’
सायद मैले त्यतिबेला त भनिनँ। अहिले यतिबेला भन्न आउँछ- ‘कवि बन्न अघि मान्छे बन्न जरूरी छ। यथार्थमा कविता रच्नु भन्दा कविता जस्तै बाँच्नु सार्थक हुन्छ। त्यो नै सुन्दर कविता हुन्छ।’
कसैको कविता पढेर कसैलाई त्यो कविता नै लाग्नसक्छ। नलाग्न पनि सक्छ। सबैलाई त्यही लाग्नसक्छ भन्ने छैन। भावको अनुभव पनि अनुकूलता अनुसार हुन्छ। कविमा कल्पवृक्ष शक्ति छैन, आफुले जस्तो कल्पियो त्यस्तै हुने। एक मात्र होइन अनेक मिलेर बनेको समाजमा सबै एकै छैन, हुँदैन। मन, भावना र विचारको विविधतामा कोही मन पर्न सक्छ कोही मन नपर्न सक्छ। आत्मरतिले मात्रै कवि भइँदैन। कोही कवि बन्न सक्छन् तर जोकोही कवि बन्न सक्दैनन्। कविले पाएको स्वीकारोक्ति त संयोग मात्र हो।
3 Responses
सही कुरा म पनि आफूलाई कवि हो पनि भन्दिन होइन पनि भन्दिन । ए आईको कट्टर शत्रु म !
बेलाको बोली सर्जक वियोगीको लेख सार्है घतलाग्दो लाग्यो ।
हिजाज कविहरूले पाठक होइन भोटर्स खोज्न थालेका छन्। कविता लेख्ने कवि अब कुनै राजनीति गर्ने नेताले चुनावमा मत मागेको जस्तो भोट माग्न थालेका छन्। भोट माग्ने कवि पनि भाट नै त हुन्। होइन र? कविताको अचेल मतपेटिका छ। राइटर्सहरूले रिडर्स होइन लाइकर्स खोजिरहेका छन्। थम्पको थ्पाप्चे रोजिरहेका छन्। कवि अचेल मान्छेको दिलमा होइन मोबाइलको डिभाइसमा बस्न चाहन्छन्। कविहरूले पाठक होइन दर्शक खोजिरहेका छन्। आफै फलो गर्न रिक्वेस्ट पठाएर फलोवर्स बढाउँन साहित्यकारहरू पिछलग्गु भएका छन्। यसै पनि हिजाजका नेताहरूको नेतागिरी र साहित्यकारहरूको साहित्यगिरीमा उस्तो पार्थक्य छैन। जसमा उनीहरूलाई शब्दको-पदपङ्क्ति नभएर कुर्सीको-पदमस्ति चाहिएको छ। नेता र साहित्यकारमा के समानता छ भने नेता भन्छन् एकथरी, गर्छन् अर्कैथरी। साहित्यकार लेख्छन् एकथरी, बन्छन् अर्कैथरी।
कवि बन्ने सूत्र नै बनेको छ निबन्ध। पठनीय रचना।